सत्य नबोलिकन समृद्धि खोज्नेहरूको देश

सत्य नबोलिकन समृद्धि खोज्नेहरूको देश


  • देवप्रकाश त्रिपाठी

हरेक मानिस शान्ति चाहन्छन्, तर अशान्तिको मूख्य श्रोत पनि मानिस नै बन्दै आएका छन् । हरेक मानिस स्थायित्व चाहन्छन् र स्थायित्वको बाधक पनि मानिस नै हुन् । अनि हरेक मानिस झुठ र असत्यको विरोध गर्छन्, तर जीवनको अधिकाङ्श समय असत्यकै पक्षमा उभिन्छन् र मर्छन् । सत्यको पक्षमा बाचा गर्ने र झुठ या असत्यको सहारा लिँदै जीवन बिताउने चरित्रका कारणले नै मानव जीवन जटिल बनेको हो । छैठौँ शताब्दीका चिनियाँ यात्री ह्वेन साङले भनेझैँ हिमालयको दक्षिणतर्फ बसोबास गर्नेहरू मात्र जालीझेली र धोखेबाज भएको ठान्नुपर्दैन, जालीझेली र धोखेबाजहरू संसारको कुना–कुनासम्म बिस्तारित भएका छन् । तर नेपालको सन्दर्भमा हामी आफैंप्रति पनि इमानदार नभएको हज्जार प्रमाण हाम्रा आँखासामु छन्, यहाँ केही दृष्टान्त प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

वि.सं. २००७ मा तत्कालिक राजा त्रिभूवन भारतीय राजदूतावासमा शरण लिँदै त्यतैबाट भारतको राजधानी नयाँ दिल्ली पुगे । राजा विदेशी शरणमा पुगेर भए पनि नेपालमा प्रजातन्त्र ल्याइदिएको स्मरण गर्दै हामी अझै पुलकित हुन्छौँ । चार वर्षीय नाति (ज्ञानेन्द्र) लाई श्री ५ महाराजाधिराज घोषणा गरेर राणाहरूले प्रजातन्त्र स्थापनाको मार्ग अवरुद्ध गर्न खोजेको इतिहास हामीलाई पढाइयो, हामीले पढ्यौँ र त्यस घटनालाई षडयन्त्रकै रूपमा बुझिरहेछौँ । तर भारत पुगेका राजा त्रिभुवनबाट कास्मीरका राजा हरिसिंहले झैँ त्यहाँ कुनै सम्झौता गर्ने र, देशको सार्वभौमिक स्वतन्त्रता बिसर्जनको पृष्ठभूमि बनाउने हुन् कि भन्ने चिन्ताले राणाहरूलाई त्रिभुवनको वैधता अन्त्य गर्ने बाध्यात्मक अवस्थामा पुऱ्याएको तथ्यप्रति हामी सामान्य चासो पनि राख्न खोज्दैनौँ । २००७ सालको कात्तिक २४ गते भारतका दुई सैनिक विमान काठमाडौंको विमानस्थलमा उत्रिएको र, राजा त्रिभुवनलाई नयाँ दिल्लीतर्फ लिएर गएको घटनाको अन्तर्यलाई हामीले बुझ्न नखोजेका भए पनि राणाहरू स्पष्ट थिए । त्यसैले राजाका रूपमा त्रिभुवनबाट हुन सक्ने सम्झौतालाई अवैध करार दिन नेपालमा वैधानिक महाराजाधिराज अरु नै कोही रहेको प्रमाणित हुनुपर्ने थियो । त्यसैले २००७ साल कात्तिक २२ गते राजसिंहासनमा राखेर ज्ञानेन्द्रलाई नायब बडागुरुज्यू हेमराज पाण्डेद्वारा विधिवत मुकुट पहिऱ्याइ भोलिपल्ट (कात्तिक २३ गते) नै राज्याभिषेक सम्पन्न गरी महाराजाधिराज ज्ञानेन्द्रका नाममा टक (मुद्रा) समेत छपाउने कार्य भएको थियो । आफ्नो शासन-सत्ताको रक्षाका निमित्त मात्र त्यसबेला त्रिभुवनलाई गद्दीच्यूत गरी ज्ञानेन्द्रलाई राजा घोषित गरिएको थिएन, मूलतः देशको अस्तित्व र सार्वभौमिकता रक्षाका निमित्त नै उक्त कदम चालिएको थियो भन्ने तथ्य र सत्यप्रति नेपालीहरूले ठ्याम्मै चासो नराख्नु आफैंमा दुःखद आश्चर्य हो ।

सबै नेपाली सत्य बोल्न तयार हुन्थे भने यो घरमा आगलागीको समय भएको तथ्य आत्मसात गरी अग्नी समन गर्ने कार्यमा समर्पित भइरहेका हुने थिए । बाबुराम–प्रचण्डहरूले प्रजातन्त्र, शान्ति, एकता र स्थायित्वविरुद्ध हिंसात्मक सङ्घर्ष गरेर राष्ट्रिय अपराध गरेका हुन् भन्न ढोकामा चुकुल लगाउने, तिनैलाई खुलेआम नेता मान्नचाहिँ नहिच्किचाउने, बन्द कोठमा सङ्घीयता, धर्मनिरपेक्षता र जातिवादविरुद्ध धाराप्रवाह मन्तब्य प्रकट गर्ने, अनि मतदान गर्नुपर्दा तिनैलाई गर्ने र, आफ्ना खुला गतिविधिचाहिँ जातिवाद, धर्मनिरपेक्षता र सार्वभौमिकता विखण्डनको पक्षमा सीमित र केन्द्रीत गर्ने हामी नेपाली सत्य, तथ्य र विवेकसम्मत व्यवहारको विरुद्ध अटल छौँ भन्न मिल्ने कि नमिल्ने ?

राणाशासन अन्त्यको केही महिनाभित्रै वि.सं. १८२५ मा नेपालबाट खेदिएका इसाइहरूलाई युएमएन (युनाइटेड मिसन टू नेपाल) का रूपमा किन स्वागत गरियो र, त्यसलगत्तै नेपालको उत्तरी सीमारक्षाका निम्ति भारतीय सेना किन खटियो भन्ने जस्ता प्रश्नले नेपालमा राष्ट्रियता र प्रजातन्त्र सँगै प्रवद्र्धन हुन नसकेको तथ्य बोध गराउँछ । प्रजातन्त्र फस्टाउँदा राष्ट्रियता सङ्कुचित हुने र, राष्ट्रियता सबल हुँदा प्रजातन्त्र कमजोर बन्ने नियति जुन नेपालले भोग्दै आएको छ, यो नै नेपालका निम्ति दुःखद नियति बन्न पुगेको छ ।

२०१७ सालमा राजा महेन्द्रबाट चालिएको कदमपश्चातको एक दशक प्रजातन्त्रका दृष्टिले प्रतिकुल भए पनि राष्ट्रियताका दृष्टिले त्यो समयलाई स्वर्णकाल मानियो भने गलत हुने छैन र, सत्य पनि यही नै हो । प्रजातन्त्रका निम्ति प्रतिकुल रहे पनि राष्ट्रियताका दृष्टिले राजा महेन्द्रको कार्यकाल इतिहासस्मरणीय बनेको छ । तर हामी प्रजातन्त्रलाई अघि सारेर राजा महेन्द्रले राष्ट्रियता प्रवर्द्धनमा पुऱ्याएको योगदानको उपेक्षा गर्ने गर्दछौँ । तथ्य बुझ्न र सत्य ब्यवहार गर्न कञ्जुस्याइँ गरिएकै कारण राजा महेन्द्रको योगदानप्रति न्यायिक दृष्टिभाव राख्न हामीले सकिरहेका छैनौँ । राजा महेन्द्रले हिमाल, पहाड, तराई जोडेर प्रशासनिक संरचना खडा नगरेका भए, मन्त्रिमण्डलको बैठकमा विदेशी प्रतिनिधि रहने व्यवस्था नतोडेको भए, विदेशी मुद्राको प्रचलनलाई निरुत्साहित गर्न नेपाल राष्ट्र बैंक स्थापना गरी नेपाली मुद्राको प्रचलनलाई स्थापित नगरेका भए, विदेशी पाठ्यक्रम विस्थापित गरी नेपाली पाठ्यक्रम तथा पाठ्य सामाग्रीहरूको विकास नगरेका भए, तराइमा समेत पहाडबासीहरूको बसोबास हुने व्यवस्था नमिलाएको भए, पूर्व-पश्चिम राजमार्गलगायत अन्य सडक निर्माण आयोजना अघि नबढाएको भए, उत्तरी सीमारक्षाका निमित खटिएका भारतीय सेनाको ठाउँमा नेपाली सेना परिचालन नगरेका भए र दूरगामी महत्वका अनेकौँ उद्योग धन्दा भित्र्याएर सञ्चालनमा नल्याएका भए नेपाल आज कुन स्थितिमा रहन्थ्यो भन्ने प्रश्नमा किञ्चित ध्यान नदिइनु भनेको सत्यप्रतिको विराग हो, हामी जिजीविषाको वशमा परेर त्यस्तो विरागी व्यवहार प्रस्तुत गरिरहेछौँ ।

वि.सं. २०४६ को राजनीतिक परिवर्तन मुलुकमा विद्यमान सबै राजनीतिक शक्तिको समझदारीमा भएको हुँदा त्यसपछिको कालखण्ड तुलनात्मक रुपमा सन्तुलित थियो, तर त्यो समयको आयू दीर्घ हुन सकेन । २०६३ को परिवर्तन २०१७ को परिवर्तनको ‘रिभर्स’का रूपमा हामी ब्यहोर्दै छौँ । यो परिवर्तनले नेपाली राष्ट्रियता, राष्ट्रिय एकता र एकीकृत सार्वभौमिकतालाई जगैदेखि भत्काउने काम गरेको छ, तर आफ्नो निजी आकाङ्क्षामा वशीभूत भएका हामी सञ्चो मानिरहेका छौंँ । सबै नेपाली सत्य बोल्न तयार हुन्थे भने यो घरमा आगलागीको समय भएको तथ्य आत्मसात गरी अग्नी समन गर्ने कार्यमा समर्पित भइरहेका हुने थिए । बाबुराम-प्रचण्डहरूले प्रजातन्त्र, शान्ति, एकता र स्थायित्वविरुद्ध हिंसात्मक सङ्घर्ष गरेर राष्ट्रिय अपराध गरेका हुन् भन्न ढोकामा चुकुल लगाउने, तिनैलाई खुलेआम नेता मान्नचाहिँ नहिच्किचाउने, बन्द कोठमा सङ्घीयता, धर्मनिरपेक्षता र जातिवादविरुद्ध धाराप्रवाह मन्तब्य प्रकट गर्ने, अनि मतदान गर्नुपर्दा तिनैलाई गर्ने र, आफ्ना खुला गतिविधिचाहिँ जातिवाद, धर्मनिरपेक्षता र सार्वभौमिकता विखण्डनको पक्षमा सीमित र केन्द्रीत गर्ने हामी नेपाली सत्य, तथ्य र विवेकसम्मत व्यवहारको विरुद्ध अटल छौँ भन्न मिल्ने कि नमिल्ने ?

नेपालका निर्माता पृथ्वीनारायण शाहका शालिक ढालिँदा मौन दर्शकको भूमिकामा रहने हामी वर्षैपिच्छे पृथ्वीनारायण शाहमाथि अपमानको भाला रोपिँदा पनि टुलुटुलु हेरिरहन्छौँ भने त्यसले हाम्रो नेपालीत्वमा प्रश्न उठाइरहेको छैन र ? एक चिम्टि अवसर, एक थान ज्यान र कुनै मुलुकको एउटा भिसासँग देश साट्न खोज्ने हाम्रो प्रवृत्तिले हामीलाई गिज्याइरहेको छैन र ? सत्यको पक्षमा उभिन नखोज्ने यस्ता अनेकौँ प्रश्नको माला लगाएर पनि आफूलाई नेपाली भएको दाबी गरिरहनुले हाम्रो दोहोरो चरित्रको चित्रण गरेको छ ।

२०६१ सालमा राजा ज्ञानेन्द्रले बङ्लादेशमा सम्पन्न सार्क शिखर सम्मेलनमा चीनलाई समेत सार्कको पर्यवेक्षकका रूपमा सहभागी गराउनुपर्ने विचार व्यक्त गरेकै कारण राजसंस्था विस्थापित हुनुपरेको ठहर गरियो भने त्यो गलत हुने छैन । दक्षिण एशियाली राष्ट्रहरूको सङ्गठनमा उत्तरको चिनियाँ सहभागिताको औचित्यबारे छलफल हुन सक्थ्यो । राजाले बिना सोचविचार त्यस्तो प्रस्ताव नराखेका भए हुन्थ्यो भन्न पनि नसकिने होइन । राजाबाट खराब नियतले त्यस्तो प्रस्ताव राखिएको त थिएन होला, तर त्यही प्रस्ताव नेपालको राजसंस्था विस्थापनको एउटा मूख्य कारण बन्यो । न पश्चिमा मुलुकले उक्त प्रस्तावलाई सहन सक्यो न भारतले नै त्यसलाई सकारात्मक रूपमा ग्रहण ग¥यो । शक्ति सन्तुलनको नयाँ स्थिति सिर्जना गरेर नेपालको स्थायित्वलाई थप सूरक्षित तुल्याउने मनशायले राजाबाट उक्त प्रस्ताव राखिएको हुन सक्छ भन्न कुनै परराष्ट्रवेत्ता तयार भएनन् ।

देशको सीमा र शान वृद्धि गर्न अद्वितीय योगदान पुऱ्याउने भीम मल्ल काटिनु परेको यो देशमा गुमेको भूभाग कुटनीतिक कौशल प्रयोग गरी फिर्ता ल्याउने र नेपाल एउटा बेग्लै देश भएको प्रमाणित गर्न सीमा स्पष्ट गरी विश्वमा नेपालको स्वतन्त्र अस्तित्व रहेको सन्देश दिनेलगायत राष्ट्रिय महत्वका दर्जनौँ योगदान पुऱ्याउने जङ्गबहादुर राणालाई अपमान र उपेक्षा गर्नु भनेको पनि सत्यको पक्ष नलिनु नै हो ।

नेपालका निर्माता पृथ्वीनारायण शाहका शालिक ढालिँदा मौन दर्शकको भूमिकामा रहने हामी वर्षैपिच्छे पृथ्वीनारायण शाहमाथि अपमानको भाला रोपिँदा पनि टुलुटुलु हेरिरहन्छौँ भने त्यसले हाम्रो नेपालीत्वमा प्रश्न उठाइरहेको छैन र ? एक चिम्टि अवसर, एक थान ज्यान र कुनै मुलुकको एउटा भिसासँग देश साट्न खोज्ने हाम्रो प्रवृत्तिले हामीलाई गिज्याइरहेको छैन र ? सत्यको पक्षमा उभिन नखोज्ने यस्ता अनेकौँ प्रश्नको माला लगाएर पनि आफूलाई नेपाली भएको दाबी गरिरहनुले हाम्रो दोहोरो चरित्रको चित्रण गरेको छ । जनगणनाको तथ्याङ्कले एकासी प्रतिशत भन्दा बढी वैदिक सनातनी हिन्दू धर्मावलम्बी देखाएको मुलुकमा पन्चान्नब्बे प्रतिशत मत धर्मनिरपेक्षताका पक्षधरहरूलाई दिएर पनि हामीले हामी सत्यको पक्षमा नरहेको र दोहोरो चरित्रमा भएको सन्देश नै दिइरहेका छौँ ।

जुन मुलुकका बासिन्दा सत्य जान्ने र त्यसअनुरुप ब्यवहार गर्ने क्षमता राख्दैनन्, त्यस्तो मुलुकमा शान्ति, स्थिरता, एकता, सद्भाव र समृद्धिप्राप्तिको सम्भावना कहिल्यै रहन्न । एक अङ्गालो पत्नि या पति, एक बेलुन पद, एउटा गाडी र एक जोडी सन्तानको जति महत्व पनि देशलाई दिन नखोज्नेहरूले देश बर्बाद हुँदै गरेकोमा रुवाबासीचाहिँ किन गर्छन्, आश्चर्य लागिरहने गर्दछ ।

इतिहासलाई इमानदारीपूर्वक ग्रहण गर्न नखोज्ने र वर्तमानको सत्य पहिचान गर्नसमेत नचाहने हामी इमानदारी, न्याय, सभ्यता, संस्कृति र समृद्धिका ‘गफ’ दिइरहन भने छोड्दैनौँ । राजदरबारमा ठूलो हिंसात्मक घटना भएर राजा वीरेन्द्रको बङ्श नास भयो । घरमै बसेर हत्यारा पहिचान गर्ने हामी घटनाका साक्षी र पीडितका कुरा पत्याउन तयार भएनौँ । कुनै पनि घटनाका बारेमा बिना तथ्य–प्रमाण धारणा बनाउने र आफूले बनाएको धारणासँग मिल्दोजुल्दो अभिव्यक्तिलाई मात्र सही ठान्ने प्रवृत्तिले हामी नेपालीलाई सत्य र तथ्य जान्नबाट टाढा पुऱ्याएको छ । पराया शक्तिले हाम्रो यो प्रवृत्तिलाई राम्रोसँग बुझेको छ र, तदनुरुप आफ्ना नीति, रणनीति र ‘प्रपोगाण्डा’ चलाइरहेको छ । जुन मुलुकका बासिन्दा सत्य जान्ने र त्यसअनुरुप ब्यवहार गर्ने क्षमता राख्दैनन्, त्यस्तो मुलुकमा शान्ति, स्थिरता, एकता, सद्भाव र समृद्धिप्राप्तिको सम्भावना कहिल्यै रहन्न । एक अङ्गालो पत्नि या पति, एक बेलुन पद, एउटा गाडी र एक जोडी सन्तानको जति महत्व पनि देशलाई दिन नखोज्नेहरूले देश बर्बाद हुँदै गरेकोमा रुवाबासीचाहिँ किन गर्छन्, आश्चर्य लागिरहने गर्दछ ।

सृष्टिमा स्थायित्व कुनै तत्व-अवस्थाको छ भने त्यो केवल परिवर्तनको हो, निरन्तर परिवर्तनलाई वेदले स्वीकार गरेको छ, बुद्धले आत्मसात गरेका थिए, वैज्ञानिकहरूले ब्याख्या गरिरहेका छन् । चेतनशील सबैले स्वीकार गरेको सत्य यही नै हो । गतिशीलताबाहेक अन्य कुनै तत्वको स्थायित्व नरहने हुँदा नेपालको गरिबी, पछौटेपन, असभ्यता र विपन्नताले पनि स्थायित्व प्राप्त गर्न नसक्ने विश्वास गर्न सकिन्छ । तर तथ्य बुझ्ने, सत्यलाई आत्मसात गर्ने र आफूलाई जत्तिकै महत्व देशलाई दिन खोजिँदैन भने एउटा सम्भावित सत्य स्वीकार गर्नैपर्ने हुन्छ- ‘भूमण्डलमा नेपालको हालको चित्र कायम रहन सक्ने छैन ।’ जय मातृभूमि !