‘एनिभर्सरी’

‘एनिभर्सरी’



(लघु कथा)

सागर सुवेदी


श्रीमतीको अनुहार आज उसले सारै मलिन देख्छ । उसले ठम्याउन सकिरहेको छैन भएको के हो ! श्रीमानले मायालु पारामा जे भनेर बोलाए पनि ‘हजुर’ भनेर मिठास भरिएको जवाफमा तत्काल श्रीमानको चासोलाई सम्बोधन गर्थिन् । सधैं झैँ अफिसको लागि समयमा निस्किनुपर्ने उ सुतिरहेको बेडबाटै श्रीमतीलाई सम्बोधन गर्छ- ‘मेरो कपडा झिकिदेउ है ! म बाथरुम जान्छु, छिट्टै तयार हुनुछ ।’

तर, श्रीमतीको कुनै वाक्य फुटिरहेको छैन ।

उ उठ्यो, आफै आफ्ना कपडाहरू झिक्यो, बाथरुम गयो, नित्यकर्म गरेर कोठामा छिऱ्यो अनि श्रीमतीलाई सोध्यो– ‘खाजा तयार भयो ?’ अझै पनि कुनै प्रतिक्रिया पाउँदैन श्रीमतीको ! उसले खाजाको कुरा भन्दै गर्दा श्रीमती सुत्ने कोठाबाट भान्सातर्फ छिर्छिन्, तर कुनै प्रतिक्रिया दिन्नन् ।

एकैछनमा भान्सामा केही डढेको गन्ध आउँछ, त्यो गन्धको श्रोत पछ्याउँदै उ भान्सातर्फ लाग्छ । एकातर्फ डढेर कालो बनिसकेको टोस्टमा श्रीमती नौनी दल्दै रहिछन् । श्रीमतीको व्यवहार उसले एकोहोरो नियालिरहयो । उसलाई देखेपछि तयार गरेको खाजा टेबलमा राख्दै श्रीमतीले भनिन्- ‘लौ खानुहोस्,.. चिया पनि यहाँ छ ।’

खानै नमिल्ने गरी डढेको टोस्टतर्फ हेर्दै उसले मनमनै सोच्यो- आज उनलाई के भएको छ ? आफ्नी श्रीमतीको अस्वाभाविक क्रियाकलाप देख्दा आज उ चकित छ । भान्साको कुर्चीमा बस्दै उसले मस्तिष्कलाई ३६० डिग्रीमा घुमाउँदै सोच्न थाल्छ- ‘कतै मैले जान-अन्जानमा केही ठूलै गल्ती त गरिनँ ? मेरो प्रगतिको डाहा गर्नेहरूको शहरमा कुनै कमी छैन, कतै कसैले मेरो बारेमा हुने-नहुने पोल पो लगाइदिए कि !? कतै मैले सार्वजनिक ठाउँमा अरुका अघिल्तिर आफ्नी श्रीमतीलाई सैह्य नहुने केही बोलेँ कि ! मैले उनको कुनै उत्कट चाहना पूरा गर्न सकिनँ कि ? कुन कुराले चित्त दुख्यो त उनको ?!…’ यस्ता अनेक तर्कना गर्दै गर्दा उसको मस्तिष्क नै पड्किने अवस्थामा पुग्यो, तर श्रीमतीप्रति गरिने सम्मान र मायामा कुनै दिन कमी गरेको महसुस या सम्झना भएन उसलाई ।

यस्तै सोच्दै त्यो डढेको टोस्ट कतिबेला खाइसक्यो.. उसले पत्तो पनि पाएन । छेउमै राखेको चियाको अन्तिम घुट्को पिउँदै थियो त्यसैबेला टिभी-कोठाबाट छोराको आवाज आयो- ‘बाबा तपाईको फोन आएको छ ।’ उ जुरुक्क उठ्यो र फोन उठायो, अफिसमा सँगै काम गर्ने साथी घर तल आएर फोन गरेको रहेछ । उसले साथीलाई भन्यो- ‘यार.. आज अलिक अबेरसम्म सुतेछु, एकैछिन है, म आइहाल्छु !’

फोन राखेपछि फेरि सोचमग्न भयो । जति सोचविचार गरे पनि केही गल्ती गरेजस्तो लाग्दैन उसलाई । अझै सोच्न थाल्छ- ‘कुरौटे साथीहरूले श्रीमतीसँग ठट्टा पारामा उसको बारेमा केही उल्टा–सिधा बोलिदिए कि भनौँ भने त्यस्ता कोही साथी पनि बनाएको छैन जसले अरुको कुरा गरेर गुजारा गरुन् । उनी पनि मेरो कुरालाई हरदम विश्वास गर्ने, त्यस्तो केही कन्फ्युजन भए पहिला मलाई नै सोधेर प्रस्ट हुने स्वभावकी छन् । यस्तो व्यक्ति आज बिहानभर मसँग ठुस्किनुको कारण आखिर के छ त ?’ अन्ततः उसले श्रीमतीसँग जिज्ञासा राख्ने विचार गऱ्यो ।

सधैं झैँ उसले श्रीमतीलाई सम्बोधन गर्ने नाम पुकार्दै जिज्ञासा राख्छ- ‘आज तिमीलाई के भयो ? किन आज तिमी फरक छौ ? ब्यवहार फरक छ, सधैं जुनझैँ खुलेको अनुहारमा बादल लागेको छ ?’ यसरी मिठासयुक्त प्रश्न गर्दा पनि उनको अनुहारमा खुशीको कुनै निशान नै छैन ! उसले अति मायालु भावमा धेरै प्रश्न गरेपछि उनले बल्ल मुख खोलिन् र रुँदै भन्न थालिन्-
‘आज हाम्रो विवाहको १५औँ वर्षगाँठ हैन र ? तपाईंलाई यति पनि याद भएन ? सधैंका वर्षमा तपाईं आजको दिन मलाई फूल तथा केही न केही उपहार ल्याएर दिने गर्नुहुन्थ्यो ? बिहान निद्रादेवीले छोड्नेबित्तिकै म जहाँ छु त्यहीँ आई वर्षगाँठको शुभकामनाका साथै न्यानो आभास दिलाउने अँगालोमा बाँध्दै चुम्बन गर्नुहुन्थ्यो । कति वर्षहरू हामी सँगै मन्दिर गएर हाम्रो सातजुनिको कर्मको लागि प्रार्थना गर्नुहुन्थ्यो, तर हजुरले आज हाम्रो वैवाहिक बन्धनमा बाँधिएको पवित्र दिन पनि भुल्नुभयो ? पन्ध्रौँ वर्ष तपाईंले मलाई गर्नुभएको व्यवहार आज आएर भुल्दा असह्य पीडा बोध भयो.. !’ यति भन्दै गर्दा उनका आँखाबाट आँशुका धारा बग्न थालिसकेका थिए ।

श्रीमतीको गुनासो नसकिँदै उसले उनको हात समाउँछ र तान्दै टिभी-कोठातर्फ लैजान्छ । टिभी-कोठाको टेबलमा राखिरहेको आफ्नो मोबाइल फोन लिँदै भन्छ- ‘पर्ख एकछिन.. ।’ लक भएको फोनलाई अनलक गर्छ अनि सामाजिक सञ्जाल फेसबुक खोल्छ । फेसबुकमा उसले राति १२ बजेर २ मिनेटमा लेखेको ‘स्ट्याटस’ देखाउँदै भन्छ- ‘हेर तिमीले मलाई गलत सोचेको रहेछौ, मैले आजको दिनलाई कसरी भुल्न सक्छु ? यो कदापि हुन सक्दैन, एकपटक पढ मैले ‘के’ लेखेको छु । मैले लेखेका तिमीप्रतिका भावका कारण मेरा अनि तिम्रा कयौँ साथीले पनि हाम्रो वैवाहिक वर्षगाँठको उपलक्ष्यमा शुभकामना दिएका छन् । त्यसैमा कसैले लेखेका छन्- जोडी हुनु त यस्तो ! तर तिमीचाहिँ मप्रति रुष्ट छौ । मप्रति यतिका रुष्ट हुनुअघि आफ्नो फेसबुक खोलेर हेर्ने कष्ट गरेकी भए हुने नि ! मप्रति जे सोच्यौ गलत सोच्यौ.. !’

यति सम्झाइसक्दा पनि श्रीमतीको आँखाबाट आँशु रोकिएको थिएन । तल साथी कुरेर बसेको र अफिस जान ढिलो भयो भन्दै थप केही कुरा नगरी उ आफ्नो झोला लिएर ढोकाबाहिर निस्कियो । श्रीमती सोही स्थानमा परिवर्तित उसको ब्यवहारप्रति गम खाँदै पिल्लर झैँ उभिएर उ गएको ढोकातर्फ हेरिरहिन्… ।