एउटा बहुउपयोगी पुस्तक

एउटा बहुउपयोगी पुस्तक


(कृति-परिचय)

ख्यातिप्राप्त अर्थविद्, नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वमन्त्री डा. रामशरण महतद्वारा लिखित पुस्तक ‘समकालिन नेपालको अर्थ राजनीति, परीक्षण, कम्पन र आशा’ले नेपाली पुस्तक बजारको स्तर बढाएको पाइएको छ । जीवनमा भोगेका निजी अनुभवहरूको गन्थनलाई नै पुस्तककारमा सार्वजनिक गर्ने प्रचलन बढिरहेको यो समयमा डा. महतको पुस्तकले क्रमभङ्ग गरेको छ । आफ्ना अनुभवलाई तथ्यहरूसँग समन्वय गरेर सार्वजनिक गरिएको यो पुस्तकमा डा. महतले आफूलाई नभई विषयलाई पूर्ण महत्व दिनुभएको छ ।

समसामयिक राजनीतिका केही ऐतिहासिक पक्ष, कतिपय राजनीतिक, वैचारिक, दार्शनिक तथा सामाजिक पक्षलाई समेत उल्लेख गरी मूलतः अर्थतन्त्र र देशको आर्थिक विकास तथा समृद्धिमा पुस्तक केन्द्रित रहेको छ । माओवादीको हिंसात्मक द्वन्द्व र शान्तिप्रक्रिया शुरु भएपछिका भित्री पाटो, त्यसअघि शान्तिवार्तालाई कसरी रणनीतिक उपयोग गरिएको थियो भन्ने विषयको रोचक जानकारी पुस्तकबाट पाउन सकिन्छ । त्यस्तै, संयुक्त राष्ट्रसङ्घीय मिसन अनमिन (UNMNN) ले कसरी माओवादीको पक्षमा काम गरेको थियो र, अनमिनलाई बिदा दिइनुको कारणबारे पुस्तकमा सविस्तार उल्लेख भएको छ ।

नेपाली काङ्ग्रेसको नेता भएकोले उहाँबाट काङ्ग्रेसले निर्वाह गरेको कतिपय भूमिबारे पुस्तकमा उल्लेख हुनु स्वभाविक हो र एउटा स्वतन्त्र पाठकलाई समेत किञ्चित नबिझाउने गरी डा. महतले विषयवस्तु प्रस्तुत गर्नुभएको छ । बीपी कोइरालाद्वारा प्रतिपादित समाजवादी अवधारणाको सहज परिभाषा गर्दै उहाँले लेख्नुभएको छ- ‘समाजवादको सार समानता हो र, यसका आर्थिक तथा राजनीतिक आयाम छन् । समाजवादको उद्देश्य अधिकतम मानवीय कल्याण र सूरक्षा हो । प्रजातन्त्रले समानताको राजनीतिक पक्षलाई प्रतिनिधित्व गर्दछ । आर्थिक पक्षमा समाजवादले अन्याय, शोषण र गरिबीबाट मुक्तिसहितको आर्थिक समानता सुनिश्चित गर्छ ।’

मुलुकको आर्थिक स्थितिको सटिक चित्रण गर्दै नेपालले अवलम्बन गर्नुपर्ने आर्थिक नीति र व्यवहारबारे सङ्क्षिप्त तर स्पष्ट विवेचना पुस्तकमा गरिएको छ । पर्यटन, विप्रेषण र जलऊर्जाबारे चर्चा गर्दै ऊर्जा उत्पादनबाट नेपाल कसरी शीघ्र समृद्धिको बाटोमा जान सक्छ भन्ने विषयको सबिस्तार तथ्यपूर्ण ब्याख्या पुस्तकमा भएको छ ।

आर्थिक विकासको स्थितिबारे तथ्याङ्कसहितको विवेचना गर्दै उत्पादन र उत्पादकत्वको स्थिति, आप्रवासन, विप्रेषण, भूकम्पले पुर्‍याएको क्षति तथा त्यसको सामना गर्न तत्कालिक सरकारबाट भएका प्रयासको चित्रण पुस्तकमा छ ।

परराष्ट्र सम्बन्धलाई मुलुकको आर्थिक समृद्धिसँग जोड्नुपर्ने र परिपक्व कुटनीतिका माध्यमबाट परराष्ट्र नीति तथा व्यवहार तय हुनुपर्ने कुरामा डा. महतले जोड दिनुभएको छ । उहाँको निष्कर्ष छ- दक्षिण एशियाको सबैभन्दा पुरानो गौरवपूर्ण इतिहास भएको मुलुक नेपालले आजको युगमा देखापरेका अत्याधिक अवसरहरूलाई पूँजीकृत गरी जलवायु परिवर्तन र प्राकृतिक प्रकोपका जोखिमहरूलाई समेत सामना गरी अन्य मुलुकहरूको दाँजोमा युगसुहाउँदो आर्थिक उन्नतिको मार्गमा अघि बढाउनुपर्ने जिम्मेवारी नै आजको आवश्यकता हो ।’