भाले मेवा !

भाले मेवा !



अर्जुनराज पन्त

मन लागेर बिछट्टै भो खेतिबाली फेर्न
एउटै बोटमा धेरै फल्ने रुखका फल ती हेर्न

हुँदाखाँदाको बाली फाँडी मेवा भन्दै रोपेँ
मर्ने हो कि घामले भन्दै डोको लगि छोपेँ

खुबै गरेँ स्याहारसुसार गोड्दै हाल्दै पानी
विदेशी त्यो मल नि हालेँ किनी छानि-छानि !

पाँउदाखेरि स्याहारसुसार त्यो रुखले हाम्रो
हर्लक्कै बढिहाल्यो बोट नि भयो राम्रो

हेर्न थालेँ रुखतिर कहिले फल्छ भनी
सप्रिएको त्यो रुखका आँख्ला-आँख्ला गनी

कस्तो खालको परेछ खै मात्रै छुस्स फुल्छ !
दुई दिनपछि ओइली झर्छ फल लाउनचाहिँ भुल्छ !

कति गरेँ मलजल त्यस्को कति गरे सेवा
आखिरीमा फसिएछ रोपी भाले मेवा !

आज फल्ला भोलि फल्ला आएन त्यो दिन !
यस्तो खालको बोझ वृक्ष राख्नु कति किन ?

आश देखाउँदै सोसी खायो खेतबारीको मल
के गर्नु खै त्यस्तो लाथ्रो लाग्दैन केही फल !

न त मिल्छ बनाउनलाई टेकी हिँड्ने लौरो
न त बन्छ चिरे पनि आगो ताप्ने दाउरो !

काट्दा पनि बन्दैन केही देख्दा वृक्ष भा’नि
भित्र सबै ढ्वाङ परेको बोक्रो पानी-पानी !

करिमैले यस्तो पार्‍यो लाएको खेती फाँड्न
वर्षौंदेखि हुर्काएर ठुन्काएर गाड्न !

नराम्ररी फसिइएछ चक चक धेरै गर्दा
भाले मेवा फल्छ भन्दै त्यसका भर पर्दा !

नर्सरीले ढाँट्यो कि खै ल्याउनेले पो साँटो
जुन खेती नि यस्तै हुन्छ दोषी छ कि माटो !!

  • बाग्लुङ, मुलपानी