(कोरोना अनुभव)
■ मेनुका बस्नेत विष्ट

‘सोचेजस्तो हुन्न जीवन, सम्झेजस्तो हुन्न जीवन, जस्तो भोग्यो त्यस्तै हुन्छ, देखेजस्तो हुन्न जीवन !’
कोकिलकण्ठी गायिका तारादेवीले गाएको यो चर्चित गीतजस्तै रहेछ कोरोनाको सङ्क्रमण पनि ! न अरुले सुनाएको अनुभवजस्तो, न त ठ्याक्कै विज्ञले भनेजस्तो !! यो त आफूले जस्तो भोग्यो त्यस्तै हुँदोरहेछ ।
‘कोरोना कसरी लाग्यो ?’ यतिबेला सबैको साझा प्रश्न हुने गरेको छ । कोरोना कहाँ र कसरी लाग्यो मैले भन्न नसकुँला तर विश्व हल्लाएको कोरोना अहिले नेपालमा पनि समुदाय स्तरमा फैलिएको छ भन्नेचाहिँ आफूलाई भएको सङ्क्रमणको आधारमा भन्न सक्छु म । काठमाडौंमा झन् व्यापक भएको बेला सङ्क्रमित हुनु स्वभाविक नै हो । यसको अर्थ कोरोनालाई लिएर म लापर्वाह थिएँ भन्नेचाहिँ होइन । मास्क पहिरिने, सेनिटाइजरको प्रयोग र साबुनपानीले हात धोइरहने सबै प्रोटोकलको पालना गर्दागर्दै पनि कोरोनाको शिकार हुन पुगियो ।
कोरोनासँगको मेरो यात्रा गत मंसिर ९ गतेदेखि शुरु भयो । बाहिर गएको बेला नाकमा खसखसबाट शुरु भएको समस्या साँझसम्ममा ज्वरो नै आयो । विना रुघाखोकी, सामान्य टाउको दुखाइसँगै अकस्मात ज्वरो अएपछि सतर्कता अपनाउने घर–सल्लाह भयो । तिहारको बेलादेखि नै बुबाको अकस्मात बढेको उच्च रक्तचाप, आमाको पुरानै नसाको समस्याले उहाँहरू बिरामी नै हुनुहुन्थ्यो । आमाबुबा बिरामी भएका कारण म केही दिन आमाबुबासँग बस्न माइती गएकी थिएँ । दिदीको पनि पुरानै फोक्सोको समस्याका कारण चिसो मौसममा अति सजग हुनु पर्थ्यो । भाइको छोरी पनि सानी भएकीले पनि सामान्य रुघाखोकी नै भएपनि जोखिम मोल्ने अवस्थामा हामी थिएनौँ ।
एक वर्षदेखि कोरोनाकै मात्र चर्चा सुन्दै, बुझ्दै, पढ्दै, लेख्दै र कोरानाकै कारण जिन्दगीमा पहिलोपटक लकडाउन भोग्दै अनि डराउँदै आए पनि आफू नमरी स्वर्ग देखिँदैन भन्ने नेपाली उखान जस्तै भयो । कोरोना बुझ्न आफै बिरामी हुनु पऱ्यो । पर्ने र भोग्नेले मात्र थाहा पाउँछ कोरोना कस्तो हो र यसको असर के हो भनेर । लगातार ज्वरो आउने जिउ झम्झमाउने, टाउको भारी हुने, खाना खानासाथ पेट खाली भएजस्तो लाग्ने, बान्ता हुन खोज्ने पहिलो दिनदेखिका लक्षण थिए । दोश्रो दिनदेखि आत्तिने, मुटुको धडकन बढ्ने, निन्द्रा पटक्कै नलाग्ने र आधा नाक बन्द भएपछि बास्ना र स्वाद पनि थाहा नभएजस्तो हुन थाल्यो । घरी–घरी खाँदा आउने स्वादमा बास्ना पनि आएजस्तो लाग्थ्यो त्यसबेला कोरोना नै चाहिँ होइनहोला भन्ने अनुभूति हुन्थ्यो । झट्ट हेर्दा बिरामी हुँ जस्तो पनि लाग्दैनथ्यो तर उभिनै नसक्ने गरी रिङ्गटा लाग्थ्यो र, कमजोरी महसुस हुन थाल्यो ।
यो जे भए पनि खानाचाहिँ खान छोड्न नहुने मात्र होइन कि बरु मात्रा धेरै नै बढाउनु पर्छ है भन्दै भाइ र बुहारीले खानाको चार्ट नै तयार गरे । जसअनुसार बिहान ६ बजेदेखि खानाको काम सुरु हुन्थ्यो– तातोपानी १ लिटर, जीवनजल, २ वटा उसिनेको अण्डा, भिजाएको बदाम, छोगडा र ओखर, एक गिलास दुध, च्यावनप्रास र कस्तुरीभुषण बिहानको खाजामा । खानामा जतिसक्दो पौष्टिक खाना हुन्थ्यो– मासुको रस, फलफुल घाममा राखेर, दिउँसो पनि खाजासँगै सुप, बेलुकाको खाना पनि झोलयुक्त नै हुन्थ्यो । प्रोटिनयुक्त र झोलिलो खानेकुरामा जोड दिनुपर्छ भन्दै खानामा जतिसक्दो धेरै माछामासु र गेडागुडीको रसमा नै जोड दिइन्थ्यो । ९ दिनसम्म मैले दिनमा ८ वटासम्म अण्डा खाएँ । यद्यपि म माछामासु खान त्यति रुचाउने मान्छे भने होइन । तातोपानीले बाफ लिने, गारगल गर्ने र तुलसीपानी खाइरहने दैनिकी नै बनेको थियो । महेन्द्रनगरबाट बुबा–ममी (सासु–ससुरा)ले पठाइदिनुभएको अमला र काँचो बेसारले राम्रो हुनमा अझ मद्दत गऱ्यो । घरको अमला आएपछि जिब्रोको छाला जाने गरी भिटामिन–सी का ट्याब्लेट खानु परेन ।
उज्यालो भएदेखि खाने मात्रै काम हुन्थ्यो र पनि कमजोरी उभिनै नसक्ने गरी ! त्यतिबेला महसुस भयो- सबै कोरोना सङ्क्रमितले मैले जस्तै स्याहार पाउन सम्भव छैन, मेरो जस्तै परिवार सबैसँग छैन । कोठा लिएर एक्लै बस्नेहरूलाई कति समस्या भयो होला । जति पनि मान्छे कोरोनाका कारण थलिएका छन्, त्यसको एउटा प्रमुख कारण पौष्टिक आहाराको कमी पनि हो भन्ने निचोडमा पुगेँ । सामान भए पनि बनाएर दिने मान्छे नहोलान् । बिरामी भएपछि जाउलो र हलुका खानेकुरा मात्रै खानुपर्छ भन्ने हाम्रो मान्यताका कारण पनि धेरैलाई गाह्रो भएको हुन सक्छ । बिरामी भएकै बेला एउटा समाचार पढेँ– ताराकेश्वर नगरपालिकाले कोरोना सङ्क्रमितलाई पौष्टिक आहारका लागि भनेर रु. ५ हजार दिने निर्णय गरेको । जे होस्, त्यो नागरपालिकाका सङ्क्रमितले केही भए पनि पौष्टिक खाना खान पाउन भए भन्ने ठानेर खुशी लाग्यो । स्थानीय सरकार भनेको नागरिकले खोजेको बेला छुन सक्ने हुनुपर्छ भन्छन्, त्यहाँ नागरिकको घरसम्मै पुगिदियो जस्तो लाग्यो । बुहारी गायत्री सशस्त्र प्रहरी बलमा अफिसर भएका कारण पनि हामीलाई डाक्टरको सल्लाह लिन सजिलो भएको थियो । ज्वरो आउँदा सिटामोल खानेबाहेक अरु औषधि नभएका कारण पनि खानामा नै ध्यान दिने भन्ने सुझाव थियो र, गाह्रो भए अस्पताल ल्याउने । तर अस्पताल जानु परेन ।
बिहान उठ्दा अब मलाई ठिक भैसक्यो जस्तो लाग्थ्यो । दिन ढल्दै जाँदा ब्यथा बढ्दै जान्थ्यो, राति अझ गाह्रो हुने, मुटुको ढुकढुकी अकस्मात बढ्ने, ओहो अब के हुने संसार ध्वस्त भयो भनेजस्तो लाग्थ्यो । अरुहरूको अनुभव सुन्दा मलाई अझ गाह्रो हुन नै बाँकी छ कि जस्तो लाग्थ्यो । घरी–घरी खोकी लाग्दा झन् डर बढ्थ्यो । छिनछिनमा अक्सिजनको लेवल हेरिरहनु पर्ने, ‘सास फेर्न त गाह्रो भएको छैनन नि ?’ परिवारका सदस्यहरूले सोध्ने साझा प्रश्न थियो । ‘ठिक छ’ भन्दाभन्दै पनि एक दिन अकस्मात अक्सिजन लेवल ८० मा पुग्यो । रिङ्गटा लाग्यो र बेहोसजस्तै भएँ । अस्पताल जानुपर्ने हा ेकि भन्ने अर्को त्रास थपियो । बिस्तारै अक्सिजनको लेवल बढेपछि सबै शान्त भयौँ तर ढुक्क हुन सकेनौँ । तर, त्यसपछि अक्सिजन घटेन ।
मान्छे पो आफ्नो हो रोग आफ्नो नहुने, त्यसैले यसबाट जोगिन तोकिएका सबै मापदण्ड अपनाइएको थियो । खाना टाढैबाट प्लेटमा राखी दिनुपर्ने, आफूले अलग भाँडामा थापेर खानुपर्ने, खाइसकेपछि अलग्गै राखिदिएको पानीले धोएर घाममा सुकाउनु पर्ने, हरेक भाँडाकुडा आफ्नै अलग्गै, आफ्नो सबै काम आफैले गर्नुपर्ने, धारा, बत्ती कतै छुन नपाइने, कोही नभएको बेला घाममा जानुपर्ने र अरुभन्दा अलग्गै बस्नुपर्ने, हिँडेको बाटोमा सेनिटाइजर छर्किंदै हिँड्नु पर्ने । त्यतिबेला हाम्रो समाजमा दलितहरूमाथि गरिने व्यवहार सम्झिएँ- १६ दिनसम्म मैले त्यसरी बस्दा मलाई कहालीलाग्दो लाग्यो भने पुस्तौँदेखि दलित भएर विभेद सहेर कसरी बसेका छन् दलितहरू ? म हिँड्ने बाटोमा सेनिटाइजर लगाउनु र मलाई खानालगायतका आवश्यक सामान दिएपछि साबुनपानीले हात धुनु, सेनिटाइजर लगाइहाल्नु, आफ्नो सुरक्षाका लागि थियो । तर, दलित हिँडेको बाटोमा गहुँत छर्नु उनीहरूमाथिको विभेदको चरम रूप हो । अझैसम्म मेरो मुलुकमा यो विभद रहेकोमा आफैप्रति धिक्कार लाग्यो र दलितहरूप्रति अझ सम्मान बढ्यो ।
मैले आफ्नो काम सबै आफैले गरेर खाना खाएको भाँडा घाममा सुकाउँदै अलग्ग बसेको देखेर छिमेकी दिदीले सोध्नुभयो- नानी बाहिर (महिनावारी) भएको हो ? सुन्दा हाँसो लाग्यो, हामीले महिनावारी हुँदा त्यसरी कहिले बार्नु परेन न माइतीमा आमाले त्यो गर्न लगाउनुभयो न घरमा ममी (सासु)ले । यद्यपि मेरो जन्मघर पुर्व भए पनि कर्म घर सुदुरपश्चिम हो । मेरो प्रदेश छाउपडीको नामले बदनाम छ । घर सूदुरपश्चिम भन्नासाथ सबैले भन्छन्- छाउपडि छ है त्यहाँ त ! त्यसको बारेमा लेख्नुस् न । लाग्छ- सुदुरपश्चिमको पर्याय छाउपडी हो । र, महिनावारी हुँदा सूदुरपश्चिममा मात्र बार्ने चलन छ । सूदुरपश्चिमका सबै ठाँउमा गोठमा बस्नु पर्दैन । अछाम जिल्लामा मात्र बढी हो भन्यो भने काठमाडौंले पत्याउँदैन । हुन त महिनावारी भएको बेला चर दिन बार्ने चलन सबैतिर छ । त्यसको पारो कति भन्ने मात्रै हो । कतिले खाना पकाउन सुरु गरेका छन् तर पूजा नगर्ने मैले देखेकी छु । त्यसैले यो वा त्यो रूपमा बार्ने चलन सबैतिर छ । नछुनेका नाममा महिलाहरूले अझै यो प्रताडना भोगिरहेका छन्, अझ कति भोग्नुपर्ने हो थाहा छैन । मैले पो त्यस्तो अमानवीय व्यवहार खेप्नु परेन, तर धेरै महिला त अहिले पनि त्यहि पीडालाई भाग्य भनेर स्वीकारेर बाँचेका छन् । उनीहरूको पीडा मैले पुनः अनुभुति गरेँ । यो कुप्रथाको अन्त्यका लागि सबै लागेकै छौ एक दिन अन्त्य कसो नहोला ?
जुन बेला कोरोनासँग जुध्दै थिएँ, मनमा अनेकौँ ख्याल आउँथे । सम्झिरहने भनेको घर–परिवारलाई नै रहेछ । डाक्टर पढ्दै गरेकी छोरी पढाइ पूरा भएको छैन । छोरा त झन् सानै छ । उमेर भइसकेका बुबाआमा र सासुससुराको अनुहारमा पीडा देख्दा अझ बढी पीडा हुन्थ्यो, तर हिम्मत पनि आउँथ्यो उहाँहरूका लागि पनि म दह्रो हुनुपर्छ । मलाई केही हुँदैन भन्दै आत्मबल बढाउँथेँ । फोन गरेर या म्यासेज पठाएर साथीहरूले सोधिदिँदा मात्रै पनि हल्का भएको महसुस हुन्थ्यो । सुनेको र भोगेको अनुभव सबैले सुनाउँथे । हामी नेपालीको सबैभन्दा राम्रो पक्ष भनेको जस्तो रोग लागेपनि आधाउधि औषधी सबैलाई थाहा हुन्छ र, तुरुन्तै सिकाइ हाल्ने ! जसले जे–जे बताए पनि ती सबै जडिबुटी नै हुन्थे । पाथीभरा आयुर्वेदिक औषधालयबाट ल्याएको औषधिले टाउको दुख्न कम भयो । यो सङ्क्रमणको सबैभन्दा तनावपूर्ण क्षण भनेको निदाउन नसक्ने र निदाएजस्तो मात्र भयो भने पनि डरलाग्दा सपना देख्ने । रात साह्रै तनावपूर्ण हुने ।
बिरामी भएको १० दिनको दिन बिहान उठ्दा जिउ हलुका भएको थियो । मलाई केही भएकै छैन जस्तै । शरीरमा अकस्मात तागत आएको थियो, फुर्ति बढेको थियो । अस्पताल गएर पिसिआर टेस्ट गराउने सल्लाह भयो । १० दिनपछि कोरोना भाइरस निस्क्रिय हुन्छ भन्ने डा. जागेश्वर गौतमको भनाइका आधारमा भाइसँग अस्पताल गएँ, नतिजा पोजेटिप आएपछि परिवारमा अर्को तनाव शुरु भयो, तर मलाई भने धेरै सजिलो भइसकेको थियो । अनि सुरु भयो सरकारी सोधपुछ, कन्ट्रयाक ट्रेसिङका कुरा ? यी सुन्दा मन अझ आत्तिन्थ्यो, मलाई अझै केही हुने हो कि जस्तो लाग्थ्यो । तर अरु केही नगरे पनि राज्यले संवेदनशीलता देखाएर सोधपुछ मात्र गर्दा पनि खुशीचाहिँ लाग्दोरहेछ ।
अहिले मेरो रिपोर्ट नेगेटिभ आइसकेको छ । सङ्क्रमित बनेर स्वस्थ हुनेको गणनामा मेरो पनि नाम समावेश भइसकेको छ । तर मलाई भने अझै यसका असरहरू देखिइरहेका छन् । टाउको भारी भएर दुखिरहने, निन्द्रा कम लाग्ने, थकान महसूस हुने अहिले पनि भइरहेको छ । थाहा छैन अरुलाई यस्तो प्रकारको समस्या हुन्छ कि हुँदैन ? सबैलाई लक्षण फरक भएजस्तै असर पनि फरक हुन्छ होला । भोगेपछि मात्र थाहा हुन्छ कोरोनाको पीडा । सङ्क्रमणको तुलनामा मर्नेको संख्या कम होला तर सङ्क्रमणको समयमा हुने मानसिक, शारीरिक र अस्पताल जानु परे आर्थिक पीडा पनि कम छैन ।
अहिले अकस्मात् मुलुकको परिस्थिति आश्चर्यजनक रूपमा बदलिएको छ । सडकमा नारासहितको भीडभाड बढ्दो छ । सोचिरहेकी छु यस्तो बेलामा कोरोनाको जोखिम झन् कति बढ्ला ? कोरोनाले नेता-कार्यकर्ता, सरकारपक्ष र प्रतिपक्ष त भन्दैन, फेरि पनि नेताहरूका लागि त अस्पतालमा बेड र अक्सिजनको कमी नहोला । त्यो जुलुस सफल पार्न जाने सर्वसाधारणको अवस्थाचाहिँ के होला ? सबैको पहुँचमा स्वास्थ्य सेवा नभएको हाम्रो मुलुकमा सबैले आफै सजग हुनैपर्छ । अस्तु ।
प्रतिक्रिया