सनत आचार्य
गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्रबार एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
शुक्रबार गरिएको सरुवामा ललितपुर र काठमाडौंका प्रहरी प्रमुखहरू फेरिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंमा एसएसपी अशोक सिंहलाई सरुवा गरिएको छ । सिंह प्रहरी प्रधान कार्यालयअन्तर्गत अपराध अनुसन्धान विभाग अपराध नियन्त्रण महाशाखा, नक्सालमा कार्यरत थिए ।
सिंह नेपाल प्रहरीभित्र इमान्दार, मेहनती र व्यावसायिक छवि बनाएका निडर प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । यसअघि पनि उनी परिसरमा एसपीको रूपमा लामो समयसम्म काम गरिसकेका व्यक्ति हुन् ।
परिसरमा कार्यरत एसएसपी श्यामलाल ज्ञवालीलाई अपराध नियन्त्रण महाशाखामा नक्सालमा सरुवा गरिएको छ ।
त्यस्तै, महानगरीय प्रहरी परिसर ललितपुरमा किरण बज्राचार्यको सरुवा भएको छ । बर्जाचार्य महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिइन् । बज्राचार्य महिला अधिकृत हुनुका बाबजुद आफ्नो पेशामा इमान्दार र निडर प्रहरी अधिकृतको रुपमा चिनिन्छिन् ।
प्रहरी परिसर ललितपुरमा कार्यरत टेकप्रसाद राईलाई कार्य विभाग कार्य महाशाखा, नक्साल सरुवा गरिएको छ ।
त्यस्तै, महानगरीय ट्राफिक महाशाखामा एसएसपी जनक भट्टराईको सरुवा भएको छ । भट्टराई प्रहरी प्रधान कार्यालयमा तालिम महाशाखामा कार्यरत थिए । भट्टराई पनि प्रहरी संगठनभित्र राम्रो छवी बनाएका एक इमान्दार र नैतिकवान प्रहरी अधिकृतका रूपमा आफ्नो पहिचान बनाएका व्यक्ति हुन् ।
त्यस्तै, एसएसपी लालमणि आचार्यलाई प्रहरी कल्याण महाशाखाबाट विपद् व्यवस्थापन महाशाखा, सामाखुसीमा सरुवा गरिएको छ ।
मुकेशकुमार सिंहको सुदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायल, डोटी सरुवा भएको छ । यसअघि सिंह प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिममा कार्यरत थिए ।
प्रहरी प्रधान कार्यालयले एसएसपीहरूको सरुवा भएको जानकारी दिँदै कार्यान्वयनका लागि विभिन्न निकायहरूमा बोधार्थ पठाएको छ ।
हेर्नुहोस् सरुवाको सूची-
प्रतिक्रिया