राजनीतिका नाममा मान्छेको प्रदर्शन

राजनीतिका नाममा मान्छेको प्रदर्शन



■ बबिता बस्नेत

राजनीति ब्यापार ब्यवसाय होइन जहाँ आफ्ना उत्पादनहरूको प्रदर्शन गरियोस् । तर हामीकहाँ राजनीतिको पसल खोल्नेहरूले मान्छेलाई प्रदर्शनको बस्तु बनाइरहेका छन् । पहिला–पहिला किसानहरूमध्ये कसले ठुला फर्सी–लौका फलाए तिनलाई प्रतिस्पर्धाको आधारमा कृषि कार्यालयले पुरस्कृत गथ्र्यो । सायद अहिले पनि यो क्रम जारी नै होला । पुरस्कृत हुनुअघि तिनको प्रदर्शन गरिन्थ्यो । मुलुकमा ब्यापार–ब्यवसाय, सिर्जनाको माहोल हुँदा चित्रकार, कलाकारहरू आफ्ना कलाको प्रदर्शनी गर्थे, गर्छन् ।

महामारीलगायतका कारणले अहिले चित्रकला प्रदर्शनीहरू भएका छैनन् । पुस्तक प्रदर्शनी हुँदैछ भन्ने थाहा पाएपछि पुस्तकका सौखिनहरू छानी–छानी सुपथ मूल्यमा किताब किन्न पाइन्छ भनी कुरेर बस्थे । प्रदर्शनीमार्गमा अहिले पुस्तक होइन मान्छेको प्रदर्शनी हुन थालेको छ । कसले कति मान्छे देखायो, कसले कति मान्छेको भीड जम्मा गऱ्यो, मान्छेले गरेका काम र सिर्जनाको प्रदर्शन गर्नुपर्नेमा मान्छे स्वयम् प्रदर्शनीमा बस्न थालेका छन् । मानिसलाई प्रदर्शनी या आफ्नो शक्ति देखाउने बस्तु बनाउन थालिएको छ । जसको आधारमा राजनीतिका होलसेल पसलहरूमध्ये कुनमा कति मान्छे छन् भनी मूल्याङ्कन गर्न मानिसहरू बाध्य छन्, भइरहेका छन् । गुणस्तरीय मापन खासै भएको छैन, टाउको गन्ने कामले महत्व पाएको छ । खुद्राखाद्री दल धेरै भए भनेर निर्वाचन आयोगले थ्रेस होल्डमार्फत राजनीतिक दलको सङ्ख्या घटायो तर खुद्रा ब्यापारीले गर्ने काम होलसेलले गर्न थालेपछि ब्यापार नै बदनाम भएझैँ राजनीति नै बदनाम हुनेगरी अहिले विभिन्न गतिविधि भइरहेका छन्, त्यसमध्येको एउटा हो मान्छे प्रदर्शन ।

कमजोरी नेतामा मात्रै छ भन्नु गलत हो, हामी नागरिकमा भएका कमी–कमजोरीलाई नेताहरूले माध्यम बनाएका मात्रै हुन् । नेतालाई मात्र गाली गर्ने समय अब रहेन ।

नेपाली राजनीतिको विभिन्न कालखण्डमा जनप्रदर्शनलाई राजनीतिक परिवर्तनको मुख्य आधार मानिएको हो । वि.सं. २०४६ मा सडक प्रदर्शनको एक मात्र उद्देश्य थियो– प्रजातन्त्र ! ०६२/६३ सालमा एउटा निश्चित एजेण्डासहित मानिसहरू सडकमा आएका थिए, ल्याइएका थिए । २०७७ सालको माघ महिनासम्म आइपुग्दा राजनीतिक या अन्य एजेण्डाभन्दा पनि निश्चित नेताका पछि लाग्ने मान्छेहरूको सङ्ख्या बढ्दै गएको देखिन्छ । राजधानी र मुलुकका विभिन्न स्थानमा नेकपासम्बद्ध दुई समूहले आयोजना गरेका कार्यक्रमहरूको मुख्य उद्देश्य नै कसले बढी मान्छे सडकमा उतार्ने भन्ने छ । आफ्नो प्रदर्शन स्थलमा पुगेकाहरूले नेताका भाषणमार्फत भरपुर मनोरञ्जन लिइरहेका देखिन्छन् । नेताले एकार्कालाई लगाएका आक्षेप र सार्वजनिक जीवनमा भएका मानिसले बोल्न नमिल्ने भाषाको प्रयोगलाई तालीले गरिएको स्वागत मनोरञ्जन लिएको प्रमाण हो । प्रचण्ड–माधव र प्रधानमन्त्री केपी ओली दुवैको कार्यक्रममा जानेहरूले नेताले बोलेका कुरा गलत भनेर हुटिङ गरेको देखिएको, सुनिएको छैन । तपाईंले यस्तो कुराचाहिँ नगर्नुभएको भए हुन्थ्यो भनी खबरदारी गर्ने साहस कार्यकर्तामा देखिँदैन । जे बोले पनि परररर ताली पाएपछि नेताहरू झन् उत्साहका साथ जे पायो त्यही बोलिरहेका छन् । जसलाई नेपाली भाषाका मिडियाले त मज्जाले दिइरहेका छन् तर अङ्ग्रेजीवाला मिडियालाई भने ‘खरानी घसेका भगौडा’देखि ‘तिल्के गोरु’सम्मका शब्द र वाक्यहरू उल्था गर्न सायद त्यति सहज भइरहेको छैन !

आफ्नो अलिकति पनि विवेक प्रयोग नगरी नेताले जे–जे बोले पनि हो…हो…सही हो भन्दै पछि लाग्ने मानसिकतालाई अङ्ग्रेजीमा ‘हर्ड मेन्टालिटी’ भनिन्छ । भीडको पछि लाग्ने भएकाले ‘मोब मेन्टालिटी’ पनि भनिने यस्तो मानसिकतामा रहेकाहरूको आफ्नो निर्णय भन्ने हुँदैन । भीडको नेतृत्व गर्नेले जे गऱ्यो, जे भन्यो त्यही सही ! यस्तो जमातको आफ्नो छुट्टै विचार र विश्लेषण हुँदैन । यी भावनाबाट प्रभावित हुन्छन् र भीड जता दौडियो त्यसैको पछि दौडिन्छन् । उदाहरणका लागि कुनै भीडमा प्रहरीले लाठी चार्ज गऱ्यो भने मानिसहरू लाइन लागेर भीड दौडिएतिरै दौडिन्छन्, ओर्तिर–पर्तिर पाखा लागेर पनि बच्न सकिन्छ भन्ने विवेक प्रयोग गर्दैनन् । ‘हर्ड मेन्टालिटी’ अर्थात् झुण्ड मानसिकता अन्य कुरामा पनि लागु हुन्छ । आफ्ना कार्यकर्ताहरूको यही मानसिकताको उपयोग नेताहरूले गरिरहेका छन् ।

जवाफमा चर्चिलले भनेछन्– ‘छोडिदेउ.. मानिसहरूको भीडलाई हेरेर म लोकप्रिय छु भन्ने ठान्नु हुँदैन । यस्ता कुराको भ्रममा कहिल्यै पनि पर्नु हुँदैन । भोलि मलाई यही ठाउँमा फाँसी दिइँदै छ भन्ने कुराको प्रचार भयो भने पनि यी मानिसहरू यसैगरी यहाँ जम्मा हुनेछन् ।’

अहिले दुवै समूहबाट आफूहरू प्रयोग भइरहेका छौँ भन्ने कुरा बुझ्न प्रदर्शनमा टाउको गनिँदै आएकाहरूलाई समय लाग्छ । जसरी माओवादी आन्दोलनमा लागेर जिन्दगीको सुनौलो समय बर्बाद पारेछु भन्ने त्यतिबेला आन्दोलनमा लाग्नेमध्ये धेरैलाई महसुस भइरहेको छ । नेताहरूले त खासमा जनता होइन जनताले गरेका काम, सिप र प्रयासलाई प्रदर्शनीमा राख्ने अवस्थाको सिर्जना गर्न सक्नुपर्थ्यो । तर नेपालीहरूको दुर्भाग्य ! प्रजातन्त्रको ३० वर्ष बितिसक्दा पनि न जनताले आफ्नो सीप, दक्षता र क्षमताको उपयोग गर्ने ठाउँ पाए न त नेतृत्वमा रहेकाहरूले सही गरिरहेका छैनन् भन्ने जानकारी पाए । सही, गलत छुट्ट्याउन सकेका भए सडकमा अहिले नेताका पछि यति धेरै भीड जम्मा हुने थिएन । निम्नस्तरका गालीगलौजमा अन्धाधुन्ध ताली बज्ने थिएन । त्यसैले कमजोरी नेतामा मात्रै छ भन्नु गलत हो, हामी नागरिकमा भएका कमी–कमजोरीलाई नेताहरूले माध्यम बनाएका मात्रै हुन् । नेतालाई मात्र गाली गर्ने समय अब रहेन ।

दोश्रो विश्वयुद्धताका बेलायतका प्रधानमन्त्री थिए विन्स्टन चर्चिल । चर्चिल कुटनीतिक सुझबुझ र नेतृत्व क्षमता भएका नेता थिए । कुनै ठाउँमा उनले सम्बोधन गर्ने सभा आयोजना गरिँदैछ भन्ने थाहा पाएपछि टाढा–टाढाबाट मानिसहरू उनका कुरा सुन्न जान्थे । उनले सम्बोधन गर्ने सभामा मानिसको भीडसहितका तस्बिरहरू अहिले पनि खोज्दा भेटिन्छन् । एक दिन सेन्ट्रल लण्डनमा आयोजना गरिएको सभामा हजारौँको सङ्ख्यामा मानिसहरूको भीड देखेपछि उनका एक सल्लाहकारले छेउमा गएर भनेछन्– ‘हजुर कति लोकप्रिय हुनुहुन्छ भन्ने कुरा मानिसहरूको यो भीडले देखाउँछ । हजुरका कुरा सुन्न टाढा–टाढाबाट मानिसहरू यहाँ आएका छन् । यो देशमा हजुरजस्तो अर्को नेता छैन भन्ने कुरा आज प्रमाणित भएको छ । यति धेरै मान्छे देखेर म त यसै–यसै हर्षित भएको छु । यो हजुरको लोकप्रियताको प्रमाण हो ।’ जवाफमा चर्चिलले भनेछन्– ‘छोडिदेउ.. मानिसहरूको भीडलाई हेरेर म लोकप्रिय छु भन्ने ठान्नु हुँदैन । यस्ता कुराको भ्रममा कहिल्यै पनि पर्नु हुँदैन । भोलि मलाई यही ठाउँमा फाँसी दिइँदै छ भन्ने कुराको प्रचार भयो भने पनि यी मानिसहरू यसैगरी यहाँ जम्मा हुनेछन् ।’