नेकपा अध्यक्ष ओलीद्वारा सचिवालयमा प्रस्ताव प्रस्तुत, आइतबार छलफल गरिने

नेकपा अध्यक्ष ओलीद्वारा सचिवालयमा प्रस्ताव प्रस्तुत, आइतबार छलफल गरिने



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बहुप्रतीक्षित धारणा लिखित रूपमा पार्टीको सचिवालय बैठकमा पेश गरेका छन् । यसअघि मङ्सिर ३ गते सहअध्यक्ष प्रचण्डले केपीमाथि विभिन्न संगीन आरोप लगाउँदै प्रस्ताव पेश गरेका थिए ।

शनिबारको पार्टी बैठबारे जानकारी दिँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले यसअघिको बैठकमा तय भएअनुसार नै आफ्नो विचार लिखित रूपमा प्रस्तुत गरेका जनाएका छन् । प्रस्तुत विचारले पार्टीमा देखिएको समस्या, त्यसको जरो, पार्टीको सङ्कट र त्यसको सारतत्वका बारेमा छलफल हुनु र पार्टीको समस्या, सङ्कट तथा समाधान र निवारणका बारेमा छलफल हुनु स्वाभाविक भएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

बहसले पार्टीलाई एकता र गति पैदा गर्न सक्ने भन्दै प्रवक्ता श्रेष्ठले बैठमा प्रस्तुत भएका प्रस्तावमाथि पार्टी कमिटीमा हुने बहसको प्रक्रियाले पार्टीभित्र सकारात्मक योगदान गर्ने जिकिर गरे ।

यही मङ्सिर ३ गते बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई आफ्नो विचार लिखित रूपमा प्रस्तुत गर्नका लागि सहमति प्रदान गरेको थियो ।

अध्यक्ष ओलीद्वारा प्रस्तावित प्रतिवेदनलाई अध्ययन गर्नका लागि थप तीन दिनको समय सचिवालय बैठकलाई दिइएको प्रवक्ता श्रेष्ठले बताए ।

उनकाअनुसार उक्त प्रतिवेदन अध्ययन गरेर तथा आवश्यक छलफल र गृहकार्य गरेर १६ गते आइतबार १ बजे पुनः सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बस्ने छ । अध्यक्ष ओलीले लिखित रूपमा प्रस्ताव पेश गरे पनि आफूहरुले हेर्न नपाएको उनले खुलासा गरे । प्रस्ताव हेर्न नपाए पनि पार्टीको अहिलेको समस्या, सङ्कट र त्यसलाई सामाधान गर्न छलफल बहस र अन्तरसङ्घर्षलाई सही दिशा दिनुपर्ने आवश्यकता प्रस्तावमा औँल्याइएको उनले जानकारी दिए ।

आजको सचिवालयको बैठकमा बोल्नुहुने अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको रक्षामा जोड दिएका उनको भनाइ छ । पार्टी एकताको रक्षा र सुदृढीकरण गर्न अहिलेको छलफल र बहसलाई सदुपयोग गर्नुपर्छ भन्ने नेताहरुको समान धारणा रहेको प्रवक्ता श्रेष्ठले बताए ।

ओली र प्रचण्डका दुवै प्रस्तावमाथि अध्ययन गरेर आगामी सचिवालय बैठकमा छलफल गरिने बताइएको छ । दुवै प्रस्तावमाथि यही मङ्सिर १६ गते बस्ने सचिवालय बैठकमा छलफल हुने र त्यो दिन नसकिए अर्को दिन मङ्सिर १७ गते पनि गर्ने श्रेष्ठले बताए ।

ज्ञातव्य छ, नेकपाले यही मङ्सिर १८ गते स्थायी कमिटी र मङ्सिर २५ गते केन्द्रीय कमिटी बैठकको आयोजना गरेको छ ।