सभ्यताको वर्चस्व, संस्कृतिको लडाइँ !

सभ्यताको वर्चस्व, संस्कृतिको लडाइँ !



■ शिवगौरी दास ‘अनुप’

आधुनिकता र विकासको नाममा नेवा संस्कृति, जीवनशैली, परम्परा र रीतिरिवाज तहसनहस गर्ने योजना चलेको करिव एक दशक भइसकेको छ । प्रसङ्ग सुरु गरौँ खोकना बुङमती क्षेत्रबाट । किंवदन्ती, इतिहास र संस्कृतिविद्हरूका अनुसार खोकनाको नेवाः सभ्यता सहश्राब्दीऔँ पुरानो हो । नेवाः सभ्यताको मेरुदण्ड खोकनाले नेवाः परम्परा, जीवनशैली र संस्कृतिलाई आधुनिक अपमिश्रणबाट कालान्तरदेखि जोगाउँदै आएको छ । तर नेवाः सभ्यतालाई विस्थापित नगरेसम्म पश्चिमा सभ्यताको बलियो पकड नहुने देखेपछि, हाल नेवा सभ्यतामाथि चौतर्फी प्रहार भइरहेको छ । केपी ओलीको कुर्सी खोस्न प्रचण्ड-माधवका कार्यकर्ता एकतिर र कुर्सी बचाउन देशव्यापी उनका कार्यकर्ताहरू बाटो-बाटो रडाको मच्चाउँदै भीड गर्दा केही हुन्न तर नेपाल देशको सभ्यता–संस्कृति बचाउने, नेपाल नामको अस्तित्व बचाउने नेवार समुदायको रथजात्रा लाई हरसम्भव प्रयास गरेर दबाइयो, संस्कृति बचाउने अभियन्ताहरूलाई निरुत्साहित गर्न खोजी–खोजी चौकी पनि लगेर थुनियो ।

आधुनिकता र विकासको नाममा नेवा संस्कृति, जीवनशैली, परम्परा र रीतिरिवाज तहसनहस गर्ने योजना चलेको करिव एक दशक भइसकेको छ । खोकनामा मात्र होइन देशको धेरै ठाउँहरूमा त्यही शक्तिले नै करिव तीन शताब्दीबाट प्रहार गरिरहेको छ ।

इतिहास

विक्रम सम्वत् १५५० (सन् १४९३) बाट Papal Bull ‘Inter Caetera’ (डक्ट्रिन अफ क्रिस्टियन डिस्कवरी) लाई मार्गदर्शक सिद्धान्त मानेर विश्वव्यापी कब्जा एवम् धर्म परिवर्तन गर्दै हिँडेका ख्रीष्टियनहरू, विक्रम संवत १७७२ (सन् १७१५)मा रणजित मल्लको पालामा नेपाल प्रवेश गरेका थिए । तर ५४ वर्षपछि नेपालका रक्षक बडामहाराजधिराज पृथ्वीनारायण शाहले उनीहरूलाई नेपालबाहिर लखेट्न सफल भएका थिए । ख्रीष्टियनहरूको समर्थन र सहयोगको लागि तत्कालिन इस्ट इंडिया कम्पनीले करीव ५ हजार सेना सहयोग पठाएको थियो तर नेपाली सेनाले ती सबै विधर्मीहरूलाई नेटो कटाउन सफल भयो । सो युद्धमा करीव १७०० विधर्मी मारिएका थिए । विशेष खुलाशा- माओवादीको द्वन्द्वको कारण मृतकको संख्या १७ हजार पनि उनीहरूको त्यो बेलाको बदला, दस गुणाले लिगियो भन्ने हेतुले राखिएको थियो ।

सारा विश्वमा आफ्नो आधिपत्य जमाउँदै हिडेका ख्रीष्टियनहरू पहिलो पटक नेपालमा पराजित भएका थिए । तर नेपाललाई आफ्नो अधीनमा राख्ने नियत अझै पनि उत्तिकै दृढ छ र, सोहीअनुसार उनीहरूको गतिविधि जारी छ ।

वर्तमानमा डक्ट्रिन अफ क्रिस्टियन डिस्कवरीको स्वरूप मात्र फेरिएको छ । तर त्यो साम्राज्यवादी चिन्तन अझै पनि दुरुस्तै रूपमा हाबी छ । हाल त्यो साम्राज्यवादी शक्तिले मुख्य २ क्षेत्रबाट आफ्नो क्रियाकलाप गर्दै सारा संसारमा आफ्नो हैकम चलाइरहेको छ । तीमध्ये एक ब्यापार, शैन्य गतिविधि, आर्थिक, कारोबार, ज्ञान-विज्ञानको समिष्टिकृत रुप जसलाई पश्चिमा शक्ति भनेर बुझे सजिलो हुन्छ । र, अर्को सेवा, सहयोग, धर्म परिवर्तन, जातिय हिंसा आदि क्षेत्रबाट विश्वब्यापी आफ्नो गतिविधि गर्दै हिँडेको छ, जसलाई ख्रीष्टियन मिसनेरी (Christian Missionary) भनेर बुझे सजिलो हुन्छ । मुलभूत रूपमा यो सबै सभ्यताको वर्चस्वको लडाइँ हो ।

पश्चिमाहरूले पूर्वीय सभ्यताको सबै ज्ञान एवम् प्राचीन ग्रन्थ, इतिहास, धर्मशास्त्र, जीवनशैली (anthropology) को गहिरो धरातलबाट अध्ययन, अनुसन्धान गरिसकेका छन् । राष्ट्रगुरु योगी नरहरिनाथ र पत्रकार प्रेम कैदीका अनुसार उत्तरमा रसिया, दक्षिणमा श्रीलंका, पूर्वमा इन्डोनेसिया र पश्चिममा इरानसम्मको सभ्यताको स्रोत नेपाल भूमि हो । हिन्दु, बौद्ध, किरात, मस्टो, बोन्पो, जैन र अन्य प्रकृति पुजक (shamanism) सबैको उत्पत्ति वा विकास यही नेपाल भूमिबाट भएको हो । नेपाल भूमि नै पुर्वीय सभ्यताको मूल भूमि अर्थात् उत्पत्ति थलो हो ।

सभ्यताको ञको आधुनिक लडाईमा पूर्वीय सभ्यताको केन्द्रस नेपाललाई पूर्वीय संस्कारबिहिन गराउने र ख्रिष्टियन देश घोषणा गराउने गुरुयोजना (ग्रान्ड डिजाइन) आक्रामक शैलीमा सल्बलाउन थालेको सात दशक भैसक्यो । नेपालमा पाल्पा मिसन हस्पिटल, सेन्टजेभियर स्कूल र अन्य समाज सेवाका नाममा खुलेका आइएनजीओहरू त्यही एजेण्डाकै काम गर्नको लागि हो ।

नेपालमा आफ्नो पकड बढाउने योजनाअनुसार नै तथाकथित माओवादी जनयुद्ध सुरु गरिएको थियो । तर यसमा पश्चिमाबाहेक इंडियाको पनि स्वार्थ लुकेको थियो । वैज्ञानिक तथ्याङ्कहरूको आधार मानेर हेर्दा सन् २०३० सम्म इंडिया संसारको सबै भन्दा ठुलो जनसंख्या भएको देश हुने निश्चित छ र, त्यो जनसंख्याको आधाभन्दा ठूलो हिस्सासँग पिउने पानी नहुने दूरावस्थाको अनुमान पनि गरिएको छ । नेपालका सबै हिमाल, पहाडबाट आउने नदी–नालाहरू तराइमा गएर विशाल सप्तकोशी, नारायणी, त्रिवेणी, महाकालीको रूप लिन्छन् ।

सन् २०३० सम्म नेपालको कम्तीमा ५१ प्रतिशत जनसङ्ख्यालाई ख्रीष्टियन बनाउने र जनमत संग्रह गरेर ख्रीष्टियन देश घोषणा गराउने योजना छ । यसको लागि के कसरी काम भएका थिए भन्ने कुराहरूलाई तीन तहमा वर्गीकरण गरेर प्रस्तुत गरिएको छ ।

पहिलो खुड्किलो : विभाजन एवम् डर

सन् १९५० को दशकमा एन्थ्रोपोलोजिस्ट (जीवनशैली, संस्कृति अध्यनकर्ता÷सोधकर्ता) हरूलाई अनुसन्धानको बहानामा छिराएर नेपालको विविधतालाई कसरी प्रयोग गर्ने भनेर रुपरेखा तयार पार्न सुरु गरियो । अनेकतामा एकता, विविधता नै वरदान रहेको यो देशमा भिन्नतालाई अभिशाप बनाउने उद्देस्यले धेरै अध्ययन भए । सो अध्ययनका प्रलेखिकरण पश्चात १२६ वटा भाषा–भाषिका, ४ जात ३६ वर्ण, भूबनोटको विविधता, सबैतिरबाट यहाँ फरक–फरक संस्कृति, जीवनशैली आदिलाई विपरीत हुने गरी परिभाषित गर्न करिव तीन दशकदेखि आइएनजिओ सक्रिय रहेका छन् ।

नेपालको सबैभन्दा ठूलो जनसंख्या, अल्पसंख्यकलगायत अन्य सबै जनासाङ्खिक्यको अनुसन्धान एवम् अभिलेखीकरण गरियो । यहाँको ठूलो जनसंख्याको प्रभाव समाजबाट न्यून नपारेसम्म भावी योजना सफल नहुने निष्कर्षमा उनीहरू पुगेपश्चात, यहाँका सबैभन्दा ठूलो जनसंख्या बाहुन–क्षेत्रीलाई एउटा समुदाय ‘खस÷आर्य’ भनेर नामाकरण गरियो र, ती अध्ययनबाट तयार पारिएको योजनाअनुरुप माओवादी परिचालन गरियो ।

माओवादीको पहिलो प्रायोजन पुरेतहरूको टुप्पी काट्ने, मार्ने र संस्कृत भाषा नामेट पार्ने तथा देशको मूल धर्महरू तहसनहस गर्नु थियो । नेपाली समाजको नैतिक आचरण, सहिष्णुता, अनेकतामा एकता, प्रकृति प्रेम आदि सत्गुणहरू संस्कृत भाषा र त्यसमा लेखिएका ग्रन्थहरू एवम् मुन्धुम त्रिपिटक, यज्ञ, सप्ताह, कोटी होम आदिले प्रदान गरेको रहेछ भन्ने कुरा, उनीहरूले ती ग्रन्थहरूको अध्ययन गरेर थाहा पाइसकेका थिए । र, त्यो कुरा नरोकेसम्म नेपाली समाजलाई दिग्भ्रमित पार्न गाह्रो पर्ने बुझेकाले, पहिलो प्रहार त्यताबाट गर्न लगाइयो । त्यसैअनुरुप नेपालको सबैभन्दा ठूलो जनसंख्या बाहुन–क्षेत्रीहरूको रीतिरिवाजमाथि चौतर्फी आक्रमण गरियो । कति पण्डित मारिए, कतिको टुप्पी काटिए, कति किरियापुत्रीहरूलाई किरिया गर्नबाट बन्चित गराइयो, कतिलाई गाई काटेर गाईको सुकुटी पनि खान लगाइयो । त्यो समुदायलाई शोषक, वर्गभेदी, अत्याचारी आदि कलं कहरू पोत्न थालियो । देशको मूल धर्महरू (हिन्दु, बौद्ध, किराँत, बोन्पो, मश्तो, प्रकृति पुजक (shamanism) एवम् अन्य सबै नेपालको रैथाने धर्म संस्कृति) तहसनहस पारियो । उनीहरूले डरत्रासको माध्यमबाट रीतिरिवाज, परम्परा, संस्कृति, जीवनशैलीलाई पाखण्डको नामाकरण गरिदिए । ‘आर्य’ गुणवाचक शब्द भएता पनि यसलाई जातिवाचक बनाएर खस–आर्यविरुद्ध सबै नेपालीको मानसिकतामा घृणा र नकारात्मक चिन्तन भरे । सबैभन्दा ठूलो जनसांख्यिक समुदाय ‘खस आर्य’लाई डरत्रासमा बाँच्न बाध्य पारियो, आफ्नो पहिचान त्यागे मात्रै सुरक्षित अनुभव हुने माहोल बनाइयो । अहिले बाहुन–क्षेत्री घरका बालबच्चा तथा युवाहरूलाई आफ्नो पहिचान, संस्कृति पाखण्डी लाग्ने मानसिकता बनाइसकिएको छ । यो पहिलो खुड्किलो पार गरेको अवस्था हो ।

दोश्रो खुड्किलो : वर्गीकरण, घृणा र धर्म परिवर्तन

दोस्रो चरणमा अन्य अल्पसंख्यक जो हेर्दा बाहुन, क्षेत्री, नेवारहरू (सनातन हिन्दु धर्मावलम्बी) भन्दा फरक देखिन्छन्, उनीहरूलाई मंगोल, जनजाति, आदिवासी आदिमा वर्गीकरण गरियो । मंगोल भनेर सबै जनजातिलाई संगठित पारियो । त्यसपछि उनीहरूको कालान्तरदेखि चलिआएको मौलिक धर्म, संस्कृति, परम्परा, जीवनशैलीमाथि प्रहार सुरु गरियो । धर्मपरिवर्तनको साथ नाकचुच्चे हिन्दु र नाक थ्याप्छे क्रिस्चियन भनि ध्रुवीकरण पनि गराइँदै छ । इंडियाको डा. मोहन गुरुङलाई प्रयोग गरेर मंगोल नेसलन अर्गनाइजेसन (एम.एन.ओ) को नाममा ती गतिविधि सुचारु गराइयो र हाल पनि निकै आक्रामक शैलीमा चलिरहेको छ । माओवादीले मगरात, लिम्बुवान, तमुवान, किराँत आदि नामाकरण दिएर विभेदकारी, विखण्डनकारी बहुराष्ट्रियताको ठप्पा लगाइदिइसकेका छन् । बाबुराम भट्टराई (लाल ध्वज) अझै पनि त्यही मुद्दा लिएर कुर्लने गर्छन् । सीके राउत पनि देशको विखन्डन गराउनका लागि अग्रसर भइरहेका छन् । मधेश भनेर एउटा छुट्टै देशको लागि तीन वर्षअगाडि यु.एन.पी.ओ. मा दर्ता गरिसकेका छन् । हाम्रो देशको पाठ्यक्रममा समेत आइ.एन.जी.ओ हरूको ठाडो हस्तक्षेप छ । चार कक्षाको नेपाली पुस्तकमा पहाडीकोको विपरीतार्थ शब्द मधेसी भनेर पढाउन सुरु गरिसकिएको छ । यसले ती कलिला मस्तिष्कमा डरलाग्दो प्रभाव (mental programming) बनाउँछ । घृणाको विषको बिजारोपण भइसकेको छ, यसले ठुलो भयावहको स्थिति सृजना गर्ने प्रबल सम्भावना राख्छ ।

सीमान्तीकृत समुदाय र दलित तथा अन्य अल्पसंख्यकहरूलाई पनि खस-आर्यविरोधि बनाइयो । इंडियाको र यहाँको हिन्दु समाजमा संस्कृति, धर्म, मान्यता एकै रहेकाले त्यहाँ ‘दलित’ शब्दको प्रयोग जसरी गरिएको थियो, दुरुस्तै त्यही तरिकाले यहाँ पनि घटनाहरू घटाउँदै छन् । दलित शब्दको दस्ताबेजी प्रयोग सन् १९३२ मा ‘पुना एक्ट’मा भएको थियो र सन् १९३५ मा इस्ट इंडिया कम्पनीले जनगणनामा पहिलो पटक प्रयोग गरेको थियो । फुटाउ र राज गर नीतिअनुरुप त्यो खेला ब्रिटिशहरूले मनुस्मृतिको वर्णसम्बन्धीका श्लोकको अपव्याख्याद्वारा स्थापित गरेका थिए ।

‘मनुस्मृति’ नामक ग्रन्थ अर्कै युगको अर्कै किसमको सामाजिक, मानसिक र व्यवाहारिक परिवेशलाई सम्बोधन गर्न समाज, राष्ट्र र जीवन पद्धतिको विधानको रूपमा कल्पौं कल्प पहिले लेखिएको थियो । त्यसलाई तोडमोड गरेर विभिन्न प्रति मुद्रण गरियो । डा. राजीव दीक्षितका अनुसार संस्कृतविद म्याक्स मुलरले जर्मन भाषामा अनुवाद गरेको मूल प्रतिको अध्ययनपश्चात् इस्ट इंडिया कम्पनीले इन्डियन समाज बिथोल्न ‘मनुस्मृति’को अपव्याख्याबाट निकै सजिलो हुने निर्णय गरी सो पुस्तकलाई दुषित गर्ने योजना बनाएको थियो । जुन कामको लागि विलियम हन्टरलगायतको एउटा समिति गठन गरिएको थियो । उनीहरूले पेशा, व्यवशायअनुसारको वर्ण व्यवस्थालाई जातीय र वर्गभेदी रुप दिएर मनुस्मृतिलाई दुषित बनाइदिए । हाल मनुस्मृतिको १५० भन्दा धेरै संस्करण छन्, जसमध्य मूल प्रति कुन हो भन्ने यकिन हुन कठिन छ । तर नेपालमा पनि त्यहि अपमिश्रण गरिएको मनुस्मृतिको मुद्दा उठाएर दलित भनि भेदभाव हाबी गराइयो । नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले छुवाछतको अन्त्य गरिसकेका थिए । उनको सेनामा सबै जातजातिका सैनिक रहने गर्थे । उनको आर्थिक योजना नै बिसे नगर्चीको परामर्श, सल्लाहबाट भएको थियो । पृथ्वीनारायण शाहको त्यो उदार चिन्तनको खोजी अध्ययन भएमा नेपालमा फुटाउ र राज गर भन्ने डिजाइनले काम नगर्ने देखेर नेपालको इतिहासलाई पनि कलंकित गरेर पेश गराइएको छ । डेनियल राइटले लेखेको कुरालाई नै यथार्थ मानेर आफ्नो सोध सजिलो गरि रकम पचाउने अल्छी इतिहासविदहरूको गल्ती अहिलेको पिँढीले भोग्दै छ ।

भेदभाव त अमेरिका, युरोप, कोरिया लगभग सबै देशमा छन् । तर त्यहीँबाटै लगानी प्राप्त गरेका संगठन, संस्थाहरूले नेपालमा सर्वसाधारण, सोझो मानिसहरूको मस्तिष्कमा भेदभावको मुद्दा बनाएर धर्म परिवर्तन गराउँदै छन् । यहाँको पारम्परिक संस्कृति, ज्ञान, शिल्प एवम् कलालाई मास्ने नियतले विभेद, कलह, घृणा फैलाउने गतिविधिहरू गरिरहेका छन् । रुकुम झडप यसैको एउटा उदाहरण थियो । त्यहाँ झडप त ठकुरी र विश्वकर्माबीच भएको थियो, तर बाहुन–क्षेत्रीहरूलाई मात्र गाली गरिएको थियो ।

तेश्रो खुड्किलो : नेवा समुदाय र खोकना प्रकरण

अहिलेको पुस्तामा त्यो घृणावादी कित्ताकाटको चिन्तनले निकै बलियो प्रभाव बनाइसकेको छ । जनजाति, मूलवासी, मंगोल, दलित आदि एकातिर, खसआर्य,, नेवार र मधेशी (हिन्दु धर्मको बलियो प्रभाव भएका समुदाय) अर्कोतिर गरी मुख्यतया दुई विभाजनमा समाज गइसकेको छ । यीमध्ये खसआर्यप्रति अन्य सबैको शत्रुभाव, घृणाभाव बढ्दै गएको अवस्था हालको समाजिक सञ्जालहरूमा छर्लङ्ग देखिन्छ । नेपालका राजनीतिक पार्टीहरू सबै विदेशीहरूले नै चलाइरहेका छन् । त्यसमा को अध्यक्ष रहने, को–कसलाई कतिमा किनेर भागबण्डा मिलाउने सबै योजना र लगानी बाहिरबाट तय हुन्छ । सोहीअनुरुप बाहुन–क्षेत्रीको थर परेकालाई नै एकलौटी राजकाज चलाएको भ्रम सृजना गरिएको छ । जबकि उनीहरू न बाहुन हुन्, न हिन्दु हुन्, न नेपाली नै हुन् । उनीहरू नेपाललाई असफल राष्ट्रको रुपमा स्थापना गराएर विदेशीलाई यो राष्ट्रको बागडोर सम्हाल्न निमन्त्रणा गर्ने दूरावस्थाको लागि खटाइएको हली जस्तै हुन् । बाहुन, क्षेत्रीलाई भ्रष्ट, पतित साबित गराएर देशमा अन्य सबैले त्यो समुदायलाई घृणाले हेरुन् भन्ने डिजाइनअनुरुप त्यो खेला चल्दै छ । बाहुन थर परेका कथित नेताहरू जुत्ता लगाएर आफ्नो बाउको दागबत्ती दिन्छन्, न त किरिया बस्छन् । बाहुनको धर्मकर्म नगर्नेलाई बाहुन भन्दै अन्यको अपमान गर्ने, द्वेष, क्लेश र घृणाको कहिले ननिभ्ने आगो सल्काउन यो सबै नाटक मन्चन भएका हुन् ।

नेपालको संविधानमा अनावश्यक संघीयताको भारी लाद्नुको पछाडि विभेद, घृणा र द्वेषको आगो सल्काउने बाटो बनाउन, पश्चिमा र इन्डियाको दवाब र ठाडो हस्तक्षेप थियो । अहिले यो देशको संस्कृति शुद्ध रूपमा धानेका नेवारहरूले मात्र हो । अन्यत्र सबै डामाडोल गराइसकिएको छ । बाहुन–क्षेत्रीहरूले पनि किरियाको दिनहरू १३ बाट ५ अथवा ३ मा सार्न थालिसके । यो एउटा उदाहरण थियो, यस्ता अनेकौँ रीतिहरू दुषित पारिसकिएको छ । विद्यालयमा बाइबल, सान्ता क्रुज, ख्रीष्टमस आदि मनाउने चलन निकै बढ्दो छ । जुन विद्यालयले यस्तो कार्यक्रम आयोजना गर्छन्, उनीहरूलाई वित्तीय सहयोग पनि दिने गरिन्छ ।

खस आर्यको अपकर्षपछि, अब नेवारहरूको पालो छ, ‘खोकना’ प्रकरण यसैअन्तर्गत पर्छ । गुठी विधेयक, भूमिसुधार, अन्तर्राष्ट्रिय नीति प्रयोग गरेर यी कामहरू चल्दैछन् । बेला बेलामा स्वस्थानी जलाउने कुरा पनि उठाइन्छ । पशुपतिनाथ गुठीको भूमिमा चर्चले भवन निर्माण गरेको कुरा पनि समाचारमा सुन्नुभएकै होला । नेकपा र माओवादी मिसिएको पनि त्यही कामहरू गर्नको लागि हो । होली वाइनले यसै कुराको पुष्टि गर्छ ।

अन्त्यमा,

माओवादीले भुटेको दिमाग ठीक ठाउँमा ल्याएर प्रत्येक नेवार बन्धुहरूले सोच्न पर्ने दिन आइसक्यो । सबै नेपालीहरू संविधानमा विभेद र घृणाको नामाकरण पाएका खसरआर्य समुदाय, नेवार, दलित भनेर विभेदको ठप्पा लगाइएका शिल्पी समुदाय, मैथिल,थारु, र अन्य सबै मुल धर्मः बौद्ध, किराँत, बोन्पो, मस्टो पुजक , प्रकृति पुजक (shamanism) एवम् अन्य सबै नेपालको रैथाने धर्म संस्कृति मान्नेहरू पनि एकत्रित हुनुको विकल्प छैन । मंगोल नामाकरण गराएर सबै बौद्ध, किराँत, बोन्पो मान्ने गुरुङ, राई, लिम्बू, तामाङ आदि जातिलाई विधर्मी बनाइरहेका छन् । सबै नेपाली समुदायहरू यो कुरा मनन गरेर एकजुट नभएमा सबैको हार निश्चित छ । सारा नेपालीहरू जातीय, नश्लीय चिन्तन भन्दा माथि उठेर, राष्ट्रियताको भाव आफूभित्र सृजना गराएर, विविधताको एकतामा नै जीवनको सार्थकता छ भन्ने यथार्थ बुझेर एकजुट हुन पर्ने समय आइसकेको छ, सबै संगठित भएर अगाडि बढ्नुको विकल्प छैन ।