■ स्वयम्भूनाथ कार्की

सन्दर्भ नेपालीहरूको आँखा चिम्लेर हरेक कुरा विश्वास गर्ने प्रवृत्तिको हो । कुनै व्यक्तिलाई क्षमतावान देखेर उसलाई मान्नेवित्तिकै उसको वाक्यलाई ‘ब्रम्हवाक्य’ मान्नेहरूको बाहुल्यता नेपालमा छ । त्यसैले यहाँ कुनै प्रश्न उठाइँदैन । सर्वहारालाई पुँजिपतिले हमेशा शोषण गर्दछन्, पुँजीको निर्माण शोषणबाट मात्र सम्भव छ भन्ने सिद्धान्तमा आधारित कम्युनिष्ट दर्शनमा आधारित दलहरूका नेता अर्बपति छन् । कोही पहिलेदेखि नै अर्बपति थिए भने कोही नेता भएपछि अर्बपति भएका छन् । अहिलेको छाक जसोतसो टारेर भरे के खाउँ भन्नेहरूका यस्ता अर्बपति नेताहरूसँग प्रश्न कहिल्यै सोधिँदैन, केवल अटल विश्वास छ भन्ने प्रदर्शन गरिन्छ ।
धार्मिक प्रवचन दिनेहरू सामान्यतया जिज्ञासाको उत्तर दिने गर्दैनन् । अन्धश्रद्धा नभएमा त्यो भक्ति होइन भन्ने गर्दछन् । भक्तिमा ज्ञान आर्जन हुँदैन, हरेक धर्मका प्रवचनहरूमा केवल आफ्नो पन्थको महिमा मात्र हुन्छ । भक्तिको यो आँखा चिम्लेर विश्वास गरिने बाटो के व्यवहारिक जीवनमा पनि काम लाग्ला ? किन र कसरीको उत्तर नखोजेको भए, शङ्कालु भएर विवेचन नगरेको भए समाजको प्रगति नै हुने थिएन । त्यसैले जहाँ शिक्षा दिइन्छ त्यहाँ विद्यार्थीबाट जिज्ञासाको अपेक्षा गरिन्छ । कुनै विषय राम्ररी बुझ्न शङ्काको समाधान हुनै पर्दछ । यो पद्धति पौराणिक गुरुकुलदेखि आधुनिक शिक्षा प्रणालीसम्म एकनासले लागू भएको छ । सनातनमा जहाँ ‘भक्तिमा शङ्का गर्नु हुँदैन’ भन्नेहरू छन् भने ‘वादेवादे जायते तत्वबोध’ भनेर शङ्काको उपयोगले ज्ञान प्राप्त हुन्छ भन्नेहरू पनि छन् ।
‘जनताद्वारा जनताले जनताको निमित्त’ भन्ने सिद्धान्तमा आधारित आफूलाई पहिले प्रजातन्त्र र अहिले लोकतन्त्रका एक्लो ठेकेदार भन्ने दलहरू र तिनका अनुयायीहरूको पनि उस्तै हालत छ । प्रजातन्त्रमा कुनै कठिन समस्या हल गर्न त्यसलाई जनताको बीच ल्याउनु पर्दछ भन्ने मान्यता छ । तर, सानोदेखि ठूलो समस्या पनि शीर्ष नेताहरूको जिम्मा लगाइन्छ । तथापि, आजसम्म कसैले ‘यो कसरी प्रजातन्त्र भयो ?’ भनेर सोधेको थाहा छैन । दलहरूमा मात्र हैन भातृ सङ्गठनहरूमा पनि शीर्ष नेताहरूको मर्जीबेगर केही नहुने कुरा कसरी प्रजातन्त्रको परिभाषामा अटायो भनेर सोध्ने मुटु कसैको छैन ।
आफ्नो बुद्धि/विवेक सबै बिसाएर जस्तो कुरा पनि पत्याउने आजको वर्तमान पिँढीले मुलुकको भविष्य अँध्यारोतिर लैजाने निश्चित छ । कुनै पनि वाद कुनै पनि व्यवस्थाले यस्ता अरुद्वारा सञ्चालित ‘रोबोट’ सरहका नागरिक भएको मुलुक अगाडि बढाउन सक्दैन । कारण स्पष्ट छ, उनीहरूलाई विचार आपूर्ति गर्ने औंलामा गन्न सकिनेहरू सकिनेवित्तिकै यो पिँढी कुहिराको काग हुन्छ । त्यो लक्षण देखिन थालिसकेको छ । तर्कविहीन बुद्धिविहीन विचारहरू प्रवाहित हुन थालेका छन् । विरोधको उत्तरतर्क र क्षमताले हैन बाहुबलले दिने प्रवृत्ति बढ्दैछ । त्यसैले विस्तारै मुलुक ‘डन’हरूको नियन्त्रणमा पुग्दैछ ।
सार्वभौभ सत्ता आफूसँग भएको संविधान हेरेर जनता हरेक कुरामा राज्यको निर्देशित जनता भएर बाँच्नु परेको छ, तर ‘यस्तो किन ?’ भनेर प्रश्न गर्न कसैको हिम्मत छैन ।
तथ्य खोजेर त्यसको विवेचन गरेर आफुले निष्कर्ष निकाल्न खोजिँदैन । यसको कारण अल्छी होइन त्यो क्षमताको अभाव हुँदै गएको हो । नेता भएपछि त्यो सर्वज्ञ हुन्छ भन्ने सोच यसरी हावी हुँदैछ कि उद्यमशीलताको प्रशिक्षण दिन नेता आउन थाले । यस्तो दिन नआउला भन्न सकिन्न कि चिकित्सा सिकाउन कुनै नेताले कक्षा लिइरहेको होस्, अनि त्यहाँ भाषण दिइरहेको होस् कि लुई पाश्चरले खोप निकालेर चिकित्सकहरूको हात बाँधिदिए । उनले खोप नलिकालेर रेडियोलोजी खोजेका भए उपयुक्त हुने थियो । बरु भोक नलाग्ने औषधि निकालेको भए गरिव धनीको शोषणमा पर्ने थिएन । यो हचुवाको तालमा भनिएको हैन यस्तै प्रकृतिको कुरा आउन शुरु भइसकेको छ ।
सार्वभौभ सत्ता आफूसँग भएको संविधान हेरेर जनता हरेक कुरामा राज्यको निर्देशित जनता भएर बाँच्नु परेको छ, तर ‘यस्तो किन ?’ भनेर प्रश्न गर्न कसैको हिम्मत छैन । सार्वभौम जनताको त कुरै पर जाओस् जिम्मेवार पदाधिकारीलाई पनि सरकार प्रमुखको दर्शनभेट (?) भएकोे समाचार सुन्न पाइन्छ । जनताको कुरा सरकारसम्म पुग्ने संयन्त्र खोइ भनेर सोध्ने ह्याउ कसैको देखिन्न ।
नेपालीको साझा एकताको सुत्र भनेर संविधानले भनेको राष्ट्रपति पार्टीको कलह साम्य पार्न भगिरथ प्रयत्नमा लीन हुँदा के देश भनेको फलाना पार्टी मात्र हो भनेर सोध्न त ठूलै ह्याउ चाहिन्छ । मुखैमा कानुन भएका राणाहरूसँग आँखा जुधाएर कुरा गर्न सके तर सार्वभौम सत्ता सम्पन्न जनताले राष्ट्रपति त के त्योभन्दा धेरै तलको मान्यता क्रममा भएकाहरूको आलोचना गर्दा पनि जेल पर्नु परेको उदाहरण प्रशस्त छन् । के यो प्रश्न गर्नै भय मान्नुपर्ने समाज लोकतान्त्रिक समाज हो ? यो मेरो निडर प्रश्न हो ।
प्रतिक्रिया