एनआरएनए यूके काउन्सिल बैठक अगष्ट ३१ मा हुने

एनआरएनए यूके काउन्सिल बैठक अगष्ट ३१ मा हुने


nrnukबेलायत । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको काउन्सिल बैठक यही अगष्ट महिनाको ३१ तारिख आइतबार हुने भएको छ । फार्नबरोस्थित स्यामुयल कोडी स्पेशलिष्ट स्पार्ट्स कलेजमा हुने काउन्सिल बैठकका लागि सम्पुर्ण तयारी पूरा भइसकेको एनआरएनए यूकेका महासचिव योग कुमार फगामीले जानकारी दिए ।

महासचिव फगामीका अनुसार काउन्सिल बैठकका लागि विभिन्न क्षेत्रको अध्ययन गरी सुझाव संकलनका लागि समितिहरु बनाइएको छ । अध्यक्ष योगेन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा आइतबार फार्नबरोमा बसेको एनआरएनए यूकेको आठौं बैठकले समितिहरु बनाएको हो ।

सहभागीहरुबीच बुंदागत विषयमा छलफल गरी त्यसबाट आएका सुझावहरुलाई काउन्सिल बैठकमा प्रस्तुत गरिने छ ।

गैर आवासीय नेपालीहरुले उठाउंदै आएको नागरिकता निरन्तरताको सम्बन्धमा छलफल चलाउन एनआरएन आईसीसीका सल्लाहकार विश्व आदर्श पण्डितले संयोजन गर्नेछन् । त्यस्तै भूपू गोर्खाहरुको सवालमा आईसीसीका सल्लाहकार एवं एनसीसी यूकेका संरक्षक मे.रि.डमर घलेको संयोजनमा समिति गठन भएको छ । नेपालमा बन्दै गरेको एनआरएन भवन, गलेश्वर धामस्थित बृद्धाश्रम र च्यारिटीको सम्बन्धमा साझा अवधारणा बनाउन एनआरएनए यूके संरक्षक एवं आईसीसी सदस्य कुल आचार्यको संयोजनमा समिति गठन गरिएको छ ।

यसैगरी काउन्सिल बैठकको कन्सेप्टबारे संरक्षक एवं पूर्व अध्यक्ष सूर्य गुरुङ, विधान चुनावी प्रकृया, एनआरएनए यूकेको विबाद र नीति नियमबारे प्रमुख संरक्षक सूर्य सुवेदी, महिला तथा युवा सम्बन्धमा आईसीसी सदस्य सुष्मा राई, स्कटल्याण्ड, आयरल्याण्डलगायत अन्य क्षेत्रीय प्रतिनिधित्वको सवालमा सल्लाहकार कमल भण्डारी, संघ संस्थाहरुको तर्फबाट सुझाव संकलन गर्न तमू धि यूकेका अध्यक्ष कमल गुरुङ, चुनावी प्रकृया सुधारका लागि आईसीसी सल्लाहकार डा. हेमराज शर्मा लगायतले अध्यक्षता गर्ने भएका हुन् ।

एनआरएन भवन निर्माणमा फण्ड रेइजिङ गर्न अध्यक्ष योगेन्द्र बहादुर क्षेत्रीको अगुवाईमा समिति गठन गर्ने बैठकले निर्णय गरेको छ । तमू धिं यूकेको आयोजनामा हुने बेलायतस्थित नेपालीहरुको सबैभन्दा ठूलो मेला नेपाली मेलामा एनआरएनए यूकेले विशेष सहभागिता जानउने पनि बैठकले निर्णय गरेको छ ।