■ बबिता बस्नेत

केही समयअघि झापामा एक ब्यक्तिले पत्नीको हत्या गरे । लामो समय वैदेशिक रोजगारीमा रहेर घर फर्किएका उनले पत्नीको अरु कसैसँग सम्बन्ध भएको थाहा पाएपछि पत्नीको हत्या गरेको कुरा मिडियामा आयो । युटुबरसँगको कुराकानीमा छिमेकीहरूले सहज रूपमा भने- ‘आफ्नो हुँदाहुँदै अर्कासँग सम्बन्ध राख्ने श्रीमतीलाई कसले बाँकी राख्छ त ? सहने भन्ने त कुरै हुँदैन नि, गल्ती उनकै हो । उनको हत्या गर्ने पतिलाई दोष दिन मिल्दैन ।’
ती महिलाको ठाउँमा कुनै पुरुष हुन्थे र लामो समयसम्म वैदेशिक रोजगारीमा रहेर फर्किंदा पतिको अरु कसैसँग सम्बन्ध भएको भए ती छिमेकीहरूले भन्ने थिए- ‘श्रीमती त्यति लामो समयसम्म विदेश बसेपछि लोग्नेमान्छे हो.. कसैसँग सम्बन्ध त भइहाल्छ नि । त्यतिका वर्ष एक्लै कसरी बस्छ त ? कसैसँग सम्बन्ध गाँसेकै भरमा पतिको हत्या गर्न हुन्छ ?’
महिला र पुरुषलाई हेर्ने हाम्रा मूल्य-मान्यता र दृष्टिकोणहरू यति फरक छन् कि मान्छे मार्दा समेत मानिसहरू ठिकै त हो नि भनिरहेका छन् । लोग्ने-स्वास्नीबीच एकार्कासँग बस्नै नसक्ने अवस्था आउला भनेर सम्बन्ध बिच्छेदको कानुन बनेको छ । कसैलाई चित्त नबुझे या सँगै बस्न सक्ने अवस्था नआए छुट्टिएर बस्न सक्ने ब्यवस्था छ । गल्ती महिलाकै थियो होला । हिजोआज पति बाहिर हुँदा विवाहेत्तर सम्बन्धहरू बढिरहेका छन् । लोग्नेले कमाएको सम्पत्ति लिएर अरुसँग जानेहरूको संख्या पनि त्यतिकै छ । तर जे-जे भए पनि मान्छेलाई मार्नै त कहाँ पाइन्छ ?
केटीहरूले करियरलाई भन्दा विवाहलाई प्राथमिकता किन दिन्छन् ? उनीहरूलाई विवाह गर्न हतार किन हुन्छ ? आत्मनिर्भर नभई गरेको विवाह पनि त महिलामाथि हुने हिंसाको कारण होइन र ? महिलामाथि हुने हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा यो पङ्क्तिकारलाई कालिका एफएमका पत्रकारले सोधेको राम्रो प्रश्न थियो यो । ‘छोरीलाई कसरी हुर्काउने ?’ यो अब गम्भीर बहसका रुपमा अगाडि आउनुपर्छ । हाम्रो पुस्तासम्म छोरीलाई अर्काको घर जाने जात भनेर हुर्काइयो । ‘तिमीले विवाह गरेर अर्काको घर जानुपर्छ’ भनेको सुन्दै हर्किएका छोरीहरूले विवाहलाई सर्वोपरि ठान्नु स्वभाविक नै हो । तिमी आफैले घर बनाउनुपर्छ, आफ्नो संसार बसाउनुपर्छ, आफ्नो खुट्टामा उभिनु पर्छ भनेर हाम्रो पुस्ताका छोरीहरूले सुनेनन् । हामीले अहिले पनि छोरीहरूलाई यसरी हुर्काइरहेका छैनौँ । सुरुवात भने भएको छ ।
एकपटक सार्वजनिक यातायातमा सँगैको सिटमा बसेकी एक युवतीले फोनमा ‘कार भएको मान्छे भेट्दाभेट्दै कहाँ मोटरसाइकलवालासँग बिहे गर्नु ? मैले त हुन्न भनिदिएँ । कारवालासँग विवाह गर्ने सपना त जसको पनि हुन्छ नि’ भनेको सुनेपछि यो पङ्क्तिकारले ‘बहिनी, सपनै देख्नुपरेपछि कारवालासँग विवाह गर्नेभन्दा पनि आफै कारवाला हुने सपना पो देख्नुपर्छ होइन र ?’ भनेकी थिएँ । ‘पूरा गर्न सक्नु-नसक्नु अलग कुरा हो तर सपना त देख्नुपऱ्यो नि !’ पूर्णतः अपरिचित ती बहिनीले आश्चार्यभावमा तर चित्त बुझेजस्तो गरेर हेरेकी थिइन् । सानैदेखि हामीले छोरा र छोरीको दिमागमा के हालिरहेका छौँ, उनीहरूको माइण्ड कसरी सेट भइरहेको छ भन्नेबारेमा हामीकहाँ खासै चर्चा र बहस हुने गरेको छैन ।
तिमी आफैले घर बनाउनुपर्छ, आफ्नो संसार बसाउनुपर्छ, आफ्नो खुट्टामा उभिनु पर्छ भनेर हाम्रो पुस्ताका छोरीहरूले सुनेनन् । हामीले अहिले पनि छोरीहरूलाई यसरी हुर्काइरहेका छैनौँ । सुरुवात भने भएको छ ।
हाम्रा छोराछोरीले घरमा कसले के काम गरेको देखिरहेका छन् ? बाबुआमा एकार्कामा कस्तो भाषा प्रयोग गर्छन् ? मैले पालेकै छु नि, माइतबाट ल्याएको हो र ? केही दिनअघि भीएसओ नेपालको सहज कार्यक्रमले प्रदेश नं २, लुम्बिनी प्रदेश र राजधानीका पत्रकारहरूसँग ‘हानीकारक सामाजिक मूल्य-मान्यता परिवर्तनमा सञ्चारमाध्यमको भूमिका’ विषयमा गरेको अन्तक्रियामा आफूवरिपरि भइरहेका धेरै कुराहरूलाई गहिरिएर छलफल गर्ने मौका मिल्यो । ठुला-ठुला राष्ट्रिय स्तरका बहसमा लागिरहँदा स-साना लाग्ने तर जिन्दगीभर फरक पार्ने कुराहरू हामीले बिर्सिरहेका हुने रहेछौँ । महिला भएर सहनु त पर्छ नि… पुरुष हो आरोप त लगाइहाल्छ नि… लोग्ने स्वास्नीको झगडा परालको आगो… आफूले चाहेको बेला सम्बन्ध राख्न पाएन भने विवाह गरेको के काम ? महिलाले कतिपय कुरा थाहा पाएर पनि नपाएजस्तो गर्नुपर्छ… केटा हो अलिअलि आक्रामक त भइहाल्छ नि… आफ्नै स्वास्नीलाई गाली गरेको त हो… आफ्नै स्वास्नीलाई पिटेको त हो.. .आफ्नै श्रीमतीसँग सम्बन्ध राख्न पनि सहमति लिनुपर्ने ? केटाले केटीलाई नजिस्काएर कसलाई जिस्काउँछ त ? यस्ता कुराहरू अहिले पनि घरपरिवारमा सामान्य रूपमा बोलिन्छन् । केटीलाई जिस्काउनु सामान्य हो भन्ने मानसिकता अगाडि बढ्दै जाँदा बलात्कार गर्दा के हुन्छ र ? भनी बलात्कार जस्तो जघन्य अपराधसम्म पुगेका घटनाहरू पनि हाम्रो समाजमा छन् ।
तीन महिनाअघि ट्वीटरमा हिमा बिष्टले ‘यस्तो पनि हुन्छ ?’ भन्ने आशयको कमेन्टसहित ‘खुट्टा भए जुत्ता जत्ति’ भन्ने गीतको भिडियो सेयर गर्नुभएको थियो । खोलेर हेर्दा मन यति झसँग भयो कि हामी कुन संसारमा छौँ भनेर सोच्न बाध्य बनायो । उक्त गीत अहिले पनि युटुबमा भेटिन्छ, जहाँ एउटा सानो बालकले आफ्नै उमेरकी बालिकालाई थर्काउँदै ‘खुट्टा भए जुत्ता जत्ति’ भन्ने गीत गाउँछ र पहिली बालिकालाई देखाउँदै अर्की बालिका च्यापेर हिँड्छ । उक्त गीत बनाउने मान्छेको मानसिकता कस्तो होला ? दिन खोजेको सन्देश के हो ? हामीले छोरीको हुर्काइको कुरा गर्दै गर्दा हाम्रा छोराहरूको हुर्काइ कस्तो भइरहेको छ भनेर बिर्सनु हुँदैन । यस्तो गीत बनाएर सार्वजनिक गर्ने बारेमा सोच्ने मानसिकता कसले तयार गऱ्यो ? हाम्रो समाजमा विद्यमान हानिकारक मूल्य-मान्यताहरू यसमा जिम्मेवार छन् ।
कोभिड–१९ पछिको लकडाउनमा सबै मानिसहरू घरमा बसे । कामकाजी बाबुआमाका छोराछोरी हुन् या कामकाजी बाबु, गृह ब्यवस्थापक आमाका छोराछोरी या गृह ब्यवस्थापक बाबु र कामकाजी आमाका सन्तान । दिनभरि घर बस्दा प्रायः सबैले उस्तै-उस्तै दिनचर्या देखे । आमा भान्सामा पकाउने, बाबु यस्तो पकाउ, उस्तो पकाउ भनेर अर्डर गर्ने, कुकिङमा ब्यस्त आमा रेष्टुरेन्टको वेटरले झैँ सर्भ गर्ने, बाबु ग्राहक झैँ खाएर बस्ने…बिहान-बेलुका यस प्रकारका दृष्य हेर्दै हुर्किएका छोराछोरीले लकडाउनमा थप हेर्ने मौका पाए । बाबुहरूले त्यसबीचमा धेरै सिनेमा हेरे, पुस्तक पढे, कतिले पुस्तक लेखे पनि होलान्, सार्वजनिक जीवनमा आफूलाई प्रस्तुत गर्न तयार गरे तर धेरैजसो ब्यवसायिक, कामकाजी या सार्वजनिक जीवनमा भएका महिलाहरूको समय भान्सा र घरको काममा बित्यो । यस्ता दृष्य हेर्दै हुर्किएका बालबालिकाको ‘माइण्ड’मा के ‘सेट’ हुन्छ ?
बाबुहरूले त्यसबीचमा धेरै सिनेमा हेरे, पुस्तक पढे, कतिले पुस्तक लेखे पनि होलान्, सार्वजनिक जीवनमा आफूलाई प्रस्तुत गर्न तयार गरे तर धेरैजसो ब्यवसायिक, कामकाजी या सार्वजनिक जीवनमा भएका महिलाहरूको समय भान्सा र घरको काममा बित्यो । यस्ता दृष्य हेर्दै हुर्किएका बालबालिकाको ‘माइण्ड’मा के ‘सेट’ हुन्छ ?
‘माइण्ड सेट’ यस्तो कुरा हो जसले जिन्दगीभर पछ्याइरहन्छ । गर्नु हुँदैन भन्दाभन्दै गरिदिने, बोल्न हुँदैन भन्दाभन्दै बोलिदिने । पत्नीलाई दुर्वचन गर्न हुँदैन भन्ने कुरा एउटा शिक्षित युवालाई थाहा नहुने कुरा हुँदैन तर अहिले मानसिक हिंसासँग सम्बन्धित कति मुद्दाहरू प्रहरी र कानुन ब्यवसायीसम्म आइरहेका छन्, जसमा युवाहरूको संलग्नता छ । पढेलेखेका युवाहरूले किन यस्तो गरिरहेका छन् त ? किनभने उनीहरू आफ्नो परिवारमा बाबुआमाबीच असमान शक्ति-सम्बन्ध देख्दै हुर्किए । बाबुले गाली गर्दा आमाले सहिरहिन् केही भएको थिएन, आफूले भन्दाचाहिँ मुद्दा अदालतमा पुग्यो । आखिर किन यस्तो भइरहेको छ त ? आमाको हुर्काइ तिमीले सहनुपर्छ छोरी भन्ने थियो तर अहिलेका छोरीहरूलाई हामी कुनै पनि प्रकारका हिंसामा शुन्य सहिष्णुता भनीरहेका छौँ । मानसिक होस् या शारीरिक कुनै पनि प्रकारको हिंसा महिला, पुरुष या लैङ्गिक अल्पसङ्ख्यक कसैले पनि सहनु हुँदैन ।
हिजोआज टिकटकमा युवा पतिपत्नीका संवादहरू निकै चर्चित छन् । तिनले प्रयोग गरेको भाषा हेर्दा यो देशमा लैङ्गिक समानता टाढाको लक्ष्य मात्रै हुने भो भन्ने लाग्छ । पहिलेका मानिसले त गरे-गरे, अहिलेका युवाहरूकै सोचमा खोट देखिँदा मनमा निराशा छाउनु स्वभाविकै हो । ‘माइण्ड सेट’ यस्तो कुरा हो जसले बरपिपलका पुराना रुखले जमिनमा जरा गाडेझैँ समाजमा जरा गाडेर बसेको छ । हाम्रा कतिपय मूल्य-मान्यताहरू राम्रा छन् जसलाई जोगाएर राख्नुपर्नेछ तर कतिपय हानिकारक मूल्य-मान्यताहरूलाई जरैबाट उखेलेर फाल्नु आवश्यक छ । यस्तै हो… चलेको चलन नै यस्तै छ… विस्तारै हुन्छ नि… भन्न थल्यो भने हामी जुन अवस्थामा छौँ हाम्रा भावी पुस्ता त्यही अवस्थामा रहनेछन् जसरी हिजोका पुस्ताले यस्ता कुरामा चुपचाप बसिदिँदा अहिले हाम्रो पालामा ती जस्ताका तस्तै छन् ।
त्यसैले हानिकारक मूल्य-मान्यता त्यागी सकारात्मक रुपान्तरणमा अगाडि बढ्नका लागि आक्रामक हस्तक्षेप जरुरी छ । दृष्टिकोण र मानसिकतामा परिवर्तन नभइ समाज परिवर्तन सम्भव छैन । समाज त्यही हो जहाँ हामी बस्छौँ । परिवर्तनको सुरुवात आफैबाट गरौँ ।
प्रतिक्रिया