लापर्वाहीका कारण कोरोनासंक्रमितको मृत्यु

लापर्वाहीका कारण कोरोनासंक्रमितको मृत्यु



विशेष प्रतिनिधि, भैरहवा

रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित बिरामीको अस्पतालको लापर्वाहीका कारण मृत्यु भएको छ।

गत कात्तिक २६ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएर भीम अस्पतालमा उपचाररत रुपन्देहीको तिलोत्तमा-४ विष्णुपुराका मेघराज ज्ञवाली शौचालयबाट बाहिर निस्किन नसक्दा मृत्यु भएको हो ।

अस्पतालको आइसोलेशनमा रहेका उनी स्वास्थ्यकर्मीको सहयोगबिना नै शौचालयमा गएका थिए ।

अस्पतालले जनशक्ति अभाव भन्दै संक्रमितको हेरचाहमा लापर्वाही गरेर उनलाई एक्लै शौचालय जान दिएको थियो । शौचालय गएका उनी मृत अवस्थामा फेला परेका थिए ।

कोरोनाको संक्रमण देखिएको दुई दिनपछि ५८ वर्षीय ज्ञवाली रुपन्देहीकै पुरानो भैरहवाको भीम अस्पतालमा भर्ना भए । अस्पतालको आइसोलेसन वार्डमा राखिएका ज्ञवालीले मुटुरोगको औषधी खाइरहेका थिए । उनलाई अक्सिजन दिएर राखिएको थियो ।

साथै उनलाई २९ गते राति करिब १० बजेदेखि प्लाज्मा चढाइएको थियो । उनको अवस्था जटिल हुन सक्ने ठानेर परिवारले काठमाडौं लैजानका लागि उनीहरूले हेलिकप्टरसमेत चार्टर्ड गरिसकेका थिए।

ज्ञवालीका साला अर्जुन पौडेलले बिहान ३ बजेसम्म परिवारसँग फेसबुक म्यासेन्जरमा कुरा गर्दै आफ्नो स्वास्थ्य ठिकै रहेको जानकारी गराएको जनाएका छन्।

रातिदेखि अक्सिजन र प्लाज्मा चढाइए पनि बिहान तीन बजेतिर उनी शौचालय गएका थिए । बिहान ७ बजेतिर अस्पतालले उनको मृत्यु भएको जानकारी गराएको पौडेलले बताए।

‘राति ३ बजेसम्म भिनाजुले मसँग म्यासेन्जरमा कुरा गर्नुभएको थियो, म ठीकै छु भन्नुभयो तर अस्पतालले बिहान ७ बजे मृत्यु भएको जानकारी गराउँदा छांगाबाट खसेजस्तो भयौं,’ पौडेलले भने।

पौडेलका अनुसार म्यासेन्जरमा कुरा गरेपछि ज्ञवाली शौचालय गएका रहेछन् । अस्पतालले पनि सोही समयमै उनी शौचालय गएको बताउँछ ।

अस्पतालका स्वास्थ्यकर्मीले उनी बेडमा नभएको कुरा बिहान पाँच बजे मात्रै थाहा पाए ।

‘मलाई बिहान ५ बजे भिनाजु शौचालयमा भित्रबाट चुकुल लगाएको अवस्थामा हुनुहुन्छ निकाल्ने प्रयास हुँदैछ भनेर अस्पतालबाट खबर आएको थियो, त्यसपछि पनि दुई घन्टा पछि बल्ल निकाल्यौं तर उहाँको मृत्यु भइसकेको छ भनेर अस्पतालले जानकारी गरायो’, पौडेलले भने- ‘अस्पतालमा यतिसम्म पनि लापरबाही भयो।’

अक्सिजन र प्लाज्माको सहारामा उपचार भइरहेको व्यक्तिलाई शौचालय एक्लै पठाउनु र शौचालयमा चुकुल लगाएर बस्न दिनु नै अस्पतालको लापरबाही भएको परिवारको भनाइ छ।

कोभिडको संक्रमणका कारण गम्भीर अवस्थामा उपचार भइरहेका बिरामी अस्पतालको बेडबाट लामो समयसम्म गायब हुँदासम्म स्वास्थ्यकर्मीले थाहा नपाएको भन्दै तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले पनि आपत्ति जनाएका थिए ।

‘अस्पताल अस्पताल जस्तो भएन, गम्भीर अवस्थाको बिरामी यसरी २ घन्टासम्म बेडबाट हराउँदा थाहा नपाउनेजस्तो गम्भीर लापरबाही के हुन सक्छ ?,’ घिमिरेले भने।

आइसोलेसन अस्पतालका चिकित्सक आरिफ हुसेन खानले भने ज्ञवालीको मृत्यु अस्पतालको नभई आफन्तको लापरबाहीले भएको बताए।

‘उनको मृत्यु अस्पतालको नभई बिरामीको आफन्तको लापरबाहीका कारण भएको हो, हामीले बिरामीसँग एक जना कुरूवा बस्नुस् भनेका थियौं, उहाँहरू बस्नुभएन सबै बिरामीको पछि लागेर शौचालय लैजाने ल्याउने गर्न हामीसँग जनशक्ति हुँदैन,’ उनले भने।

उनले कुरुवा बस्ने कुरा गरेपनि आइसोलेशनको मापदण्ड र नियमविपरित हुन्छ। डाक्टर खानले जनशक्ति अभाव भएकाले त्यस्तो गर्नु पर्ने तर्क गर्छन्।

आइसोलेसनमा जनशक्ति अभाव भएका कारण गम्भीर अवस्थाका संक्रमितको रेखदेखको लागि एकजना कुरुवा संक्रमितसँग बस्न दिने गरेको उनले बताए।

‘आइसोलेसनमा २७ जना संक्रमित हुनुहुन्छ, एक सिफ्टमा जम्मा दुई जना नर्स, दुई जना मेडिकल अफिसर र एकजना कन्सल्टेन्टले राउण्डमा बिरामीहरुको रेखदेख गरिरहेका छौं, यस्तोमा कुरुवा बस्न नदिएर के गर्ने ?’ उनले भने।

मृतक ज्ञवालीका साला पौडेलले भने आफूहरूलाई भित्र जान नदिएर प्लाज्मा दिएर बाहिर बसेको बताए।

लुम्बिनी प्रदेश सरकारले भीम अस्पतालसँगै लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, बेलझुण्डी दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाँकेको भेरी अस्पतालमा कोरोना संक्रमितको उपचार गर्ने भन्दै आइसियूसहितको आइसोलेसन निर्माण गरेको थियो ।

आइसियूसहितको आइसोलेसन अस्पताल निर्माणको लागि चार जना मन्त्रीलाई एक/एक वटा अस्पतालको जिम्मेवारीसमेत तोकिएको थियो।

सोही अनुसार भीम अस्पतालको जिम्मेवारी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराललाई दिइएको थियो । तर मन्त्री बरालले भने अस्पताललाई सुधार गर्न कुनै प्रयास गरेका छैनन् । अस्पतालहरु सुधार गर्नका लागि निर्णयहरु भएपनि ती कागजमा मात्रै सीमित छन् ।