पार्टी फुटाउन सांसदहरूको छुट्टै भेला !

पार्टी फुटाउन सांसदहरूको छुट्टै भेला !


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र उत्पन्न विवाद उत्कर्षतर्फ पुग्दै गर्दा प्रचण्ड पक्षले आफ्ना समर्थक सांसदहरूको छुट्टै बैठकको आयोजना गरेको समाचार घटना र विचारलाई प्राप्त भएको छ।

अहिले प्रधानमन्त्री र त्यसपछि अध्यक्ष पदबाट केपी शर्मा ओलीलाई जसरी पनि हटाउने योजनाअनुसार प्रचण्ड पक्षले यसपटक निकै सचेत र होशियारीपूर्वक कदम चाल्न लागेको छ । एकातिर अध्यक्ष केपीसँग सचिवालय, स्थायी समिति र केन्द्रीय समितिको बैठक माग गर्दै जाने र अर्कोतिर अप्रत्याशित कदम चालेर केपीलाई प्रतिवादको अवसर नै नदिइकन परिस्थिति आफ्नो काबुमा लिने प्रयास प्रचण्ड पक्षबाट भैरहेको बुझिएको छ।

पार्टी कमिटीको विभिन्न तहबाट केपीलाई पदमूक्त गर्ने निर्णय लिने, कारवाही गरेर पार्टीबाट निष्कासन गर्ने र सन्सदीय दलमा अविश्वासको प्रस्ताव ल्याएर दलको नेता पदबाट हटाउने रणनीतिक योजना एकसाथ कार्यान्वयन गर्न खोजिएको छ । त्यसैले मङ्सिर २ गते प्रचण्ड पक्षधर सांसदहरूको गुप्त बैठक बोलाइएको छ।

आफ्नो पक्षमा बहुमत सांसद पुगेको दाबी प्रचण्ड पक्षको छ । र, त्यस भेलामा बहुमत सांसद जुटेमा सोही दिन केपीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको बुझिएको छ । प्रतिनिधिसभाका सदस्यहरू मध्ये संसदीयदलमा बहुमतको समर्थन प्राप्त हुन अठासी स्थानको आवश्यकता पर्दछ र दुवै पक्षले आफ्नो बहुमत रहेको दाबी गरेका छन् ।

स्मरणीय छ, नेकपाभित्र उत्पन्न विवादको गहिराई हेर्दा अब दुवै पक्ष एक भएर अगाडि जानसक्ने सम्भावना अत्यन्त न्यून देखिन्छ। कसले विभाजनको घोषणा गर्ने र विभाजनको दोष कसले कसलाई लगाउने भन्ने प्रश्न मात्र अहम भएर आएको छ । माधव नेपाल विभाजनको पक्षमा नजाने विश्वास केपीपक्ष अहिलेसम्म गर्दैछ। प्रचण्ड अब केपीसँग नजाने दृढ मानसिकतामा भए पनि माधव कुमार नेपाल एमाले समेतको विभाजनमा नजाने केपी पक्षको ठम्याइ रहेको बुझिन्छ।