किन तात्दै छ शहरका सडक ?

किन तात्दै छ शहरका सडक ?



देशलाई शान्ति र स्थिरतासँगै विकास र समृद्धिको बाटोमा हिँडाउने उद्देश्य पूर्तिका लागि अत्यन्त अनुकुल शक्ति-सामर्थ्य बोकेर सत्तामा पुगेको कम्युनिष्ट विशेषणधारी दलभित्र पन्पिएको सत्ता-स्वार्थको गुटगत खिचातानी उत्कर्षमा पुगेको छ । निकै समयदेखि जारी यो निकृष्ट खेलको पराकाष्टा प्रदर्शन भइरहँदा देश-विदेशको ध्यान यसप्रति केन्द्रित हुनु अस्वाभाविक हुँदैन । देशभित्रकालाई आफ्नै किसिमको चिन्ता र बाह्य समुदायका खेलाडी-शक्तिहरूलाई आफ्नो स्वार्थसिद्धिका लागि अनुकुल पर्ने हुँदा आफ्नै खालको चासो यतिबेला बढिरहेको सर्वत्र अनुभूति गरिएको छ । तर, सत्ताधारी दलको यस लुछाचुँडीको निर्लज्ज खेललाई समेत ओझेल पार्ने गरी मुलुकभरका विभिन्न शहरका सडक तात्न थालेको छ, जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय निकायको ध्यान तानिरहेको छ ।

यतिबेला सडकमा उत्रिएका नेपाली जनताको आवाज झ्वाट्ट सुन्दा ‘राजसंस्था’ र ‘हिन्दुराष्ट्र’ फर्काउन क्रियाशील व्यक्ति, समूह वा शक्तिको अभियान भन्ने जो-कसैले अनुभूत गर्न सक्छन् । सर्सर्ती व्याख्या-विश्लेषण गर्नुपर्दा हो पनि त्यही । तर, राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनकै निम्ति क्रियाशील अभियन्ता, अभियान तथा सङ्गठनविशेषको मात्र यो भेल हो भन्न मिल्दैन । राजसंस्था खारेज गरेको यत्तिका वर्ष बितिसक्दा पनि देशलाई उँभो लगाउनुको साटो झनै रसातलतर्फ लगिरहेको सहन नसकी जबर्जस्त सडकमा ओर्लिएकाहरूको जमात ठूलो देखिँदै छ । विगत बाह्र-चौध वर्षमा देशको राजनीतिमा नियन्त्रण जमाएका कथित अग्रगामी शक्तिहरूको कोपभाजनमा परेका, निषेधित तुल्याइएका र देशको उन्नति-समृद्धिमा योगदान पुऱ्याउने कर्मबाट पाखा पारिएका असन्तुष्ट व्यक्ति वा शक्तिहरू समेत राजसंस्था पुनर्स्थापन गर्न लागिपरेको सडकको यो जमातका एक हिस्सा हुन्, जो २०७२ मा कपटपूर्ण ढङ्गबाट जारी गरिएको संविधानलाई नै अस्वीकार गर्ने स्थानमा जब्बरसँग उभिन पुगेका छन् ।

परिवर्तनका लागि उठ्ने कुनै पनि आन्दोलनको उठान एकैचोटि लाखौँको सङ्ख्याबाट शुरु हुँदैन । एक-दुई अपवादका घटना-सन्दर्भ विश्व इतिहासमा होलान्, त्यो अलग कुरा हो । नेपालको अस्तित्व र स्थायित्वका लागि हिन्दु धर्म-संस्कृतिसहितको राजसंस्था, नेपाली मौलिक संस्कृति-परम्परा एक अपरिहार्य तत्व हो भनी आवाज उठाउने व्यक्ति वा समूहलाई खिसिट्युरी गर्ने, हेलत्वभावका साथ व्यवहार गर्ने र निषेध गर्दै नामेट नै तुल्याउन खोज्ने रवैया राज्य-संयन्त्र हातमा लिएकाहरूबाट प्रदर्शन गरिँदै आएको जगजाहेर नै छ । कथित गणतन्त्र र सङ्घीयता लादेर लोकतन्त्रको नाममा अधिनायकवाद लाद्न उद्यत् व्यक्ति, शक्ति वा दलहरू नेपालको मौलिक धर्म-संस्कृति र मूल्य-मान्यताको कुरा गर्ने पक्षको कुनै दिन जित हुन सक्ने कल्पना त गर्दैनन् नै, यस्तो मुद्दा उठान गर्नु नै बेतुक र हास्यास्पद भन्दै मजाकमा उडाउन पछि परिरहेका छैनन् । तर, स्वतस्फूर्त रूपमा देशभरबाट उठिरहेका आवाज र सडक-प्रदर्शनले जनताको नाममा स्वेच्छाचारी शासन गर्न उद्यत् ‘बाह्य–शक्तिका गोठाला’हरूलाई केही त शिक्षा दिनैपर्ने हो ।

विडम्बना ! यिनको घमण्ड कायम नै देखिँदै छ र, ‘प्रतिगामी’, ‘दक्षिणपन्थी’ आदि विशेषण लगाएर गाली गर्दै दपेट्ने दाउ नै प्रदर्शन गरिँदै छ । जुन कुनै बहानामा होस्, जनता किन यसरी सडकमा असन्तुष्टि पोख्ने अवस्थामा पुगे भनी चिन्तन-मनन गर्ने र देशलाई दिनुपर्ने ‘डेलिभरी’ दिन नसकेको स्वीकार गर्दै सच्चिने अनि जनतासँग क्षमायाचना गरेर अघि बढ्ने विकल्पतर्फ पक्ष-प्रतिपक्षमा रहेका वर्तमान शासन-व्यवस्थाका पक्षधरहरूले पटक्कै ध्यान पुऱ्याइरहेका छैनन् । यो नै वर्तमान शासन व्यवस्थाको पतनको कारण बन्ने निश्चितप्रायः देखिँदै छ ।

सडक प्रदर्शनका क्रममा ‘राजा आउ देश बचाउ’ भन्ने नारा लागेका पनि सुनिँदै छन् । तर, नीति र नेतृत्वबेगर उत्तेजनामा लागेको नाराकै भरमा गुमेका कुराहरू सजिलै फर्किहाल्ने विश्वास गर्न सकिँदैन र मिल्दैन पनि । कतिपय अवस्थामा उत्तेजनामा लगाइएका नारा प्रत्युत्पादक पनि हुन सक्छ । तथापि, ‘जनमुखी शासन’को नारा दिँदै लादिएको शासन व्यवस्थाको मुखुण्डो उत्रिसकेको छ र, नेपाली जनता स्वतःस्फूर्त रूपमा ढोँगी नेतृत्वविरुद्ध उत्रिन शुरु गरिसकेका छन् । देशकै अस्तित्व समाप्त हुने त्रासबाट यस जनउभारले थोरै भए पनि त्राण दिलाएको छ राष्ट्रभक्त नेपालीजनलाई । बाह्य इसारामा नेपालको शिर टेक्दै शासन गर्न खोज्ने मुलुकघाती तत्वहरूलाई तिनको अभीष्टबाट च्युत गराउने अभियानको अहम् यात्रा आरम्भ भएको रूपमा यतिबेलाको सडक-प्रदर्शनलाई बुझ्दा अत्युक्ति नहोला ।