‘ग्रे’

‘ग्रे’



कथा

■ यश घिमिरे

कोरोना पोजेटिभ रिपोर्ट आएपछि उसको खुट्टामुनिको जमिन भास्सिए झैँ भयो । कसरी संक्रमणमा परियो भनेर केही मेलोमेसो पाएन । हरसम्भव उपाय र सतर्कता अपनाएकै थिएँ, मास्क कहिलै खोलिनँ, कोठामा छिर्नुपूर्व साबुन–पानीले मिचीमिची हात धोएको नै हुँ, फेरि कसरी छोयो यो रोगले ? उ सोच्दासोच्दै हैरान भयो ।

केहीबेर अघिसम्म सामान्य रहेको मान्छे रिपोर्टपछि हल्का टाउको दुख्ने र सास फेर्न असजिलो भएको महशुस गर्न थल्यो । मनोवैज्ञानिक दबाब हो कि भनेर टेबुलको घर्रामा भएको अक्सीमिटर निकालेर औँलामा लगायो । अक्सिजन लेबल ९० देखायो, पल्स १२०. यसपछि त उसलाई झन् अत्यास लाग्यो । भनुँ– घरबेटीबाट तिरस्कारको सामना गर्नुपर्ने होला, सके कोठाबाटै निकालिनु पर्ने पो हो कि ?! नभनुँ– यो मतलबी शहरमा कस्को सहारा खोज्नु ? झलक्क बुढा भैसकेका बुब–आमा, विदेशिएका दाइ–भाउजू, भर्खर ३२ वर्ष टेक्दै गरेकी श्रीमती र आठ वर्षकी छोरी सम्झियो । गाउँ सम्झियो अनि छरछिमेकी इष्टमित्र साथीभाइ र भएभरका चिनेका देउताहरूलाई सम्झियो । मान्छेको जातै यस्तै हो, जब आपदबिपत आईलाग्छ अनि भएभरकालाई सम्झिन थाल्छ । भागादौडको जिन्दगीमा नत्र फुर्सद कतिखेर हुन्छ र आफुभन्दा अरुलाई सम्झिएर बस्न ? ।

‘दाइ, रिपोर्ट पोजेटिभ रहेछ । घरमा कसैलाई नभन्नु है, बुढा बा-आमालाई पिर पर्छ ।’– बेल्जियममा रहेको दाइलाई फोन लगायो ।

‘ला ! हो र ? नलाग्नु लागिगयो अब चिन्ता नगर । एउटा साथीलाई कल गर्छु । त्यो साथीको मितबुबा तँ बसेकै शहरको मेयर हुनुहुन्छ । वहाँले हेल्प गर्नुहुन्छ । धन्दा नमान ।’

दाइले कल गऱ्यो–गरेन थाह भएन, अथवा वहाँको साथीले मितबुबालाई नै भनिदिनु भयो या भएन थाह भएन, अथवा यो महामारीमा मेयरसाबले नै वास्ता गर्नुभयो–भएन थाह भएन । दुई दिनसम्म न मेयरसाबको, न वार्ड अध्यक्षको, न दाइको, न दाइको साथीको नै एककल आयो न सोधखोज रह्यो । दोश्रो दिनदेखि भने उसलाई ज्वरो हनहनी आयो र सास फेर्न निकै सकस हुन थाल्यो । मृत्यु भय आँखै अगाडि नाच्न थालेपछि भने घरबेटीलाई कोठाबाटै सकिनसकी फोन गऱ्यो, बरु वहाँले नै कताकता फोन गरेर एम्बुलेन्स बोलाइदिनु भएछ । रातिको ११ बजे एम्बुलेन्स आउँदा उ अर्धचेतको भैसकेको थियो । सेतो बस्त्र पहिरेका मान्छेहरूको कल्याङमल्याङ सम्म अलिअलि थाह पायो ।

‘मिस्टर संवेग शर्मा ! मलाई सुन्दैछौ ?! आँखा खोल त !’ पिपिईले ढाकिएको एउटा नर्शले गाला थप्थपाउँदै ब्युँझाउने कोशिस गर्दै थिई । कताकताबाट नारी स्वरले बोलाएको सुनेर आँखा खोल्यो । सेतो चस्माभित्र चम्किलो ठुलठुला हरिणको जस्तो आँखा मात्र देखिएको नर्श अगाडि उभिएकी थिइ ।

‘अहिले तिमीलाई कस्तो छ मिस्टर शर्मा ?’ नाकमा लगाइएको अक्सिजन पाइपलाई थोरै मिलाइदिँदै भनी– ‘बधाई छ । आज पूरा चार दिनमा तिम्रो होस खुल्यो । नत्र बिहानसम्म भेण्टिलेटरमै थियौ । दुईचोटीलाई त हामीले आशा मारिसकेको थियौँ । हिजोदेखि भने सुधार हुँदै आएर भर्खर आइसोलेसनमा सारेका हौँ ।’

चालिसको दशक पार गरिसकेको संवेगलाई भर्खरकी केटीको ‘तिमी’ सम्बोधन थोरै असहज नलागेको होइन तर पनि यो महामारीमा कसैले उसको स्वास्थ्य अवस्थाबारे सोधखोज गर्नु र यति धेरै ‘केयर’देखाउनु नै ठूलो कुरा थियो । औपचारिकता निभाउँदै भन्यो– ‘तपाईंलाई धन्यवाद छ सिस्टर ।’

‘ओए हेल्लो, मलाई तपाइँसपाइँ चल्दैन । नो फर्मालिटी… यु क्यान से मि ‘तिमी’ … बोरिङहरू ! आफ्नोपन र ‘वार्मनेस’नै छैन कोहीसँग… सबजना अर्कै ग्रहबाट आएका एलियन जस्ता… मेरो हस्पिटलमा फेरि अर्को एउटा थपिएछ ।’

मास्कभित्रको ओठ मुस्कुराउँदै छ भन्ने कुरा एउटा आँखा झिम्क्याइएको देखेर थाह पायो अनि उ पनि खिसिक्क हाँस्यो ।

‘साँच्ची, यो फर्म भर्नुपर्ने थियो । तिम्रो घरबेटीले दिएको इन्फर्मेसनमा नाम र अनुमानित उमेर ४० मात्र लेखिएको छ । आफ्नो डिटेल भर्न सक्छौ नि ?’– उसको जवाफ नकुरी केस–फाइल हातमा थमाइदिएर अर्को वार्डको बिरामीतिर लागी ।

एकछिनसम्म उही परिचारिकातिर अलपक नजरले हेरिरह्यो । मनमनै कस्तो अचम्मकी केटी रहिछे भन्ने पनि लाग्यो । यस्ती फरासिलीसँग बोल्दा मात्र पनि उसलाई आधा रोग आफै निको भएर आएको जस्तो भयो । उँचो कदकाठीकी करिव ५०–५५ किलोको शरीर बोकेर हिँड्ने ती केटीको स्वरुप पिपिईभित्र कस्तो होला भन्ने कौतुहलता नजागेको होइन तर महामारीमा पुर्ण चेहरा देखाएर उपचार गर्ने कुरा पनि भएन । सोच्यो– ‘यो केटीको मनजस्तै मुहार पनि उत्तिकै सुन्दर हुनुपर्छ । आँखै त्यस्तो जादुमयी छ भने अनुहार पनि पक्कै धप्प बलेको होला ।’

मेसिन जसरी बिरामीहरूको स्याहारमा दत्तचित्त भएर लागेकी उक्त नर्शबाट ध्यान हटाएर फाइलमा भएको फारम भर्न लाग्यो ।

नाम – संवेग शर्मा,
उमेर – ४१ वर्ष
ठेगाना – तनहुँ, रम्घा– ५
पेशा – जागिर ।

‘एकक शर्मा जी त आदिकबी भानुभक्तको गाउँमा जन्मिएका रहेछौ र पो भयकंरको पोलाईटी र संस्कारी रहेछौ ।’ आफ्नै ध्यानमा लेख्दालेख्दैको संवेगको गालानजिकै अनुहार ल्याएर फारममा हेर्दै भनी– ‘अबको केही दिनमा बधुशिक्षाको लेक्चर सुन्नुपर्ने भयो होइन त ?’ अनि निहुरेको टाउको उठाउँदै दुई हात जोडेर नमस्कारको मुद्रा पारेर थपी– ‘बाइ द वे, माइ नेम इज साधना है । एज ट्वान्टी वान वान्ली ।’

‘नाइस टु मिट यु साधना !’, नाकमा अक्सिजन पाइप भएपनि आँखा र ओठमा मुस्कान ल्याएर जवाफ फर्कायो– ‘ढुक्क हुनु, बधुशिक्षाको लेक्चर दिन्न । अँ, बरु यहाँबाट बाँचेर फर्किएँ भने मेरो कथाको पात्रमा तिमीलाई उभ्याउने मुडमा छु ।’

‘ओह ! तिमी लेखक पनि हौ ? ल ठिक छ लेखकजी लेख्नु, तर पात्रको रङ्गचाहिँ भ्लादिमीर नोनोकोभको ‘लोलिता’ जस्तै रङ्गीन होस है !’

‘हा हा, लोलिता अल्ली बढी उत्ताउली पात्र होइन र ?! लेख्नै परेपछि टम्मी एन्डर्सनको लिली इन ब्लूमकी ‘लुसिफर’झैँ कन्चन र निर्मल छबीको बनाएर लेखुँला । होइन, बोल्ड रुप चाहिया हो भने क्लियोपेट्राको दोश्रो अवतार बनाएर प्रस्तुत गर्छु, हुन्न ?’– थोरै ठट्टा मिसायो ।

‘ल ल, तिम्रो ब्रम्हले देखेको लेख्नु तर पहिले पोजेटिभ भाइब्सले रोगलाई परास्त गरेर छिट्टै यहाँबाट निस्कने । अनि सुन, टेबलमा भएको यो मल्टी भिटामिन, जिन्क र भिटामिन सी ट्याब्लेटहरू खानापछि खाने ! अहिलेलाई बाई मिस्टर, म गएँ ।’

यति भन्दै हातमा फाइल बोकेर वार्डबाट हान्निदै बाहिरिई ।

०००

आज हस्पिटलमा भर्ना भएको पाँचौँ दिन । भित्तामा टाँगिएको १४ इन्चको टिभीमा झेउलाग्दो रेस्लिङ खेल चलिरहेको थियो । खोइ किन–किन जीवनमा उसलाई यो खेलले कहिल्यै तानेन । आसपास रिमोट खोज्यो भेटेन । ‘टिभी दिइसकेपछि रिमोट पनि राखीदिनु नि !’ – एक्लै भुतभुतायो अनि उठेर टिभीको स्वीच बन्द गरिदियो ।
‘होस खुलेको दोश्रो दिन नै यस्तो झेउलाग्दो छ अरु कति दिन यसरी बिताउनुपर्ने हो ? साथमा न फोन, न पढेर दिन बिताउन कुनै पुस्तक पत्रपत्रिका, न कोहीसँग कुरा गरेर समय कटाउनलाई साथी । मोनिटरबाट आएको एकोहोरो टिकटिक र घ्यारघ्यार घुरघुर बाहेक चरोमुसो बोलेको सुनिदैन । छिः कस्तो मुर्दाशान्ति, बरु बेहोसीमै बसिरहन पाएको भए ठिक हुन्थ्यो ।’

यस्तो विचार पलाएको देखेर उसले मनमनै आफैलाई गाली गऱ्यो– ‘हैट ! कस्तो सोचेको ? बेहोसीमै यमदुतको दर्शन मिल्या भए के हुन्थ्यो नि ? होसमा आएँ, भगवानलाई लाख धन्यवाद छ । रविन्सन क्रुशोले निर्जन टापुमा वर्षौंवर्ष कसरी एक्लै बिताएको थियो होला त्यो सोच न बरु । यहाँ म भने एकदिनमै आत्तिँदै छु ।’

‘हेल्लो लेखक जी ! के टोलाएर बस्दैछौ ? कथाको प्लट सोच्दै हो ?’

अचानकको साधनाको प्रवेशले उस्लाई मरुभूमिमा पानी भेटेझैँ खुशी भयो । उ केही बोल्ने उपक्रम गर्दागर्दै ब्लडप्रेशर नाप्नलाई हात तान्दै बिचैमा बोली– ‘धन्दा नमान, आज तिमीसँग पूरा एक घन्टा बिताउँछु । मलाई थाह छ तिमीलाई कति बोर भैरहेको छ भनेर । यो धर्तीमा नितान्त एक्लै छौ कि के हो ? यत्रो दिन भैसक्यो, अहिलेसम्म कोही आएका छैनन् त सोधखोज गर्न पनि । अघि मैले रिसेप्सनमा बुझेको थिएँ ।’ यति भनेर प्रेसरको सुईमा ध्यान दिई अनि नाकबाट पाइप हटाएर अक्सिजन लेभल चेक गरी ।

‘यु आर रिकभरिङ मिस्टर शर्मा । सबै राम्रो हुँदैछ । भोलीतिर ब्लड टेस्ट गराउने । नेगेटिभ आए पर्सीनै डिस्चार्ज ।’

‘नेगेटिभ नै आए पनि मलाई अल्लिदिन यहि राख्ने बन्दोबस्त गर्न मिल्दैन साधना ? शर्त यो हुनेछ कि दिनको कम्तीमा एकघन्टा तिम्रो बकबक सुन्न चाहिँ पाउन पऱ्यो ।’

‘हा हा.. यो हस्पिटलमा तिमी पहिलो एलियन हौ जसलाई मेरो बकबक मनपर्छ ।’ कुर्ची तानेर नजिकै बस्दै भनी– ‘मलाई तिम्रोबारे बताउ लेखक । आफ्नो परिवारको बारे भन । लेख्ने भन्दा अरु के काम गर्छौ ? कहाँ बस्छौ ? त्यो पनि भन ।’

उसले आफू एउटा प्राइभेट फर्ममा काम गर्ने विवाहित पुरुष भएको, श्रीमती बाउआमा र छोरीलाई गाँउमै छोडेर शहरमा डेरा लिएर बस्दै गरेको बतायो । विगत पाँच वर्षदेखि कसरी एक्लै खाना पकाउने, खाने र एउटा इन्डियन कम्पनीको मार्केटिङ हेर्ने काममा सधै बाहिर डुलिरहनु पर्ने जागिर खाँदैछ ? कसरी श्रीमती र परिवार भेट्न महिनौँ गाउँ पुग्न भ्याउँदैन ? आदि कुराको पनि बेलीबिस्तार लगायो ।

ध्यानपूर्वक कुरा सुनिरहेकी साधनाले बीचैमा रोकेर प्वाक्क बोली– ‘तिमी आफैमा एउटा कथा रहेछौ लेखक ! तर अल्ली ओल्ड फेशनको ।’

‘उसोभए नयाँयुग सुहाउँदो कथा के हुनसक्छ ? बताइदेउ न ।’

‘मलाई प्रेम गर । यो कथाचाहिँ अमिताभको ‘ब्ल्याक’ मुभी जस्तै सुपरहिट हुनेछ ।’– केटीले यसो भन्दैगर्दा चाहिँ मास्क र पिपिईभित्रको अनुहारमा गम्भीरता थियो कि ठट्टा खुट्याउन सकेन ।

वातावरणलाई केही हलुङ्गो बनाएर हाँस्दै भन्यो– ‘हा हा.. तिमीलाई प्रेम गर्न त हुन्थ्यो तर एउटा कुराले रोक्छ । सो स्याड म विवाहित पुरुष हुँ । जति प्रेम देखाउनुपर्ने हो जम्मै श्रीमतीलाई देखाउनुपर्ने हुन्छ । हो, बहिनीवाला प्रेमको स्थान भने सुरक्षित छ है, निवेदन हाल ।’

संवेगको रमाइलो कुरा सुनेर मज्जाले खित्खिताएर हाँसी अनि तुरुन्त जवाफ फर्काई– ‘म पानीरङ्गको छु मिस्टर शर्मा, यसमा जस्तो सम्बन्धको रङ्ग मिसाउनु पर्ने हो मिसाऊ । मेरो खुट्टामा आफ्नो टाउको राख्छौ कि छातीमा, तिम्रो खुशी ।’

कुर्चीबाट उठ्ने उपक्रममा झोलाभित्रबाट निकालेर भर्खरै मदन पुरस्कार प्राप्त उपान्यास ‘कान्छी महारानी’ हातमा थमाइदिँदै भनी– ‘ल, तिमीलाई एक्लै बोर नहोस् भनेर यो किताब ल्याइदेको छु, पढेर बस । म हिडेँ ।’

उ जसरी आएकी थिई, उसैगरि बाहिरिई ।

‘मेरो खुट्टामा आफ्नो टाउको राख्छौ कि छातीमा, तिम्रो खुशी ।’

संवेगलार्ई यो बाक्यले निकैबेर रन्थन्यायो । कसरी भन्न सकेकी होली ?! कस्तो अचम्मको निर्धक्ककी केटी होला ? हाँसोठट्टामै भए पनि मथिङ्गल हल्लाइदिन हुन्छ कसैको ? यो केटीको अनुहारको एक झलक हेर्न पाए पनि त हुन्थ्यो ।

यस्तै–यस्तै तर्कना उसको मनमा खेल्न थाल्यो ।

०००

आज हस्पिटल बसाईको आठौँ दिन । उसलाई छैटौं र सातौँ दिन जस्तो उराठलाग्दो जीवनमा कहिल्यै लागेको थिएन । यी दुई दिनहरूमा साधनाको स्थानमा अर्की परिचारिका वार्डमा आई । दुई मिनेट भन्दा बढी बस्दै नबस्ने अनि बोल्न पनि पैसो पर्ला जसरी बोल्ने नर्शको सेवा देखेर सधनालाई बेस्सरी ‘मिस’ गऱ्यो । साँझपख भने एउटा सेतो कोटधारी डाक्टर आएर भन्यो- ‘संवेगजी, बधाई छ । तपाईंको कोरोना रिपोर्ट नेगेटिभ आयो । म डिस्चार्ज पेपरमा साइन गरिदिन्छु । तपाईं भोलि घर जाने ।’

यो सुनेर उ खुशी र दुःखी एकैपटक भयो । खुशी यो मानेमा कि रिपोर्ट नेगेटिभ आयो अनि दुःखी यो मानेमा, साधनासँग भोलिदेखि भेट नहुने भयो ।

घडी हेऱ्यो, रातको दश बज्न लागिसकेछ । बिहान साधनाको बारे अर्की नर्शलाई सोध्दा दुई दिनको बिदा लिएकी छ भन्नेसम्म थाह पाएको थियो ।’ कमसेकम भनेर त जानू, बिदा लिँदैछु भनेर.. कस्ती निष्ठुरी केटी !…आज पनि नआउने भई.. !’ एक्लै बड्बडायो ।

‘के बडबडाउँदै बसेको एलियन ? मलाई मिस गऱ्यौ हो ??’

अचानक ढोकाबाट आएको यो आवाजले उभित्र अशीम खुशीको रक्तसञ्चार गरायो । उठेर साधनालाई गमलङ्ग अँगालोमा बेरुँ जस्तै भयो तर त्यसो गरिहाल्न भने सकेन ।

‘बिदामा बस्दैछु है भनेर जानकारी त गराउनु नि ।’ कृत्रिम रोष देखायो ।

‘भनेपछि मलाई प्रेम गर्न थालेछौ होइन ?’ हाँस्दै बोली– ‘प्रिय लेखक ! यो दुई दिनमा तिमीलाई मैले झन् नजिकबाट बुझेँ र साँच्चै मनपराउन थालेको छु, थाह छ कसरी ? मैले तिमीलाई फेसबुकमा नाम सर्च गरेर भेट्टाएँ अनि त्यहाँ पोस्ट भएका कथाहरू रातभरी रातभरि लगाएर सप्पै पढेँ । कथाहरूमध्येमा ‘नग्नता’ शीर्षकको कथामा चाहिँ अर्धसत्य लेखेका छौ । नग्नता भन्नेकुरा हेर्नेको नजरमा भरपर्ला मान्छु तर सम्पुर्ण रुपमा बुर्काले ढाकेको शरीरमा सेक्सुअल आकर्षण हुन्न । यो मेरो आफ्नै अनुभव बोल्दैछु । त्यहाँचाहिँ गलत लेखेका हौ ।’

‘ओके हुन सक्ला । तिम्रो के अनुभव रह्यो त्यस्तो ? सुनुँ न ।’

‘यो महामारी सुरु हुनुपूर्व एकबित्ते छोटो फ्रक र उरोजको क्लिभेज देखिने हस्पिटलको ड्रेस लगाएर सेवा गर्दाको बिरामी पुरुषआँखाहरूको भाका र अहिले पिपिई लगाएर गर्दाको भाकामा आकाश–जमिनको फरक छ संवेग ।’ थोरै भावुक र पिडामिश्रीत स्वरमा गम्भीर भएर बोल्न थाली उ– ‘तिमीलाई यस्तो कुरा कुनै ठूलो इस्स्यु हो जस्तो नलाग्ला तर भोग्नेलाई थाह हुन्छ यस्को सघनता । मर्न लागेर घिटिघिटी हुँदै गर्दाको बिरामीको नजर मेरो सेवामा भन्दा दुइटा मेवामा केन्द्रित भएको देख्दा कति खिन्न हुन्छु होला, अनुमान लगाउन सक्छौ ? बरु जतिसुकै गर्मी र गाह्रो भए पनि यो पिपिईभित्र आफुलाई सुरक्षित महशुस गर्छु । अरबी नारीहरूले बुर्का लगाउनाको कारण पनि हरपलमा परिने नजरको बलात्कारबाट बाँच्न हुनुपर्छ ।’

यस्तो कुरा सुनेर संवेगलाई नरमाइलो लागेर आयो । भन्न मन लाग्यो– ‘प्यारी साधना, मेरो टाउको तिम्रो गोडामै ठिक छ तिम्रो छातीमा होइन । यति गरेँ भने एउटा पुरुष भएको नाताले ती बिरामी आँखाहरूले दिएको चोटको थोरै भए पनि प्रायश्चित त हुन्छ ।’

०००

आज नवौँ दिन । डिस्चार्ज हुन नपरे पनि हुन्थ्यो भन्दै बसेको संवेगलाई उही निरश परिचारिका आएर फाइल थमाइदिँदै भनी– ‘ल बेड खाली गर्दिहाल्नुस्, अर्को बिरामी आउँदैछ ।’ अनि तुरुन्तै फर्किएर गैहाली ।

साधना खोइ भनेर सोध्न पनि भ्याएन ।

‘कस्तो निष्ठुरी केटी ? कमसेकम छुट्टीने बेलामा ‘बाई’ भन्न त आउनु नि !’– फेरि पनि एक्लै भुत्भुतायो, ‘बेक्कारमा मुटुविहीन केटीको प्रेममा परेँ ।’

हस्पिटलको गाउन खोलेर आफ्नो कपडा र जुत्ता लगायो अनि गह्रौँ पाइला लिएर कोठाबाट बाहिरियो । रिसेप्सनिस्टलाई फाइल देखाएर गेटबाट बाहिरिन मात्र के लागेको थियो पछाडिबाट उही चीरपरिचित र कर्णप्रिय आवाज सुन्यो– ‘ओए एलियन रुँदै जाँदैछौ हो ? के लाग्छ ? तिमीले मात्र प्रेम गर्न जानेका छौ ? हेर यी आँखाहरूमा, हिजोबाट एक गाग्री आँसु झरिसके ।’

पछाडि फर्किएर चुपचाप पिपिई र मास्कभित्र पुरिएको साधनाको अश्रुपुरित ठुलाठुला आँखालाई नियालिरह्यो ।

‘के हेरिरहेको ट्वाल्ल ? मेरो कथा लेख्छौ नि लेखक ? बरु मलाई कथामा कुन रङ्गले रङ्ग्याउँछौ भन न ! आफ्नो प्रेमिकाको ब्ल्याक रङ्गमा या बहिनीवाला व्हाइट रङ्गमा ?’ यति भन्दैगर्दा साधनाको आँखाको डिलबाट मोतिदानाहरू भरर गर्दै मुखमा लगाइएको मास्क भित्र खस्न थाले ।

सजल नयनले बिदाईको हात हल्लाउँदै जवाफ फर्कायो– यो दुवै रङ्ग पोत्ने छैन साधना । ब्ल्याक र ह्वाइट बीचमा अर्को एउटा रङ्ग पनि हुन्छ– ‘ग्रे’ । हाम्रो सम्बन्ध यहि रङ्गमा फिट बस्छ ।’

हाल : भरतपुर-१२, चितवन