- अर्जुनराज पन्त
आज फूल दियो
भोलि भुल्दियो
पर्सी अर्कैसङ्ग डुल्दियो
यस्तो चलन खै कस्ले हुल्दियो ?
अर्काको चलन जस्तो नि हुल्यो
आफ्नो सँस्कृति सबै भुल्यो !
दिल दिए पो दिगो हुन्थ्यो
एकअर्काको मनमा छुन्थ्यो
एउटाका कुरा अर्काले सुन्थ्यो
सङ्गै हाँस्थ्यो सङ्गै रुन्थ्यो
फूल दिएर ला’को माया
उत्तिखेरै दायाँ र बायाँ
फूल जस्तै फूस्स हुने
केको हुन्थ्यो दिल छुने !?
फूलमा जसरी भँमरा बस्छ
एउटा चुसेर अर्कामा पस्छ
छानी-छानी फूल ती डस्छ
उड्छ भँमरो फूलचाहिँ खस्छ
प्रेमलाइ बनाए अति सस्तो
त्यही फूल अनि भँमरा जस्तो !
फूलका बोटको नि सत्यानाश
प्रेम शब्दको उपहास !
दिवशका नाममा छरेर भ्रम
आकर्षणलाइ भन्यौ प्रेम
दीन-दुःखीमा छैन प्यार
हत्या हिंसा बलत्कार !
कस्तो बतासे चलन आयो
फूल दियो माया लायो !
दिल नसाँटि फूल साँट्यो
मनका कुरा सबै ढाँट्यो
ढाँटेका कुरा र साँटेको फूल
प्रेमका नाममा गर्दियो भूल !
एउटाको हतियारमा अर्काको पाइन
आयो बतासे भ्यालेन्टाइन !
– बाग्लुङ, मुलपानी
(कवि पन्त ब्यङग्यकाब्य कृति ‘कोइली’ का स्रष्टा हुन् ।)
प्रतिक्रिया