जन-असन्तुष्टि बुझ्नै नसक्ने सरकार !

जन-असन्तुष्टि बुझ्नै नसक्ने सरकार !



■ मुक्तिनाथ खनाल

‘यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छौ…’, ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे..’ यी सदाबहार गीत हुन् र, यतिबेला यस्ता गीतको सान्दर्भिकता झनै बढेको महसुस हुन्छ । यस्ता भावका गीतहरू सुन्दा देशलाई माया गर्ने हरेक नेपालीको हृदयमा चस्का पर्दछ । चीन र भारत जस्ता दुई ठूला देशको बीचमा च्यापिएको हाम्रो नेपाललाई दुवै देशले आफ्नै नीति-कार्यक्रमअनुकुल प्रयोग गर्न खोजिरहेको वर्तमान परिवेशमा देशको अस्तित्वप्रति चिन्ता नगरेर केवल कुर्चीको लागि मरिमेट्ने नेता र नेतृत्वले तमाम नेपालीलाई चिन्तित बनाइरहेको छ, झस्काइरहेको छ ।

एकातिर हाम्रो जस्तो सानो अविकसित मुलुकमा सङ्घीयताले टुक्रा-टुक्रा भएको मात्र होइन, खुद्रे राजाहरूले स्थानीय जनता एवम् श्रोत-साधन दोहन गरेर सुहाइ-नसुहाइ महँगा सवारी गाडी चढ्दै विकासको नारा दिँदैछन् भने अर्कोतर्फ गरिब जनता झन्-झन् गरिबीमा पिल्सिरहेका छन् । त्यसमाथि अहिले आएको कोभिड-१९ महामारीले उपचार नपाइ पिल्सिएर जनता रोइरहेका छन्, सरकार केही गरिरहेको स्वाङ पार्दै आफैमा मस्त छ ।

यस्तो परिस्थितिमा केन्द्रीय सरकार ‘यहाँ मलाई कुर्सीको चिन्ता छ’ भन्दै कुर्सी समातेर बसेको देखिन्छ । त्यसमा पनि प्रधानमन्त्रीको कुर्सी… अनमोल कुर्सी जहाँ जताततैबाट धन–मान–शानको वर्षा हुन्छ, त्यस्तो कुर्सी छोड्न सबैलाई गाह्रो हुन्छ नै होला, किनभने सरकारी कार्यालय वा संघ-संस्थाका प्रमुखहरूबाट घुस होइन ‘नजराना’ स्याहार्दैमा आफूले घुस खानै पर्दैन, केवल घुस खानेलाई संरक्षण गरे पुग्छ, त्यसैमा रमाएका छन् । त्यसैले त म आफूले ‘घुस खान्न, खान पनि दिन्न’ भन्ने प्रधानमन्त्रीज्यू आदर्शवादी नेतामा गनिनुहुन्छ र, सबैको प्रशंसनीय हुनुभएको छ । उहाँलाई केवल जुनसुकै कार्यक्रमको शिलान्यास गर्न रहर छ । शिलान्यास भनेको राम्रो काम पनि हो, किनभने तत्कालै काम देखाउनु नपर्ने ! ‘लौ अब काम हुने भयो.. हुँदैछ’ भन्दै हल्ला गर्न पाइने तर काम कहिल्यै नहुने र नगरे पनि हुने । यस्तो राम्रो शिलान्यासको काम हाम्रा प्रधानमन्त्रीलाई मनपर्छ । यो आरोप मात्र नभइ व्यवहारतः देखिँदै आएको तथ्य हो ।

शिलान्यासको सन्दर्भमा यहाँ उद्घाटनको कुरा जोड्नु मनासिव होला । भर्खरै तनहुँ जिल्लाको हुल्दी खोलाको पुलको उद्घाटन नेपाली काङ्ग्रेसका वरिष्ठ एवम् तनहुँबाट प्रतिनिधित्व गर्ने नेता रामचन्द्र पौडेलले गर्नुभयो । नेकाकै कार्यकर्ताहरूको सहयोग र सक्रियतामा उक्त पुलको निर्माण सम्पन्न भएको हो । त्यो पुल उद्घाटन गर्न नेता पौडेललाई बोलाइयो । तर, अरुले शिलान्यास वा उद्घाटन गरेको देख्नै नसक्ने वर्तमान सरकार (सरकारका अरिँगालहरू ?) ले अवरोध गऱ्यो । ती अवरोधकर्ताहरू नेकपाभित्रकै सण्ड-मुसण्ड जसले मधेशवादी नेतालाई गत साल अपहरण समेत गर्न पछि परेन, यस्ताहरू अघि सरेर पैडेलद्वारा गर्न लागिएको पुल उद्घाटनमा बबण्डर नै खडा गरे ।

सुन्दा पनि दुःख लाग्छ रामचन्द्र पौडेल जस्ता शिक्षित, आदर्शवादी नेता, पूर्वसभामुख एवम् उपप्रधानमन्त्री भइसक्नुभएका र आजका सत्ताधारी नेताहरू जस्ता मानिस मारेर १४ वर्ष जेल बसेको नभई लोकतन्त्रवादी राजनीतिक आन्दोलनमा पटक-पटक गरी बिसौँ वर्ष जेल बसिसकेका, राजनीतिमा माष्टर डिग्री गरेका विद्वान एवम् आदर्शवादी नेता त्यति सानो खोलाको पुल उद्घाटन गर्न सुहाउने त होइन तर स्थानीनय कार्यकर्ताको आग्रहलाई उहाँले हार्न सक्नुभएनछ । त्यस कार्यको विरोध र अवरोध हुनु कुन लोकतन्त्र हो ? त्यस्ता तत्वले आफूलाई लोकतन्त्रवादी भन्नु जनता ढाँट्नेबाहेक अरु के हुन सक्छ ? यस्तै स्वभावले होला आज आफ्नै पार्टीभित्रका अरु योग्य नेताहरू एवम् सक्रिय एवम् कर्मठ युवा कार्यकर्ता र दोस्रो तहका केही नेताबाहेक सबै नेताहरू असन्तुष्ट भएको समाचार सुन्नमा आउँछ । तर प्रधानमन्त्रीलाई भने कुर्सी फुत्कन्छ कि भन्ने डर भएको जताततैबाट बुझिन्छ । हाय कुर्सी !

तसर्थ, शिलान्यास र उद्घाटनका कुरामा होइन जनतालाई राहत पुग्ने, देशको अस्तित्व जोगिने सवालमा शासकहरू चिन्तनशील हुनुपऱ्यो, व्यवहारमै यो कुरा देखिनुपऱ्यो । जन-असन्तुष्टि महसुस गर्नुपऱ्यो, गल्ती-कमजोरी स्वीकार गरी सुध्रने र सुधार्नेतर्फ लाग्नुपऱ्यो । जय होस् !