विशेष प्रतिनिधि, टोकियो (जापान)
जापानकी राजकुमारी माकोले एक पटक फेरि आफ्नो बिहे पछि सारेकी छिन् । पहिलो पटक २०१७ मा गर्ने बिहे सारेकी राजकुमारीले अहिले हुने तय भए पनि पुनः सारेकी हुन् ।
जापानी राजकुमारीले यसरी पटक-पटक बिहे सार्नुलाई उनको शाही उपाधि खोसिने डर कारण हुन सक्ने मानिएको छ । जापानको कानुनअनुसार जापानको शाही परिवारको कुनै पनि सदस्यले आमनागरिक वा सर्वसाधारणसँग बिहे गरेमा शाही उपाधि र सुविधा खोसिन्छ ।
डेलीमेलले उल्लेख गरेअनुसार राजकुमारी माको करिव ७ वर्षअघिदेखि केइ कोमुरोसँग प्रेममा छिन् । केइ कोमुरो पेसाले पर्यटन व्यवसायी हुन् । राजकुमारी माकोले सबैभन्दा पहिले २०१७ मा कोमुरोसँग बिहे गर्ने बताएकी थिइन् । त्यसपछि २०१८ को डिसेम्बरमा उनीहरुको बिहे हुने तय भएको थियो । त्यो बिहे पनि सरेर अहिले २०२० मा बिहे हुने तय भएको थियो । तर, अहिले हुने भनिएको बिहे पनि राजकुमारी माकोले सारेकी छिन् ।
राजकुमारी माको र केइ कोमुरोको प्रेम २०१३ मा उनीहरु टोक्यो इन्टरनेशनल क्रिस्चियन युनिभर्सिटीमा साथै पढ्दादेखिको हो । त्यहाँको पढाइ सकेपछि राजकुमारी माको थप अध्ययनको लागि बेलायत गइन्, कोमुरो जापानमै बसे तर उनहिरुको प्रेम कायमै रह्यो ।
कोमुरोसँगको बिहे सारेपछि राजकुमारीले यस समय भविष्यको योजनाको बारेमा केही भन्न निकै कठिन भएको बताएकी छिन् । यद्यपि उनले जारी गरेको वक्तव्यमा आफूहरु प्रतिस्थापन गर्न नमिल्ने भएको बताएकी छिन् ।
यसअघि जापानको शाही परिवारमा पछिल्लो पटक राजकुमारी माकोकी फुपु सयोकाको राजकुमारी उपाधि खोसिएको थियो । राजकुमारी सयाकोले २००५ मा सर्वसाधारणसँग बिहे गरेपछि उनको शाही उपाधि खोसिएको थियो । जापानको यो नियम विवादित पनि रहँदै आएको छ किनकि शाही परिवारबाहिर बिहे गर्ने पुरुष सदस्यको शाही उपाधि खोसिँदैन र महिला सदस्यको मात्रै उपाधि खोसिन्छ ।
प्रतिक्रिया