द्विपक्षीय सम्बन्धको नयाँ गतिलाई कायम राख्न दुवै पक्ष सहमत

द्विपक्षीय सम्बन्धको नयाँ गतिलाई कायम राख्न दुवै पक्ष सहमत



नेपाल भ्रमणको पहिलो दिन भारतीय विदेश सचिवको भेटवार्ता

बिहीबारबाट नेपालको दुई दिवसीय औपचारिक भ्रमण सुरु गरेका भारतीय विदेश सचिव हिर्षबर्द्धन श्रृंगलाले भ्रमणको पहिलो दिन परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालसँग भेटवार्ता गर्नुका साथै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ताहरू सौहार्दपूर्ण र सकारात्मक वातावरणमा सम्पन्न भएको भारतीय दूतावासले जनाएको छ ।

बैठकमा दुई परराष्ट्र सचिवले दुई देशबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका बारेमा छलफल एवम् समीक्षा गरेका छन् । दुवै सचिवले महामारीले निम्त्याएको विषम परिस्थितिको बाबजुद सहकार्यको विविध क्षेत्रमा भएका उल्लेखनीय प्रगतिमा सन्तुष्टि व्यक्त गरेका दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यस अवधिमा सीमामा व्यापार र वाणिज्यको सहज र निर्वाध गतिविधि तथा विकास परियोजनाहरूको सक्रिय कार्यान्वयन सुनिश्चित गर्न भारत सरकारले खेलेको भूमिकाको नेपाली पक्षले सराहना गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बताइएअनुसार दुवै परराष्ट्र सचिवले सीमासम्बन्धी विषयमा छलफल गर्नुका साथै बाँकी खण्डमा सीमासम्बन्धी कार्य सम्पन्न गर्नेबारे आ-आफ्ना धारणाहरू साटासाट गरेका छन् । दुवै देशका परराष्ट्र सचिवले उच्चस्तरीय द्विपक्षीय सम्बन्धमा नयाँ गतिलाई कायम राख्न र दुवै देशहरूबीच परम्परागत रूपमा घनिष्ठ, मैत्रीपूर्ण र बहुपक्षीय साझेदारीलाई अझ मजबुत बनाउन सहमति जनाएका छन् ।

यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्तामा विदेश सचिव श्रृंगलाले भारतका राष्ट्रपतिको सन्देश सुनाएका थिए । राष्ट्रपतिसँगको भेटवार्तामा दुई देशबीचको घनिष्ट सम्बन्ध र यसलाई अझ मजबुत बनाउने तरिकाहरु बारे छलफल भएको बताइएको छ ।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीसँगको शिष्टाचार भेटका क्रममा विदेश सचिव श्रृंगलाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउनुका साथै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र समकक्षी भरतराज पौड्यालसँग भएको फलदायी भेटवार्ताबारे जानकारी गराएका थिए । विदेश सचिव श्रृंगलाले द्विपक्षीय सम्पर्कलाई गति प्रदान गर्न, जनता-जनताबीचको सम्बन्धलाई मजबुत बनाउन, सारभूत एवम् रणनैतिक द्विपक्षीय पहल र आपसी हितका विषयहरुको ठोस प्रगतिका लागि दुवै पक्षबीच सहमति आवश्यक रहेको कुरामा जोड दिएका विज्ञप्तिमार्फत् जनाइएको छ ।

यस्तै, परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटका क्रममा दुवै पक्षबीच द्विपक्षीय सम्बन्ध सुदृढीकरण र द्विपक्षीय आदानप्रदान र सहकार्यको दिशालाई अघि बढाउनेबारे विचार आदानप्रदान भयो । विदेश सचिव श्रृंगलाले कोभिड-१९ को चुनौतीलाई सामना गर्न भारतले गरेको उल्लेख्य प्रगतिबारे परराष्ट्रमन्त्रीलाई जानकारी गराउनुका साथै परराष्ट्रमन्त्री ज्ञवालीलाई भारतका विदेशमन्त्री डा. एस जयशंकरद्वारा संयुक्त आयोगको अर्को बैठकमा सहभागी हुन पठाइएको निमन्त्रणाबारे पनि जानकारी गराएका थिए ।

बैठकपछिको एउटा छुट्टै समारोहमा भारतीय विदेश सचिव श्रृंगलाले परराष्ट्रमन्त्री ज्ञवालीलाई कोरोनासंक्रमित बिरामीको उपचारका लागि २००० थान रेम्डेसिभिर इन्जेक्सन हस्तान्तरण गरेका थिए । ज्ञातव्य छ, भारत सरकारले गत अप्रिल महिनादेखि नै कोभिड-१९ विरुद्व लड्न आवश्यक औषधी, उपकरण तथा क्षमता विकासमा नेपाललाई सहयोग पुऱ्याइरहेको छ । अहिलेको सहयोग पनि त्यसकै निरन्तरता भएको बताइएको छ । कोभिड-१९ सम्बन्धी हर सहयोग पुऱ्याउन नेपाललाई भारतको निरन्तर साथ रहने कुराको आश्वासन पनि विदेश सचिव श्रृंगलाले दिएका छन् ।

pict:RSS