आँखा चिम्लेर ऐना, बुझ पचाएर प्रशंसा !

आँखा चिम्लेर ऐना, बुझ पचाएर प्रशंसा !


  • स्वयम्भूनाथ कार्की

आचार्य विष्णु शर्माले उद्दण्ड राजकुमारलाई योग्य राजपुरुष बनाउने शिक्षा दिन रचना गरेको ग्रन्थ हो- पञ्चतन्त्र । शिक्षा लिएको जस्तो नलागिकन नै सिक्नका निमित्त रचना गरिएको यो तन्त्रको वास्तविक रचनाकाल कहिले हो भन्नेमै अनेकौँ किंवदन्त छन् । कोही-कोही चाणक्यको अर्को नाम बिष्णु शर्मा हो भन्दछन्, त्यसै पनि वर्तमानमा चाणक्य नीतिको लहर चलेको छ । विदुर नीति, शुक्र नीति, बृहस्पति नीति जस्ता दर्जनौँ बेग्लाबेग्लै नीतिकारका नीतिलाई चाणक्य नीतिको रूपमा पस्कने गरिएको छ । त्यति मात्र नभएर आफुलाई मन परेको कुनै पनि कुरालाई चाणक्यको तस्बिर टाँसेर उनैको नीति बनाउन पनि पछि परेका छैनन्, मोतिराम भट्टले भानुभक्तका भेट्न नसकेका श्लोकहरू आफैंले रचेझैँ ।

‘यस्य नास्ति स्वयम् प्रज्ञा शास्त्रं तस्य करोति किम् । लोचनाभ्यां विहिनस्य दर्पणः किं करिस्यति ।।’ यो त्यही पञ्चतन्त्रबाट लिइएको श्लोक हो । यसले भन्छ यो प्राज्ञ होइन त्यसले शास्त्र के गर्छ, जसको दुई आँखा नै छैन त्यसले ऐना के गर्छ ? यहाँ बिष्णु शर्माले पढे-लेखेर उपाधि प्राप्त, वर्तमानमा प्रमाणपत्र प्राप्त प्राज्ञ हैन भन्ने कथा पनि सामेल गरेकाले यो शब्दले शिक्षित मात्र भन्दैन, सहज बुद्धि, ज्ञानको प्रयोग कौशल अनि ज्ञानार्जन क्षमता यहाँ प्राज्ञ हो । प्राज्ञ शास्त्रको सही प्रयोग प्राज्ञले मात्र गर्न सक्छ, केवल शिक्षितले हैन भन्ने यसको आशय हो । आँखा नभएकालाई ऐना र गैरप्राज्ञलाई शास्त्र उस्तै हो, उपयोग हुन सक्दैन बरु दुरूपयोग भइदिन्छ ।

यही शिक्षित तर गैरप्राज्ञको हातमा शास्त्र परेको परिणाम सनातन समाजले लामो समयदेखि भोग्दै आएको छ । सतीप्रथालाई हिन्दूत्वको अङ्ग मान्नेहरूले रामायणमा रामको वनबासपछि अयोध्यामा स्वागत गर्ने कौशल्या, कैकेयी र सुमित्रा दशरथको मृत्युपछि किन थिए भन्ने जवाफ दिन सक्दैन । कतै कुनै स्त्रीले पतिविगोगमा प्राण त्यागेको दुर्लभ घटनालाई आधार बनाएर सतीप्रथा चलाइ अरु अंशियारले अंश एकलौटी बनाउन गरेको प्रयत्नमा शास्त्रको दुरूपयोग गर्ने गैरप्राज्ञ पण्डितहरू नै हुन् । अनि यस्तै व्याख्याहरूको आधारमा आफ्नो सनातनलाई गाली गर्ने प्रगतिशील हुनेहरू त कसरी पो प्राज्ञ र ?

वर्तमान नेपालमा यस्ता प्राज्ञहरूको बाहुल्यता छ जो बुझपचाएर आफूलाई प्रगतिशील, अग्रगामी देखाउन तल्लिन छ । ऐनाको सामुन्ने आँखा चिम्लेर अरुले आफ्नो मुहारको गरेको बर्णन पत्याउनु ठूलो विद्वता देख्छन् । जसले आफु सम्मोहित भएको देखाउन सक्यो त्यो नै ठूलो भएको मान्यता राख्नेहरूले ढाक्दै गएको छ । आज नेपाल यस्तो मुलुक भएको छ जहाँ विश्वमा नाम कमाएका शल्यचिकित्सकहरू अल्पशिक्षित नेताबाट शल्यक्रियाको प्रवचन सुनेर लाभान्वित हुन्छन् । अनि बाहिर निस्केर तिनै भन्छन्- नेता हुने योग्यता तोक्नु पर्दैन र ? नामी अर्थशास्त्रीहरू लाभान्वित हुनका खातिर अर्धशिक्षित मन्त्रीको प्रवचन सुन्न घन्टौँ प्रतीक्षा गर्छन् अनि बाहिर आएर भन्छन्- अब चुनाव लड्न न्यूनतम योग्यता तोक्ने बेला भयो ।

आचार्य बिष्णु शर्माले त दुवै आँखा नभएकालाई ऐनाको के काम मात्र भनेका थिए । तर युगौँपछि यस्तो पनि मुलुक हुनेछ जहाँ ऐनाको सामुन्ने गएपछि मान्छेले आँखा चिम्लने छन् भन्ने के थाहा ? प्राज्ञको परिभाषामा पर्न सक्नेहरू आ-आफ्नो आराध्यको अनुसार बुझ पचाइ आफ्नो सहज बुद्धिलाई छेउ लगाएर प्रशंसा र विरोध गर्छन् भन्ने के थाहा ? निर्वाचनको मौसममा वफादारिता सावित गर्न पाउमा बिछिएर जनता मुर्ख बनाउने अनि बाँकी दिन साखुल्ले भएर तिनै नेतालाई गाली गर्ने काम ऐनाको सामुन्ने आँखा चिम्लेको हैन र ? बुझ पचाएर प्रशंसा गरिएको हैन र ?

आफ्नो योगदानले जितेको व्यक्तिले गरेको राम्रो काममा छाती फुलाएर घिरौँला जत्रो नाक पार्ने अधिकार हो । त्यसै गरेर उसले गरेको हरेक नराम्रो कामको नैतिक दायित्व लिने काम पनि आफ्नै हो । गोप्य मतदानमा अरु कसैने नदेखेको होला तर आफ्नो आत्माले त देखेको छ । ‘माछा देख्दा दुला हात साँप देख्दा पाखा हात’ गर्नु बुझ पचाउनु हो ।