■ दिनेश नेपाल

देशलाई निश्चित मार्गनिर्देशन आजको आवश्यकता हो, किनकि वर्तमान समयमा देश निःसन्देह पूर्णतः दोसाँधमा अल्मलिरहेको छ । निश्चित मार्गनिर्देशको लागि राजनीतिक सहमति पहिलो शर्त हो भने आर्थिक विकास उक्त शर्त पूरा गर्ने सटिक मार्ग ! संसारका जुनसुकै मुलुक होस्, सार्वभौमिकताको दृष्टिकोणले समान हुन्छन् । यो सर्वव्यापी सर्वमान्य सिद्धान्त हो । नेपाल राष्ट्र पनि सार्वभौमसत्तासम्पन्न स्वतन्त्र राष्ट्र हो । यसर्थ, नेपालले पनि संसारको प्रत्येक राष्ट्रबाट समान ब्यवहारको अपेक्षा गरेको हुन्छ, त्यो छिमेकी देश होस् या अन्य कुनै मुलुक ।
वास्तवमा वर्तमान समयमा संसारकै सबैभन्दा महत्वपूर्ण विषयवस्तु भनेको ‘वसुधैव कुटुम्बकम्’को अवधारणालाई आत्मसात गरी अघि बढ्नु नै हो । नेपालको सन्दर्भमा पनि यही सिद्धान्त पूर्ण रूपमा लागु हुने देखिन्छ । नेपाल राष्ट्रको विडम्बना नै मान्नुपर्छ यहाँका राजनीतिक दलहरू सधैं यस अवधारणाबाट विमुख भएका छन् । यसले देश सधैं अधिकतम् विकास हुनबाट रोकियो र, फलतः नेपालीको जीवनस्तर माथि उठ्नै सकेन ।
वास्तवमा राजनीतिक स्थिरता र आर्थिक विकास नै समृद्धिको द्योतक हो । यी दुई विशेषताले युक्त देश नै उन्नतिशील राष्ट्रमा दर्ज भएका देखिन्छन् । जबसम्म राष्ट्रले राजनीतिक स्थिरता कायम राख्न सफल हुँदैन तबसम्म सम्बन्धित मुलुकका अन्य पाटोले कोर्स समाएको देखिँदैन । परिणामतः मुलुक सधैं अँध्यारोकै स्थितिमा रहन्छ ।
यसको उदाहरणार्थ दक्षिण अमेरिकी मुलुकहरू, केही अफ्रिकी मुलुक, केही यूरोपेली राष्ट्र र केही एशियाली मुलुकलाई लिन सकिन्छ । नेपाल राष्ट्रको विडम्बना नै यो हो कि मुलुकको एकीकरणदेखि वर्तमान समयसम्म राज्य सञ्चालकहरूले देशलाई समृद्ध बनाउन एक निश्चित कोर्स कायम गर्न सकेनन् र, यस कारणले मुलुक सधैं अँध्यारो र अन्योल स्थितिमा रहेको छ भनेमा अतिरञ्जना ठहरिँदैन ।
नेपाल राष्ट्र एकीकरण अभियानको दौरान राज्य सञ्चालकहरूबीच कायम रहेको षड्यन्त्रकारी तथा राष्ट्रघाती चरित्रको सामना समग्रतामा राष्ट्रले ब्यहोर्नु परेको थियो । यसले गर्दा राष्ट्रले संसारका अन्य मुलुकको तुलनामा राम्रो र सटिक उन्नतिको मार्गप्रशस्त गर्न सफल भएन र मुलुक सधैं अँध्यारोकै स्थितिमा रहन विवश भएको देखिन्छ ।
एकीकरण कालपश्चात राज्यलक्ष्मी र बहादुर शाहबीच पैदा भएको मतभेदले गर्दा नेपालले सही मार्ग पहिल्याउन सकेन । सोहीअनुसार रणबहादुर शाह र शेरबहादुर शाहबीचको मतभेदले उग्र रूप लिएपछि उक्त मतभेद हत्यामा परिणत भएको थियो । यसले गर्दा राष्ट्र नराम्ररी थलियो र उपचारार्थ त्रिपुरासुन्दरीको उदय भएको हो । केही समय राष्ट्रले सही मार्ग पहिल्याउन सकेको पनि थियो । सो परिवेशमा भीमसेन थापाले राष्ट्रलाई गति दिन खोजेका थिए, तर अक्षम राजाका साथै थापा एवम् बस्नेत भारदारबीचको मतभेदले राष्ट्रलाई सुगौली सन्धि–सम्झौता गर्ने बाध्यात्मक अवस्थामा पुऱ्यायो । यसले देश भौगोलिक, सांस्कृतिक र आर्थिक रूपले खुम्चिन पुग्यो । वास्तवमा यसको कारण निको नहुने रोग देशले पायो र यही रोगको निरन्तरताका कारण वर्तमान कालखण्डमा पनि समय–समयमा नेपाल र नजिकको छिमेकी भारतबीच विवादको अवस्था पैदा हुने गरेको देखिन्छ ।
करिव दुई तिहाइ क्षमता बोकेर सरकार बनाएको दलमा भागबण्डाको व्यवस्थापन हुन नसक्दा क्षतविक्षत अवस्थामा पुग्नु र उसले जनतालाई देखाएको तमाम सपनाको दर्दनाक अवसान हुनुले मुलुकको भविष्य अझै अन्धकार नै रहेको आँकलन गर्न सकिन्छ ।
राजा राजेन्द्र शाहको पत्नीमोह र युवराज सुरेन्द्रको लहडको कारण राष्ट्रमा कोतपर्व भयो र राणाशासनको उदय भएको जगजाहेर छ । राणा शासन कुनै राजनीतिक व्यवस्था नभएकोेले उक्त शासनकालीन राज्यसञ्चालकहरू स्वेच्छाचारी र सर्वसत्तावादी एवम् निरङ्कुश र जनमुखीको साटो चरम परिवारमुखी थिए । यसको कारण राष्ट्र विश्व–परिदृश्यमा ओझेलमै परेको थियो ।
यसकालका उपलब्धि राणा शासकका निजी भवन र तिनका परिवारले विद्यार्जनका लागि निर्माण गरिएका भवनलाई लिन सकिन्छ । हाल यी भवनहरूमा नेपालका विभिन्न निकायको कार्यालय सञ्चालित छन् । यसकालको अन्त्य समयमा शासकीय स्वरूप शासकहरूले लोकतान्त्रिक पद्दतिको बनाउन प्रयास गरेको देखिन्छ तर परिस्थिति र जनचेतना पूर्ण रूपमा परिवर्तन भएकोले राणा शासनको अन्त्य एक सय चार वर्षपछि सधैंको लागि नै भयो । वास्तवमा राणा शासनको अन्त्य हुनाको कारणमध्ये राणाहरूबीच मतभेद रहनु पनि एक थियो ।
राणा शासनकालपछि नेपालमा राजतन्त्रात्मक संसदीय व्यवस्थारूपी शासकीय स्वरूपको संविधान जारी गरियो । तर, राजा र प्रधानमन्त्रीबीचको मतभेदले राष्ट्रमा सैनिक बलले पञ्चायती व्यवस्थारूपी निर्दलीय शासन प्रारम्भ भयो । यो व्यवस्थारूपी शासकीय स्वरूप देशमा विधमान हुनुमा दलहरूबीच विद्यमान मतभेद पनि एक हो । विभिन्न दलहरूका शीर्ष नेताहरूदेखि कार्यकर्तासम्म पञ्चायती व्यवस्थामा सामेल गरी बेला–बेलामा समयसापेक्ष परिवर्तन गर्दै तीस वर्षसम्म चलेको शासन प्रणाली विश्व परिदृश्यमा देखापरेको लोकतान्त्रिक लहर र जनचाहनाको कारण नेपालमा संवैधानिक राजतन्त्रात्मक युगको आरम्भ भएको हो ।
संवैधानिक राजतन्त्रात्मक युगमा नेपाल राष्ट्रको राष्ट्रप्रमुखबाहेक सरकार प्रमुख र विभिन्न दलहरू बीचको इगो क्ल्यासको कारण नेपालमा घरी–घरी चुनाव हुन गएको र राष्ट्रमा पुनः अन्योल बढ्दै गएको थियो र, यसैबीच देशमा सशस्त्र द्वन्द्वको सिर्जना हुन गयो । यही द्वन्द्व मिलाउने क्रममा गृहकलह बढ्दै गर्दा घरभित्रै अकस्मात राष्ट्रप्रमुखको अन्त्य भयो ।
यसपश्चात देशमा सिर्जना भएको राजा र दलबीचको जबर्जस्त दूरीले अन्ततः संवैधानिक राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र नेपालको संविधान निर्माण हुन पुगेको थियो । समयान्तरमा गणतन्त्र मजबुत बनाउन विभिन्न प्रयास गरेको देखिन्छ । तर, दलहरूबीच विद्यमान मतभेद र अकर्मण्यताले ग्रस्त कर्मचारीतन्त्रको कारण राष्ट्रले राजनीतिक स्थिरता र आर्थिक वृद्धि हासिल गर्न सकेन । परिणामतः मुलुक सधैं अँध्यारो स्थितिमा रहन बाध्य भएको देखिन्छ ।
तर, वर्तमान समयसम्म पनि पुरानै ब्राण्डको रोगका कारण नेपालका दलहरूबीच विद्यमान मतभेदले राष्ट्रले सही मार्ग पहिल्याउन अझै पनि नसक्ने र निकै अन्योल स्थितिमा राष्ट्र रहने देखिन्छ । उदाहरणार्थ सतारूढ दलभित्रको परिस्थिति र प्रतिपक्ष दलको स्थितिलाई लिन सकिन्छ । करिव दुई तिहाइ क्षमता बोकेर सरकार बनाएको दलमा भागबण्डाको व्यवस्थापन हुन नसक्दा क्षतविक्षत अवस्थामा पुग्नु र उसले जनतालाई देखाएको तमाम सपनाको दर्दनाक अवसान हुनुले मुलुकको भविष्य अझै अन्धकार नै रहेको आँकलन गर्न सकिन्छ । त्यसमाथि आफूलाई प्रजातन्त्रको जनक नै दाबी गर्न नचुक्ने एवम् लोकतन्त्रको पहरेदार ठान्ने नेपाली काङ्ग्रेस जो यतिबेला प्रमुख प्रतिपक्षी दलको जिम्मेवारीमा रहेको छ, उसको लाचार भूमिकाले पनि नेपालले अझै निकास पाउन नसक्ने नै सङ्केत गरिरहेको छ ।
यसरी, विभिन्न प्रकारका समस्याहरूले मुलुक एकातिर आक्रान्त छ भने अर्कोतिर दलहरूबीच विद्यमान मतभेद र अकर्मण्य कर्मचारीतन्त्रले जनतामा नैराश्यताको बादल मडारिदिएको छ । यसबाट मुलुकमा कुनै पनि बेला अकल्पनिय दुर्घटना घट्ने सम्भावना बढ्दै गएको देखिन्छ । स्पष्ट दिशा लिन नसकी मुलुक दोसाँधमै अल्मलिएको वर्तमान परिवेशमा सबै दलहरू सचेत हुनु नितान्त जरुरी छ । अझ महत्वपूर्ण त के छ भने, प्रकारान्तरले निकम्मा जस्तै देखिएका राजनीतिक दलहरूलाई सही मार्गमा डोहोरिन सचेत जनताको मार्गदर्शन अपरिहार्य छ ।
प्रतिक्रिया