उन्नाइस वर्षीया सुप्रियाले लेखिन् अङ्ग्रेजीमा उपन्यास

उन्नाइस वर्षीया सुप्रियाले लेखिन् अङ्ग्रेजीमा उपन्यास



युवा लेखक एमिलिया सुप्रिया पालिखेद्वारा लिखित उपन्यास ‘द लभ वि वान्ट’को पोखरामा विमोचन गरिएको छ । कवि तथा साहित्यकार प्राज्ञ रमेश श्रेष्ठ, पोखरा उद्योग बाणिज्य संघका पूर्वाध्यक्ष विश्वशंकर पालिखे, नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, लेखकका हजुरआमा गंगादेवी पालिखे, रेडियो अन्नपूर्णका प्रबन्ध निर्देशक सुनयना पालिखे, नागढुङ्गा युवा क्लबका अध्यक्ष विनोद लामिछानेले संयुक्त रूपमा उपन्यासको विमोचन गरेका हुन् ।

अङ्ग्रेजी भाषामा लिखित उक्त कृतिको विमोचन गर्दै प्राज्ञ श्रेष्ठले पोखरामा नयाँ पुस्ताको साहित्यकार जन्म भएको बताए । ‘म पनि साहित्यकार हुँ, म कविता गजल लेख्छु, तर अब सुप्रिया मेरा लागि पनि चुनौती हुन्’, श्रेष्ठले भने । आफूलाई यो चुनांती मिठो लागेको भन्दै उनले उपन्यासकारलाई शुभकामना दिए र लेखकबाट भविष्यमा अन्य कृतिको श्रंङ्खला नै आउने आशा व्यक्त गरे ।

कृति र कृतिकारको चर्चा गर्दै रेडियो अन्नपूर्ण ९३ं.४ का प्रबन्ध निर्देशक सुनयना पालिखेले कृतिकारको उपन्यासका कथाहरू निकै अर्थपूर्ण रहेको जनाइन् । यो उपन्यास टीन एजर्सका लागि पठनीय सामग्री हुने विश्वास व्यक्त गर्दै उनले लेखकका हजुरबुबा शिक्षासेवी स्व. गणेशमान पालिखे, जिजुबुबा दयाशंकर पालिखेलगायतको स्मरण गरिन् । ‘उहाँहरूको पनि समाजसेवा, शिक्षाक्षेत्रमा ठूलो योगदान छ, त्यहि परिवारको नातिपुस्ताले उपन्यास लेखेकी छन्, यसमा हामीले गौरव गरेको छौँ’– उनको भनाइ थियो ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले भर्खरै १९ वर्ष टेकेकी लेखक नेपालकै कान्छी उपन्यासकार हुन सक्ने औल्याउँदै सानै उमेरमा यति धेरै शब्दसँग खेल्नु ठूलो कार्य भएको टिप्पणी गरे । उनको उदय पालिखे खानदानका लागि मात्र नभएर पोखराकै लागि गौरवको कुरा भएको औंल्याए ।

आदर्श नेपाल राष्ट्रिय दैनिकका सम्पादक समेत रहेका नागढुङ्गा युवा क्लवका अध्यक्ष विनोद लामिछानेले आफ्नैं टोलबाट होनहार साहित्यकारको उदय भएको जनाउँदै उनको होष्टेमा हैंसे गर्न सदैव लागिरहने प्रतिबद्धता जनाए ।

उपन्यसाकार सुप्रियाले पुस्तक पढ्दै गर्दा पाठकले एकपटक आफू टीन एजमै फर्किएको महशुस गर्ने उल्लेख गरिन् । यो उमेरमा पलाउने इच्छा, चाहना, मायालगायतलाई पुस्तकमा समेटने कोशिस गरेको उनले जनाइन् ।

स्कुलजीवनमा हुँदादेखि नै केही लेखौँ लेखौँ हुने गरेको अनुभव सुनाउँदै यसपटक कोरोना संक्रमणका कारण भएको लकडाउनलाई अर्थपूर्ण रुपमा सदुपयोग गर्न आफुले यो पुस्तक लेखेको उनले सुनाइन् । सबैको माया पाएमा फेरि अर्को पुस्तक पनि छिट्टै लेख्ने प्रतिबद्धता उनले जाहेर गरिन् । लेखकका हजुरआमा गंगादेवी पालिखेको अध्यक्षतामा भएको कार्यक्रम सञ्चारकर्मी गीता रानाले सञ्चालन गरेकी थिइन् ।