- तिलक पौडेल
हाम्रा नेपाली चाडपर्वहरू विद्वान् अग्रजहरूले सामयिक हिसाबमा बहुत तारतम्य मिलाएको पाइन्छ । तीजका समयमा दाजूभाइले दिदीबैनीहरूलाई डाकेर सँगै बसेर मनाउने गरिन्छ भने तिहारमा दिदीबैनीले दाजूभाइलाई निम्ता गरेर भाइटीका लगाउने प्रचलन रहेकोछ । र पनि, यसपटक भने ‘कोरोना महामारी’ का कारण सरकारले नै चाडवाडलाई सुरक्षित हिसाबले मनाऊँ भन्दै ‘चाडवाडको समयमा हामी सबै स्वस्थ रहौँ, उमङ्ग बाँडौँ । यसवर्ष स्वास्थ्य सुरक्षासाथ पर्व मनाऔँ । कोरोना महामारीबाट आफू बँचौँ, अरूलाई पनि बँचाऔँ’ टेलिफोनको रिङ्टोनमै सूचना जारी गरेको छ । परिणामस्वरूप फेरि एकपटक सपरिवार प्रकाशपर्व तिहारको भाइटीका लगाएर रम्ने/रमाउने शुभावसरबाट वञ्चित हुनुपरेको छ – अधिकांश हामीहरूलाई । मैले पनि यस्तो टीका लगाउन नरोकिँदा पनि परिवारसँग साथ नभएको तिहारको स्मरण गर्न खोज्दा दुई दशक पहिले मनाङ्मा रहँदाको क्षण आलिन पुग्यो । संयोग त्यतिबेला निम्नानुसार चित्त बुझाएको रहेछु र आज पनि विवशतापूर्वक व्यहोरा सबैसामु पस्किएर मन थुम्थुम्याउने धृष्टता गरिरहेको छु … … !
‘रिङ्दै आयो तिहार ऐले’नि, घुमी-घुमी नाचिदेऊ् भैलेनी’
देउराली प्राथमिक विद्यालयको सहयोगार्थ स-साना नानीहरूसँग गत वर्ष (२०५६) को तिहारमा गाउँ डुल्दा, सबैले उक्त गीत हाम्री छोरी – रश्मीले राम्रो गाउँछे र नाच्छे पनि भन्थे । मेरो उपस्थितिले सर्माएकी छोरी, म अँध्यारोमा छिपेपछि सक्रियतापूर्वक भाग लिएको दृष्य नयनमा झझल्कियो, जब अघि रेडियो खोल्दा यही गीत बजिरहेको थियो । वास्तवमा म धेरै वर्षको अन्तरालमा यसपटक बैनीहरूको हातको टीका परिवारको साथमा ग्रहण गर्ने अवसरबाट वञ्चित भएछु । बिहानै समाचारमा भाइटीकाको शुभ–साइत ११.३५ बजे सुनायो । शायद यतिबेला–
‘आँगन गाईको गोवरले लिपी गुन्द्री काम्लो बिछ्याइए होला । भाइ ज्ञानेन्द्रको वरिपरि केटाकेटी झुम्मिएर टीकालाई आकार दिने केराको पात काट्न पनि उछार नदिएका होलान् । आफूलाई, आ-आफैँले तयार पर्न खोज्दा रोशु/ज्ञानु/सन्तोष मात्र हैन, अब त रञ्जन समेतले रश्मीलाई तिमीले ब्लेड/फलाम छुनु हुँदैन भन्दा होलान् । दाजी अलि विलम्बै आई सम्पूर्ण पक्षको अवलोकन पश्चात रहे/भएका त्रुर्टिहरू औँल्याउने पुरानो चलनको धरोहर सम्हाल्नु हुँदै बैनीलाई यी ओखर ! ढोकामा लगेर फोर भन्दै हाडे ओखर दिनु भए होला । त्यसैबेला रातो मजेत्रोले मुख ढाकेको खोल्दै आमाले उही तिमीहरू मगु (मुगु) कि डोप्ला (डोल्पा) – म त भन्न नि जान्दिन, हुँदा दाजीले ल्याएका हुन् अब त सकिए मलाई भन्ने गर्नु हुँदा, भाउजूले केलाई चाहिएहोलान्, ति पात्रा ! जहिले भए’नि भैहाल्यो नि ! भन्नु हुन्थ्यो । शायद यो वर्ष उक्त स्थिति उपस्थित नै भएन होला ।
अन्ततः सम्पूर्ण तयारी पछि टीका लगाउने कार्यारम्भ ढिला हुन लाग्यो भन्दा बुवाले चुरोट तान्दै ‘अझै कोटमा बन्दुकै पड्काएका छैनन्, अई भक्खर हो बाजा बजाउँदै मौलातिर लाका …’ भन्दै गर्दा ठ्याक्कै बन्दुक पड्के होला र ‘उ नभन्दै बन्दुक पड्क्यो कि ! बेला ठीक्क भयो अब, लौ लगाओ’ भन्नुभएको होला । त्यसैबेला दुर्गा बैनी र भाउजू मिलेर बुवालाई ‘छिः हाम्रा बुवा त ? आज चाडका दिन पनि, ती राम्रा कपडाहरू लगाए हुन्थ्यो नि ! आज चाडका दिन पनि नलगाए, कहिलेलाई हो ती लुगा साँच्ने ?’ भन्नुभएको होला । बुवा पनि आज्ञाकारी बनेर चुरोट निभाउँदै लौ तिमीहरूले टीका लगाई सक त ! म पनि कपडा फेर्छु त नि ! सबै छोराछोरीले भनेको नमाने कस्ले भनेको मानुँला त ? भन्दै कोठातिर जानुभए होला । टीका लगाइवरि पल्तिरका बावु नानीहरू आइसकेहोलान् । ए ! यहाँ त अझै लाइएको छैन ? भन्दा ठूलीबैनीले ढोकाहरूमा साइत् छोपियो क्यारे बावु हो ! अब त दिनभरि लगाए पनि हुन्छ नि हैन त ठूल्दाइ ? भन्दिहुन् । दाजी पनि ‘लौ भो अब छिटो गर’ भन्दै टीका लगाउन रग्मगिएका केटाकेटीलाई लौ छाड, अब टीका लगाउन प¥यो, देखेनौ सबैका लगाएर आइसके भनी सोफामा बसेर ‘खै ! केराका पात ? लौ अब टीका लगाउने सानाको पालो दशैंको टीको ठूलाबाट, तिहारको टीको सानाबाट भन्छन्, त्यसो भएपछि दुर्गा पार्वतीले ज्ञानेन्द्रलाई, लक्ष्मी सरस्वतीले सन्तोषलाई र रश्मीले रञ्जनलाई लाइदिन परो’ भन्नु भए मुताविक सबै तयार भए होलान् ।
‘पानीको घेरा त एकैचोटी गरे हुन्छ, ए सानी भाउजू, ठूली भाउजू, हजुरहरू पनि यहाँ बस्नोस्, तिमी केटीहरू मेरा पछि हात जोडेर लाग’ दुर्गा बैनीको आदेशात्मक अनुरोधले आध्यात्मवादी सम्पूर्णको मनमा शिष्टतापूर्वक छोई दिंदा शान्त वातावरणमा उक्त कार्य सम्पन्न भए होला । भाउजूले मलाई सम्झँदै ‘हिंः आज हाम्रा बावु कहाँ के गर्नु भएको होला ? टीका लाउनुभए होला कि क्यार्नु भए होला ? हाँसो रमाइलो गर्नु हुन्थ्यो बरा !’ भन्नुहुँदा अघिदेखि सम्झी राखेकी सुनाले मनमा भरिएको माया भए पनि मुखले ‘आ ! दिदि, वहाँ को-को बैनी बनेर टीका लगाई दिई सके होलान् ? बाहिर हिंड्नेले त घर च्याट्टै बिर्सन्छन्, यी दाजी यहीं हुनुहुन्छ क्यारे ! हैन त दाजी ?’ भनी होलिन् । पार्वती बैनीले ‘भो हाम्री भाउजू त ! चाडका दिन पनि हुँदो नहुँदो सोच्ने, कस्ती मान्छे पो हुनुहुन्छ ?’ भन्दी होलिन् । फेरि दाजीले पनि मुगु-डोल्पा हुँदा कति बैनी पो बनाइयो नाई ! भनेर आफ्नो अतिरञ्जक बानी देखाउँदै हुनुहोला । हुन पनि कसै-कसैमा माया लिने र दिने सीपको पनि अभावै हुने गर्दछ । मेरी अर्धाङ्गिनी पनि मनमा माया प्रशस्त भए पनि सबैसामु देखाउन शर्म मान्ने पो हुन् की वा वास्तवमा म नै भ्रममा परेर मेरी श्रीमती मलाई अति नै माया गर्दछिन् सोचिरहेकोछु मलाई पनि यकीन छैन । यो उनैले जानुन् । उल्लिखित व्यहोरा आज र अहिले लागू भैरहेको होला ।
जेहोस्, प्रथम चरणमा आफ्ना-आफ्ना दिदिबैनीले तेलले चुप्रिदिन्थे । आज ज्ञानेन्द्रले कपालमा तेल थोरै लगाउन भन्दा स्वरै स्वरमा सन्तोष र रञ्जन पनि त्यसै भन्दाहुन् । दाजीले ज्ञानेन्द्रलाई, ज्ञानुले सन्तोषलाई र रोशनले रञ्जनलाई टीका आकृतिका फ्रेम केराका पात समाइदिए होलान् । टीका थाप्दाको यो क्षण मेरा लागि वास्तवमा कष्टप्रद – गर्दन अररिएर, लाग्थ्यो । मूल थाली ठूली बैनीको हातमा होला । दाजी टीका लगाइदिने छेस्का ठीक नभएको गुनासो गर्दै हुनुहोला । सबैले एउटै थालीबाट प्रयोग गर्दा टीकाको रङ्ग नमिल्ने छेस्का यताउता परे होलान् । पहिलो चरण सकिएपछि दाजीलाई ज्ञानेन्द्रले, ज्ञानुलाई सन्तोषले, रोशुलाई हजुरबा÷सुनाले सहयोग गरी दाजूभाइलाई टीका लगाउने क्रम सकिए होला । त्यसपछि भाउजूहरू अनि दिदीबैनीको पालो आउँदा दाजीले – भाउजूहरूले लगाइदिए हुन्छ नन्दहरूलाई त ! भन्नुभए होला । तर, ज्ञानेन्द्रले कलात्मक पाराले लगाइदिने बन्दा झन् नराम्रो पो बन्यो कि ! बिचरा पार्वती बैनीका बाजे यसैवर्ष परलोक हुनु भएकाले ‘यसपाली म यहीं भएर पनि लगाउन/लाउन पाइन, माहिला दाजी हुँदै हुनु भएन’ भन्दै मलिनो अनुहार बनाएकी होलिन् ।
अन्त्यमा बुवा, मूमालाई पनि लगाउन अनुरोध गरी सबैले निधारमा सप्तरङ्गी टीका लगाई सक्नु भएहोला । जुवाका लागि वल्तिर पल्तिरबाट अरू भाइभतिजाहरू जम्मा भए होलान् । टीकापछि पूmलमाला, कमीज, ब्लाउजहरू दाजुभाइ र भाउजूहरूलाई दिएपछि छोरी रश्मीले (व्यवस्था नभएको भए) दुईवटा रुमाल ल्याइदिन बुवालाई भनेकी थिएँ, बुवा नै आउनु भएन, मालामात्रै लगाएर भए पनि दाजीभाइ खुसी हुनुहोस् है भन्दै खिस्स हाँसे पनि नरमाइलो मानी होलिन् ।
त्यसपछि खानाको परिकारहरू खाइवरि इच्छा भएकाहरू जुवाको खालमा खेल्न, हेर्न, च्याँखे थाप्न, जानु भए होला । लौ मलाई १०० पुर्याइदिनु, लौ म झरी हाने, ए ! म कन्याहरूको हान्दिन,…. यस्तै–यस्तै आवाजहरूसाथ लौ मार्यो, फेरि मार्यो, तीनकाना परे, छक्कै–छक्का, छ– तीन, छ–तीन …, का स्वरहरूले रमाइलो बनाएको होला वातावरण । हुनपनि हुनपनि केटाकेटी उमेरमा तिहारको यमपञ्चक सुरु भएपछि साथीहरू मिलेर ढेब्रीको उज्यालोमा पाँच पैसा ठिनीको जुटपत्ति खेलेर रात बिताइन्थ्यो । रातभरि खेल्दा एक(दुई रुपैयाँको हारजीत हुन्थ्यो ।
आज (भाइटीका) को दिन मुन्तिरका आँगनमा पल्तिरबा, टारिघरे जेठा, माहिलाबा, मुन्तिरबाहरू मिलेर भोटेतुरुप भन्ने खेल खेल्नु हुन्थ्यो । तीन हात खाएपछि ‘ज्वइन’ भैयो यसपाली त ! भन्नुहुन्थ्यो । हामी छेउमा बसेर हेथ्र्याैँ । हामीहरू पाँच पैसा ठिनी उठाएर लख्खु बनाई काठका त्रिपासा खेलिन्थ्यो । आफूले जति हान्छु भन्यो, त्यति जित्ने वा हारेमा थप्ने गर्ने गरिन्थ्यो । एकपटक हाम्रा ठूला मामाले ‘लौ मैले एक रुपियाँ हाने है’ भन्दै हाम्रा त्रिपासा लडाउँदा तीनकाना परेर सिङ्गै रुपियाँ थपिदिएको झल्को अहिलेसम्म ताजै छ ।
वास्तवमा तास जुवा भनेको पनि अनौठो लत रहेछ । पणित माहिलाबा, खाल्टी माहिलाबाहरू पनि तिहारका बेलामा हामी केटाकेटीसँग काट्पत्ति खेलेर रात बिताइदिनु हुन्थ्यो । माहिलाबाले “तासमा थुक लगाउनु हुँदैन, जुठो हुन्छ” भनेर छेउमा कचौरामा पानी लिएर भएपनि हामीसँग रात बिताएका क्षणहरू अविस्मरणीय छन् । तिहारका भोलिपल्ट “लौ फलानाले त हजार जित्यो अरे ! विचरा फलानाले यसपाली पनि बाह्रसय हारो अरे, तेल्ले त कैलै होइन जित्ने भनेको, बरू नखेले पनि हुने नि ! हुन त अघि–पछि त खेल्दैन बरा, तिहारकै हिसाबले पनि खेत बेच्न पर्नी भो” जस्ता क्रिया–प्रतिक्रियाहरू सुन्न पाइन्थ्यो ।
तर, आज यहाँ भने म बिहान टेबुलटेनिस खेली जिल्ला शिक्षा अधिकारी श्री डम्बरध्वज थापा, प्राविधिक शाखा अधिकृत श्री लोकनाथ पौडेल र हाम्रै कार्यालयका लेखापाल श्री तीर्थराज न्यौपानेसाथ चामे बजार घुमी नमस्ते गेट (चामे प्रवेशद्वार) सम्म पुगेर ११ बजेतिर कार्यालयतिर फर्कें । कसैले टीका लगाइदिने निम्ता पनि गरेनन् । शायद यस जिल्लाको नवागन्तुक भएर पो हो कि ? रित्तो निधार लिएर यही लेख मार्पmत् घर सम्झने प्रयास गर्दै थिएँ – खानाखाने होटेलबाट बोलावट भयो । कुमार कतिला/चन्द्रमाया कतिला – हाम्रै कार्यालयका सहयोगी कर्मचारीको हो – त्यो होटेल ।
हामी होटेलमा पुग्दा रोटी, फिनी, पापड, आलु मटरको तरकारी, मासु, पोलेको एक टुक्रा मासु, लसुन, चिउरा, उसिनेको अण्डा, आलुको अचार, मूलाको अचार, पुराना अचारहरूका साथ स्याउ र ब्यागपाइपर रक्सी टक्र्याइएको थियो । आ-आफैँ भए पनि टीका (रातो–पहेंलो) लगाएर खाने सल्लाह गरी खान थाल्यौँ । मैले रक्सी र चिउरा खाइन । पछि भात समेत खाई आएर यो स्मरण लेखेँ- घर आँखामा नचाउँदै र तिहारको साँस्कृतिक परम्परागत धरोहर बँचाउँदै, भाइटीका – २०५७ ! भाइटीका – २०५७ !! भाइटीका – २०५७ !!!
र आज पनि सबैलाई सुरक्षित हिसाबले चाड मनाऔँ । घरपरिवारसँग साथ हुन नपाएकोमा मन नकुढ्याऔँ । बरू यसपटक हाम्रा वार्षिक चाडपर्वहरू २४ महिनापछि आउने भए भनेर चित्त बुझाऔँ । अर्को वर्षसम्म त कोरोनाको औषधि पनि बन्ला, अनि कोभिड–१९ को बिदाइ गरेर फेरि सनातनी रमाइलोमा सहभागी बनौँला भन्दै सबैमा शुभ दीपावलीको सुखदावसमा मनचिन्ते प्रगतिको हार्दिक मङ्गलमय शुभकामना यसै संस्मरणमार्फत् निवेदन गर्दै बिट मारेँ । शेष कुशल, सबैमा यथासम्मानसहित !
…सके सपारौँ, नसके नबिगारौँ…
प्रतिक्रिया