संसार बहादुर, साहसी र कर्मवीरहरूको कर्मथलो हो
■ केशवप्रसाद भट्टराई

१. दोस्रो विश्व युद्धपछि अमेरिकाले संसारका दर्जनौँ मुलुकहरूमा राजनीतिक र सैनिक हस्तक्षेप गरेको छ ।
शत्रु शक्ति, पक्ष वा दललाई विस्थापित गरेर मित्रशक्तिलाई सरकारमा स्थापना गर्ने सफल-असफल उद्योग गरेको छ ।
साम्यवादी सत्ता स्थापना भएपछि सोभियत सङ्घले एसिया, अफ्रिका, युरोप र दक्षिण अमेरिका सवैतिर अमेरिकाले जस्तै काम गऱ्यो ।
नैतिक अनैतिक सवै गऱ्यो ।
चीनले तिब्बत, सिञ्जियाङ्ग लगायतका राज्यहरूमा ठूलो रक्तपात मच्चाएर ती भूभागहरूलाई आफ्नो अधिनमा लियो ।
भारतमाथि आक्रमण गरेर उसको ठूलो भूभाग अझै पनि आफ्नो नियन्त्रणमा लिएकै छ ।
२. भारतमा विधिपूर्वक र जुन कानुनले स्वतन्त्र पाकिस्तानको जन्म सम्भव गराएको थियो त्यही कानुनअनुरूप भारतमा गाभिएको काश्मिरमा पाकिस्तानले आक्रमणगरेर त्यसको केही भाग आफ्नो नियन्त्रणमा राख्यो र त्यसरी नियन्त्रणमा लिएको केही भाग चीनलाई हस्तान्तरण गरिदियो ।
भारतले सामदाम, दण्ड, भेद सबै प्रयोग गरेर पाकिस्तानको एक भाग छुट्याएर अलग बङ्गलादेश बनाइदियो ।
मित्र रोज्न र बदल्न सकिन्छ तर छिमेकी सकिन्न भन्ने मान्यतालाई असत्य सावित गरिदियो ।
सिक्किमलाई आफूमा मिलायो ।
नेपाल, बङ्गलादेश, श्रीलंका, मालदिभ्सका आन्तरिक राजनीतिमा हस्तक्षेप गरिरहेको छ ।
३. चीनले पनि गरिरहेको छ ।
अमेरिकाले पनि गरिरहेको छ ।
जसको प्रभाव र सामर्थ्य जुन मुलुकमा बढी छ त्यसको हस्तक्षेप बढी हुन्छ र रहन्छ ।
संसार यही हो,
जब सम्म राज्यहरू रहन्छन् यो क्रिया, प्रक्रिया र अभ्यास रहिरहन्छ ।
सारमा त्यही रहन्छ रूप, विधि र प्रक्रियामा धेरथोर अन्तर रहन्छ बस ।
अमेरिकाको आन्तरिक राजनीतिमा रूस र चीनको हस्तक्षेपबारे हामी समाचार माध्यमहरूमा पढिरहन्छौँ ।
रूसमा भाल्दिमिर पुटिनलाई निर्वाचित हुनबाट रोक्न तत्कालीन अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले हर सम्भव गरेकी थिइन् ।
त्यही बदला पुटिनले पनि हिलारीसँग लिने क्रममा उनलाई राष्ट्रपति बन्नबाट रोक्न हर प्रयास गरेको हामीले पढ्यौँ ।
भारतमा भी.के. कृष्ण मेननलाई प्रधानमन्त्री बनाउन र नसके मोरारजी देसाईलाई प्रधानमन्त्री बन्न नदिन सोभियत सङ्घको केजीबीले सबै कर्म-कुकर्म गऱ्यो ।
गरायो ।
नरेन्द्र मोदीलाई प्रधानमन्त्री बन्न नदिन युरोप र अमेरिकाका कतिपय शक्तिहरूले ठूलो प्रयत्न गरेका थिए ।
यही हो दुनियाँको रीत !
दुनियाँको रीतअनुसार या त चल्नु पर्दछ या दुनियाँको रीत बदल्ने सामर्थ्य आर्जन गर्नु पर्दछ ।
त्यसैले नेपाली राजनीतिमा वाह्य हस्तक्षेप भयो भनेर रूनु-कराउनुको कुनै अर्थ छैन ।
त्यस्तो हस्तक्षेप हुन नदिने रोक्ने प्रयास गर्नुको विकल्प कुनै मुलुकसँग छैन ।
नेपालसँग पनि छैन ।
हस्तक्षेप गर्ने यौटाको राष्ट्रिय धर्म र रोक्ने-छेक्ने अर्कोको राष्ट्रिय धर्म ।
आफ्नो-आफ्नो राष्ट्रिय धर्म निर्वाह गर्ने बाँच्न हरसम्भव गर्ने, गरिरहने ।
४. माथि जे भनियो ती तथ्यले सावित गरेको इतिहास हो ।
ती कुरा जसले गरे ती मुलुककै आधिकारिक व्यक्ति दस्तावेजले हाकाहाकी स्वीकार गरेका छन् ।
हरेक ठूला र शक्तिशाली मुलुकले आफ्नो प्रमुख सुरक्षा सरोकार रहेका मुलुकका दुतावाशका राजदूत नै या त गुप्तचर संगठनसम्बद्ध हुने गर्दछन् वा ती दूतावासमा शक्तिशाली गुप्तचरहरूको पदस्थापन गरिएको हुन्छ र दूतावासको निर्णय प्रक्रिया र काममा उनको निर्णायक भूमिका रहने गर्दछ ।
नेपालमा भारत, चीन, अमेरिका सबैले त्यसो गर्दछन् ।
यस्तो हुन्छ, गरिन्छ भन्ने सबैलाई थाहा हुन्छ ।
५. विगतको यौटा ऐतिहासिक उदाहरण हेरौँ-
अमेरिकाको स्वतन्त्रताको घोषणा भन्दा दुई महिनाअगाडि अर्थात् मे १९७६मा फ्रान्स र स्पेनका राजाहरूको आर्थिक सहयोगमा एउटा व्यापारिक कम्पनीको नाउँमा नौ वटा ठूला-ठूला जहाजहरूमा हातहतियार भरेर अमेरिकी स्वतन्त्रता सङ्ग्रामका विद्रोही सेनालाई उपलब्ध गराउने क्रममा बेलायतले यौटा जहाज समात्यो तर बाँकी आठ जहाज सुरक्षित अमेरिका पुगेका थिए ।
विद्रोहीहरूलाई ती हतियार प्राप्त भए ।
६. अमेरिकाको स्वतन्त्रतासँगै सिआइए जस्तो आधुनिक गुप्तचर संगठनको इतिहास प्रारम्भ हुन्छ ।
जनवरी ८, १७९० मा अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वाशिंगटनले पहिलो पटक गुप्तचर गतिविधि सञ्चालन गर्न काङ्ग्रेससँग बजेट माग गरेका थिए ।
त्यतिखेरदेखि नै गुप्तचरीको महलमा गरिने र हुने खर्चपर्च गोपनीय रहने व्यवस्था गरिएको थियो ।
७. युरोपले युद्ध र प्रत्यक्ष राजनीतिक हस्तक्षेपको क्रममा पन्ध्रौँ सताब्दीदेखि नै व्यवस्थित रूपमा गुप्तचर संगठनहरूमार्फत अन्य मुलुकहरूमा राजनीतिक हस्तक्षेपको अभ्यासको इतिहास कायम गरेको छ ।
भारत र चीनमा त्यस्तो अभ्यासको हजार वर्ष भन्दा लामो इतिहास छ ।
आजका भारत, चीन, रूस र अन्य मुलुकका गुप्तचर संगठनहरू तिनै युरोपीय र अमेरिकी गुप्तचर संगठनको मोडेलमा क्रियाशील छन् ।
८. आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशमा प्रत्यक्ष सैनिक हस्तक्षेपद्वारा कुनै मुलुकलाई आफ्नो नियन्त्रणमा लिन सम्भव नभएको अवस्थामा गुप्तचर संगठनहरूले आफ्नो मुलुकको हितमा काम गर्ने व्यक्ति र दलहरूलाई शासनमा स्थापना गरेर परोक्ष रूपमा ती मुलुकमा आफ्नो सत्ता स्थापना गर्ने काम गर्ने गर्दछन् ।
आफ्ना मानिसलाई सत्ता र सरकारमा पुऱ्याएर अप्रत्यक्ष रूपमा त्यो मुलुकमा आफ्नो शासन चलाइरहेका हुन्छन् ।
नभए, पृथकतावादी आन्दोलन चलाइदिन्छन्म-च्चाइदिन्छन् ।
मुलुक विभाजन गर्ने र अस्तव्यस्त पारेर आफ्नो प्रभाव, दवाव र हस्तक्षेप कायम गर्ने गर्दछन् ।
त्यति मात्र नभएर सोभियत सङ्घमा त केजिबी जस्तो गुप्तचर संगठनहरूले त्यहाँ आन्तरिक सत्ता परिवर्तन र नयाँ सत्ता समीकरण निर्माणमा निर्णायक भूमिका खेल्ने गरेको थियो ।
त्यस्तै कारण राष्ट्रपति सी जिन्पिङ्गले चीनमा केही गुप्तचर प्रमुखहरू विरूद्ध कठोर कारवाही गरेका थिए ।
भारतको आन्तरिक राजनीतिमा इन्दिरा गान्धीको पक्षमा काम गरेको भनेर जनता दलको सरकारले ‘रअ’ र त्यसका प्रमुखविरूद्ध कारवाही गरेको थियो ।
सिआइएमाथि पनि त्यस्तो आरोप लाग्ने गरेको छ ।
पाकिस्तानको आइएसआई त गुप्तचर संगठन मात्र नभएर पाकिस्तानको अघोषित सरकार र सत्ता केन्द्र नै बनेको छ ।
राष्ट्रपति जर्ज डब्ल्यु बुस (सिनियर) सिआइएका प्रमुख हुँदै उपराष्ट्रपति र राष्ट्रपति बनेका थिए ।
भ्लादिमिर पुटिन गुप्तचर पृष्ठभूमिबाट नै रूसका राष्ट्रपति बन्न आएका थिए ।
उनको पृष्ठभूमिले उनलाई सफल र लामो समयसम्म शक्तिशाली राष्ट्रपति बन्न सहयोग गरिरहेको छ ।
गुप्तचर संगठनको पृष्ठभूमिका अजित डोभाल सुरक्षा र विदेश नीति मामिलामा भारतमा प्रधानमन्त्री मोदीपछिको शक्तिशाली हैसियतमा छन् ।
माथिका सन्दर्भहरूको मर्म र शिक्षा भनेको-
९. आफ्नो सीमानाको रक्षा,
आफ्ना मूल राष्ट्रिय हित सन्निहित सवालहरू जोडिएका मुलुकहरूको आन्तरिक राजनीति, रक्षा र विदेश नीतिका क्षेत्रहरू अन्य राष्ट्रिय सुरक्षाका सवालहरू,
आफ्ना प्रतिद्वन्द्वी शक्ति तथा राष्ट्रहरूको रणनीतिक लक्षहरू विरूद्धका आफ्ना रणनीतिक प्राथमिकताका सवालहरू र त्यस्ता मुलुकहरूमा आफ्नो प्रभाव स्थापना र विस्तारका प्रश्नहरू उपस्थित हुँदा संसारको कुनै पनि समर्थ मुलुकले अर्को मुलुकको आन्तरिक राजनीतिमा सम्भव भएसम्म हस्तक्षेप गर्दछ ।
१०. आफ्नो मुलुकको राष्ट्रिय स्वार्थविपरित चल्ने कुनै विदेशी मुलुकको सरकारको स्थानमा आफ्नो स्वार्थअनुरूप चल्ने सरकार स्थापनाको लागि प्रयत्न गर्नु ,
त्यस्ता मुलुकमा आफ्नो विरोधी शक्ति वा दलको स्थानमा मित्रशक्ति वा दलहरूलाई सरकार र शक्तिमा पुऱ्याउन प्रयत्न गर्नु कुनै पनि राष्ट्रको राष्ट्रिय धर्म हो ।
उसको मूख्य राष्ट्रिय कर्तव्य हो ।
११. माथि बुँदा नं ९ र १० का आधारमा आफ्नो मुलुक प्रभावित हुने अवस्थामा आफ्नो मुलुकमा विदेशी मुलुक वा वाह्य शक्तिलाई त्यो हैसियतमा आउन नदिनु र हर हालतमा त्यसलाई रोक्नु उक्त मुलुकको मूख्य राष्ट्रिय धर्म र दायित्व हो ।
आफ्नो मुलुकको स्वतन्त्रता, एकता, अखण्डता र सार्वभौम सत्ताको रक्षामा सोझै घातक प्रभाव पार्ने स्थितिमा बाहेक आफ्नो मुलुकको हितमा, राष्ट्रिय स्वार्थहरूको रक्षाको उद्देस्यले चालिने कुनै पनि कदम गलत र अग्राह्य हुन सक्दैन ।
सबै जायज र मान्य हुन्छन् ।
१२. सके नेपालले पनि गर्न हुन्छ ।
इजरायलले गर्दछ ।
दक्षिण कोरिया, उत्तर कोरिया, ताइवान, सिङ्गापुरहरूले पनि गर्दछन् ।
त्यसै कारण जापान र चीन जस्ता ठूला र शक्तिशाली मुलुकका छेऊ र मूल सरोकारका क्षेत्रका ती साना मुलुकहरूमाथि त्यस्ता अनेकौं प्रयासहरूलाई सफलतापूर्वक रोकेर निरन्तर आफ्नो सुरक्षा, शान्ति र समृद्धिलाई सुनिश्चित गरिरहेका छन् ।
इजरायल, दक्षिण कोरिया, सिङ्गापुर र ताइवानहरू हामी जस्तो धारे हात लगाएर बस्दैनन् ।
आफ्ना आन्तरिक क्षमता आर्जन गरेर तिनलाई डटेर सामना गरिरहेका छन् ।
त्यसैले चीनको बारेमा अत्यन्त गुह्य कुरा बुझ्न परे बुझ्न अमेरिकी र युरोपेलीहरू दक्षिण कोरिया, ताइवान र सिङ्गापुर पुग्छन् ।
चीनका बारेमा त्यति धेरै बुझ्ने मुलुक दुनियाँमा कमै छन् ।
उनीहरू त्यसका प्राधिकार हुन् ।
रूस, टर्की, इरान, सिरिया आदि मुलुकबारे दुनियाँको सबैभन्दा ठूलो विज्ञ इजरायल हो ।
आफ्नो सुरक्षा, स्थिरता, एकता र सम्मानविरूद्धका अन्य राष्ट्रका मिहिन भन्दा मिहिन अर्थात् सूक्ष्म भन्दा सूक्ष्म गतिविधिलाई अध्ययन र विश्लेषण गरेर सम्भावित प्रतिकूलतालाई सामना गर्ने क्षमता निर्माण गरेकैले दक्षिण कोरिया, ताइवान, सिङ्गापुर र इजरायलहरू स्वाभिमान र सम्मानका साथ यो दुनियाँमा खडा छन् ।
नेपाल पनि स्वतन्त्र राष्ट्रको रूपमा रहिरहने हो भने भारत चीनबारे त्यस्तै विज्ञ बनेर आफ्नो सुरक्षा र स्थिरताबारे आश्वस्त बन्न सक्नु पर्दछ ।
उनीहरूले सिरिक्क गर्दा जुरुक्क उठ्ने क्षमता विकास गर्न सक्नुपर्दछ ।
दशकौँसम्म स्वतन्त्रता र प्रभुसत्तामाथिको हस्तक्षेपको राग हालेर मात्र कुनै राष्ट्र सुरक्षित रहन सक्दैन ।
लाख जनाको सेना राख्ने सक्ने मुलकले ४-६ हजारको सक्षम वाह्य गुप्तचर संगठन र दुई–चार करोड खर्च गरेर गतिलो थिङ्क ट्यांक बनाउन किन सकेन ?
प्रश्न शासकहरूको नियतको पनि हो ।
भारतको जनता सरकारले ‘रअ’को अनुभव र विज्ञताको प्रयोग गर्न नसकेर भारतको सुरक्षा सवालमा धेरै चुनौती थपिएको पछि आएर भारतले स्वीकार गऱ्यो ।
नेपालले अञ्चलाधिशहरूको पद खारेज गरेर र सदरमुकामहरूलाई सुरक्षापायक भन्दा विकासपायक बनाउन खोज्दा र हाम्रा गुप्तचर संगठन र त्यसका पूर्वप्रमुखहरूको अनुभव र दक्षतालाई उचित रूपमा उपयोग गर्ने रणनीति नहुँदा नेपालको समग्र सुरक्षा स्थितिमा नकारात्मक असर परेको कुरा हामीले बुझ्न सकेनौँ ।
१३. धारे हात लगाएर, सरापेर, रेडियो, टेलिभिजन र अखबारमा रोएर कराएर बसेर राष्ट्रिय हितहरूको रक्षा हुँदैन ।
आफ्ना राष्ट्रिय हितहरूको रक्षा गर्न आफ्नै न्युनतम रक्षा सामर्थ्य निर्माण र विकास गर्नु पर्दछ ।
त्यतिसम्म गर्न नसक्ने मुलुकलाई बाँकी दुनियाँले सम्मानपूर्वक ग्रहण गर्दैन ।
उसका कुरा सुन्दैन ।
कायरहरूको कुरा सुनेर तिनलाई सुम्सुम्याएर बस्ने समय दुनियाँका कुनै मुलुकका सरकारसँग रहन्न !
संसार बहादुर, साहसी र कर्मवीरहरूको कर्मथलो हो ।
१४. कायर, नालायक, भ्रष्ट, पुरुषार्थहीन, अकर्मन्य र असक्षमहरूको अस्तित्व लामो समयसम्म प्रकृतिमा पनि र राष्ट्रहरूको समुदायमा पनि सुरक्षित रहन सक्दैन ।
बाँच्नलाई आफ्नै आन्तरिक उर्जा र विश्वास चाहिन्छ ।
१५. र अन्त्यमा,
हामीले देखेको र भोगेको विश्व व्यवस्थामा शक्ति अन्तर्राष्ट्रिय राजनीतिको मियो र नियामक सँस्था हो ।
राष्ट्रिय स्वार्थ रक्षाका लागि ठूलो शक्तिले हर किसिमको हर किसिमले शक्ति प्रयोग सबै अन्तर्राष्ट्रिय कानुन, विधि, प्रक्रिया र न्याय व्यवस्थाभन्दा माथि देखिन्छ ।
शक्ति बेगर कुनै पनि न्याय व्यवस्था र न्याय प्रणाली पनि बेकार हुन्छ ।
आफ्ना राष्ट्रिय स्वार्थहरूको रक्षाका लागि आवश्यक न्युनतम शक्ति आर्जन र प्रयोग गर्न नसक्ने राज्यहरू आफैँ अन्तर्राष्ट्रिय शान्ति र न्याय व्यवस्थाका लागि चुनौती मानिन्छन् र प्रत्यक्ष र परोक्ष रूपमा दण्डका भागी बन्दछन् ।
प्रतिक्रिया