- ज्ञानमित्र

संसद् पुनःस्थापना भएलगत्तै प्रधानमन्त्री केपी ओलीलाई लछारपछार गर्दै गलहत्याइने हुङ्कार भर्दै आइरहेको ‘नेदा समूह’ (नेपाल-दाहाल समूह) ले छलकपटका सबै भागीरथ प्रयास र लज्जास्पद शरणागति एवम् समर्पणका अनेकौँ दाऊ चाले पनि वास्तविकतामा एक पाइला पनि सार्न सकेन । संसद् ब्युँतिएपछिको बहुप्रतीक्षित दिन फागुन २३ गते आइतबार बिहानसम्म केपी ओलीका विरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन सकेको थिएन । नेदा समूहका यससम्बन्धी सबै योजना तुहिएका त थिएनन् बिहानसम्म, तर यति प्रमाणित नै थियो ती सबै योजनाका ठेली बुढानीलकण्ठस्थित एउटा अट्टालिकाको कुनै खोपीमा थन्किएर रहेका थिए ।
अट्टालिकापति विस्फारित नयन एवम् विस्मित भावले सम्झिन प्रयासरत रहे पनि केही ठम्याउन सकिरहेका थिएनन्- ‘यो मेरो कुन जन्मको पुण्यफल हो !’ उनलाई स्पष्ट विदित थियो, यस जन्ममा त उनबाट यस्तो कुनै सुकृत्य भएका छैनन् जसको फल खसेर उनको राजनीतिक अभिलाषा मात्रै होइन, नितान्त व्यक्तिगत चोट-घाउ र घायल मनको सफल ‘रेमेडी’ हुँदै यस्तो सन्ताप पुऱ्याउने सबै जना बैरीलाई धुलिसात गराउँदै अपमानको प्रतिशोध लिने ‘गोल्डेन’ मात्रै होइन ‘प्लूटोनियम अपर्चुनिटी’ प्राप्त हुन आएको हो ।
उनले सल्लाह लिने अघोरी बाबा र तन्त्रसम्राट चन्द्रास्वामीज्यूको भौतिक उपस्थिति नरहेका कारण यस रहस्यको ‘प्रोग्रामिङ डिकोड’ पनि त हुन सकिरहेका थिएनन् । प्रोटोकलको अहम्ले उनलाई अरु कुनै रहस्यदर्शीको कुरा मान्ने त परै जाओस् सुन्ने-बुझ्ने कोटीकै विनम्रताहीन अहङ्कारी बनाएको उनकै दलका सदसयगणले अनुभव गरिरहेकै कुरा हो । उनको हालत ड्राइभिङ नआउने व्यक्तिसरह भएको थियो जसलाई भाग्यले उपलब्ध गराइदिएको नवीनतम् गाडीको सञ्चालन विधि, प्रविधि र प्रक्रियाबारे केही पनि थाहा थिएन । तर हात आइपरेको ‘प्लूटोनियम अपर्चुनिटी’को उपयोग भने उनले २३ गतेको बिहानसम्म कुशल राजनीतिज्ञका भाँती गरिआएका थिए ।
विगतमा सत्ताका लागि जस्तोसुकै अनैतिक गतिविधि गर्न लिप्त रहनुहुने देउवाजीले सुनैसुनको परिधानले सुसज्जित र आफ्ना परम विरोधीहरूले सुनकै डोलीमा बोकी आफ्नो आँगनमा ल्याइपुऱ्याइदिएको सत्ता-सुन्दरीसँग ‘हेलो’ सम्म भनेका थिएनन् । देउवाजीको राजनीतिक परिपक्वताको योभन्दा ठूलो दृष्टान्त अरु के हुन सक्छ ?
देउवाजी मनमनै सोचिबसेका थिए, मैले चोर औंलाले इशारा गर्नासाथ प्रचण्डलाई जुन बेला पनि ‘उ मने देउवाजी’ भन्दै आइपुग्छन् । केही दिन प्रचण्डको म्याउँ-म्याउँ सुनेर दिल बहलाउने उपक्रम मञ्चित भइरहोस् । उनले आफ्नो विशिष्ट शैलीमा मनमनै सम्झिरहेका थिए, ‘यो यो यो, त्यै होइन… मेरो अधीनको सरकारमा बसेर मेरो शत्रुसँग मिल्न गएको थियो ! यसको छोरीका लागि म अन्तर्राष्ट्रिय रूपमै बदनाम भएँ, अनि यो मलाई छाडेर भागेको थियो । आओस् न केही दिन मेरा ढोकामा स्तुति गर्न, त्यसलाई आफूसामु विनीत मुद्रामा उभिएको हेर्दा ‘आर्गाज्म’कै आनन्द आउँछ । अहिले के हतार !?’
परिस्थितिले मुर्ख कालिदासलाई एक झट्कामै विद्वान कालीदास बनाइदिन्छ । यस प्रकरणलाई फगत कथा मान्नेहरूले देउवाजीको बौद्धिक विकासले कालिदास प्रकरणको सत्यता बुझ्दै गइरहेका थिए । विगतमा सत्ताका लागि जस्तोसुकै अनैतिक गतिविधि गर्न लिप्त रहनुहुने देउवाजीले सुनैसुनको परिधानले सुसज्जित र आफ्ना परम विरोधीहरूले सुनकै डोलीमा बोकी आफ्नो आँगनमा ल्याइपुऱ्याइदिएको सत्ता-सुन्दरीसँग ‘हेलो’ सम्म भनेका थिएनन् । देउवाजीको राजनीतिक परिपक्वताको योभन्दा ठूलो दृष्टान्त अरु के हुन सक्छ ? उनका सबै राजनीतिकविरोधि डोले बनेका थिए, यस्तो भाग्यफल ! निश्चय पनि यो उहाँको यस जुनीको कर्मको परिणाम थिएनन् ।
पल्टियो बाजी र, नेपालको राजनीतिक फुटबल गेममा टेनिस बलले गऱ्यो निर्याणक गोल !
अन्ततः २३ फागुनको दिन नेपाली राजनीतिमा ऐतिहासिक दिन साबित भयो । केही दिनपहिला न्यायालयले नेकपाको माधव-प्रचण्डलाई ‘कर्नर किक’ उपलब्ध गराइ गोल हान्ने मौका दिएको थियो । यो समूह केपी ओलीलाई ढाल्न अविश्वास प्रस्ताव ल्याउने तैयारी गरिरहेको थियो । तर आइतबार न्यायलयले फुटबल गेममा टेनिस बलले पनि गोल गर्ने सुविधा मुहैया (उपलब्ध) गराएर सारा गेम उलटपुलट गरी दियो- एमाले र माओवादी जुडेर बनेको एक शरीर दुई टाउको भएको चरा विज्ञानमा हुन्छ होला राजनीतिमा यस्तो स्वीकृत हुन्न भनी एमाले र माओवादीको विलयलाई अस्वीकृत गर्दै दुवै लाई शरीर र टाउकोसहित छुट्ट्याइ दियो न्यायालयले । अदालतको यस सानो निर्णयले नेपालको राजनीति मात्रै होइन, भूगोल नै परिवर्तित गरी दियो ।
केपी ओलीविरुद्ध अविश्वास प्रस्तावको हुङ्कार भरिरहेको प्रचण्ड समूह संसद् अधिवेशनको पहिलो दिन नै संसदलाई ‘यह दुनियाँ यह महफिल मेरे काम की नहीँ’ भन्दै बहिष्कार गर्न बाध्य बन्यो । कहाँ केपी ओलीलाई अपदस्थ गरी प्रधानमन्त्रीको सपना हेरिरहेका प्रचण्ड र अब… ! … खैर, अर्को गीत ‘तकदीर का फसाना जाकर किसे सुनाये, इस दिल में जल रही है अरमान की चिताएं’ सुन्दै प्रचण्डले रातभरि यही चिन्तनमा समय बिताए होलान्- अब प्रत्यक्षतर्फका ३६ गुलाफ र समानुपातिक तर्फका १७ लाहुरेफूलको माला बनाइ कसरी कण्ठमा धारण गर्ने ! तर हसरत जयपुरी लिखित उपरोक्त गीतका अन्तिम पङ्क्ति- ‘तुम तो रहो सलामत सेहरा तुम्हे मुबारक, मेरा हर एक आँसु देने लगा दुआएँ’ घन्किँदा उहाँले बुर्जुआ गीत भनी ‘साउण्ड अफ्’ गरी ख्वै कसलाई फोन गर्ने उपक्रम पो गर्नुभयो ।
न्यायलयको ‘टेनिस बल प्रकरण’ले केपी ओलीलाई सबैभन्दा ठूलो दलको नेता बनाइदिएको छ । प्रत्यक्षतर्फका ८० पुष्प र समानुपातिकतर्फका ४१ पुष्पका साथै हिन्दूहरूको पवित्र सङ्ख्या १२१ पुष्पदलको माला उहाँका कण्ठमा सुशोभित हुन आइपुगेको छ । भगवान् जब दिन थाल्छन् छानो-भित्ता-दल सबै फोडेर-फुटाएर मनवांछित वस्तु प्रदान गर्छन्, केपी ओलीलाई यसको प्रत्यक्ष प्रतीति भएको छ । जम्मा एकपटक पशुपति पुगेर ३० करोडको दान दिनासाथ भगवान् भोलेनाथले उनलाई यस्तो गरिमा प्रदान गरी दिनुभयो कि शेष जीवनपर्यन्त केपी ओलीले यस भगवतकृपालाई विस्मृत गर्न सक्दैनन् । अब केपी ओलीले भागवत कार्यलाई अर्को २–४ अर्ब समर्पित गर्न के बेर ! मुलुकलाई पुनः हिन्दू राष्ट्र बनाउने संकल्प लिन के बेर !!
केपी ओलीका पुराना मित्र माधव नेपालजीले भने केपीको कण्ठमा आशीत् हुन आएको माला चुँडाएर केही पुष्प खोस्ने जमर्को गर्नुहुन्छ अथवा आत्मालोचना गरी ‘त्वमेव माता च पिता त्वमेव, त्वमेव बन्धुश्च सखा त्वमेव’को पथ अनुशरण गर्नुहुन्छ !? यो स्पष्ट हुन अझै केही प्रतीक्षा गर्नुपर्ने हुन्छ । अब देशमा लड्डु खाने-ख्वाउने पालो कसको ? आफू त मधुमेहको मरिज ! एकजना अग्रज पत्रकारले यस्तो निमन्त्रण पठाए पनि चिनी नभएको चिया खाएर नै काम चलाउने–निम्तो मान्ने मूडमा रहेको छु ।
सबै नेपालीलाई उत्कण्ठा हुनु स्वाभाविक नै हो, अब देशमा के हुन्छ ?
यस मामलामा ढुक्क भने केपी ओलीपक्ष- नेपालका राजावादी समूह, १२बुँदे समझौताका आलोचक बन्धुगण सर्वश्री युवराज घिमिरे, अरुणकुमार सुवेदी, देवप्रकाश त्रिपाठी लगायतका थुप्रै हिन्दूवादी रहेका छन् । प्रक्रियागत रूपमा विभिन्न घटना-उपघटना घटित हुन्छन्, सबै यस्ता गतिविधिको अन्तिम परिणति भने देशलाई १२बुँदे सम्झौताभन्दा पूर्वको स्थितिमा लैजानु नै रहेको हुन्छ । यस ‘रोड म्याप’को मार्गमा बाधा बन्न आइपुगेका सबै व्यक्ति, समूह र संगठनको नाश हुनु पनि स्वाभाविक नै हुन्छ ।
बाँकी देशमा अहिले पनि केपी ओली प्रधानमन्त्री छन् । फागुन २३ गतेको टेनिस बलले भएको गोलपछि उनको सरकार अल्पमतमा आए पनि कुनै भुइँचालो जाँदैन । अब उनका विरुद्ध नेपाली काङ्ग्रेसको सदिच्छा बगैर अविश्वास प्रस्ताव आउँदैन । प्रचण्ड त आफ्नो बलबुतामा अविश्वास प्रस्ताव दर्ता गराउनेसम्मको हैसियतमा रहेनन् । रह्यो केपीले विश्वासको मत लिने कुरा ! यो पनि उनको मूडमा निर्भर गर्छ । मूड आयो भने लिन्छन्, मूड चलेन भने शीतल निवास गइ राजीनामा दिएर कार्यवाहक प्रम भइ बस्छन् । कसैको तागत पुग्छ भने बनोस प्रधानमन्त्री ! १५–२० दिनको समय दिनुहुन्छ राष्ट्रपति महोदयाले । संविधानका विभिन्न धारामा लडीबुड़ी गर्दै कसैले १३८ को गणित पुऱ्याउन सक्छ भने बनोस् प्रधानमन्त्री ।
नेपाली कांग्रेसले अल्पमतमा पुगेका केपी ओलीलाई समर्थन गरी यसै संसद्बाट हिन्दूराष्ट्र घोषित गराउने अभियानमा होमिनुपर्छ, नत्र देश-विदेशका सारा शक्तिले आउने निर्वाचनमा केपी ओलीलाई दुई तिहाईभन्दा बढी सिटले जिताएर आफ्नो अभीष्ट पूरा गर्छन् । अब नेपालमा हिन्दूहरूको मार्गमा बाधा बन्न आउने जो-कोहीको पनि सम्पूर्ण विनाश हुने निश्चित भइसकेको छ ।
नभए केपी ओलीसँग पुनः दुई वटा विकल्प हुन आउँछन् । संविधानकै धारामा टेकेर सबैभन्दा ठूलो दलको हैसियतले प्रधानमन्त्री पदबाट पुनः प्रधानमन्त्री पदको शपथ लिन्छन् । अथवा, कुनै पनि सरकार बन्न नसक्ने कारण देखाइ एक पटक मरेर ब्युँतिएको संसदलाई पुनः आर्यघाट पुऱ्याइ नयाँ निर्वाचनको घोषणा गर्छन् । उनले सबैभन्दा ठूलो दलको हैसियतले प्रधानमन्त्री बनेको केही दिनमा पनि गर्ने यही नै हो, संसद्को हत्या । कसैले रोक्न सक्छ भने रोकोस् । यस संसद्को नियतिमा दुई पटक दुर्घटनामा परी इहलीला समाप्त हुनुपर्ने रहेको विधान अकाट्य छ, पूर्वजानकारी पाएपछि सक्नेले रोक्ने सामर्थ्य देखाउन् ।
केपी ओली र उनको दल एमाले (हिजैदेखिको दल) बाबुराम भट्टराई भर्खरै जङ्गलबाट शहर पसेका विप्लवले देशमा सबै किसिमका परिवर्तन हेतु आफू तैयार रहेको अभिव्यक्ति दिइसकेका छन् । यसको प्रारम्भ नेपाललाई पुनः हिन्दू राष्ट्र घोषित गर्ने अभियानबाट हुन्छ । नेपाली काङ्ग्रेसको दुर्भाग्य- उ अहिलेसम्म यसप्रति सचेत छैन । काङ्ग्रेसबाहेक प्रचण्डजीले यस विषयको गन्ध पाए पनि ‘रुघाले नाक बन्द भएका कारण थाहा नपाएको अभिनय’ गरिरहनुभएको छ । प्रचण्डजीसँग यस पङ्क्तिकारको कुनै साइनो छैन तर विगतमा नेपाली काङ्ग्रेसको मतदाता भएका कारण नेपाली काङ्ग्रेससँग यस विषयमा स्पष्ट धारणा आउने चाहना हुनु स्वाभाविक हो । सम्माननीय शेरबहादुर देउवाजी, डा. प्रकाशशरण महतजी तपाईं दुवै जनाले केही दिन पहिला पङ्क्तिकारसँग भएको भेटमा व्यक्तिगत रूपमा आफु हिन्दू धर्मको पक्षमा रहेको बताए पनि तपाईंको दल नेपाली काङ्ग्रेसको यस विषयक स्पष्ट धारणा नआएसम्म विश्वास गर्न सकिन्न । नेपालका प्रजातान्त्रिक हिन्दूले काङ्ग्रेसलाई छाडि गाईमा भोट हालेको याद नै छ होला तपाईंहरूलाई । अब हिन्दूहरूको भोट कतै केपी ओलीतिर नओइरियोस्, समयमै संज्ञान लिनुहोला । यसका लागि नेपाली काङ्ग्रेससँग एउटा मात्रै उपाय छ- नेपाली कांग्रेसले अल्पमतमा पुगेका केपी ओलीलाई समर्थन गरी यसै संसद्बाट हिन्दूराष्ट्र घोषित गराउने अभियानमा होमिनुपर्छ, नत्र देश-विदेशका सारा शक्तिले आउने निर्वाचनमा केपी ओलीलाई दुई तिहाईभन्दा बढी सिटले जिताएर आफ्नो अभीष्ट पूरा गर्छन् । अब नेपालमा हिन्दूहरूको मार्गमा बाधा बन्न आउने जो-कोहीको पनि सम्पूर्ण विनाश हुने निश्चित भइसकेको छ, त्यो चाहे नेपाली काङ्ग्रेस होस्, कुनै अन्य दल होस् अथवा नागरिक समाजका नाममा डालरखेती गरिरहेको जमात नै किन नहोस् । इति नमस्कारांते !
प्रतिक्रिया