बृहत् गोलमेच सम्मेलनतर्फ उन्मुख राजनीति

बृहत् गोलमेच सम्मेलनतर्फ उन्मुख राजनीति


  • राजेन्द्र पाठक

नेपालमा दलीय व्यवस्था अफाप सिद्ध छ भनियो भने ‘पश्चगमनकारी’को संज्ञा पाइने सुनिश्चित छ, अहिलेसम्म । त्यसैले धेरैजसो राजनीतिक विश्लेषकहरू ‘अफाप’का कुरा सोझै गर्दैनन् तर घुमाउरो भाषामा त्यस्तै–त्यस्तै छनक दिन भने चुक्दैनन् । तर पङ्क्तिकारको विचारमा दलीय व्यवस्था अफाप सिद्ध भएको नभई दल चलाउने उपल्ला भनाउँदाहरू सडेकाचाहिँ पक्कै हुन् । गलगिद्ध निलेर पनि कहिल्यै नअघाउने प्रवृत्ति नेतृत्वमा भएकै कारण यसो भएको हो । त्यति मात्र होइन आफूलाई ‘जनताको शक्ति हुँ’ भन्ने र बाँकीलाई अछुत ठान्ने एकलकाँटे वा हाँडीघोप्टे प्रवृत्ति भएकै कारण देशमा निषेधको राजनीति शुरु भएको हो । जब राजनीतिक दलले आफूलाई मात्र शक्ति ठान्छ र अरुको अस्तित्व स्विकार गर्दैन तब बाँकी शक्तिकेन्द्रहरू असन्तुष्ट हुँदै किनारा लाग्न बाध्य हुन्छन् । अनि यसरी नै अशान्ति र अस्थिरताको शुरुवात हुन्छ । द्वेषपुर्ण र पूर्वाग्रही धारणाले स्थान पाउँछ ।

जब सेवाका लागि खटिनुपर्ने जमातले विभिन्न उपमा पाउन थाल्छन् तब राजनीति रणनीतिमा बदलिन पुग्छ । रणनीतिले लाभको व्यापार शुरु गर्दछ त्यसो हुनासाथ राजनीतिको उद्देश्यविपरीत कार्यको आरम्भ हुन्छ । अन्तमा राजनीतिको मकसद नै पद हत्याउने, शासन गर्ने अनि जहानियाँतन्त्रतर्फ उन्मुख हुँदै अन्ततः लगानीविनाको व्यापारमा परिणत हुन्छ । आजको राजनीतिक परिदृष्य यस्तै देखिँदै छ । कुनै न कुनै शक्ति भान्छामा पुग्यो भने बाँकीले चौकोबाट चिहाएर घुटुघुटु थुक निल्नुपर्ने ! कहिले चुल्हामा पुगौँला र त्यसैगरी ज्युनार गरौँला भन्ने मनोविज्ञानले भरिएको हुन्छ निषेधित पक्ष । अनि जब मौका पर्छ तब सिधासोझा जनतालाई उकासेर विष्फोट हुन्छ । यसरी अनि शुरु हुन्छ क्रान्ति र परिवर्तन नामको राजनीतिक व्यापार !

पृथ्वीनारायण शाहले नेपालमा शुरु गरेयताका राजतन्त्रलाई मुल्याङ्कन गर्ने हो भने जब दरबारमा दुई तीनवटी महारानी भित्र्याउने र तिनका सन्तान-दरसन्तानले एकलौटी राज कसरी गर्ने भन्ने विषयबाट शुरुवात भएको द्वन्द्व जंगबहादुरको आकस्मिक उदयसम्म आइपुग्दा महारानीहरूको गुटबन्दी र त्यस्ता गुटबन्दीमा भारदारहरूको साथ-सहयोगले जकडिएको आन्तरिक द्वन्द्वले नै सिङ्गो राजतन्त्रलाई कमजोर बनाउन पुगेको प्रष्टै छ । एउटा आगोको झिल्कोलाई भान्छेले सहि व्यावस्थापन गर्दा जहान सबैले खाना पनि खान्छन्, आगो पनि ताप्छन् र त्यही झिल्को खरानीमा गाडेर राख्न सक्यो भने भोलिपल्टलाई सलाई पनि कोरिरहनु पर्दैन र अँगेनो पनि सेलाउँदैन । तर त्यही झिल्को धुरीमा पुग्यो भने न भात पाक्छ न त जहानले आगो ताप्छ । आखिरमा सिङ्गो घर क्षणभरमा नै खरानीको डङ्गुरमा परिणत हुन्छ, सदाका लागि सेलाएर जान्छ । राजनीति र क्रान्ति भनेको पनि यस्तै नै हो । राजनीतिले क्रान्तिलाई समुचित व्यावस्थापन गर्न सक्यो भने उही भान्छेले अगेनोमा आगो सल्काएजस्तो जहान-परिवारले भात पनि खान्छन् आगो पनि ताप्छन्, नत्र झिल्को धुरीमा पुग्छ सिङ्गो घर नै सखाप हुन्छ ।

युरोपमा भएको फ्रान्सेली राज्यक्रान्तिले सिङ्गो युरोपलाई ब्युँझायो र विकसित युरोप निर्माण भयो । यही संसदीय व्यवस्थाको जननी भनिने बेलायतले लामो अभ्यासपछि अब्बल दर्जाको व्यवस्था कायम गरेको छ । संसारभरका विद्रोही भगौडाहरू जम्मा भएर बनेको अमेरिका आज संसारलाई नै नेतृत्व दिने देश बनिरहेको छ । नेपालको राणाकालसम्म सामान्य अवस्थामा रहेको चीन आज संसार हाँक्ने र संसारलाई नै पाल्न सक्ने दर्जामा पुगिसकेको छ । झण्डै दुई सय वर्षसम्म बेलायती दासत्व स्विकार गरेर बाँच्न सफल भएको भारत आज संसारको चौथो शक्तिराष्ट्र बनिसक्यो । झण्डै चालिस वर्षसम्म गृहयुद्धमा गाँजिएको श्रीलंका हामीभन्दा उच्च स्थानमा छ तर हाम्रो देशमा भने जाबो राजनीतिक स्थायित्व समेत कायम गर्न नसकेर नेताहरू एकले अर्कालाई सिध्याउने रणनीतिक चाल खेल्दैछन् । अझै निषेधको राजनीतिक विचारले गाँजिएका छन् ।

सात सालको परिवर्तनपश्चात् एक किसिमको गोलमेच सम्मेलन भएको थियो । राणा, राजा र राजनीतिक दलको ऐक्यबद्धताले देशलाई गति दिने अवस्था सिर्जना भएको थियो । तर कालान्तरमा फेरि राणा र राजाको बीचमा भएको अपवित्र गठजोडले उही निषेधको राजनीति शुरुवात भयो र फेरि राजनीतिक दुर्घटना भयो । देश तीस वर्षसम्म बन्धक भयो । त्यसभित्र पनि निषेधात्मक सोचविचार नै बलियो भएको अनुमान लगाउन सकिन्छ । बल्लतल्ल छयालिसको परिवर्तनले फेरि एकपल्ट गोलमेच गरायो । त्यसमा पनि उही गिद्धेदृष्टि शुरु हुँदा पुरानै निषेधात्मक राजनीति शुरु भएर विदेशी शक्तिले शिर उठायो ।

यसरी क्रान्तिको नाममा धेरै परिवर्तन त भए तर स्थायी भने हुन सकेन । त्रिसट्ठीको आन्दोलनले त झन् निषेधको परम्परालाई अझै बलियो बनायो । परम्परागत शक्तिको अन्त्येष्टि गर्ने नाममा एउटा गहिरो जग बसाएको जन–जनको आस्था र परम्परागत धरोहरलाई नैसदाका लागि उखेल्ने कुचेष्टाले नेपाल राजनीतिलाई अति तरल बनाएको छ । कुनै पनि जकडिएको बलियो शक्तिलाई उखेलेर फाल्ने चेष्टा गर्नुभन्दा त्यसको समेत उचित व्यावस्थापन गर्न सकेको भए त्यसले समाज र सिङ्गो देशलाई अगाडि बढ्नमा सघाउ नै पुर्‍यउँथ्यो भन्ने चेत बिस्तारै पलाउन थालेको छ ।

अहिलेका नेत्रविक्रम चन्ददेखि सिके राउतसम्मको व्यवस्थापन–प्रयासका आधारमा भन्नुपर्दा उखेलिएको भनिएको तर जन-जनको मन-मस्तिष्कबाट नउखेलिएको, हाम्रो सिङ्गो संस्कार र संस्कृतिले समेत सहज स्विकार गरेको राजसंस्थाको शक्तिलाई समेत समेटेर एउटा बृहत् गोलमेच सम्मेलन गर्दै देशका सम्पुर्ण शक्ति एकत्रित गर्दै निषेधात्मक प्रवृत्तिलाई उन्मुलन गर्न सक्ने सम्भावना देखिँदै छ । इतिहासदेखि वर्तमानसम्मको विश्लेषण गर्दा अब प्रयोग गर्न बाँकी रहेको राजनीतिक अभ्यास पनि यही मात्र हो भनियो भने फरक पर्दैन । जे होस्, जस्तोसुकै शक्तिलाई समेट्नु परोस् तर देशको स्वाभिमान भने नडग्मगाओस् ! देश र देशवासीको शिर उँचो रहोस् । इतिहासले दिएको पाठबाट देश चलाउने जिम्मा पाएकाहरू सुसूचित रहुन् । देशवासी शान्तिपूर्ण तरिकाले बाँच्न पाउन् । जय होस् !