आठ महिनापछि खुल्यो लुम्बिनी

आठ महिनापछि खुल्यो लुम्बिनी



पुनहरि बेल्बासे, लुम्बिनी

विश्वमै कोभिड-१९ बाट आक्रान्त बनेसँगै नेपाल पनि अछुतो रहेन र देशभर लकडाउन भयो । लकडाउनसँग विश्व सम्पदा सूचिका पर्यटकीय क्षेत्र पनि बन्द भएका थिए । देशभरी बन्द भएसँगै विश्व शान्तिको केन्द्र लुम्बिनी पनि बन्द नै थियो ।

२०७६ चैतदेखि बन्द रहेको शान्ति क्षेत्र लुम्बिनी हिजो बुधबारदेखि खुला गरिएको छ । नेपाल सरकारले गत शुक्रबार पर्यटकीय गन्तब्यहरु खुलाउने निर्णय गरेसँगै बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र पर्यटकका लागि बुधबारदेखि खुला गरिएको लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनी क्षेत्र खुला भएपनि मायादेवी मन्दिर भित्र भने प्रवेश गर्न रोक लगाइएको छ ।

मायादेवी मन्दिर परिसरमा रहेको अशोक स्तम्भ, पुष्करिणी पोखरी, बगैँचा भने खुला रहने छ । लुम्बिनी प्रवेश गर्ने पर्यटकका लागि सरकारले तोकेको स्वास्थ्य मापदण्ड भने पूर्ण रुपमा पालना गर्नुपर्ने छ । लुम्बिनी विकास कोषले आधिकारिक रुपमा बुधबार मात्रै खुला गरेता पनि आन्तरिक पर्यटकका लागि लुम्बिनी क्षेत्र दशैंलगत्तै खुला गरिएको थियो । मायादेवी मन्दिर भित्र प्रवेश गर्न नपाए पनि मन्दिर वरपर घुम्न मिल्ने व्यवस्था मिलाइएको थियो । अहिले औपचारिक रुपमा खुला गरिएको छ ।

लुम्बिनी विकास कोषको गुरुयोजना पूरा गर्नको लागि अहिले करिब ७ अर्ब लगानीमा गुरुयोजनाका काम भइरहेको छ । गुरुयोजनाभित्रको ३५ किलोमिटर बाटो पिच गर्ने, मायादेवी मन्दिर वरपर पैदल मार्ग निर्माण गर्ने, पूर्वी र पश्चिम मोनास्लीहरु जोड्ने, ६ ओटा भवन बनाउने, ढलको निकास गर्ने, फोहोर व्यवस्थापन र लुम्बिनी क्षेत्रभित्र रिभर कन्ट्रोलिङ्को व्यवस्था मिलाउने काम अगाडि बढाइएको लुम्बिनी विकासकोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेशकुमार त्रिपाठी) ले बताएका छन् ।