एक युगनायकको प्रतीक्षामा मुलुक

एक युगनायकको प्रतीक्षामा मुलुक


  • स्वयम्भूनाथ कार्की

साहित्य, कला, संस्कृतिको जगेर्ना गर्न खोलिएको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (जो हाल नेपाल प्रज्ञा प्रतिष्ठान भएको छ) प्राज्ञहरूले आफ्नो ब्रम्हले देखेको कुरा प्रकट गरिदिए देशको निमित्त गुण लाग्ने छ भन्ने आदर्शमा चलेको थियो । यो कुरा महापञ्च पदका आकाङ्क्षीहरूलाई मन परेको थिएन । यी सबै कुरा भत्काएर चाकरी प्रथाको पुनर्बहाली गर्न २८ देखि ३२ को चार वर्षमा ती सफल भए । त्यसपछि पञ्चायत दलविहीन हैन एकदलीय प्रणलीमा परिणत भयो । जुन गुट-उपगुट अनि गुटगत स्वार्थको खराबी रोक्न राजा महेन्द्रले निर्दलियता अपनाएका थिए- त्यो ध्वस्त भयो । त्यो जनसाधारणलाई मुलधारबाट अलग गर्ने प्रणालीमा परिणत भयो ।

यस्तो अवस्थामा जनताले आफूलाई उपेक्षित ठान्न थाल्छन् । नेतृत्व पनि योग्यता सावित गर्नुभन्दा आफ्नो अकण्टक पकडमा निरन्तरता खोज्न थाल्छ । स्वभाविक रूपमा जनताले विकल्पको खोजी गर्न थाल्छ । यस क्रममा जसले जनताको मनमा अलिकति पनि आशा जगाउँछ त्यसको गुनगान हुन्छ । आवश्यकता परेको हुन्छ, एक युगनायकको जो कोही पनि हुन सक्छ, हिटलर जस्तो दुर्दान्त होस् वा बुद्ध जस्तो सौम्य ! जनताले समयको धारा परिवर्तन गरेर नयाँ बाटोतर्फ लैजाने पुरुष वा महिला जसलाई पनि स्विकार गर्दछन् ।

पुरानो व्यवस्था झुत्रिएर काम नलाग्ने अवस्थामा भएको र नयाँ व्यवस्था हाँक्ने युगनायक नभएको अवस्थालाई नै साँचो अर्थमा सङ्क्रमणकाल भन्नु पर्दछ । नेपालका यो सङ्क्रमणकाल ०३२ सालदेखि हालसम्म विद्यमान छ । पटक-पटक युगनायक हो कि झैँ गरेर छनक दिने पात्रहरूका प्रदुर्भाव पनि नभएको हैन । यस्ता पात्रलाई जनताले शिरोपर नगरेको पनि हैन । परिवर्तन गर्न र तात्कालिक चलिआएको व्यवस्था ध्वस्त गर्न सफल भए पनि नयाँ गोरेटोतर्फ डोऱ्याउन भने यस्ता पात्रहरू हालसम्म असफल हुँदै आएका छन् ।

०६४ पछि त यस्तो दूरावस्था आएको छ कि कसैले आफ्नो कर्तव्यको एक सानो हिस्सा पनि पूरा गऱ्यो भने त्यसैलाई नायकको सम्मान दिन जनता तँछाडमछाड गर्दैछन् । कसैले केही गर्न सकेन तर आफ्नो अधिकारको दुरुपयोग गरेन भने पनि त्यसलाई उत्तम मानिने समय नेपालमा चलिरहेको छ । जब मुलुकमा कोही राष्ट्रसेवक घुस नखाएवापत पुरष्कृत हुन्छन् र, त्यस्तो खबरमा जनता हर्ष मान्छन् भने अवस्था कस्तो भएको छ भनेर ब्याख्या गरिरहनु नै परेन । शुरुमा सामाजिक विकृतिसँग लडेर कमाएको प्रतिष्ठाको ब्याज प्रचण्डले अहिलेसम्म पनि खाँदैछन् । बाबुराम भट्टराईले प्रधानमन्त्रीत्व सम्हाल्दा माओवादीलाई फुटेको आँखाले पनि देख्न नसक्नेहरूले पनि अब त उनले केही गर्दछन्, सायद चीर-प्रतीक्षित युगनायक यिनै हुन् कि भन्ने आशा गरेका थिए ।

बाबुरामप्रतिको मोह भङ्ग हुन कुनै बेर नै लागेन । खड्गप्रसाद ओलीको अख्खडपनलाई पनि जनताले युगनायक नै जस्तो गरेर मानेकै हो, तर त्यो पनि टिकेन । चाहे सामाजिक क्षेत्रका कोही हुन् वा कला क्षेत्रका, प्रहरी हुन् वा प्रशासक, नेता हुन् वा मन्त्री जसले पनि अलिकति आफ्नो कर्तव्य पालन गरे तिनको प्रशंसामा जनताले कुनै कन्जुसी गरेनन् । सबैजसोको यो योग्यता र क्षमता सम्भवतः त्यसपछि समाप्त भयो, शुरुमा देखाएको झलकबाहेक थप केही गर्न सकेनन् । तैपनि जनताले यस्ताले पर्याप्त मौका नपाएको हो पाए भने केही गर्नेछन् भन्ने आशा अझै मारेका छैनन्, यत्रो लामो कालो बादलमा देखिएको चँदीको घेरा यही मात्र हो ।

छुद्र वचन, गालीगलौज अनि भीषण भाषणको बाटोबाट युगनायक प्रादुर्भाव हुँदैन । मुलुक युगनायकको प्रतीक्षामा छ तर त्यसको छनक भने देखिएको छैन ।

युगनायकको आगमन बाधारहित पक्का बाटोबाट हुँदैन । फुल र तुल बिछ्याएर वर्तमानले उसलाई स्वागत गर्दैन । वर्तमानले त सकेसम्म वाधा अनि व्यवधान खडा गर्छ । तर उ सबै किसिमका बाधा–व्यवधान पन्छाउँदै, असंभव प्रायः परिस्थितिलाई आफ्नो दास बनाउँदै आउँछ । मौका खोजेर वा मागेर युगनायकको जन्म हुँदैन । यो कुरा सबैलाई थाहा भए पनि निराशाबाट जोगिन आशाको त्यान्द्रोको रूपमा जनताले मौका नपाएकोले हो भनेर आफ्नै मन बुझएका हुन् भन्ने कुरो सबैले जान्न जरुरी छ ।

पञ्चभेला भनेर जनतालाई गाउँगाउँबाट बोकेर ल्याई शक्ति प्रदर्शन गर्नेे चलन आमसभा, सम्मेलन वा यस्तै नाममा अहिले झन् मौलाएको छ । जनताको विश्वास र भरोसा जितेर पाउनुपर्ने पद चुक्ली, चाकरी, चाप्लुसीले पाइने परिस्थिति पैदा भएपछि त्यसले जनतालाई पिर्ने नै थियो । यो विकृतिले गर्दा जनमत संग्रह गरेर सुधारिएको पञ्चायतको नाराले पनि व्यवस्था थाम्न सकेन । यसपछि आएको बहुदलिय संविधानलाई विश्वको उत्कृष्ट संविधान भनेर स्तुति गाइयो । तर, दशक पुग्दानपुग्दै यसलाई विश्वको उत्कृष्ट संविधान भन्नेहरू नै पनि यसको नाम लिन समेत धक मान्ने हुन पुगे । वर्तमान संविधानमा पनि अनेकौँ प्रश्न उठेका छन् जनमानसमा भन्दा अदालतमै ।

यस्तो किन भयो त ? कारण स्पष्ट छ, युगनायक जस्तो भान आए पनि युगनायक पैदा हुन सकेनन् । जनताले झन आफूलाई उपेक्षित महशुस गर्न थाले । कुनै रविन हुड जस्तो पात्रको आवश्यकता समयले माग गऱ्यो । यो माग पुरा गर्न भाटा लिएर माओवादी देखापऱ्यो । विस्तारै त्यो भाटा बन्दुक, बम तथा बारुदमा परिणत भयो । नेपाली समाज दुई पक्षमा विभाजित भएर एकअर्काको रगतको खोलो बगाउन थाले । यो सबैको अपराध युगौँदेखिको राजतन्त्रलाई बोकाएर त्यसलाई किनारा लगाइयो । जे-जस्ता सामाजिक आधार थिए, जुन बाँचेको आपसी सौहार्दता थियो त्यो पनि समाप्त पारियो ।

एकअर्कामा विश्वास पैदा गराउने, खुसी र दुःख साझा मान्न सक्ने नागरिक बनाउने युगनायक चाहिएको छ । मुलुक एक युगनायकको प्रतीक्षमा छ । तर अहिलेसम्म वैधानिक रूपमा केन्द्रबिन्दुमा रहेकाहरूमा त्यो सम्भावना देखिएको छैन । परिवर्तनका संवाहक भनिएका मानिएका अनेकौँ क्षेत्रका अगुवाहरूबाट सम्भव देखिँदैन । वर्तमान संविधानको घोषित उपलब्धि जे भए पनि अघोेषित उपलब्धि भने छुद्र व्यवहार अनि गाली विरासदहरूको विकास जस्तो भएको छ । छुद्र वचन, गालीगलौज अनि भीषण भाषणको बाटोबाट युगनायक प्रादुर्भाव हुँदैन । मुलुक युगनायकको प्रतीक्षामा छ तर त्यसको छनक भने देखिएको छैन ।