
विघटित प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुनःस्थापित गरिदिएपछि मुलुक राजनीतिक दृष्टिले बिचित्रको अवस्थामा पुगेको छ । प्रधानमन्त्री केपी ओलीलगायत सरकारी कदमको पक्षधरहरूका निम्ति सर्वोच्च अदालतको फैसला जति अनपेक्षित रह्यो, पुनःस्थापनको पक्षधरहरूमा फैसलाले उत्तिकै खुशी प्रदान गरिदियो । यत्तिसम्म त सबैले छर्लङ्ग देखेको र बुझेको कुरा भयो । तर, सर्सर्ती हेर्दा देखिएको यस परिदृश्यको अन्तर्यमा भने अनेक दूरभीष्ट लुकेका छन् ।
यस्तो फैसला कसरी-किन आयो भन्ने सवालमा एकतिर चर्चा-परिचर्चा चुलिएको छ भने अर्कोतिर संसद् पुनःस्थापित भएपछि देशले गजबको निकास पाउँछ भनी जिकिर गर्ने पक्षलाई नै रनभुल्ल तुल्याएको अवस्था छ । अर्थात्, वर्तमान संविधान ब्रम्हनालबाट घर फर्किएको भन्दै खुशीयाली मनाउनेहरूको उत्साह एकाएक ओइलाएको अनुभूति गरिँदै छ । खासगरी पुनःस्थापनको पक्षमा नेतृत्व गर्ने शीर्ष पात्रहरूले एकर्कालाई खुवाएको लड्डु नै बेस्वादमा रुपान्तरित हुन पुगेको रूपमा यतिबेला ब्याख्या-विश्लेषण गरिन थालिएको छ । आखिर गुलियो लड्डु कसरी तितो हुन पुग्यो त ? वर्तमान राजनिितक परिवेशमा यो अहम् महत्वको प्रश्न हो ।
सतही रूपमा बुझ्नेहरूले ठानेका थिए- अदालतले प्रतिनिधिसभा पुनःस्थापित गरिदिनेवित्तिकै मुलुकमा सबै कुरा ठिक भइहाल्छ ! कथित रूपमा मन नपराइएको केपी ओली नेतृत्वको सरकार धराशयी भइहाल्छ र प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा आसिन भइहाल्छन् । यससँगै दुःखैदुःखको आहालमा डुबिरहेको देश एकाएक दलदलबाट उत्रिन्छ र सुख-समृद्धिको सुनौलो यात्रामा छलाङ मारिहाल्छ ! अतिरञ्जनापूर्ण लागे पनि प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्नेहरूले यस्तै ठानेका र आमजनतालाई यसैगरी बुझाउन खोजेका हुन् भन्नेमा विवाद गरिरहनै पर्दैन ।
तर, पुनःस्थापनको फैसलाको पूर्णपाठ नआउँदै लड्डु खान-खुवाउन हतारिएका नेताहरू यतिबेला आफै रनभुल्ल हुन पुगेको दृश्य अनौठो मानेर नियाल्न आमनेपाली विवश छन् । ‘केपी ओलीको कदमबाट लोकतन्त्र मर्नै लागेकोे थियो, हामीले बचायौँ’ भन्ने नेताहरू ओली पन्छाएर प्रधानमन्त्रीको आसनमा बसिदिनुहोस् भन्ने गुहार लगाउँदै प्रतिपक्षी दलहरूको दैलो ढक्ढकाउन पुग्नु रोचक जस्तो लागे पनि अत्यन्त दुःखद् सन्दर्भ हो । आखिर दुई पाइला अगाडिको दृश्य ठम्याएर कदम चाल्न नसक्नेहरू देश र जनताको दूर-सुदूरको भाग्य-भविष्य हत्याउने अभियानमा कसरी लिप्त रहेछन्– हरेक देशभक्त नागरिककले यतिबेला मनन गर्नुपर्ने विषय हो यो ।
नेपाल र नेपाली जनताप्रति प्रचण्ड कति आस्था र भरोसा राख्दा रहेछन्, कति जिम्मेदार रहेछन्, उनी कुन शक्तिको आडमा सडक तताइरहेका रहेछन्, न्यायालयलगायतका संवैधानिक निकायमाथि कसको भरोसामा औंला उठाइरहेका रहेछन् भन्ने कोणबाट विचार गर्दा निश्चय पनि प्रचण्ड-प्रवृत्ति नेपाल विसर्जनकै लागि मौलाइरहेको ठहरमा पुग्न सकिन्छ ।
आफूहरूले नै लेखेको संविधानले अघि बढ्ने बाटो नदिएको छर्लङ्ग भएपछि प्रचण्ड-प्रवृत्ति यतिबेला निर्वाचन आयोगलाई धम्क्याउन उद्यत् देखिएको छ । ‘न्यायालयमा केपीले सेटिङ मिलाएको’ भन्दै हिजो अदालत धम्क्याउने प्रचण्डले यतिबेला निर्वाचन आयोगतर्फ सोही ‘हतियार’ प्रहार गर्न थालेका छन् । ‘निर्वाचन आयोगमा गरिएको सेटिङ पनि तोडिने र नेकपाको वैधानिकताका साथै सूर्य चिन्ह आफूहरूले नै पाउने’ प्रचण्डको दाबीलाई सभ्य र सचेत समाजले कसरी बुझ्ने ?! आफूलाई कुर्सी चाहिएको होइन भन्दै अरण्यरोदन गरेर मुलुकलाई अराजकताको भुमरीमा पार्न किन उद्यत् देखिँदैछन् उनी ? यसलाई मिहीन ढङ्गले मनन गरी प्रतिवादमा उत्रन ढिलाइ गर्ने हो भने नेपालीले अब विस्तारै नेपालकै आश मारिदिए पनि हुन्छ । किनकि, लोकतन्त्र रक्षाको बहानामा प्रचण्ड–प्रवृत्तिले देशलाई अवसानकै बाटोतर्फ जबर्जस्ती घचेटिरहेको तितो यथार्थ एकपछि अर्को सन्दर्भमार्फत् उजागर हुँदैछ ।
सरकारविरुद्ध अविश्वास प्रस्ताव किन ल्याइएको रहेछ र संसद् विघटन गरी ताजा जनादेशमा जाने सरकारको निर्णयपछि अप्राकृतिक किसिमबाट सडक तताउने काम किन गरिएको रहेछ भन्ने त प्रचण्डको पछिल्लो एक अभिव्यक्तिले नै खुलासा गरिदिएको छ । आफ्नो नेतृत्वमा बन्ने सरकार छिमेकी देशको निम्ति ‘कम्फर्टेवल’ हुने दाबी उनले सगौरव सार्वजनिक गरिदिएका छन् । उनी नेपाल र नेपालीको हितमा यी सब गरिरहेका रहेछन् कि बाह्य शक्ति वा समुदायलाई रिझाउन ? यस प्रश्नको जवाफ सचेत तप्काले स्वतः खोज्न सक्छ । यसअघि पनि प्रचण्डले ओलीको विस्थापनका निम्ति बाह्य समुदाय गुहार्दै आएको तथ्यमाथि घोत्लिएर अनेक सवाल उठाउन सकिन्छ ।
नेपाल र नेपाली जनताप्रति प्रचण्ड कति आस्था र भरोसा राख्दा रहेछन्, कति जिम्मेदार रहेछन्, उनी कुन शक्तिको आडमा सडक तताइरहेका रहेछन्, न्यायालयलगायतका संवैधानिक निकायमाथि कसको भरोसामा औंला उठाइरहेका रहेछन् भन्ने कोणबाट विचार गर्दा निश्चय पनि प्रचण्ड-प्रवृत्ति नेपाल विसर्जनकै लागि मौलाइरहेको ठहरमा पुग्न सकिन्छ । यस्तो भयानक अभीष्टका साथ सक्रियता प्रदर्शन गर्ने तत्वबाट भ्रमित भइरहनु नेपाली जनताको जो नियति बन्दै आएको छ, अब यो गुलियो भ्रमबाट मुक्तिको प्रयासमा ढिलाइ गर्नु ठूलो अनिष्ठ निम्त्याउनु हो । सबैमा चेत रहोस् ।
प्रतिक्रिया