हामी धनी भयौँ

हामी धनी भयौँ


  • बबिता बस्नेत

‘सम्पन्नता’ मानिसको जीवनमा जहिले पनि राम्रो कुरा हो । केलाई सम्पन्नता मान्ने भन्ने बहस र छलफलको विषय हुन सक्छ । मानिसको जीवनमा धेरै कुराले फरक पारे पनि आर्थिक सम्पन्नता आधारभुत पक्ष हो । जबसम्म बिहान-बेलुकाको छाक टार्ने समस्या हुन्छ उसले खाना जुटाउनेबाहेक अरु सोच्न सक्दैन । परिकल्पना पनि त्यही गर्छ- घरमा वर्षभरी खानका लागि भकारीमा अन्न भरिएको, एकसरो लाउन, गर्जो टार्न, चाडबाड धान्न हातमा पैसा भएको । खान-लाउनको समस्याबाट माथि उठेपछि मात्रै मानिसले थप कुरा सोच्न सक्छ । हामीले जतिसुकै आदर्शका कुरा गरे पनि आर्थिक उन्नतिले मानिसको जीवनमा ठुलो माने राख्छ ।

आर्थिक कुरासँग जिन्दगीका अनेक समस्या र पहलुहरू जोडिएका हुन्छन् । यो हाम्रो परिवेशमा मात्र होइन विश्वकै दुःखद वास्तविकता हो । मानिसको जीवनमा हुनु र नहुनुले ठुलो अर्थ राख्छ । तथापि कसैसँग भएको आर्थिक सम्पन्नताले अरुलाई त्यति ठुलो फरक भने पारिरहेको हुँदैन । हुने र नहुनेलाई छिमेकीले हेर्ने दृष्टिकोण, नातेदार र आफन्तले गर्ने ब्यवहार, साथी सर्कल… हामी सबैले देखिरहेकै छौँ, भोगिरहेकै छौँ । हाम्रो समाज सुखीहरूका पछि दौडिने समाज हो र सुख धन-सम्पत्तिसँग जोडिएको हुन्छ । गरिब दुःखीहरूका पछाडि समाज हुँदैन । जिन्दगीको वास्तविकता उनीहरू स्वयम्ले मात्र भोग्नुपर्छ ।

आर्थिक रूपले सम्पन्नता र गरिबीबीचको विभेद मानिसको जीवनमा मात्र होइन देशको सन्दर्भमा पनि लागु हुन्छ । आफ्नो देश धनी भएकै कारणले कुनै देशका खराब आचरणका नागरिकले पनि एयरपोर्टलगायतका स्थानमा मान सम्मान पाइरहेका हुन्छन् । जति राम्रो ‘एटिच्युड’ या डिग्री होल्डर या आर्थिक रूपले सम्पन्न परिवारको भए पनि देश गरिब भएका कारण तिनले विभेदपूर्ण ब्यवहार भोग्नु परिरहेको हुन्छ । हामी आफू मात्र सम्पन्न भएर के गर्नु ? जबसम्म देश धनी हुँदैन हामीलाई हेर्ने अन्तर्राष्ट्रिय दृष्टिकोण माथि उठ्न सक्दैन । देश गरिब हुँदा भोग्नु परेका विभेदका गाथाहरू धेरै नेपालीहरूसँग छन् । कहिलकाहीँ यात्रा गर्नेदेखि लिएर अन्तर्राष्ट्रिय संघ-संस्थामा काम गर्ने तथा विभिन्न मुलुकमा बसोबास गरिरहेका नेपालीहरूले मुलुकमा धेरै कुरा हुँदाहुँदै पनि आर्थिक रूपले सम्पन्न नहुँदाका दुःखद ब्यवहारहरू सहेका छन्, भोगिरहेका छन् ।

मानिसको जीवनमा हुनु र नहुनुले ठुलो अर्थ राख्छ । तथापि कसैसँग भएको आर्थिक सम्पन्नताले अरुलाई त्यति ठुलो फरक भने पारिरहेको हुँदैन । हुने र नहुनेलाई छिमेकीले हेर्ने दृष्टिकोण, नातेदार र आफन्तले गर्ने ब्यवहार, साथी सर्कल… हामी सबैले देखिरहेकै छौँ, भोगिरहेकै छौँ ।

अनेकौँ नकारात्मक परिवेशका बीच नेपाल र नेपालीका लागि खुशीको खबर सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघको कमिटी फर डेभलेप्मेन्ट पोलिसी (सीडीपी)ले नेपाललाई कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्न सिफारिश गरेको छ । सीडीपीले कम विकसित मुलुकबाट विकासशील मुलुकमा फड्को मार्नका लागि पाँच वर्ष अवधि दिएको छ । मानव सम्पत्ति सूचकाङ्क र आर्थिक जोखिम सूचकाङ्कका आधारमा उक्त मूल्याङ्कन गरिएको हो । यसबीचमा राष्ट्रले यी दुई सूचकाङ्कलाई कायम गर्दै स्तरोन्नतिका लागि पार गर्नुपर्ने अर्को सूचकाङ्क प्रतिब्यक्ति आय अबको पाँच वर्षभित्र बढाउनुपर्ने छ । यस्तो विषम परिस्थितिमा पनि मुलुकले विश्वब्यापी दौडमा फड्को मार्नु खुशीको कुरा हो । वास्तवमा यो उल्लास मनाउँदै सरकारी स्तरबाट दिपावली गर्ने विषय हो । अब सरकारले बाँकी सूचकाङ्क पार गर्नका लागि के गर्छ, कसरी गर्छ भनेर भावी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै जनतालाई जानकारी दिने विषय हो । तर राजनीतिक खिचातानीमा अल्झिएर यति ठुलो कुरा यसरी ओझेलमा पऱ्यो कि कसैले वास्तै गरेन । महत्व दिनुपर्नेले नै मतलब नगरेपछि सर्वसाधारणलाई थाहा हुने कुरा पनि भएन ।

कम विकसितबाट विकासशील मुलुकमा उक्लिएसँगै नेपाललाई अब केही चुनौतीहरू थपिएका छन् । सबैभन्दा ठुलो चुनौती त आर्थिक जोखिम घटाइ सन् २०२६ सम्ममा प्रतिब्यक्ति आय बढाउनु छ । यसका लागि हामीले बाहिरबाट केही ल्याउनु पर्दैन आफूसँग भइरहेका कुरालाई ब्यवस्थापन मात्रै गरे पुग्छ । बाहिरबाट राम्रा कुराहरूलाई उदाहरणका रुपमा लिँदै अघि बढ्न सकिन्छ । सकारात्मक कामको अनुकरण जसले गरे पनि हुन्छ, जहाँबाट लिए पनि हुन्छ ।

विकासमा अति चाँडो फड्को मारेको देश सिंगापुरले धनी हुनका लागि ‘एमपीएच एप्रोच’ अपनाएको थियो । ‘एम’ मेरिट अर्थात् कुनै पनि काम गर्दा प्रतिस्पर्धामा अगाडी आउनेलाई स्थान दिइयो । ‘पी’ प्राक्टिकल अर्थात् ब्यवहारिक एप्रोच, के गर्दा ब्यवहारिक हुन्छ त्यो गरियो । कुनै पनि काम गर्न सहज हुने नीति नियम बनाइयो । के गर्दा चाँडो भन्दा चाँडो उद्योग स्थापना गर्न सकिन्छ, के गर्दा शिक्षामा अब्बल हुन सकिन्छ, कस्तो नीतिले स्वास्थ सुलभ र उच्चस्तरीय हुन्छ भन्ने कुरामा ख्याल गरियो । हामीकहाँ हुन लागेको कामलाई पनि के गर्दा रोक्न सकिन्छ भनेर बहाना खोजिन्छ । सरकारी कार्यालयमा फटाफट काम हुने हो भने अहिले देशको रूप अर्कै भइसक्ने थियो ।

अर्को ‘एच’ अनेस्टी अर्थात् इमान्दारी । इमान्दार हुनका लागि नागरिकलाई सिकाइयो । नागरिकलाई इमान्दार बनाउनका लागि सरकारमा बस्नेहरूले इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गरे । सिंगापुरका ट्याक्सी ड्राइभरदेखि प्रधानमन्त्रीसम्ममा इमान्दारीको स्तर समान हुन्छ भनिन्छ । हरेक पेशा, ब्यवसायमा भएकाहरूले इमान्दारीपूर्वक आफ्नो काम गर्ने हो भने हाम्रो देशमा पनि सकारात्मक परिवर्तन आउन लामो समय लाग्दैन ।

वास्तवमा यो उल्लास मनाउँदै सरकारी स्तरबाट दिपावली गर्ने विषय हो । अब सरकारले बाँकी सूचकाङ्क पार गर्नका लागि के गर्छ, कसरी गर्छ भनेर भावी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै जनतालाई जानकारी दिने विषय हो ।

यसैगरी, जापानको तीव्र विकासमा कानूनी शासन, अनुशासन, गुणस्तर कायम, पूर्णता (पर्फेक्शन) र नैतिकता प्रमुख आधार हुन् । जापानमा कानून उल्लंघन गर्नु अपराध मात्र होइन लाजसरमले मर्नुसरह पनि हो । अनुशासनमा उनीहरू अलिकति पनि सम्झौता गर्दैनन् । कुनै भेटघाट या कार्यालयमा जाँदा तोकिएको समयभन्दा एक-दुई मिनेट ढिलो हुनु उनीहरूका लागि लज्जाको विषय हो । अनुशासन उनीहरूको रगतमा छ, घर र विद्यालय अनुशासन सिकाइने थलो हुन् । कुनै पनि बस्तु उत्पादनमा गुणस्तर उनीहरूको पहिलो प्राथमिकता हो । गुणस्तरीय भएपछि उनीहरूका सामानले विश्व बजार पिटिने नै भयो ।

आर्थिक उन्नतिका लागि हामीले पनि यस्तै उपायहरू अवलम्बन गर्न सक्छौँ । हामीसँग भएको बजेटको सही सदुपयोग भएको छैन । नीति, कानूनहरूको कार्यान्वयन भएको छैन । कामप्रतिको मूल्य-मान्यता परिवर्तन गरी कुनै पनि कामको सम्मान गर्ने वातावरण बनाउन आवश्यक छ । कुर्सीमा बस्ने काम मात्र काम भन्ने मान्यतालाई परिवर्तन नगरी हामी अगाडी बढ्न सक्दैनौँ ।

मुलुकमा सकारात्मक परिवर्तन ल्याउनका लागि नेतृत्वमा जवाफदेहिता आवश्यक हुन्छ । नेतृत्वमा रहेकाहरूले अनावश्यक कुरा बोलेर नागरिकलाई ‘इरिटेट’ गर्न छाडी इमान्दारीपूर्वक काम गर्ने हो भने एकैपल्ट मुलुकले थप फड्को मार्न पनि सक्छ । अहिले प्राप्त सफलतालाई ‘सेलिब्रेट’ गर्दै देश धनी बनाउनका लागि सरकारले नागरिकलाई आह्वान गर्न सक्छ, गर्दा राम्रो हुन्छ । देश गरिब रहुन्जेल ब्यक्ति धनी हुनुको कुनै अर्थ छैन । हरेक नेपालीको आत्मसम्मान देशको उन्नतीसँग जोडिएको छ । त्यसैले हामी धनी भएकोमा सबैलाई बधाई !!