सत्तारुढ नेकपामा उत्पन्न विवाद र विभाजनको अवस्थाप्रति विशेष चासो दर्शाउँदै पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न र विभक्त समूहलाई एकीकृत तुल्याउने अभीष्टका साथ आकस्मिक रूपमा नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको विशेष टोली आफ्नो ‘मिसन’मा अपेक्षित उपलब्धि हासिल गर्न नसकी स्वदेश फर्किंदै छ । नेपालमा गम्भीर प्रकारका राजनीतिक सङ्कट उत्पन्न भएका बखत खासगरी छिमेकका मित्रराष्ट्रहरू तथा बाह्य समुदायका अन्य शक्तिराष्ट्रहरूको समेत दृश्य-अदृश्य उपस्थिति रहने गरेको सन्दर्भ अब नौलो विषय रहेन । पछिल्लो चरणमा उत्तर छिमेकी चीनले पनि खुल्ला तवरले नेपाल-मामलामा आफ्नो उपस्थिति बनाउन थालेको प्रसङ्गचाहिँ विशेष चर्चामा रहने गरेको छ ।
पछिल्लो पटक नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीसहितको प्रतिनिधि मण्डलले नेपालका राष्ट्रपति, प्रधानमन्त्रीका साथै विभिन्न दलका शीर्षतहका नेताहरूसँग भेटवार्ता गरे पनि यहाँ उत्पन्न ‘राजनीतिक सङ्कट’ निवारणको सवालमा सार्थक भूमिका निर्वाह गर्न नसकेको प्रतीत भइरहेछ । आफ्नो अभीष्ट सिद्धि नभएको, उल्टै नेपालको आन्तरिक मामलामा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न खोजेको आरोप लाग्ने सम्भावना बढेपछि आफ्नो प्रतिनिधिमण्डल नेपालमा रहेकै बेला बेइजिङबाट चिनियाँ विदेश मन्त्रालयले ‘नेपालको आन्तरिक मामिलामा चीनले कुनै प्रकारको हस्तक्षेप नगर्ने’ विवरणसहितको प्रतिक्रिया दिनुपर्ने परिवेश निम्तिन पुग्यो । चिनियाँ भ्रमण नेपालसँगको सम्बन्धको ६५औँ वर्षको सन्दर्भमा महामारी नियन्त्रण र शासन सहयोग र विकासका बारेमा भएको भन्दै ‘चिनियाँ कम्युनिष्ट पार्टीले स्वतन्त्रता, पूर्ण समानता, आपसी सम्मान र आन्तरिक मामिलामा अहस्तक्षेपको नीति लिएको, नेपालका सबै राजनीतिक दलहरूसँग चीनको मित्रतापूर्ण सम्बन्ध रहेको’ वयान चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बेइजिङबाट जारी गरे ।

यसअघि दक्षिण छिमेकी मित्रराष्ट्रका तर्फबाट भएका विभिन्न व्यक्ति-व्यक्तित्वका औपचारिक–अनौपचारिक नेपाल भ्रमणहरू यसरी नै चर्चा, बहस र विवादका विषय बन्न पुगे, बनिरहेका छन् । अर्थात्, नेपालमा राजनीतिक समस्या बाह्य कारणले नै उत्पन्न हुने गर्छ र त्यसको व्यवस्थापन पनि बाह्य भूमिकाबाट नै सम्भव हुन्छ भन्ने अवधारणा जनस्तरसम्म नै विकसित भएको अवस्था छ । कुनै पनि सार्वभौम, स्वतन्त्र मुलुकका निम्ति यो चिन्ता र ग्लानीको विषय हो । यस्तो परिवेश पैदा हुनुमा कमजोरी वा दोष कसको भन्ने सवाल अहम् छ । सोचविचार नपुर्याइ प्रतिक्रिया दिनेले छिमेकी मित्रराष्ट्रहरूप्रति आरोप लगाउँदै ‘हस्तक्षेपकारी चरित्र प्रदर्शन नगर्न’ चेतावनी दिने गरेका छन् । यो अस्वाभाविक पनि होइन । तर, ‘अरुलाई चोरीको आरोप लगाउनुअघि आफ्नो भाँडोको बिर्को कसिलो पार्नुपर्छ’ भन्ने आसयको उखानोक्ति यहाँनेर स्मरण गर्नु सान्दर्भिक होला । अर्थात्, बाह्य हस्तक्षेपको परिवेश निम्तनुको कारण पहिले हामी आफैंभित्र खोज्नु अपरिहार्य छ ।
जो आफ्नो सामर्थ्य-क्षमता चिन्न नसकी आफैं कमजोर बन्न पुगेको छ, जहाँ आपसी सद्भाव, सहमति र सहकार्यको बाटो अपनाइ राष्ट्रिय स्वार्थका लागि कर्म गर्नुपर्ने दायित्व भुलेर निजी स्वार्थसिद्धिका लागि निम्नतहमा उत्रने संस्कृति पन्पिरहेको छ, जहाँ देशको हित गर्ने नभइ आफ्नो सुख-सुविधाको मात्र चिन्ता र चिन्तन गर्ने प्रवृत्ति उत्कर्षमा पुगेको छ, जहाँका राजनीतिक नेतृत्वकर्ताहरू बाह्य इशारामा नाच्न जान्नुलाई आफ्नो विशिष्ट क्षमता ठान्दै गौरव गर्ने गर्छन्, जहाँको कर्मचारीतन्त्र कठपुतली राजनीतिक नेतृत्वप्रति नतमस्तक र भ्रष्ट आचरण गर्दै स्वार्थसिद्धिमा लिप्त रहेको हुन्छ, जहाँका नागरिक यथार्थको गहिराइमा पुगेर राष्ट्र-चिन्तन गर्नुको साटो राजनीतिको नाममा प्रकट भएका अनेक वाद, व्यक्ति र गुटको पछाडि लागेर आफ्नो जोहो गर्नुमा रमाउँछ, गाली र तालीलाई खाइजीविकाको माध्यम तुल्याइरहेको हुन्छ, यस्तो मुलुकमा बाह्य चासो हस्तक्षेपकै तहमा बढ्नु कुन अनौठो विषय होला र ?!
नेपालको नियति यस्तै र यसभन्दा पनि अझ तल पुगेको छ भन्नुपर्दा कुनै पनि सच्चा देशभक्त नेपाली नागरिकको लागि लज्जा र ग्लानीको विषय हो । उत्तर वा दक्षिणका छिमेकीहरू, पूर्वदेखि पश्चिम र जहाँकहीँका बाह्य शक्तिहरूको नेपालप्रतिको चासो र हस्तक्षेपकारी भूमिका तिनका आ–आफ्नै राष्ट्रिय स्वार्थ सिद्धिका लागि भएका हुन् । र, यस्तो हस्तक्षेप निम्त्याउने र बढावा दिने कर्मका लागि पहिलो जिम्मेदार हामी आफैं नै हौँ । यो कटुसत्य स्वीकार नगरेसम्म नेपाल उँभो लगाउनेबारे नेपालीले सोच्नु नै बेकार छ । अरुतिर धारे हात लगाउनुअघि आफ्नै शीर पक्रिएर चिन्तन गर्ने कि ?
प्रतिक्रिया