संवेदना

संवेदना


  • प्रथा

जतिखेर
अस्पताल बन्द गरेर
ऊ निस्कियो उन्मत्त सडकमा
शायद,
त्यतिखेरै मरेको हुनुपर्दछ– मान्छेको संवेदना !

अनशनभरि
गरम मसला बेचेर
आज फेरि,
किन मौन ब्रत बसिरहेछन्– मिडिया घरहरू !

समाचार छैन
समाचार समाचारबाटै गायब छ !
१३ वर्षकी छोरी
बलात्कारपछि हत्या गरिएकी छिन् !
म डाक्टर होइन
र, मसँग त्यो अदृष्य शक्ति पनि छैन
जसले यी संवेदनाहीन मुर्दाहरूलाई जगाउन सकूँ !

फरक छन्
संसार हेर्ने तिम्रा आँखाहरू !
फरक छन्
भित्रभित्रै दुख्ने तिम्रा मुटुका भित्ताहरू !
र, फरक छन्
रोटी किन्ने तिम्रा शैतानी आवाजहरू !

हो, महासय !
भिन्न छ
मैले गाउने धुले–गीतको अन्तरा !
भिन्न छ
तिमीले गाउने शक्ति–भजनको मूच्र्छना !
र भिन्न छ
तिम्रो र मेरो मन फुटेर झर्ने आँसुको रङ !

सबैभन्दा ठुलो कुरा त
फरक नै छ
तिम्रो र मेरो न्यायको तराजु पनि !