ठग गुरु र हामी हनुमन्ते !

ठग गुरु र हामी हनुमन्ते !



■ डिल्ली अम्माई
(ब्यङ्ग्य)

‘के लेखौँ के लेखौँ’ भयो बिहान उठ्नेबित्तिकै । डिसेम्बरको चिसोमा कापी-कलम लिएर एकछिन झोक्राएँ । अनि बिस्तारै एउटा लहड आयो गुहुका गुइँठा बालेर धुनी ताप्ने हाम्रा गुरु र हामी चेलाको महिमागान लेख्ने । मन्दिरको झ्याल मुङ्ग्राले फोरेर मन्दिर पसेका कुइमुङ्ग्रे भक्तजनहरूको एउटा भीडले पत्रकार गुरुको बारेमा भक्तिगान गर्दै गीता लेखिरहेका छन् धमाधम । त्यसैले ती दाशानुदास हनुमान दास र उनीहरूलाई स्वर्गरमण गराउने परमार्थी गुरु-महिमा मण्डन गर्दै लेख्ने निधो गरियो ।

अघिल्लो वर्षका धेरै कार्यक्रममा गुरु ठूलो मन्दिरमा प्रवचन दिनुहुन्थ्यो र हाम्रा साथीले जस्तै उनीबाट मैले पनि गुठी सञ्चालन मन्त्र सिक्दै थिएँ । गुरु त ठूला–ठूला, हेर्दै खाइलाग्दा छन् । म पनि गुरुभक्त मान्छे ।

मञ्चमा गुरुलाई पठाएपछि धेरै भेटी पनि चढाइयो र भजन पनि गाइयो । हाम्रा भक्त–साथीहरू जस्तै म पनि गुरुको दायाँ-बायाँ घुम्दै गुरुरक्षामा तल्लिन भइरहेँ । सबै गुरुको स्वागतमा आएका निम्तालुले भेटी बोले । मैले निम्तालुले चन्दा बोल्दा र दक्षिणा चढाउँदा गुरुको मस्केको थुतुनो हेर्नमै मस्त रहेँ । सबै गाउँका नयाँ पुराना भक्तहरूले दुःखेसो पोखिरहे, गुरुलाई आफ्ना पीर र चिन्ता सुनाइरहे । गुरुलाई यो वा त्यो बहानामा गुरुभेटी चढाइरहे । सबै थकित मनुवाहरू गुरुवाणीको लहलहैमा आ–आफ्नो समाधि कसिरहे । आफूलाई सधैं लागिरह्यो गुरु खुशी त आफू खुश, बस !

पहिलो र दोश्रो पुराण–मञ्च गुरुले ओगटी रहे । गुरुको पछि अरुको पालो आउने कुरा पनि भएन । गुरुले मजत्तिको अर्को चल्ला कोरल्छु र थलो छोड्छु भन्न थालेको धेरै भयो, तर न फुल पारे न चल्ला नै कोरले । गुरुको बोलीमै संसार मख्ख पऱ्यो, धर्ती जग्मगायो, अनि हावाले झुकाएको काँसझैँ सबै गुरुतिर झुके । गुरुको वर्षौंदेखि सद्प्रवचन शुरु भयो, तर अन्त्य भएन । भक्तजनहरूले तालीको बादन गरिरहे । कति त झोक्राएर कुन्नि के–के सोचिरहे, वाक्य फुटेन । अकाट्य गुरुको बचन काट्ने हिम्मत कसैले गरेन । जसले गऱ्यो त्यो आफै काटियो ।

यो लेखनदासले पनि गुरुको आनीबानीमा त्यति हेक्का राखेन, किनकि भेटीमा हुँडलिने गुरुलाई अहिलेसम्म ब्यवहारको यति गहिराइबाट देखिएको थिएन । यो अभागी पूर्वभक्तले उहाँको प्रवचन उहाँकै अगाडि बसेर सुन्ने सौभाग्य पाए पनि कर्मको सुपारी चाखेको थिएन । युगौँदेखि गुरु भासिँदै गए प्रवचनमा । चास्नी चिसिँदै र बाक्लिँदै गयो । हामीले एकोहोरो गुरु वाक्य सुनिरह्यौँ । गुरुको भित्री खेल बुझेनौँ कि अनदेखा गरियो.. भन्न गाह्रो !

अचानक मेरो मनको तरङ्गलाई गत चैतको भनेको एउटा गुरुवाक्यले तोडिदियो । यज्ञबाटै बोलेको त्यो वाक्य यस्तो थियो– ‘तिमीहरूले मलाई धोका दियौ, भजनमण्डली फेर्छु र सरकारझैँ दुई तिहाई बनाउँछु ।’

कसरी त्यस्ता गुरुसँग आठ वर्ष बिताइए होला ! हामी छक्कै पऱ्यौँ । एकजना होचा होचा भक्त भाइ मेरै पछाडि बसेका रहेछन् । कुन्नि के सुर चलेछ गुरुलाई गाली गर्न थालिहाले भाषणको शैलीमा । नसुनौँ– भाइ बेस्सरी बोलेका छन्, सुनौँ– गुरुको अर्घेलो भइने । सुन्दै गयौँ । ‘ए दलाल गुरु, यी सबै तिमीलाई नाङ्गो बनाउने परिस्थिति तिम्रा आफ्नै कर्मले निम्त्याउँदै छन् । हेर्नुस् साथीहरू, विचार हमेसा गतिशील र क्रिया–प्रतिक्रयासहित अगाडि बढ्छ । हिजोसम्म एक विचार थियो र विचारको एकता थियो । यी ठगलाई चिनेका थिएनौँ । आज विचार र ब्यवहारबीच धाँजा फाटिसकेको छ र त नकरात्मक प्रतिक्रियाहरू छाड्दै परिघटनाको सिङ्गो पाटो सम्बन्धबिच्छेदको आवेगसहित अगाडि बढेको छ । नढाँट गोरु बुढा ! नढाँट ! आफ्नै मान्छेलाई । तिमीले निर्धाहरूलाई बेबकुफ बनाउने दिनहरू गए अब । तिम्रो पोल खुलिसकेको छ । लाज पखाल्न मन भए दुनियासँग माफी माग । तिमीले पैसा कमाउन लगाएको गेरुबस्त्र फाल र यो मण्डलीको पात्रो बेचेर नेपालबाट मान्छे ओसार्ने धन्दा छोड ।’

मलाई लाग्यो भाइले विद्रोह गर्ने शुर गरेछन् क्यारे ! उनले भनेको मैले सुनेँ तर गत साल नै मैले त्यसभित्रको सौन्दर्यलाई गहिरोसँग बुझिनँ । त्यसैले धोका खाइयो । विद्रोही पूर्वभक्त भाइको आवेगमा पनि एउटा राग थियो, विद्धेषसहितको पीडाबोध पनि मैले महसुस गरेँ । तर ती हिम्मतिला विद्रोहीलाई एकपटक पुलुक्क हेर्ने हिम्मत त्यो बेला ममा आएन । बडेमानका गुरु र हाम्रा डफ्फा कसैसँग नडराउने खाँटी लेखन्दास मान्छेहरूको जमात । त्यो बेला सोचियो– सबैले मानगुन गरेर देउताको मूर्ति झैँ हृदयदेखि नै सत्कार गरिएका मान्छेलाई जाबो मट्याङ्ग्रेले सुझाव दिन खोज्ने ?’ फेरि सोचेँ– ‘गुरु गुरु नै हुन्, अरु सबै निम्छरा !’ यस्तै नानाथरि भाउँताहरूले मेरो गुरुलाई आलोचनात्मक रूपले हेर्ने बाटो रोक्न थाले । लाग्यो, हाम्रा नेपालका उपर गुरुहरू पनि त त्यस्तै त हुन् नि ! राम्रा लुगा लगाएर मात्र मान्छे राम्रो हुन्छ र ? माथिकामा पनि पद्धति हैन आवेग र मोह मात्र छ ।

रिसको पारो चढ्यो भने कसैले कसैलाई आफ्नो भन्दैनन् । पट्याङ–पुटुङ पिट्न थाल्छन् । हामीलाई पनि गुरुको सेवा गर्नुपर्छ, मिल्नु पर्छ र ठुलाले गरेको अन्याय सहनुपर्छ भन्दछन् । सायद गुरुका गुरु पनि त त्यस्तै होलान् नि ! गुरु गुनाका चेला न हुन् ! यो सब दोष विचार र सोचको हो । सम्झिँदासम्झिँदै पङ्क्तिकार निर्णयमा पुगेकै हो– ‘त्यो भाइले उठाएका मुद्धाहरू न्यायिक र जायज छन्, मैले अब यो मुद्धालाई छोड्नु हुँदैन ।’

हामीले गुरुको निर्देशन राम्रो मानेर सबै आदेशको पालना, श्रम, कृत्य, द्रव्य र मनले संकल्प नगरेको पनि कहाँ हो र ? खै त हामीलाई ढाडस् दिएको गुरुले ? खै त हाम्रा साथीहरूको परिश्रमको फल ? हाम्रो अस्तित्वको मूल्याङ्कन पनि राखिनु पर्ने हैन र ? गुरुलाई मन्दिरको पुजारी बनाउँदैमा सबै परिवारका सदस्यले न्याय पाएका छन् त ? नदेखेको–नभोगेको कहाँ हो र गुरुलाई ? अरुको अस्तित्वलाई मन नलागी-नलागी स्वीकारे जस्तो गर्ने र आफ्नो अस्तित्वको लागि मात्र मरिहत्ते गर्ने गुरुलाई धेरै पछि चिनियो । अहिले अरुको भागमा परेको धन्सारसमेत लुटेका छन् । मन्दिर पनि बेच्न लागेका छन् भन्ने सुनिएको छ । मन्दिर पवित्र हुनुपर्छ भन्नेलाई मन्दिर निकाला गरेको तमसुक दिएका छन् भन्छन् । धर्मशालामा आफ्ना विधर्मी मान्छे भरेका छन् र धर्मशालाको भाडा उठाएर खाएका छन् । मानव ओसारपसारमा समेत मन्दिरको लालपुर्जा प्रयोग गरेको प्रमाण साथीहरूले भेटाइसके । गुरुले गल्ती स्विकार्ने कुरै छैन । रामनामी पछ्यौरा ओडेर मन्दिरको धुस्न काढेका छन् । सबैले भनेका छौँ ‘गुरु ! आफूले गरेका कमजोरीहरूलाई स्वीकार्नु पक्कै पनि महानता हो । गल्ती स्वीकार गर र मन्दिर छोड !’

अहिलेसम्म गुरुका पाइतालाको वालुवामा गुरुका भुत्ला झरेका छन् कि भनेर खोज्दै हिँड्ने हामी नै उस्तै रहेछौँ जस्तो लाग्छ । अहिले सबै मिलेर यो रकमी, दलाल र फटाहा गुरुको सबै कुकृत्यको खुलेर विरोध गर्ने भएका छौँ । त्यसैले एक नम्बरमा जेभाको अत्याचार सहेर बस्ने हाम्रो कुभिण्डे थाप्लोलाई सराप दिँदै नारा लगाएका छौँ– ‘हाम्रो कुभिन्डे थाप्लो मुर्दावाद ! ढोँगी र बदनामी गुरु मन्दिर छोड ! लुटेको पैसा फिर्ता देउ ! श्रमजीवी लेखन्दासहरूको एकता जिन्दावाद !’