बाढीपीडितको नयाँ वर्ष

बाढीपीडितको नयाँ वर्ष


■ अनाथ अंकल/बेल्जियम

शहरभरि रौसिँदै
टोस्ट प्रस्तावहरुसँगै
उन्मत्त बैँस भरेर
प्रत्येक हेमन्तको गर्भबाट
जुनेली आकाश चिर्दै
आउँदै छ यसपालि पनि नयाँ वर्ष ।

तर माथि गाउँमा,
दैवले थुपारेका भग्नावशेष उता
टाँगिएको निलो पालभित्र
माहिली बज्यैका रुझेका आशा
पखालाले गलेको भुन्टे
निष्पट्ट निराशाको औँशीमा
खुशीको गुलियो चखाउन
कहिल्यै आएन पापी नयाँ वर्ष।

बेलुकाको मृत चुलोमा
बाटेको झुम्रो पुत्ताउँदै
शहरको ठूलो घरबाट
चुलो जगाउने बाचा थियो
त्यही बाचाले आशा बाँचेको थियो,

उज्यालो रहुन्ज्याल कुर्दा पनि
बाचा भत्किएर होला
वा दुःख नबिझेर होला
आउँदै आएन त्यो नयाँ वर्ष ।
शायद ट्याक्सी नपाएर हो कि
छिमेकीले बाटो नदिएर हो कि
कि पैदल आउँदा ढिलो भो होला
कि मौसमको फिरिरिले होला
माथिको मूली आएन

तै पनि
ब्यग्रताले कुराइरहेछ बज्यैलाई
टालेको झुम्रो र नातिको ओखती
थापेको रोटी र फालेको न्यानो
आशाको आगोको झिल्कोसँगै
यो पटक आउला कि उज्यालो वर्ष ।
अर्धमृत भुन्टेको प्राणमा
बहत्तर वसन्तभरि

शहरीलाई जोडेका हातले
मुटुको चाल छाम्दै सोच्दी हुन्–
‘दिन घर्किसकेको छ
आशा शहरतिर दगुर्दै छ
भोलिको खजाना बोकेर
लस्करसहित सपनाको
सरकारी गुन्टा बोकेर
दगुर्दै होला कि नयाँ वर्ष ।’

आमैको आशा मरेको छैन
आँखा उतै छन्
नाती थलामा छ
खाडीको छोराले बाटो पाएन
बुहारीसँग थुप्रिएको सपनाभित्र
आशाको नसालाई समातेर
शहरी फलको आशामा
कुरी बसेको छ नयाँ वर्ष ।
सपना सुके, मन निदायो
भावना दुख्यो, दिन सकियो,
आशाको बासना पोखियो
आत्मा आफ्नै बिसमताले टोलायो,

बज्यैको शंका त हो
‘पालहरुको छोटो परिधिले हो, वा
उनको जीर्ण चेहराले डराएर हो,
थकाइले चुटेर हो वा
उता कसिएको भारी लुटिएर हो’,

बज्यैको आशा मधुरो हुँदै गो
भुन्टेको श्वासले समय पर्खिंदै छ
क्षितिजको निष्पट्ट अध्यारोसँगै
बज्यैको चेहरामा अमिलो पोखियो
उनका पाइला आशा जस्तै बाहिरिए
आकाशमा सुकाइएका मोती
उडेका आशामा मिसिएर

टिल्पिलाइरहेछन् नभमा
सधैं उस्तै चम्किला
सधैं उस्तै उज्याला

बज्यै एक्लै गुन्गुनाइन्–
‘भोलिसम्म आउँछ कि नयाँ वर्ष ।‘’

अघिल्लो वर्ष जस्तै
बज्यै फेरि सुर्ताइन्
‘सन्ताप र पिर पिएर
आँफैलाई उभिण्डो पार्न
कहिल्यै नआवस् भो नयाँ वर्ष ।’

सिथिल हुँदै गरेको नाती,
ओखतीबिना ओइलाएपछि
नाती जस्तै गल्दै गएको इथर
संतापले थर्हरी हुँदै
अब धेरै दिन त्यो नयाँ वर्ष
धोका दिइरहन सक्ने छैन
बज्यैको चिर खुशीको लागि
उक्लँदै छ गन्तब्य फेरेर
झर्दै गरेका अविश्वास
निचर्दै एक मुठी श्वास
मेट्दै सम्झनाका तरङ्ग
पालभित्रको अँध्यारो शहरबाट
कहिल्यै धोका नदिने गरी
आउनेछ बज्यैको अन्तिम निराश वर्ष ।