संविधान रक्षाको ठेकेदारी काङ्ग्रेसलाई !

संविधान रक्षाको ठेकेदारी काङ्ग्रेसलाई !



■ देवप्रकाश त्रिपाठी

पश्चिमा प्रायोजनमा प्राप्त वर्तमान संविधानका पक्षमा अन्ततः नेपाली काङ्ग्रेस मात्र उभिन आइपुगेको छ । वामपन्थवाद र जातीयता एवम् क्षेत्रियतावादलाई अनुशरण गरेको यो संविधान संसदीय प्रजातन्त्रको मौलिकता, धर्म, राष्ट्रिय एकता, सामाजिक सद्भाव र अखण्डित सार्वभौमिकतालाई विस्थापित गर्दै अस्तित्वमा आएको (ल्याइएको) हो । संविधान निर्माण र घोषणामा मूख्य भूमिका निर्वाह गर्ने राजनीतिक समूह तथा निमित्त नायकहरू आ-आफ्ना लक्ष्यअनुरुप अगाडि बढ्न खोज्दैछन् ।

संविधानसभा र त्यसमार्फत जारी संविधानको हिमायती रहको माओवादीका नेताहरूमध्ये प्रचण्ड नेकपालाई सम्पूर्ण रूपले आफ्नो काबुमा लिएर एकदलीय अधिनायकवादमा आधारित समाजवादमा छलाङ मार्न अन्तिम कसरत गर्दैछन् भने अर्का माओवादी बाबुराम भट्टराई जातियतामा आधारित अनेक खण्डमा नेपाललाई विभाजित गर्न बहुराष्ट्रिय राज्यको नारा लिएर अगाडि बढेका छन् । माओवादी पक्षका नेताहरू जो जहाँसुकै पुगेका हुन् ती सबै वर्तमान संविधानका विपरीत क्रियाकलापमा छन् । कुरा कति मात्र हो भने माओवादीहरू अर्को छलाङ मार्ने कार्य सम्पन्न नभएसम्म यही संविधान निरन्तरता चाहन्छन् । संसदीय प्रजातन्त्रलाई नष्ट गरेर पूँजीवादी जनवाद (जुन अहिले छ) हुँदै एकदलीय अधिनायकवादमा आधारित समाजवादमा पुग्ने उनीहरूको रणनीति हो । संविधानसभामार्फत उनीहरू संसदीय प्रजातन्त्रको जग ध्वङ्श गरी वामपन्थवादमा आधारित संविधान जारी गराउन सफल भएका छन् । काङ्ग्रेसलाई ‘भान्से भूमिका’ दिएर यो अवस्थासम्म राजनीति ल्याइपु¥याउन आफूहरू सफल भएको ठम्याइ माओवादी पक्षको छ ।

वास्तवमा काङ्ग्रेस पूर्ण रूपले पश्चिमी इच्छा र इशारामा परिचालित थियो र छ । भित्री इञ्जिनले गाडी गुडाइरहँदा बालबालिकाहरूमा आफूले पछाडीपट्टिबाट ठेकेलै कारण गाडी गुडेको भन्ने मिथ्या अहम पैदा भएझैँ माओवादीहरूमा काङ्ग्रेसलाई गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र जातिवादी समावेशिता (तिनका शब्दमा पूँजीवादी जनवाद) सम्म ल्याइपुऱ्याइयो भन्ने भ्रम अझै छ । प्रचलित अवस्था-व्यवस्थालाई ध्वस्त नपारेसम्म समाजवादसम्म पुग्न नसकिने विश्वासमा रहेका माओवादी र देशको मौलिक धर्म-संस्कृति, एकता र राजसंस्था विस्थापित नभएसम्म नेपालमा आफ्नो भूमिका बढ्न नसक्ने ठानेका पश्चिमा शक्तिको घोषित-अघोषित सहकार्यको परिणाम वर्तमान संविधान र यो (अ) व्यवस्था हो ।

पश्चिमाहरू विद्यमान संविधानलाई भत्काएर एकदलीय अधिनायकवाद (समाजवाद) तर्फ जान चाहँदैनन् मात्र होइन उनीहरू यस्तो प्रयासको विरुद्ध छन् । यही संविधानको प्रावधानमा झुण्डिएर बहुराष्ट्रिय राज्यमा नेपालको रूपान्तरण गर्ने र राज्य कमजोर तुल्याएर आफ्नो प्रभाव र पकड बलियो बनाउने पश्चिमी योजना हो । जुन योजना कार्यान्वयनका निम्ति बाबुराम भट्टराई, आङ्काजी शेर्पा, उपेन्द्र यादव, सुवास नेम्वाङ, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, गगन थापा र आरजु रणालगायतका व्यक्ति र शक्तिलाई अगाडि सारिँदै छ । बहुराष्ट्रिय राज्यको अवधारणाअनुरुप नेपाललाई लैजानेबाहेकको कुनै पनि अवस्थामा पश्चिमाहरू वर्तमान संविधान रक्षाका पक्षमा दृढतापूर्वक उभिने छन् । नेपाली काङ्ग्रेसको नेतृत्व गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र जातिवादमा आधारित समावेशिताको पक्षमा ‘दृढतापूर्वक’ उभिनुको कारण पनि पश्चिमी इच्छाबाहेक थप केही भएको ठान्नु पर्दैन । छिमेकी मुलुक चीन र अमेरिकाबीच तनाव उत्पन्न भई विश्व पुनः शीतयुद्धमा प्रवेश गरेको यस घडीमा काङ्ग्रेस घोषित रूपले नै चीनविरुद्ध उभिनु र संविधान रक्षाका निम्ति बहादुरीपूर्वक लड्ने प्रतिबद्धता जाहेर हुनुको रूप फरक भए पनि अर्थ एउटै हो ।

बीपी कोइराला र कृष्णप्रसाद भट्टराईहरूले स्थापना गरेको नेपाली काङ्ग्रेस संसदीय प्रजातन्त्र, राष्ट्रियता, धर्मसापेक्षता, संवैधानिक राजतन्त्र र समाजवादी आर्थिक कार्यक्रमको पक्षपाती थियो । काङ्ग्रेस पार्टीमा पश्चिमा पकड कायम भएसँगै यसका सिद्धान्त, विचार, दर्शन र प्रतिबद्धता बदलिएका छन् । अब विद्यमान संविधानको अस्तित्वमा मात्र पार्टीको जीवनले निरन्तरता पाउने विश्वासको अवस्थामा काङ्ग्रेस आइपुगेको छ । त्यसैले संवधान रक्षाका निम्ति वामपन्थी कम्युनिष्टभन्दा पनि आक्रामक भूमिकामा वामपन्थी काङ्ग्रेस देखापर्ने सम्भावना प्रवल भएको छ ।

पञ्चहरू जो कुनै बेला निर्दलियता र सक्रिय राजतन्त्रलाई निर्विकल्प ठान्थे र, राजाका नामको राजनीतिक व्यापारमा तीन दशकसम्म उनीहरू खुब रमाए । पञ्चायती व्यवस्था विस्थापन भएसँगै रातारात आफ्नो विचार त्यागेर बहुदलीय प्रजातन्त्रवादी बनेका पञ्चहरू २०६३ को परिवर्तनपछि गणतन्त्रवादी बन्न पनि भ्याए । वर्तमान संविधानलाई विश्वको उत्कृष्ट दाबी गर्दै संसार घुमेर प्रचार गर्ने छद्मभेषीहरू अहिले राष्ट्रवादको जागरणसँगै फेरि जनता भुलाउन अग्रसर हुँदैछन् ।

नेकपाभित्रका कतिपय नेता-कार्यकर्ता, एनजीओ ब्यावसायी र पश्चिमा लगानीमा रोबोर्टझैँ उफ्रिपाफ्री गर्ने अधिकारकर्मीहरू पनि भविष्यमा यो संविधानसँगै सती जाने भूमिकामा देखापर्न सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । काङ्ग्रेसले आफ्नो मौलिक विचार परित्याग गऱ्यो तर नयाँ विचारभूमि बनाउन सकेन भन्ने बुझाई बौद्धिक समुदायको थियो । अब सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र जातिवाद नै काङ्ग्रेसको ‘मौलिक’ विचार भएको बुझ्नु शतप्रतिशत सही हुनेछ । काङ्ग्रेसभित्र कोही राष्ट्रियता, राष्ट्रिय एकता, संसदीय प्रजातन्त्र, धर्मसापेक्षता र समाजवादी आर्थिक कार्यक्रमको पक्षमा छन् भने तिनले आफ्नो आवद्धताप्रति पुनर्विचार गरी मौलिक घर निर्माणमा संलग्न हुनु उचित र उपयुक्त हुने अब स्पष्ट भएको छ ।

राष्ट्रियता, राष्ट्रिय एकता, एकीकृत सार्वभौमिकतासहितको अखण्डित नेपाल, धर्मसापेक्षता र संसदीय प्रजातन्त्रप्रतिको प्रतिवद्धतासहितको राजनीतिक आस्था भएका मानिसका निम्ति काङ्ग्रेस उपयुक्त घर होइन । पञ्चहरूबाट त्यस्तो घर निर्माणको अपेक्षा गर्नु अर्को भुमरीमा फस्नु मात्र हो । पञ्चहरू जो कुनै बेला निर्दलियता र सक्रिय राजतन्त्रलाई निर्विकल्प ठान्थे र, राजाका नामको राजनीतिक व्यापारमा तीन दशकसम्म उनीहरू खुब रमाए । पञ्चायती व्यवस्था विस्थापन भएसँगै रातारात आफ्नो विचार त्यागेर बहुदलीय प्रजातन्त्रवादी बनेका पञ्चहरू २०६३ को परिवर्तनपछि गणतन्त्रवादी बन्न पनि भ्याए । वर्तमान संविधानलाई विश्वको उत्कृष्ट दाबी गर्दै संसार घुमेर प्रचार गर्ने छद्मभेषीहरू अहिले राष्ट्रवादको जागरणसँगै फेरि जनता भुलाउन अग्रसर हुँदैछन् । नेपाली जनताको दृष्टिमा धोखेबाज प्रमाणित भइसकेकाहरू यतिबेला मौलिक काङ्ग्रेस पार्टीको स्थान लिएर आफूलाई पुनः एकपटक स्थापित गर्ने कसरत गर्दैछन्, जनता सचेत हुनुपर्ने यहाँनेर पनि हो ।

नेपाली राजनीतिको एउटा रोचक तर दुःखद् पक्ष भनेको सबै आ-आफ्नो विचार व्यवहारबाट स्खलित हुनु हो । पञ्चहरू पञ्च जस्ता रहेनन् । काङ्ग्रेस काङ्ग्रेसजस्तो भएन र कम्युनिष्ट पनि कम्युनिष्ट जस्ता छैनन्, सबैले आफ्नो धर्ति छोडिसकेका छन् ।

वैचारिक ध्रुवका दृष्टिले नेपालमा यतिबेला चार प्रकारका राजनीतिक क्षेत्र कुनै न कुनै प्रकारले क्रियाशील भएको देखिन्छ । पहिलो बहुराष्ट्रियताका पक्षधर जातिवादी एवम् क्षेत्रियतावादीहरू, जसको अगुवाइ प्रकट रूपमा आङ्काजी शेर्पा, उपेन्द्र यादव, अशोक राई र बाबुरा भट्टराईहरूले गरेका छन् । दोस्रो, धर्मनिरपेक्षतासहितको सङ्घीयता, गणतन्त्र र जातिवादी समावेशीताका पक्षधरहरू, जसको नेतृत्व काङ्ग्रेसका नाममा विमलेन्द्र निधि, गगन थापा, रामचन्द्र पौडेल र आरजु राणाहरूले गरिरहेका छन् । तेस्रो, एकदलीय अधिनायकवादमा आधारित समाजवादी धार, जसको अगुवाइ प्रचण्ड र माधव नेपालहरू गर्न खोज्दैछन् । चौथो, राष्ट्रियता, धर्मसापेक्षता, संसदीय प्रजातन्त्र, राष्ट्रिय एकता, सामाजिक सद्भाव र संवैधानिक राजतन्त्रसहितको समाजवादी आर्थिक कार्यक्रम चाहने पक्ष, जुन नेतृत्वविहीन अवस्थामा भए पनि सशक्त र सक्रिय देखिएको छ ।

नेपालमा अनौठो रोग देखापरेको छ । देश, काल, परिस्थितिले नयाँ भूमिका र नयाँ शक्तिको माग गरिसक्यो, हाल क्रियाशील दलका नेतृत्व र नीतिले मुलुकको अस्तित्वसमेत रक्षा गर्न नसक्ने ठाउँमा पुऱ्याइसकेको छ, तर काङ्ग्रेस-कम्युनिष्टका कार्यकर्ताहरू भूतकालीन दासताबाट मुक्त भएर भविष्यका निम्ति केही गर्ने दायित्वबाट च्यूत हुँदैछन् ।

उल्लिखित चारमध्ये नेपाली काङ्ग्रेस मात्र वर्तमान संविधानको पक्षमा देखियो । बाँकी तीनवटै विचारपक्ष यो संविधानलाई विस्थापित गरेर या बदलेर नयाँ अवस्था-व्यवस्था स्थापना गर्न चाहन्छन् । यसले संविधान रक्षाका निम्ति काङ्ग्रेस मात्र अग्रपङ्क्तिमा उभिने र यो संविधान विस्थापित भएसँगै काङ्ग्रेसको प्राणान्त हुने सङ्केत गर्दछ ।

देशको रक्षा भन्नाले कुनै समय भौगोलिक सीमाको रक्षा गर्नुलाई मात्र बुझिन्थ्यो । आधुनिक विश्वमा सीमा, जनहित, पर्यावरण, जल र वनस्पतिसमेतको रक्षालाई समष्टिमा देशको रक्षाका रूपमा बुझिन्छ । पञ्च, काङ्ग्रेस र कम्युनिष्टका नेता र कतिपय कार्यकर्ता सत्ता र अवसरकेन्द्रित भूमिकामा रमाइरहेका भए पनि तीनवटै समूहका अधिकाङ्श कार्यकर्ता देशकै पक्षमा रहेको पाइन्छ । उच्च तहका नेता र अगुवा कार्यकर्ताले मात्र सत्ता र अवसरको दासत्वमा मनोरञ्जन लिइरहेका छन् । तीनवटै समूहका इमानदार, देशभक्त र राष्ट्रवादी पङ्क्तिमा छटपटी छ तर एकत्रित हुने छहारी फेला पर्न सकेको छैन । इमानदार तथा भरोसायोग्य र दूरदर्शी नेतृत्व देखापरेमा देशभक्तहरू गोलबद्ध हुन सक्ने पृष्ठभूमि अहिले बनिरहेको छ । अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरू नेपाली देशभक्त तथा राष्ट्रवादी शक्तिका पक्षमा अहिलेसम्म नभएको, समाज पूर्ण रूपले पार्टीकरण भएको र राजा राजनीतिक भूमिकामा देखा नपरेकोले राष्ट्रवादी जनमत बलियो भएर पनि असङ्गठित र छरपस्ट हुन पुगेका छन् ।

राणा शासन विस्थापित गरेर काङ्ग्रेस सत्तामा आएपछि राणाकालमा राणाहरूले खाने र अरुहरूले हेर्नुपरे झैँ काङ्ग्रेसले खाने र अरुले हेरिरहनुपर्ने स्थिति बन्यो । पञ्चायतमा पञ्चहरू खान्थे र काङ्ग्रेस-कम्युनिष्ट हेरिरहन्थे । गणतन्त्रमा पनि काङ्ग्रेस, कम्युनिष्ट र जातिवादीहरू खाइरहने र, राष्ट्रवादी एवम् प्रजातन्त्रवादीहरूले हेरि बस्नुपर्ने स्थिति विद्यमान छ । यसरी हेर्दा नेपालमा सबैका लागि समान अवसर उपलब्ध हुने प्रजातन्त्र वास्तवमा अहिलेसम्म आएकै छैन भन्नुपर्ने हुन्छ । सबैका निम्ति प्रजातन्त्र स्थापना गर्ने दायित्व राष्ट्रवादी शक्तिको काँधमा आएको छ । तर नेतृत्वविहीनता र अन्तर्राष्ट्रिय सद्भावको अभावका कारण यो शक्ति निर्णायक भूमिकामा तत्काल स्थापित हुन मुस्किल छ । तर काङ्ग्रेस र कम्युनिष्ट पार्टीमा आवद्ध देशभक्त र राष्ट्रवादीहरूले आफ्नो ‘करियर’को भन्दा बढी देशको चिन्ता गर्न थालेमा नेपाली राष्ट्रवादीहरू निर्णायक जिम्मेवारीमा पुग्न असम्भव छैन । २००७ साल र २०४६ सालको जनआन्दोलनमा निर्वाह गरेको भावनाको भूतबाट मुक्त हुन नसक्दा देशले ठूलो क्षति ब्यहोरिरहेको छ ।

उल्लिखित चारमध्ये नेपाली काङ्ग्रेस मात्र वर्तमान संविधानको पक्षमा देखियो । बाँकी तीनवटै विचारपक्ष यो संविधानलाई विस्थापित गरेर या बदलेर नयाँ अवस्था-व्यवस्था स्थापना गर्न चाहन्छन् । यसले संविधान रक्षाका निम्ति काङ्ग्रेस मात्र अग्रपङ्क्तिमा उभिने र यो संविधान विस्थापित भएसँगै काङ्ग्रेसको प्राणान्त हुने सङ्केत गर्दछ ।

सन् १९१७ को अक्टोबर क्रान्ति बोल्सेभिकहरूले गरेका हुन् । रसियन सोशल डेमक्रेटिक पार्टीको बहुमतपक्षीय नेता लेनिनले कम्युनिष्ट पार्टीको स्थापना त १९१७ मा मात्र गरेका हुन् । देशको तत्कालिक आवश्यकताले उनीहरूलाई सोसल डेमक्रेट हुँदै बोल्सेभिक र कालान्तरमा कम्युनिष्ट बनाएको थियो । अमेरिकाको संस्थापक राष्ट्रपति जर्ज वासिङ्टन कुनै पनि पार्टीमा आवद्ध थिएनन् । संयुक्त राज्य अमेरिकाको स्थापनाकालमा पार्टीहरूको अस्तित्व देखानपरेको भए पनि त्यहाँको पहिलो दल फेडरलिस्ट पार्टी हो, जसले सङ्घीय राज्य प्रणालीको पक्षमा वकालत गरेको थियो । अमेरिकामा अहिले पनि सङ्घीय प्रणाली कायम छ, तर फेडरलिस्ट पार्टी चाहिँ अस्तित्वमा छैन । संविधान जारी गर्दाका बखत हालको डेमक्रेटिक र रिपब्लिकन पार्टी अस्तित्वमा थिएनन् । सङ्घीयताको पक्षधर फेडरलिस्ट पार्टी र बलियो केन्द्रियताको पक्षधर एन्टीएड्मिनिस्ट्रेसन पार्टी (डेमक्रेटिक रिपब्लिकन) मात्र अमेरिकी राजनीतिको केन्द्रबिन्दुमा थिए । तर इतिहासमा अद्वित्तीय भूमिका निर्वाह गरेको भनेर अमेरिकीहरू तिनै नाममा झुण्डिएर बसेनन् ।

आवश्यकताले अमेरिकी जनतालाई नयाँ ढङ्गले सङ्गठित हुने ठाउँमा पु¥याएको हो । तर नेपालमा अनौठो रोग देखापरेको छ । देश, काल, परिस्थितिले नयाँ भूमिका र नयाँ शक्तिको माग गरिसक्यो, हाल क्रियाशील दलका नेतृत्व र नीतिले मुलुकको अस्तित्वसमेत रक्षा गर्न नसक्ने ठाउँमा पु¥याइसकेको छ, तर काङ्ग्रेस-कम्युनिष्टका कार्यकर्ताहरू भूतकालीन दासताबाट मुक्त भएर भविष्यका निम्ति केही गर्ने दायित्वबाट च्यूत हुँदैछन् । हिजोको आवश्यकता काङ्ग्रेस, कम्युनिष्ट, राप्रपा आदिले पूरा गरेका भए पनि भोलिका आवश्यकता पूर्ति गर्न सक्ने क्षमता, ऊर्जा र योग्यता यिनीहरूमा नरहेको कार्य-परिणामले पुष्टि गरिसकेको छ ।

अबको द्वन्द्व देशभक्त राष्ट्रवादी र गैह्रराष्ट्रवादी बीचको हो, वर्तमान संविधानका पक्षधर र विपक्षीहरूको हो । यो द्वन्द्वमा मासिने भनेको देशद्रोहीहरू नै हुनेछन्, के पूर्वी युरोप तथा रसियाबाट कम्युनिष्टहरूको उन्मूलन भएझैँ या चीनबाट कोमिन्ताङ पार्टी सदाका लागि विस्थापित भएझैँ काङ्ग्रेस र कम्युनिष्टका समर्थकहरूले आफ्नै मलामी जानुपर्ने घडीको प्रतीक्षा गरेका हुन् ? सच्चा नेपालीले गम्भीरतापूर्वक सोच्नुपर्ने भएको छ । जय मातृभूमि !