- अरुण नेपाल
नेपालमा भर्खरै मात्र
गालीगलौज विश्वविद्यालयको
स्थापना भएको छ
भव्य समारोह आयोजना गरेर
विश्वविद्यालयको उद्घाटन भइसकेको छ
कुलपतिको नियुक्ति भइसकेको छ
विज्ञहरू बीच ३२० भन्दा बढी बैठक बसेर
व्यवहारिक, वैज्ञानिक र जनवादी शिक्षाको
५७ पृष्ठ लामो पाठ्यक्रम तयार भइसकेको छ
उक्त पाठ्यक्रम कार्यान्वयनको क्रममा छ
पाठ्यक्रम प्रशिक्षक प्रशिक्षण
देशव्यापी रूपमा धमाधम चल्दैछ
युवा विद्यार्थीवर्गको मागबमोजिम
स्वयम् कुलपति र भूतपूर्व कुलपतिहरू
देशदौडाहामा निस्कनुभएको छ
मुख्य र सहायक प्रशिक्षकको
छनोट प्रक्रिया जारी छ
प्राविधिक शिक्षाले लैस
साइबर सेना मैदानमा तैनाथ छ
व्यावहारिक कला र सीप सिकाउँदै छ !
जस्तासुकै जोखिम मोल्न तयार
युवा जनशक्ति उत्पादन गर्दैछ !
कसले कस्तो गाली गर्दा धेरै ताली पड्कन्छ ?
हाईहाई र साईसुई कहाँ ठूलो सुनिन्छ ?
भीडभाड कहाँ बढी देखिन्छ ?
चर्का नारा कसले बढी घन्काउन सक्छ ?
कसले धेरै झण्डा फहराउन सक्छ ?
यिनै मूल प्रश्नको सेरोफेरोमा
अध्ययन अनुसन्धान जारी छ
तथ्याङ्क सङ्कलन भएको भएकै छ
युट्युबमा अभिलेख सुरक्षित गरिँदै छ
सङ्कलित तथ्याङ्कको विश्लेषण हुँदै छ
अनुसन्धान प्रतिवेदन तयार गरिँदै छ
प्राप्त निष्कर्षको प्रवोधिकरण पनि हुने नै छ
उक्त निष्कर्षको अधिकतम उपयोग गर्दै
दक्ष जनशक्तिको उत्पादन गरिने छ
त्यो जनशक्तिलाई विदेश पनि पठाइने छ
थप तालिम र प्रशिक्षण प्रदान गरिने छ
अनि समृद्ध नेपाल निर्माण गरिने छ !
सुखी नेपालीको नारा साकार बनाइने छ !
आउनुहोस् ! आउनुहोस् !! आउनुहोस् !!!
गालीगलौज विश्वविद्यालयमा भर्ना हुनुहोस् !
व्यावहारिक शिक्षा हासिल गर्नुहोस् !
वैज्ञानिक शिक्षाले लैस हुनुहोस् !
प्राविधिक र बहुप्राविधिक शिक्षा लिनुहोस् !
समृद्ध नेपालको सुखी नागरिक बन्नुहोस् !
कोटा अत्यन्तै सीमित छन्
आफ्नो स्थान आजै सुरक्षित गर्नुहोस्
गालीगलौज गर्न योग्य बन्नुहोस्
मौलिक उखानटुक्काको प्रयोग गर्नुहोस्
सभ्य र सुसंस्कृत नागरिक बन्नुहोस्
दुनियाँलाई मज्जाले हँसाउनुहोस्
आफू पनि पेट मिचीमिची हाँस्नुहोस्
मुलुकैभरी खुशीको बहार ल्याउनुहोस्
समृद्ध नेपाल निर्माण गरेरै छाड्नुहोस्
सबै नेपाली खुशी र सुखी बन्ने
यो सुवर्ण मौका कसैले नगुमाउनुहोस् !
नेपाल र नेपालीको एक मात्र
नयाँ र मौलिक विश्वविद्यालय
गालीगलौज विश्वविद्यालयमा
आजै र अहिल्यै भर्ना हुनुहोस्
तत्काल भर्ना भएर
भरपुर फाइदा लिनुहोस् !
जतिसक्दो धेरै फाइदा लुट्नुहोस् !!
२१औँ शताब्दी सुहाउँदा ज्ञान–सीपले लैस
योग्य, दक्ष र सभ्य नागरिक बनेरै छाड्नुहोस् !
यो सुवर्ण अवसर कसैले पनि नगुमाउनुहोस् !
प्रतिक्रिया