सुदूरपश्चिममा उत्तराइन पर्व हर्षोल्लासका साथ मनाईंदै

सुदूरपश्चिममा उत्तराइन पर्व हर्षोल्लासका साथ मनाईंदै



डम्बर निदाल, डडेल्धुरा


सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा आज पुस पन्ध्र अर्थात् उत्तराईन पर्व परम्परागत रुपमा मनाइँदै छ । वर्षको सबै भन्दा लामो रात हुने भएकाले पुस १५ गते ठूलीरातको पर्वका रूपमा पनि मनाइन्छ ।

आजका दिन तरुल, सखरगञ्ज पकाएर खाने प्रचलन छ । घाँस हरियो स्याउला नकाटने र बारीमा लगाइएको कुनै चिज पनि आजका दिन नटिप्ने, गाई बस्तुका लागि पनि अघिल्लो दिन नै घाँसपात काटेर राख्ने प्रचलन रहेको छ ।

ठूलीरातमा राति मिठा खानाका परिकार खाने, जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाइ गर्ने, रातभरि दन्त्य कथा, कहानी स्थानीय भाषामा आइन (बात सुन्ने) सुनाउने तथा तरुल सखरगण्ड पकाएर खाने गरिने चलन रहेको छ ।

तिहारमा भैली खेलेर जम्मा भएको रकम बाट वनभोज खाने, चिसोबाट बच्न र शरीर लाई स्फुर्ति दिन चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने, यस पर्वमा विवाहित छोरीलाई माइतमा बोलाई स्वागत सत्कार समेत गरिन्छ । तर पछिल्लो समय बढ्दो आधुनिकताका कारण परम्परा लोप हुँदै गइरहेको संस्कृतिविद बताउँछन् ।

यस पर्वमा गाउँघरका टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्राम बस्ने, तरुल, पिँडालु, सखरखण्डलगायतका पाकेको फर्सी उसिनेर खाने, लाउन, बाबर, माडा, रोटीलगायतका खानाका मीठा परिकार पकाइ खाने र वृद्धवृद्धाबाट लोक कथा एवम् दन्त्य कथा सुन्ने–सुनाउने प्रचलन रहेको छ ।

शहर बजार क्षेत्रमा पनि पहिले देउडा गाइने चलन भए पनि पछिल्ला समयका युवाहरुले गाना–बजाना नाचागान गरी रमाउने गरेका छन् । अंग्रेजी क्यालेन्डरअनुसार डिसेम्बर २२ तारिखलाई वर्षको सबैभन्दा छोटो दिन भनिए पनि सुदूरपश्चिममा भने पुस १५ लाई छोटो दिनका रूपमा मानिन्छ ।

आजका दिनदेखि प्रत्येक दिन तिलको दानाजत्तिकै मात्रामा रात घट्दै जाने र दिन बढ्दै जाने भन्ने जनविश्वासका आधारमा उत्तराइन पर्व मनाइने गरेको छ ।