जंगली वन्यजन्तुसहित दाङको देउखुरीबाट दुई व्यक्ति पक्राउ परेका छन् । उनीहरु ती वन्यजन्तु ओसारपसार गर्दै गर्दा पक्राउ परेको डिभिजनल प्रमुख बेसिन्द्र राज सुवेदीले जानकारी दिए ।
राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ पुलचोकस्थित पूर्वपश्चिम राजमार्गबाट लु १ च ९९९४ नम्बरको पिकअप गाडीमा वन्यजन्तु राखेर लैजाँदै गरेको अवस्थामा प्रक्राउ गरिएको हो ।
प्रक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. ८ निवासी ठगेन्द्रबहादुर डाँगी र चालक कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नम्बर ५ रहटोल निवासी दलबहादुर सारू रहेका छन् । जिपको पछाडि ढालामा अन्दाजी ३५ किलोका दुईवटा जंगली बँदेल बोरामा हालेर लैजादै गर्दा पक्राउ गरेको डिभिजन वन कार्यालय देउखुरी, दाङले जानकारी दिएको छ ।
बरामद गरिएको दुईवटा जंगली बँदेल बाँके राष्ट्रिय निकुञ्जमा छाड्ने तयारी भइरहेको छ । पक्राउ गरेका व्यक्ति माथि थप अनुसन्धान भैरहेको डिभिजन वन कार्यालयका सुचना अधिकारी प्रेमीलाल प्रसाद साहले जानकारी दिए ।
प्रतिक्रिया