सुनिल थापा बने कांग्रेसको सहमहामन्त्री, पाण्डे प्रतिनिधिसभा सदस्यमा मनोनीत

सुनिल थापा बने कांग्रेसको सहमहामन्त्री, पाण्डे प्रतिनिधिसभा सदस्यमा मनोनीत


राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवेश गरेका सुनिलबहादुर थापालाई नेपाली कांग्रेसले पार्टीको सहमहामन्त्रीमा समायोजन गरेको छ । कांग्रेसको शुक्रबार बसेको बैठकले राप्रपाबाटै कांग्रेस भित्रिएका अन्य नेता रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव, किरण गिरी र टिएन योगीलाई केन्द्रीय सदस्य तथा दिलीप राई, आशाराम चौधरी र राजेशबहादुर सिंहलाई पार्टी आमन्त्रित केन्द्रीय सदस्यमा समायोजन गर्ने निर्णय गरेको छ ।

राप्रपाका नेता थापासहित सो पार्टीका केन्द्रीय कार्यसमितिका १६ सदस्यसहित जम्मा ३१ जना गत साउन १३ गते कांग्रेसमा प्रवेश गरेका थिए ।

यस्तै, सो पार्टीले प्रतिनिधिसभामा पार्टीका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्य सूर्यबहादुर केसीको निधन भई रिक्त भएको पदमा नियमानुसार खसआर्य समूहतर्फ सूचीमा नाम रहेका मोहनप्रसाद पाण्डेलाई मनोनयन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएअअनुसार यस निर्णयको कार्यान्वयनका लागि निर्वाचन आयोगलाई पत्राचार गरिने छ ।

कांग्रेसले इलाम, उदयपुर, सिरहा, रुकुम (पश्चिम) लगायत जिल्लामा गत स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट स्थानीय तहका विभिन्न पदमा निर्वाचित व्यक्ति पार्टी परित्याग गरी अन्यमा प्रवेश गरेको हुँदा निजहरु निर्वाचित भएको पद रिक्त गरिदिन निर्वाचन आयोगलाई लेखी पठाउने र सोको जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत दिने निर्णय गरेको छ ।

यसैगरी बैठकले पार्टीको आगामी १४औँ महाधिवेशनको प्रयोजनका लागि जिल्लामा वितरण भइरहेको नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यताको नवीकरणको सूची तयार गरेर प्रकाशन गरी अनिवार्य रुपमा केन्द्रमा पठाइसक्नुपर्ने अवधि आगामी मंसिर मसान्त कायम गरेको छ ।

कांग्रेस बैठकले कोभिड–१९ संक्रमणको रोकथाम, समुचित उपचार र राहत सुनिश्चित गर्न माग गरेको छ । पार्टीले कोभिड—१९ संक्रमणबाट असामयिक निधन भएकाहरुप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । बैठकले उहाँहरुका शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्नाका साथै संक्रमित हुनु सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यसैगरी बैठकले तिहार, नेपाल सम्वत् ११४१ र छठका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीमा सुस्वास्थ, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाका अध्यक्षतामा बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले प्रस्ताव प्रस्तुत गरेका थिए भने वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुनप्रसाद जोशी, कमला पन्त, धनराज गुरुङ, गगनकुमार थापा, देवेन्द्रराज कँडेल र कर्णबहादुर बुढाले आआफ्नो धारणा व्यक्त गरेका थिए ।