■ स्वयम्भूनाथ कार्की
नेपालमा गणतन्त्रको घोषणा भयो । यसमा ‘किन्तु/परन्तु’ गर्नेहरूले कहिले मुखर र कहिले मत्थर भए पनि प्रश्न उठाइरहे । राजसंस्थाको प्रतिनिधि भएर गद्दीनसीन भने यसलाई सहज स्वीकार गरेका देखियो ।
गणतन्त्र घोषणा भएको बाह्र वर्षभन्दा ज्यादा समय हुँदा पनि यो घोषणालाई जनार्दन अर्थात् विष्णुस्वरुप जनताको आदेश मानेर त्यो राजसंस्थाका प्रतिनिधिले उक्त आदेशको विपरीत जाने कुनै छाँटकाँट देखाएन र देखाएको पनि छैन । यहाँसम्म कि धेरै गणतन्त्र पक्षधर मुखरहरू गणतन्त्रद्वारा गद्दीविहीन बनाइएका राजा ज्ञानेन्द्रलाई नेपालको पहिलो ‘गणतन्त्रसमर्थक’ भन्न पनि पछि पर्दैनन् । हो, उनी पनि राष्ट्रलाई माया गर्ने मान्छे हुन् । उनी गणतान्त्रिक मुलुकको प्रमुख कार्यकारी पदमा बसेर आफ्नो मुलुकको चाबी अन्तै छ भनेर राष्ट्रको अपमान गरेर जाली माया गर्ने नेताजस्ता पक्कै होइनन् ।
त्यसैले बेलाबखतमा उनलाई पनि मुलुक दुख्छ, राष्ट्रको दुर्गतिले उनको पनि मन छियाछिया हुन्छ । अनि आफुसँग पुकारा गर्न आउनेलाई सम्बोधन गर्ने गर्दछन् । राष्ट्र आधारको भार नत्यागेको भनेर सान्त्वना दिन्छन् । उनको अभिव्यक्ति आत्मा कमजोर भएका गणतन्त्रका सारथी बन्न खोज्नेहरूको मुुटु हल्लाउन पर्याप्त हुन्छ । अनि यही आत्म-कमजोरी छताछुल्ल हुन्छ र अनेकौँ धम्कीका भाषा बोलिन्छ ।
अष्ट्रिचले बालुवामा टाउको लुकाएर आफूलाई कसैले नदेखेको भ्रम पाल्छ भनिन्छ । यो कुरा अष्ट्रिचको हकमा कति सत्य हो त्यो त थाहा भएन, तर नेपालका मध्ययुगीन बाइसे-चौबिसेतिर नेपाल फर्काउन खोज्ने स्वघोषित अग्रगामीहरूको हकमा भने शत् प्रतिशत सही भएको छ । यो विगत बाह्र वर्षभन्दा ज्यादाको समयमा गणतन्त्र नेपाल पिराहा भयो भन्नेहरूको सङ्ख्या बढ्दै गएको छ । तर यो उनिहरूले देखेका छैनन् ।
जनताको मन छाम्न असमर्थहरू विरोध र समर्थन सडकमा नारा लगाएर, जुलुस गरेर, र्याली आदि गरेर मात्र हुन्छ भन्ने ठान्छन् । र, अब लामो संयमपछि राजसंस्थासमर्थकहरूले त्यही भाषामा जवाफ दिने प्रयत्न गरेका छन् । जनताको मनमा आफूप्रति अन्य माध्यमबाट पोखिएको घृणा अनुभूत गर्न सकेनन् तर सडकमा जनता आएपछि भने साँच्चै आतंकित भएका छन् । त्यसैले विभिन्न माध्यमहरूबाट नाङ्लो ठटाएर हात्ती तर्साउने श्रेणीका धम्कीहरू आउन थालेका छन् । राज्य शक्ति, दलका बाहुबली सेना आदिको भरमा केही समयलाई सडकको आवाज दबाउन पनि सक्लान् तर जनताको मनमा आफूप्रति चुलिँदै गरेको घृणा भने यसले झन् बढ्ने कुरामा कुनै शङ्का छैन ।
सडकमा उफ्रनु नै बल प्रदर्शन हो भन्ने नमान्दा पनि ‘सठे साठ्यम समाचरेत’ अर्थात् जस्तालाई तस्तै गर्ने आवश्यकता पनि उत्तिकै हुन्छ । हुन त नेपालका हरेक परिवर्तनको देखिएको मोल नै सडकमा आएका जनता हुन् । यसपटक पनि सडकमा जनता छन् जसको संख्या निरन्तर बढ्दै गएको छ । त्यसैले फेरि परिवर्तन हुने समय आयो भन्ने भावना सबैमा बलवान हुँदै गएको छ ।
यो भावना राजसंस्था पक्षधरमा भन्दा कयौँ गुणा बढ्ता विरोधिहरूमा देखिएको छ । त्यसैले स्वतन्त्र अभिव्यक्ति राख्दा आलोचनात्मक नै भयो भने पनि केही गालीगलौजमा उत्रिन शुरु गर्दैछन् । विभिन्न समुहहरू जो वर्तमानसँग असन्तुष्ट छन्- उनीहरूका अभिव्यक्तिमा ‘तपाईंजस्ताले यो कुरा गरेको सुहाएन’ भन्ने अर्ति दिन केही लामबद्ध हुन्छन् । तर त्यसैको तल वर्तमानले पोलेका, डढाएका, पिरेकाहरू आफूलाई कति गाली गर्दैछन् शायद त्यसमा ध्यान नदिएर नै सबैले मेरो कुरा मन पराए भन्ने भावना पालेका होलान् ।
वर्तमान व्यवस्था भने निरन्तर असफतातर्फ दौडिँदै छ । परिवर्तन अवश्यम्भावी छ । अब त्यो परिवर्तन कस्तो होला ? वर्तमानभन्दा राम्रोले प्रतिस्थापन गर्ला कि वर्तमान भन्दा कष्टकर होला ? यो भने भविष्यको गर्भमा नै छ । पछिल्ला केही परिवर्तन भने पहिलेभन्दा कमसल देखापरेका छन् । सुखद कुरा के छ भने सबैले अबको परिवर्तनमा राजसंस्थाको स्थान देखेका छन् । त्यसैले विरोधिहरूको चैन हराएको छ ।
तर स्वयम् राजगद्दीका प्रतिनिधिले आफ्नो इच्छा/अनिच्छा देखाएको छैन । अरु जस्तो यसमा जो-कोही पनि गद्दीको दाबेदार हुन सक्दैन । तर पनि पहिलेको जस्तै चक्रबक्रको प्रभावमा भैरव भूत नबनोस् भन्ने कामना गर्न भने सकिन्छ । जे होस्, बाह्र वर्ष कटेपछि मुलुकले परिवर्तन भने खोजेको छ ।
प्रतिक्रिया