‘नेपाली धृतराष्ट्र’हरूबाट नागरिकले के सिक्ने ?

‘नेपाली धृतराष्ट्र’हरूबाट नागरिकले के सिक्ने ?



■ बबिता बस्नेत

हामीले सुन्दै, पढ्दै आएको पौराणिक कालका राजनीतिक नेतृत्व राम र धृतराष्ट्र हुन्, जसले राजाको रूपमा प्रत्यक्ष शासन गर्थे । रामायणका राम जनताको सुख र खुशी नै आफ्नो सुख र खुशी हो भन्ने मान्यता राख्ने, राम्रो नेतृत्व क्षमताका उदाहरणीय पात्र हुन् भने महाभारतका धृतराष्ट्र राज्य र जनताको परवाह नगरी आफ्ना सन्तानका लागि राज्यलाई नै दाउमा राख्न सक्ने खराब नेतृत्वका उदाहरण हुन् । रामले जनताको खुशीलाई आफ्नो खुशीमा रूपान्तरण गर्न ब्यक्तिगत जीवनलाई गौण ठाने । जनआवाजलाई सर्वोपरि ठान्दै आफूले अत्यन्त माया गर्ने पत्नी सीतालाई त्यागे ।

यद्यपि महिलामाथि मानसिक हिंसाको सुरुवात सीताको पालादेखि नै भएको थियो । कसैको चरित्र हत्या गर्नु, लान्छना लगाउनु मानसिक हिंसा हो जुन कुरा सीताले रामायणकालमै भोगेकी थिइन् । यता धृतराष्ट्रले राज्यमा आफ्ना सन्तानको बर्चश्वका लागि एकतर्फी निर्णयहरू गरेर आफ्नै भाइका सन्तानसँग युद्ध मात्र निम्त्याएनन्, अन्ततः सन्तान र राज्य दुवै गुमाए । हाम्रो राजनीतिमा अहिले धृतराष्ट्रहरूको भीड छ । नेतृत्व पङ्क्तिमा उभिएकाहरू आफ्नैलाई सिध्याएर पदप्राप्तिका लागि हात धोएर लागिपरेका छन् । सकेसम्म आफ्नै हित होस् नभए आफ्नो गुटको भलो होस् भनेर आफू र गुटलाई सत्ता दिलाउन या भएको पदलाई टिकाइरहन अनेक तिकडमी प्रयासहरू जारी छन् । परिणाम केसम्म हुन सक्छ भन्ने बारेमा दुवै पक्षले खासै मतलव गरेको देखिँदैन जसरी धृतराष्ट्रले महाभारतमा परिणामको बारेमा सोचेका थिएनन् ।

हाम्रो राजनीतिमा अहिले धृतराष्ट्रहरूको भीड छ । नेतृत्व पङ्क्तिमा उभिएकाहरू आफ्नैलाई सिध्याएर पदप्राप्तिका लागि हात धोएर लागिपरेका छन् ।

धृतराष्ट्रहरूको जमातमा सबैलाई समेट्न चाहने साझा नेतृत्व देख्न पाइएको छैन । आफ्नै दलभित्र गुट–उपगुटमा रमाउनेहरूले सबै नेपालीलाई समान दृष्टिकोण राख्ने कुरा असम्भव जस्तै हुन्छ । कुशल नेतृत्वले सम्भावनाहरूलाई रूपान्तरण गर्न सक्नुपर्छ । नेतृत्व रुपान्तरित हुने कुरा हो । तर, अहिले हाम्रा नेताहरूमा जे-जस्ता गुणहरू देखिएका छन्, त्यसबाट नयाँ पुस्ताले के सिक्ने ? आफ्नै कार्यकर्ताले के सिक्ने ? सर्वसाधारणले के सिक्ने ? आफूहरूले नागरिकबीच कस्तो सन्देश दिइरहेका छौँ भन्ने कुरामा कसैले मतलब राखेको देखिँदैन । नेतृत्व पद होइन क्षमता हो, तर यहाँ त पदलाई मानिसहरूले नेतृत्व मान्दै हिँडेको अवस्था छ ।

पदमा पुगेको कारणले कसैलाई नेता मान्न सकिँदैन । कुशल नेतृत्वले पदभन्दा प्रतिष्ठालाई महत्व दिन्छ । किनभने पद प्राप्त गर्ने कुरा हो, प्रतिष्ठा आर्जन गर्ने कुरा हो । प्रतिष्ठा आर्जन गर्नका लागि मानिसले दृष्टिकोण र सोचको क्षितीजलाई फराकिलो बनाउनुपर्ने हुन्छ । तर यहाँ त कसले के ग¥यो, कसले कसरी बाटो काट्यो, कसले कसलाई कहिले के भनेको थियो भनेर ब्यक्तिगत मार्काका टीका-टिप्पणीमा नेताहरू अल्झिएका छन् । नेताका तिनै गुणबाट प्रभावित भएर दुवै पक्षका कार्यकर्ताहरू अर्को पक्षका नेताहरूको मानमर्दन गर्दै छुद्र टिप्पणीमा उत्रिएका छन् ।

अहिले नेताहरूका आरोप-प्रत्यारोपसहितका चिट्ठीपत्र र नकारात्मक सन्देश दिने दोहोरीले आममानिसलाई ‘डिस्टर्ब’ गरिरहेको छ ।

अमेरिकी राजनीति, कुटनीति र समानताको क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याएकी इलानुर रोजबेल्टको चर्चित भनाई छ- ‘ग्रेट माइण्ड डिस्कस आइडियाज, एभरेज माइण्ड डिस्कस इभेन्टस्, स्मल माइण्ड डिस्कस पिपुल ।’ असल मानिसले राम्रा-राम्रा विचार, सिद्धान्तका कुरा गर्छन् । औसत मानिस कहाँ के भयो घटनाका बारेमा कुरा गर्छन् र, तुच्छ मानिसहरू ब्यक्तिका कुरा गर्छन् । को कस्तो, कसले कसलाई के भन्यो, त्यो त यस्तो उस्तो, यसले त यसो भन्दैथ्यो नि, त्यो त खत्तम छ, त्यसले त यसो गरेको थियो… मार्काका ब्यक्तिगत कुरा गर्ने मानिसले घर–परिवार, कार्यस्थल, समाज जहाँ पनि मानिसहरूलाई ‘डिस्टर्ब’ गरिरहेका हुन्छन् । त्यस्ता मानिसबाट सकारात्मक परिवर्तनको अपेक्षा गर्न सकिँदैन । कसैले व्यक्तिगत गाली-गलौजका भाषा प्रयोग गरेर कसैलाई नराम्रो देखाउन खोज्छ भने त्यो मान्छे राम्रो नियतको होइन भनेर बुझ्नुपर्ने हुन्छ । मान्छे चिन्नलाई लामो संगत गरिरहनु पर्दैन, उसले प्रयोग गर्ने भाषा, अरुलाई हेर्ने दृष्टिकोण, सार्वजनिक रूपमा दिने अभिब्यक्ति जस्ता कुराले सम्बन्धित मानिसको सोचको स्तर मापन गर्न सकिन्छ ।

अहिले नेताहरूका आरोप-प्रत्यारोपसहितका चिट्ठीपत्र र नकारात्मक सन्देश दिने दोहोरीले आममानिसलाई ‘डिस्टर्ब’ गरिरहेको छ । नेताहरूका यस्ता कार्यशैलीलाई बढावा दिँदै मध्यमस्तरीय नेता तथा कार्यकर्ताले दिने गरेका प्रतिक्रिया हेर्दा राजनीतिमा नाङ्गोपन बढ्दै गएको देखिन्छ । खासमा जनताले खोजेको चाहिँ पारदर्शिता र उत्तरदायित्व थियो । एकर्काको नाङ्गो रूप सार्वजनिक गर्न आफ्नै कार्यकर्ता लागिपरेका छन्, जुन उनीहरूले आफ्नै नेतृत्व पङ्क्तिबाट सिकेका हुन् । एकर्कालाई निर्बस्त्र बनाउनका लागि कार्यकर्तामार्फत सामाजिक सञ्जालको प्रयोग गरिएको छ । पक्ष-विपक्ष भएर एकर्कालाई ब्यक्तिगत तहमा झरेर गालीगलौज गरिएको छ । नेता प्रचण्ड र प्रधानमन्त्री केपी ओली दुवैका पत्रमा देश र जनता होइन सत्ता केन्द्रमा छ । सरकारका काम-कारवाहीको बारेमा चर्चा गर्ने सत्ता हस्तान्तरणको औपचारिक थलो संसद बन्द छ । कोसँग के सिक्नु ? नागरिकले के सन्देश लिनु ?

हामीकहाँ जति पनि खिचातानीहरू हुने गरेका छन् ती ब्यक्तिगत लाभकै लागि भएका छन् । रामहरू लोप हुँदैछन्, धृतराष्ट्रहरूको सङ्ख्या बढ्दो छ ।

प्रजातन्त्रका लागि लामो लडाइँ लडेका नेताहरूको कार्यशैली हेर्दा नेतृत्वमा हुनुपर्ने गुण देखिँदैन । मुलतः आम मानिसभन्दा फरक दृष्टिकोण राख्न सक्ने भएपछि मानिस नेता बन्छ । राजनीतिमा मात्र होइन विभिन्न क्षेत्रमा नेतृत्वको आवश्यकता पर्छ । अरुले नदेखेको ‘भिजन’ नेतामा हुनुपर्छ । आफ्नो जीवन र ब्यक्तिगत लाभ-हानीलाई केन्द्रमा राख्ने मान्छे नेता बन्न सक्दैन । तर हामीकहाँ जति पनि खिचातानीहरू हुने गरेका छन् ती ब्यक्तिगत लाभकै लागि भएका छन् । रामहरू लोप हुँदैछन्, धृतराष्ट्रहरूको सङ्ख्या बढ्दो छ ।

विकास-निर्माणका लागि विभिन्न क्षेत्रका विज्ञहरूको अभाव भयो भने हामी बाहिरबाट ल्याउन सक्छौँ, कतिपय क्षेत्रमा त्यस्तो गरिएकै छ । तर, मुलुक बनाउन त देशभित्रैबाट राम्रो नेतृत्व चाहिन्छ । विश्वका विकसित मुलुकहरूमा सफल ब्यक्तिहरूले नेतृत्व गरेका छन् । हाम्रो मुलुक पनि तिम्रो जस्तै बनाइदेउ न भनेर नेताहरू बाहिरबाट ‘हायर’ गर्न मिल्दैन । हुन त को कहाँबाट कसरी सञ्चालित छन् यसै भन्न सकिँदैन तथापि यहाँ उपलब्ध जो छन् उनीहरूले नै देश र नागरिकको हितमा काम गर्नुपर्ने हुन्छ ।

अहिलेको अवस्था हेर्दा नेतृत्व पङ्क्तिबाट मार्गनिर्देशित हुने हो भने देश र नागरिकको भविष्य सकारात्मक बाटोमा जाला भनी अपेक्षा गर्ने ठाउँ धेरै कम छ । एकर्काको बस्त्र उतारेर मुलुक बन्दैन । मुलुक बन्नका लागि जनमानसमा सकारात्मक माहौल निर्माण गर्ने, आफ्ना कार्यकर्ता मात्र होइन सम्पूर्ण जनतालाई समभावले हेर्ने दृष्टिकोण भएको र आफैमा सुरक्षित भावनासहित उच्च मनोबलको स्वार्थरहित नेतृत्व चाहिन्छ । जसबाट प्रभावित भएर नागरिकले पनि मुलुकका लागि आफ्नो दायित्व र कर्तब्य निर्वाह गरुन् ।