नेपाल-भारत सम्बन्धको सघनता

नेपाल-भारत सम्बन्धको सघनता


नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित पहिलो बिरामीको पहिचान भएको एक वर्ष पूरा भएकै दिन कोरोनाविरुद्धको भ्याक्सिन (खोप)को दश लाख मात्रा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो । विश्वका अधिकांश मुलुक कोरोनाविरुद्धको भ्याक्सिन उपलब्धताका निम्ति ब्यग्र बनिरहेको बेला नेपालले दश लाख मात्रा खोप सहजै, त्यो पनि अनुदानमा हासिल गर्‍यो र, उदार सहयोगीको रूपमा प्रकट भयो छिमेकी मित्रराष्ट्र भारत । आफ्नो देशका सबै नागरिकसम्म पुर्‍याउन नभ्याउँदै ‘छिमेकी पहिलो’ भन्ने अवधारणाका साथ भारतले नेपाललगायत केही छिमेकी देशलाई लाखौँको परिमाणमा भ्याक्सिन उपलब्ध गराएर आफ्नो बडप्पन प्रस्तुत गरेको छ, जसको तारिफ नगरिरहन सकिन्न ।

भनिन्छ, सङ्कट या विपत्तिकै बेला छिमेकी चिनिन्छ । यस मानेमा भारतले प्रदान गरेको खोप–सहयोगले दुई छिमेकी मित्रराष्ट्रको अन्योन्याश्रित सम्बन्धको लामो श्रृङ्खलालाई पुनर्पुष्टि गरेको छ । शिक्षा, स्वास्थ्य एवम् विकास पूर्वाधारका विविध पक्षमा भारतले नेपाललाई दिँदै आएको नियमित सहयोगका अलावा खास परिस्थितिमा प्रदान गरेको विशेष सहयोगको सूची पनि लामै छ । महाविनासकारी भूकम्पको कहालीलाग्दो अवस्थामा पनि मित्रराष्ट्र भारतले स्वस्फुर्त एवम् छरितो रूपमा बढाएको सहयोगको हात यस सूचीमा स्मरण गर्नैपर्ने एक महत्वपूर्ण सन्दर्भ बनेर रहेको छ । कोरोना महामारीले विश्व आक्रान्त तुल्याइरहेको बेला खरिदकै निम्ति पनि भ्याक्सिनको अभाव रहेको चर्चाबीच अनुदान सहयोगस्वरुप लाखौँ परिमाणमा खोप उपलब्ध गराउनुका साथै आवश्यकता अनुसार भविष्यमा सुलभ मूल्यमा उपलब्ध गराइने प्रतिबद्धता प्रकट गरिनु गहिरो मित्रताकै द्योतक हो ।

त्यसो त भारतले प्रदान गरेको खोप–सहयोगको सन्दर्भमा पनि आलोचकहरूले ‘भ्याक्सिन डिप्लोमेसी’ प्रयोग गरी प्रभावमा लिन खोजेको भन्ने टीका–टिप्पणी गर्न भ्याइसकेका छन् । सहयोग नगरे ‘गरेन’ भनी सत्तोश्राप गर्ने र सहयोग गर्दा पनि विभिन्न आशङ्का गर्दै नकारात्मक छिद्र खोज्ने एउटा विडम्बनापूर्ण प्रवृत्ति हामीकहाँ कायम नै छ, जो छिमेकी भारतसँगको सम्बन्धका सवालमा केही ज्यादा नै छचल्किने गर्दछ । तथापि, यसलाई ‘गहिरो सम्बन्धमा नै आक्षेप, घुर्की र घृणाले बास गरेको हुन्छ’ भन्ने मान्यताका साथ पचाउनु उपयुक्त होला ।

नेपाल र भारतबीचको सम्बन्धमा उपमा र अलङ्कारको जुन प्रकारको प्रयोग हुन्छ, त्यो सायदै अन्य कुनै दुई देशको हकमा देख्न सकिन्छ । निकट सम्बन्धकै कारण यस्तो हुनु अस्वाभाविक पनि होइन । दुई छिमेकीमा सरकार र सरकारबीचको सम्बन्ध बेलाबखत खटपटमा परेजस्ता पनि देखिन्छ, तर दुईबीच सदियौँदेखि कायम जनस्तरको सम्बन्धले त्यसलाई छायामै पारिदिन्छ । जस्तो कि, वर्तमान परिवेशमा नक्सासम्बन्धी असमझदारीका कारण दुई छिमेकीबीच विवादको अवस्था पैदा भएको महसुस गरिन्छ, तर समस्या परेको बेला एकले अर्कोतर्फ बढाएको सहयोगको हात उत्तिकै आत्मियतापूर्वक स्वीकार गरिएको सन्दर्भले जस्तोसुकै विवाद पनि आपसी छलफलबाट टुङ्ग्याउन सकिन्छ र, यस्ता कुनै पनि विवाद वा असमझदारीले नेपाल र भारतबीचको अन्योन्याश्रित सम्बन्धमा खलल पु¥याउन सक्दैन भन्ने चरितार्थ गरिदिएको छ ।

वास्तवमा नेपाल–भारत सम्बन्धबारे कुरा उठ्दा खुला सिमाना, निर्बाध आवागमन र जनस्तरको सम्बन्ध नै दिमागमा आउँछन् । तर, यतिले मात्र दुई देशको सम्बन्धलाई समेट्दैन । नेपाल–भारत सम्बन्धको मूल स्रोत सभ्यता, भूगोल, प्राकृतिक स्रोत, भाषा, प्रजातान्त्रिक मूल्य र जनस्तरको सम्पर्क रहँदै आएका छन् । अर्को शब्दमा भन्नुपर्दा यी दुई मुलुकबीचको सम्बन्ध बहुआयामिक छ । यस्तो प्राकृतिक सम्बन्धलाई धमिल्याउने प्रयत्नहरू यदाकदा हुँदै आएका छन्, तर जनस्तरबाट नै यस्ता प्रयत्न चिर्ने काम हुँदै आएको छ ।

नेपाल र भारत दुवैले सहकार्य बढाउन र जनस्तर तथा राजनीतिक तहमा खराब सम्बन्ध आउन नदिन विशेष ध्यान दिनैपर्छ । नेपालको आर्थिक समृद्धिका लागि पनि नेपाल र भारतबीच सहकार्य आवश्यक छ । नेपाल–भारतबीचको विशेष सम्बन्ध नेपालको स्थिरता तथा समृद्धिको महत्वपूर्ण आधार पनि हो भन्ने तथ्य इन्कार गर्न सकिन्न । ठूलो राष्ट्रसँगको बलियो सम्बन्धबाट नै आर्थिक सफलताको मार्ग प्रशस्त हुन्छ भन्ने कुराको उदाहरण विश्वमा अनगिन्ती भेटिन्छन्, जसको मनन र अनुशरण गर्नु नेपालको हितमा छ । यसर्थ, भारतले हासिल गर्दै गरेको आर्थिक वृद्धिको प्रत्यक्ष फाइदा लिन पनि नेपाल भारतसँग टाढिएर भन्दा पनि आफ्ना राष्ट्रिय स्वार्थमा अडिग रहेर व्यवहारिक कुटनीतिक माध्यमले अघि बढ्नु अपरिहार्य नै छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको सवल नेतृत्वमा मित्रराष्ट्र भारतले दिनानुदिन प्रगतिको पाइला अघि बढाइरहेको छ । विश्वका महाशक्तिमा दह्रिएका मुलुकहरू समेत भारतसँग मित्रताको हात थप कसिलो तुल्याउन प्रतिष्पर्धा गरिरहेको सन्दर्भमा नेपाल जस्तो अति निकटको छिमेकीले सम्बन्धमा प्रगाढता बढाउँदै समुचित मित्रवत लाभ हासिल गर्न आफ्नो स्थानबाट हरदम सत्प्रयत्न गर्नु आजको आवश्यकता हो । कतिपय समस्याका बाबजुद भारत नै नेपालको सबैभन्दा ठूलो व्यापारिक सहयात्री र वैदेशिक लगानीको स्रोत रहने विज्ञजनको प्रक्षेपण छ । विभिन्न मुद्दामा राजनीतिक तहमा तिक्तता निम्त्याउँदै जनस्तरको सम्बन्धलाई समेत खराब तुल्याउने दिशामा दुवै पक्षले सोच्नु हुँदैन भन्ने कुरालाई पछिल्ला परिवेशले थप प्रष्ट्याएको छ ।

मित्रराष्ट्र भारतको आफ्नो ७२औँ गणतन्त्र दिवस कोरोना महामारीका बीच पनि भव्यताका साथ मनाएको छ । यस अवसरमा हाम्रो पनि असीम शुभकामना र बधाई !