दशैँ कहिलेबाट रे ?

दशैँ कहिलेबाट रे ?



दशैँमाथि चौतर्फी यसकारण आक्रमण गर्छन् डलरको खेती गर्नेहरु !

मोहन लामा रुम्बा

द्रव्य शाहले मगर राजा मान सिंह खड्का मारेको दिन पारेर विजय उत्सव मनाएर दशैँ मान्न थालेको रे !!
पृथ्वीनारायण शाहले तेमालको तामाङ राजा रिन्छेन दोर्जेलाई मारेर विजय उत्सव मनाउदै दशैँ मान्न थालेको रे !!
जंगबहादुर राणाले दशैँ नमानेको भन्दै राई लिम्बूलाई मारेको रे !

दशैँ कहिले देखि मान्न सुरु गर्‍यो भनेर कोहि बोल्न सक्ने अवस्थामा छैन किनभने नेपालको प्राचीन लिच्छविकाल अगाडिको कुनै लिखित अभिलेख छैन तर आजको स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ चाँगुनारायण मन्दिर चैत्यलाई लिच्छविकाल बाट मान्ने हो भने त्यही प्राचीन लिच्छविकालमा नै दशैँ पर्व मनाउने गरेको प्रमाण यथेष्ट भेटिन्छ।

नेपालमा राजा मानदेवलाई प्रथम प्रमाणित राजा मानिन्छ त्योभन्दा अगाडिको राजाहरूको नामावली विभिन्न वंशावलीमा उल्लेख भएको आधारमा लिने गरेको मात्रै हुन् ।

राजा मानदेव वैष्णव मार्गी थिए, तर उनकी महारानी र छोरीहरु सैवमार्गी थिए उनले आमा राज्यवतीको नाउँमा दुइटा वैष्णव मन्दिरहरू बनाएका थिए भने बुढानिलकण्ठमा शिवलिंगको स्थापना तथा मानेश्वर, धारा मानेश्वर र प्रवद्र्धमानेश्वर नाउँका शैव मन्दिरको स्थापना गरेका थिए भने उनले बौद्ध भिक्षु भिक्षुणी बस्नका लागि पाटनमा मानबिहार बनाएका थिए ।

राजा मानदेवले जस्तै राजा शिवदेव, राजा अंशुबर्माले पनि आआफ्ना नाउँमा बिहारहरू बनाएका थिए, अंशुबर्माले निर्माण गरेको गोकर्ण गजाधर मन्दिरको अभिलेखमा धर्मचक्र प्रवर्तनको प्रतिक चक्र र दुई मृगको चिन्ह समेत भेटेको छ, यसरी लिच्छविकालमा राजा तथा प्रजाहरूले थुप्रै विहार चैत्यहरू बनाई बुद्धधर्म फैलाएकोले लिच्छविकाललाई बुद्ध धर्मको स्वर्णयुग भन्ने गरिन्छ। आजको स्वयम्भू र बौद्धको चैत्य (बौद्धनाथ चैत्यको) को निर्माण यिनै लिच्छविकालमा भएको हुन भने तत्कालीन लिच्छविकालमा निर्मित बौद्ध बिहारहरु निम्न छन् –

१. राजा वृषदेवद्वारा सौहावचैत्य निर्माण गराई प्रतिष्ठा गरे।
२. राजा शंकरदेवद्वारा बौद्ध विहारका निम्ति जग्गा प्रदान गरे।
३. राजा धर्मदेवद्वारा राजविहार निर्माण गराई धर्मचैत्य स्थापना गरे।
४. राजा मानदेवद्वारा आफ्नो नामबाट मानविहार निर्माण गराई गुँविहारमा तपस्या गरे।
५. बौद्ध उपासिकाद्वारा बौद्ध किन्नरी जातकको नाना चित्राङ्कित गराई शोभा बृद्धि गरे।
६. राजा अंशुवर्माद्वारा राजविहार निर्माण गराई आफ्ना सुपुत्री भृकुटीलाई बौद्धमूर्तिहरु दाईजो सहित राजा श्रङ्गचेनग्याल्पोसित विवाह गराइदिए।
७. राजा देवलवेवद्वारा देवपाल विहार निर्माण गराए।
८. राजा शिवदेवद्वारा शिवदेवविहार, नन्दीशालाविहार, मणिपुर जैवविहार तथा श्री मानिधरजीवविहार निर्माण गराए।
९. राजा चम्पादेवद्वारा फूटोविहार निर्माण गराई चैत्य स्थापना गरे।
१०. राजा नरेन्द्रदेवद्वारा शिवदेवविहारलाई आफ्नो राजस्वकरको केही अंशभाग नियत गरिदिएका थिए साथै आचार्य वन्धुदत्तलाई राजकृति विहार समेत निर्माण गराई दिए ।
११. राजा बालार्जुनदेवद्वारा करुणामय श्रीबुंगमलोकेश्वरका लागि आफ्नो मुकुट चढाएका थिए।

प्रसंगवश यहाँ लिच्छविकालका शिलापत्रमा अंकित प्राचीन बौद्ध विहारहरुको नाम पनि उल्लेख गरिएको छ।

१. स्वयम्भूस्थित शंकरदेवको शिलापत्रमा बौद्ध विहारको नाम उल्लेख छ।
२. पाटन चपःटोलमा तुरणविहारको बुद्धपादपीठ लेखमा अंशुवर्माको समयमा गन्धकुटी विहार जीर्णोद्धार गरिएको कुरा उल्लेख छ।
३. हाडिगाँउ स्थित अंशुवर्माको शिलापत्रमा उल्लेखित विहारहरु-
क) साम्हें वा गुँ विहार
ख) मान विहार
ग) राज विहार
घ) खर्जुरीका विहार
ङ) मध्यमक विहार
च) सामान्य विहार

४) पाटन यंगुबाहालको नरेन्द्रदेवको शिलापत्रमा उल्लेखित विहारहरु-
क) शिवदेव विहार
ख) मानदेव विहार
ग) खर्जुरीका विहार
घ) मध्यमक विहार
ङ) अभयरुची विहार
च) कल्याणगुप्त विहार
छ) चतुर्भालटसन विहार
ज) राज विहार

५. पशुपतिको बज्रधर स्थित नरेन्द्रदेवको शिलापत्रमा उल्लेखित विहारहरु-
क) शिवदेव विहार
ख) खर्जुरीका विहार

६. नक्साल नारायण चौर स्थित जयदेवको शिलापत्रमा उल्लेखित विहारहरु-
क) अजिका विहार
ख) जीववर्म विहार

७. पाटन च्यासल स्थित जयदेवको शिलापत्रमा उल्लेखित विहार
क) पुष्पवाटिका विहार
८. पाटन इबहीस्थित नरेन्द्रदेवको पालाको जधुंमा उल्लेखित विहार। (श्रोतः ‘शिवदेव संस्कारित रुद्रवर्ण महाविहार एक अध्ययन’ स्व. हेमराज शाक्य)
माथिल्लो विवरणमा लिच्छविकाल लाई बौद्ध समुदायले स्वर्ण युग भनेर भन्ने गरिन्छ भने यही स्वर्ण युगमा लिच्छवि राजाहरूले दशैँ कसरी मनाउने गरेको थियो भनेर केहि अभिलेख हरुमा हल्का जानकारी पाउन सकिन्छ।

लिच्छवीकालको पाटन च्यासल टोलको लिच्छवी अभिलेखमा ‘नारायण देवकुल दशमी गोष्ठी’ उल्लेख भएको छ, यो गोष्ठीले दशैं पूजालाई संकेत गरेको छ भने संस्कृतविद स्व. भुवनलाल प्रधानको ‘दशैँपुजा’ पुस्तकको पृष्ठ ५७ मा लेख्नुहुन्छ- ‘राजभोगमाला वंशावली र केशर पुस्तकालय वंशावलीहरुमा उल्लेख भए अनुसार लिच्छवि राजा मानदेव (शक सं. ३८६ देखि सं. ४२७ अर्थात विं.सं. ५२१ देखि ५६२ साल)को पालामा दसैं चैत महीनाको सट्टा अश्विन महीनाको शुक्ल पक्षमा मनाउने चलन सुरु गरिएको ‘त्यहाँदेखि सानाठूला सबै प्रजाहरुले प्रतिवर्ष असोज महिनामा दशैँ कर्म गर्ने रीत चल्यो…’ श्रावणशुक्ला प्रतिपदादेखि एक महिनासम्म बौद्धमार्गीलाई बौद्धारम्भ बौद्ध यात्रा गराए ।

राजभोगमाला वंशावलीमा भने दसैं सम्मको कर्मको कुरा राजा विक्रमादित्यसेनले चलाएको भनिएको छ। अनि ूयहाँ उप्रान्त मानदेवले नेपालमा बौद्धमार्गीहरुलाई श्रावणशुक्ल प्रतिपदादेखि‘‘‘ तृतीयाका दिन विसर्जन आदिू भनेर लेखिएको छ ।

माथि केपु वंशावलीबाट झिकिएको उद्दरणमा चर्चित राजाको नाउँ ‘विक्रमदेव’भनिए पनि यिनलाई त्यसैमा लिच्छवि राजा धर्मदेवका धर्मपुत्र भनिएको छ। ऐतिहासिक रूपले राजा धर्मदेवका धर्मपुत्र भनेको राजा मानदेव प्रथम हुन्। (सोही पुस्तकमा स्व. भुवनलाल प्रधान।)

भाषा वंशावलीअनुसार यिनै राजा मानदेव पितृहत्याको पापको प्रायश्चित गर्न साँखुको बज्रयोगीनी मन्दिरमा जाँदा बज्रयोगिनीले प्रत्यक्ष दर्शन दिएर बौद्ध चैत्य बनाए तिम्रो पाप मोचन हुने सुझाव दिएपछि राजा मानदेवले बज्र योगिनिको कृपाले खरेडी परेको बेला शीत जम्मा पारी इटा बनाउदै बाह्र वर्ष लगाएर बौद्ध महाचैत्य निर्माण गरे भन्ने उल्लेख छ, त्यसैले यो चैत्यलाई स्थानीय नेवार समुदायले ‘खास्ती’ चैत्य भन्ने गरिन्छ। खास्ती सब्द ‘खसु’ र ‘ती’ मिलेर बनेको छ। नेवार भाषामा ‘खसु’ भनेको शीत हो भने पानी निचोर्नुलाई ‘तिसियू’ भनिन्छ। मानदेवले शीत जम्मा गर्न ठुला ठुला कपडा जमिनमा फिँजाएर राखेको र पछि त्यही कपडा निचोरेर पानी निकालेको भन्ने भनाइ छ, हालको प्रचलित नाम बौद्धनाथ चैत्यको नेपाली परम्परागत नाम खास्ती चैत्य हुन् तर तिब्बती पौराणिक श्रुतिमुक्ति नामक ग्रन्थमा यसलाई ज्यरुङ खशोर (བྱ་རུང་ཁ་ཤོར།) उल्लेख गरेको हुनाले तिब्बती बौद्ध समुदायले ज्यरुङ खशोर नामले चिनिन्छ, तिब्बती भाषामा ज्यरुङ को अर्थ गर्न हुने र खशोरको मतलब ुबचन खुस्केकोु भन्ने हुन्छ जुन कुरा तिब्बती पौराणिक कथामा बताए अनुसार स्तूपको निर्माता ज्यजीमाले चैत्य निर्माणको लागि राजालाई जमिनको स्वीकृति माग्दा राजाको मुखबाट चैत्य बनाउने काम थालनी गर्दा हुन्छ भन्ने बचन खुस्केको हुनाले स्तूपको नाम ज्यरुङ खशोर रहन गएको भन्ने भनाइ रहेकोे छ। यद्यपि यो एउटा किवदन्ती आस्था र विश्वास हो तर ऐतिहासिक पुष्टि हुने कुरा होइन तर नेपालको इतिहासमा दखल राख्ने पश्चिमी विद्वान डानियल राइटले पनि यो महाचैत्य राजा मानदेव प्रथमले सन् ४६४(५०५ मा निर्माण गर्न लगाएका थिए भनेर उनले पनि दावी गरेको छ।

यहाँनेर अर्को एउटा के प्रसंग जोडौं भने राजा मानदेवले पितृहत्याको पाप मोचनको लागि बौद्ध महाचैत्य निर्माण गरेको भने पनि फ़ेरि मानदेवले आफू राजा भएपछि चाँगुनारायणको मन्दिरमा राखेको अभिलेखमा आफ्नो पिता ‘धर्मदेवको अकस्मात् मृत्यु भएको’ लेखेका छन् । खैर जे होस्, जसरी बन्न गए पनि लिच्छवि राजा मानदेवको पालामा यो महाचैत्यको निर्माण भयो भन्नेमा कुनै दुविधा रहेन । तर यहाँनेर मैले उल्लेख गर्न खोजेको कुरा तत्कालीन समयमा आजको जस्तो धर्मका आधारमा समुदाय समुदायमा वर्गीकरण (Classification) थिएन भन्ने ज्वलन्त उदाहरण यिनै लिच्छविकालीन इतिहास हुन् । राजा वृषदेव बौद्ध झुकाव राख्ने मानदेव वैष्णव फ़ेरि उनकी महारानी र छोरीहरु शिव भक्त तिनै वैष्णव शैव भक्तहरुले बौद्ध स्वयम्भू जस्तो बिशाल महाचैत्यहरुको निर्माण देखि चाँगुनारायण मन्दिर हुँदै पशुपतिनाथ मन्दिर सम्मको लिच्छविकालिन सामाजिक बनावटले हाम्रो नेपालको नेपाली सभ्यता कस्तो अनुपम थियो भनेर हेर्न यहाँभन्दा अर्को उदाहरण के दिइरहन पर्ला र ?

‘दशैँ’ पर्वलाई अन्य पर्व भन्दा बढी तारो बनाइने गरिन्छ, किनकि यो पर्व हिमालय सभ्यताको मानव विकाससँगसँगै जोडिएको प्राचीन ऐतिहासिक मौलिक पर्व भएकोले अन्य पर्व भन्दा बढी विदेशी दातृनिकायबाट डलरको खेती गर्नेहरुले सबैभन्दा बढी चौतर्फी आक्रमण दशैँमा केन्द्रित गरिन्छ । तर, जति जति आक्रमण गर्दैछ त्यति त्यति यो पर्वको अझै महत्त्व पनि नयाँ पिँढीले बुझ्दै गएको पनि छ भनेर डलरेहरुले बेलैमा बुझे हुन्छ !!

एउटा राजाले पाप मोचन गर्न चैत्य बनाउछ त्यही राजाले अर्को ठाउँमा मन्दिर बनाउँछ अनि आजका आधुनिक सभ्य युगको सन्तान भनौँदाहरु त्यो हिन्दुको मन्दिर त्यो चाहिँ बौद्धको चैत्य भनेर वर्गीकरण गर्दै पाखुरा सुर्किंदै लड्छ भने यहाँ भन्दा घटिया नीच बिभाजनकारी मानसिकता के हुन सक्छ मुर्ख नेपालीको ?

खैर जे होस्, प्रसङ्ग दशैँकै हो, त्यसैले लिच्छविकालमा पनि बौद्ध-वैष्णो-शैव सबै प्रजाले मानी आएको दशैँ पर्वको थिति बसालेको केही अभिलेखपछि हामीले के बुझ्नुपर्छ भने दशैँ लिच्छवि राजाले पनि सुरुवात गरेको होइन यो त त्योभन्दा अगाडि देखिनको मानी आएको परम्परालाई थिति बसालेको मात्रै हुन् भनेर सहजै बुझ्न सकिन्छ, अतः यो दशैँ गोपाल वंश किराँतवंश देखिन मान्दै आएको पर्व होइन भनेर कसरी भन्न सकिन्छ ?

अब मल्लकालमा जाऔँ, राजा जयस्थिति मल्ल र उनका भारदारहरुले आश्विन शुक्ल अष्टमीका दिन ‘खड्ग स्वेएका’ (खड्ग स्थापना) गरेको गोपाल वंशावलीमा उल्लेख छ, त्यसबेला अष्टमीमा देवीको समीपमा खड्ग स्थापना गरी पर्सिपल्ट दशमीको दिन धार्मिक परम्पराअनुुसार खड्ग सञ्चालन गरिन्थ्यो ।उतिखेर यसलाई पायात, खड्ग जात्रा वा खड्ग चालन पनि भन्ने गरिन्थ्यो । एकातिर खड्ग स्थापनाको परम्परा त्यसबेला पाइन्छ भने अर्कोतिर भूपालेन्द्र मल्लका मन्त्री नवमी सिंहले ‘चण्डीभक्त विनोदिनी’ नामक ग्रन्थको रचना नै गरेको बाट सहजै बुझ्न सकिन्छ दसैं मल्ल राज्यको बेलामा पनि प्रमुख पर्व थियो भनेर।

उपत्यकाको राजा महीन्द्र मल्लले हनुमानढोका स्थित तलेजु भवानीको मन्दिर निर्माण गरेर यसलाई प्रताप मल्लले पुनर्निर्माण गरेको थियो यो मन्दिर पनि शक्तिपिठको रूपमा पुजा हुन्छ, यसको विशेषता भनेको वर्षमा एकपटक नवमीको दिनमा मात्रै तुलजा भवानीको ठूलो पूजा हुन्छ त्यसपछि अर्को वर्षसम्म बन्द हुन्छ । तलेजु हिन्दु धर्मावलम्बीको मन्दिर हो तर यहाँ दशैँको नवमीमा बौद्धमार्गी नेवार समुदायले छोरीचेलीलाई कुमारी बनाएर मन्दिरभित्र पूजा गर्छन् भने नवमीकै दिन यहाँ बौद्धमार्गीले महाद्वीप प्रज्वलन गर्ने परम्परा रहिआएको छ ।

१३ औं शताब्दी तिर हरिसिंह देवले सिम्रौनगढमा राज्य गरिरहेका बखत सुल्तान गयासुद्दीन तुगलकले हमला गर्ने आशंकाले शाके संवत् १२४५, नेपाल संवत् ४४४ साल पौष मासका शुक्ल पक्ष नवमी तिथि शनिश्चर बारका दिन हरिसिंह देव शरण लिन नेपाल खाल्डो प्रवेश गरेका थिए उनले पनि तलेजु मन्दिरमा दशैँ पर्वमा थुप्रै राँगो बली दिएको चर्चा तिरहुतको दरियर अभिलेखमा पाइन्छ।

झन्डै हजार पन्ध्र सोह्र सय वर्षअगाडि देखिन मान्दै आएको दशैँ पर्वको प्रमाणित अभिलेख सहित लेखी सकेपछि हिजो भर्खरैको झन्डै दुई अढाई सय वर्ष अगाडिको पृथ्वीनारायण शाहले गोर्खा बाट फुलपाती भित्र्याएर मात्रै नेपालमा दशैँ पर्वको सुरुवात गर्‍यो भन्ने र कोही कोहिचाहिँ पृथ्वीनारायणले फलानोलाई मारेर सुरुवात गर्‍यो भन्दै उफ्रिने बज्रस्वाँठ हरुको खोपडीमा कहिले घाम लाग्ला ? उफार्नेको त उनको ज्यान पाल्ने जागिर हो उनलाई सत्य झुठोसँग सरोकार हुने कुरा होइन तर ताइ न तुइमा उफ्रिनेहरु त अब त जाग्नुपर्ने होइन र ?

जाँदाजाँदै, हल्का अनुमान सबैले लगाउनुस- ‘दशैँ’ पर्वलाई अन्य पर्व भन्दा बढी तारो बनाइने गरिन्छ, किनकि यो पर्व हिमालय सभ्यताको मानव विकाससँगसँगै जोडिएको प्राचीन ऐतिहासिक मौलिक पर्व भएकोले अन्य पर्व भन्दा बढी विदेशी दातृनिकायबाट डलरको खेती गर्नेहरुले सबैभन्दा बढी चौतर्फी आक्रमण दशैँमा केन्द्रित गरिन्छ । तर, जति जति आक्रमण गर्दैछ त्यति त्यति यो पर्वको अझै महत्त्व पनि नयाँ पिँढीले बुझ्दै गएको पनि छ भनेर डलरेहरुले बेलैमा बुझे हुन्छ !!