प्रमुख ‘मौकापक्षी’ दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक दुई पटक सरेर कात्तिक २७ गते बिहीबारका निम्ति तय भएको छ । २७ गतेबाट पनि बैठक सर्ने आशङ्का केही नेताहरूले गरेका छन् । तर बैठक जहिले भए पनि काङ्ग्रेसको महाधिवेशन, क्रियाशील सदस्यता र सरकारविरुद्ध तत्काल सङ्घर्ष गर्ने कि नगर्ने भन्ने जस्ता एजेण्डाहरूमा मूख्य छलफल हुने देखिएको छ ।
काङ्ग्रेसले आगामी फागुनमा महाधिवेशन गर्ने कार्यक्रम तय गरेको भए पनि अब निर्धारित समयमा महाधिवेशन हुन सक्ने विश्वास गरिएको छैन । कोइराला पक्ष जतिसक्दो चाँडै महाधिवेशन सम्पन्न गराउने पक्षमा छ र, उनीहरूले आगामी जेठमा महाधिवेशन गराउन चाहेका छन् । पार्टीको संस्थापन पक्ष भने २०७८ को भदौमा महाधिवेशन गराउने मानसिकतामा रहेको बुझिन्छ । बैठकमा दुई पक्षबीच यही विषयलाई लिएर ज्यादा बादविवाद हुन सक्ने देखिएको छ । त्यस्तै, क्रियाशील सदस्यतासम्बन्धी विषयले पनि बैठकको धेरै समय लिन सक्ने ठानिएको छ ।
कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र रामचन्द्र पौडेललगायत केही नेताहरू जो निरन्तर प्रचण्डको सम्पर्क र सम्वादमा छन्, उनीहरू तत्काल केपी ओलीविरुद्ध सडक सङ्घर्षमा जाने सोचमा छन् । तर अधिकाङ्श नेता विभिन्न कारणवश अहिले सडक सङ्घर्ष गर्न उपयुक्त नहुने धारणा राख्छन् । यस सम्बन्धमा काङ्ग्रेसले कस्तो निर्णय गर्ने हो, प्रतीक्षाको विषय बनेको छ ।
प्राप्त जानकारी अनुसार प्रचण्डले सिटौलामार्फत ‘सहकार्य’को प्रस्ताव काङ्ग्रेसमा पठाउनुभएको छ । कदाचित्त नेकपा विभाजित भएमा काङ्ग्रेस र केपीबीच गठबन्धन बन्न नदिन प्रचण्डले निधि र सिटौलालाई उपयोग गर्न खोज्नुभएको बताइन्छ । काङ्ग्रेस बैठकमा उहाँहरूको प्रस्तुतिले यस कुराको पुष्टि गर्न सक्नेछ । तर स्वयम् शेरबहादुर देउवासहित महामन्त्री पूर्णबहादुर खड्का, नेता गोपालमान सिंह, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, डा. प्रकाशशरण महत, डा. शेखर कोइरालालगायत भने अहिले प्रचण्डलाई साथ दिने र सङ्घर्षमा जाने उपयुक्त समय नभएको ठान्नुहुन्छ ।
प्रतिक्रिया