सङ्खुवासभामा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान

सङ्खुवासभामा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान



कारवाहीबाट प्रतिबन्धित नेकपाका कार्यकर्ता भागेको प्रहरीको दाबी


सङ्खुवासभाको चैनपुर नगरपालिका-४ मैदानेमा प्रहरीको कारवाहीबाट प्रतिबन्धित नेकपाका कार्यकर्ता भागेका प्रहरीले जनाएको छ । सोमबार बिहान ११ बजे गस्तीमा रहेको प्रहरी टोलीको कारबाहीबाट समूहका कार्यकर्ता भागेको सङ्खुवासभाका प्रहरी प्रमुख नवराज मल्लले बताएका हुन् ।

प्रहरीको नियमित गस्तीमाथि समूहका कार्यकर्ताले पहिले गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी फाइरिङ खोल्नुपरेको थियो । दुवैतर्फको गोली हानाहानबाट कुनै पनि मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।

त्यस क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । घटनास्थल मैदानेमा सशस्त्र र नेपाल प्रहरीसहित ५० भन्दा बढी सुरक्षाकर्मी खटाइएको प्रहरी प्रमुख मल्लले बताए ।

घटनास्थलमा सशस्त्र प्रहरी अरुण गुल्म चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरबाट थप सुरक्षाकर्मी पुगेका छन् । घटनास्थल आसपास सुरक्षाकर्मी परिचालन गरेर समूहका कार्यकर्ताको खोजी तीव्र पारिएको र अहिलेसम्म कोही फेला नपरेको प्रहरी प्रमुख मल्लको भनाइ छ ।