- जेबी खत्री
पर्यो असिना-पानी
चट्याङको आवाजसँगै
दर्कियो झरी ।
भलहरू फुटेर बग्न थाले ।
बारीको पेट चिर्दै
खोल्सा खहरेहरू
उर्लन थाले
खोला नदीनाला
धमिलिएर सुसाउन थाले ।
उडायो हावाहुरीले घरको
तारामण्डल छानो ।
निसिभ्वान अँध्यारो छ ।
देखिँदैनन् जूनताराहरू आकासमा
बेलाबेला बिजुली चम्कँदा
देखिन्छ आकासमा केवल
कालो बादल र मुसलधारे वर्षा
जाडोले काँपेका ओठहरू
भोकले चाउरी परेको पेट
शुरु भयो जीवनको कथा
घरको मूल खाँबो समाएर
उभिएका छन् प्रियजनहरू
रामनाम जप्दै
रात यसरी नै बित्यो ।
विहानीपख वारीपारी गाउँमा
बत्तिहरू बल्न थाले ।
पानी रोकियो ।
हावाहुरी थामियो ।
खोल्सा खहरेहरू घटे ।
झर्यो घरमाथिको
पहाडको ढिस्को
र पुरियो घर
पुरिए सबै
सपनाहरू
र सकियो
जीवनको
कथा पनि ।
प्रतिक्रिया