सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । आइतबार राति र सोमबार दिउँसो खप्तड क्षेत्रमा हिमपात भएको हो । दुईपटक परेको हिउँले राति र बिहानको समयमा खप्तडलगायत अन्य आसपासका क्षेत्रमा चिसो बढेको छ भने हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका छन् ।
हिउँ करिब आधा फिट जति परेको उद्योग वाणिज्य सङ्घका महासचिव तथा खप्तड झिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताउनुभयो । खड्काका अनुसार खप्तडलगायतका क्षेत्रमा कम्तीमा पनि आधा फिट हिउँ परेको छ, हिमपातका कारण चिसो पनि बढेको छ । हिमपातका कारण खप्तड क्षेत्रको दृश्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो भएको उहाँको भनाइ छ । आउँदो पुस १५ गतेसम्म पर्ने हिउँ खासै नजम्ने तथा असर पनि नगर्ने भएका कारण खप्तड घुम्न आएका पर्यटकलाई हिमपातले कुनै समस्या नपार्ने गरेको खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
कोरोना सङ्क्रमणका कारण घुमफिर तथा जताततै हिँडडुलमा स्थानीय प्रशासानले रोक लगाए पनि खप्तड क्षेत्रमा भने निर्वाध रूपमा आन्तरिक तथा जिल्ला बाहिरका पर्यटक अवलोकनका लागि आउन थालेको स्थानीय धनबहादुर विष्टले जानकारी दिनुभयो । गएको वैशाखदेखि कात्तिकसम्म खप्तड क्षेत्रमा चार हजारभन्दा बढी पर्यटक आवलोकन भ्रमणका लागि आएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय झिग्रानाले जनाएको छ ।

हिमपातका कारण त्यहाँको तापक्रम माइनस पाँच डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जानकारी दिएका छन् । आज बिहान भने खप्तडलगायतका क्षेत्रको मौसम सुधार हुनुका साथै बिहानै घाम लागेको बग्लेकका स्थानीय हर्कबहादुर साउदले जानकारी दिनुभयो ।
यस्तै, हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो ।
हुम्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको स्थानीय राजबहादुर बोहराले बताउनुभयो । बिहानै तापक्रम माइनस सात डिग्री पुगेको छ । उत्तरी हुम्ला हिमपातले सेताम्मे भएको छ । हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ ।
मानिसहरु हिउँमा रमाउन थालेका छन् । आइतबार बिहानै हिमपात हुँदा किसान खुशी भएका थिए । जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् । सोमबार बिहानै हिमपात भएपछि किसानमा खुशीयाली छाएको स्थानीय कमल भण्डारीले बताउनुभयो । लामो समय पानी नपरेकाले जमिन सुक्खा भएर जोत्न कठिन हुने देखिएका बेला यो हिमपातले त्यसलाई सहज बनाउने भण्डारीले बताउनुभयो ।
आज बिहानदेखि हुम्लाको मौसम सफा रहेको भए पनि हिमालहरु हिउँले सेताम्मे हुनुका साथै चिसो बढेको छ ।रासस
प्रतिक्रिया