तीस वर्षको कालखण्ड लुकाउन खोज्नु ब्यर्थ हो

तीस वर्षको कालखण्ड लुकाउन खोज्नु ब्यर्थ हो


  • स्वयम्भूनाथ कार्की

सत्र सालमा निर्वाचित मन्त्रिमण्डल अपदस्त गरेर निर्दलीय ब्यवस्था लागु गर्दा राजा महेन्द्रले दलीय व्यवस्थालाई केही आरोप लगाएका थिए । त्यस घटनाको आधा शताब्दिभन्दा धेरै वर्षपछि यी आरोपहरूको बारेमा जनमानस के भन्छ ? के यी बित्थाका फत्तुर थिए, सही आरोप थिए वा प्रजातन्त्र या लोकतन्त्रका विषेशता थिए जसलाई उनले सहन गर्न सकेनन् ? वर्तमानले मुल्याङ्कन गर्न पाउनुपर्छ । तर यी आरोपहरू के-के थिए भन्नेतिर युवापुस्ताको ध्यान जानै दिइएको छैन । बरु पञ्चायतकाल भरी नै पञ्चायती राजनीतिको र व्यवस्थाको बारेमा जानकारी दिने राजनैतिक विषय ‘पञ्चायत’ अनिवार्य पढ्नु पर्दथ्यो । छयालिसको परिवर्तनपछि पञ्चायत उल्लेख भएका सबै सामाग्री एकाएक हराए ।

व्यक्तिहरूसँग भएका पनि विभिन्न कारणले नासिँदै गए । रोचक कुरो त यो छ कि चार सालको लागु हुन नसकेको संविधान लगायत नयाँ-पुराना सबै कागजात सरकारी वेभसाइटमा डाउनलोड गर्न मिल्ने गरेर उपलब्ध छन् । पञ्चायतकालका संविधानलगायतका कुराहरूको नाम भने छ तर न त्यहाँ पढ्न पाइन्छ न डाउनलोड गर्न नै । यसरी नयाँ पुस्ताले पञ्चायतको करिव तीस वर्षको बारेमा सुनेको भरमा राय बनाउनु पर्दछ । राम्रो होस् वा कलङ्कित, नेपालमा त्यो तीस वर्ष थियो र यसले कुनै न कुनै किसिमको प्रभाव पारेकै थियो । कठिनताले उपलब्ध सामाग्रीको सहारामा केही कुराहरू उजागर गर्ने यो आलेखको प्रयत्न हो । राजनैतिक दलहरूबाट जनता दिक्क भएको कारण त्यसबेला यस्तो दिइएको थियो ।

  • प्रतिदिन एक नयाँ दल खडा हुन्छन् (अलि अतिशयोक्ति जस्तो लाग्छ तर दलहरूको गठन तीव्र भएको भने हुन सक्छ) ।
  • एकअर्काको खुट्टा तानी-तानी दल फुटेर बनेको समानान्तर दल खडा हुन्छन् ।
  • नेताहरूको केवल मिठा भाषण र समर्थक-कार्यकर्ताहरूको रुचिकर र उग्रनारा तर काम शुन्य हुन्छन् ।
  • वर्षादका च्याउसरी उम्रेका यस्ता दलहरूको जनजीवनसँग कुनै सम्बन्ध रहेको हुँदैन । केहीको समुह मिल्यो दल भइहाल्यो ।
  • जनता आफ्ना सपना, आकाङ्क्षा र अभिलाषा लिएर बस्ने अनि नेताहरू भाषण, शासन र आसन समर्थकहरू कोटा, ठेक्कापट्टामा ब्यस्त हुने गरे । जनताको यो आशा चुरचुर हुँदै गयो ।
  • आफ्नो प्रभाव जमाउन जनता रिझाउनु गौण भयो, पैसा महत्वपूर्ण भयो जो कमाउन विदेशी शक्तिको सामुन्ने घुँडा टेकेर हात फैलाउन पनि दलहरूलाई संकोच भएन ।
  • यस्तो अवस्थामा विकृति फैलियो जसले समाजमा द्वेष, फुट, कलह फैलिएर गुटबन्दीले बल पायो । यसले सामाजिक स्थिति धमिलिएर साम्प्रदायिकता मौलाउन थाल्यो ।
  • विकासको काममा तानातानीले बाधा पुऱ्याउन थाल्यो, आर्थिक विकास ठप्प हुने परिस्थिति बन्यो ।

यो दलीय पद्धतिको व्यवहार माथि राजाले लगाएको आक्षेप हो । यी र यस्तै आरोपहरू त्यसवेला दलहरू माथि लागेको थियो । यो सहि थियो वा गलत त्यसमा सबैको अआङ्खनो विचार र धारणा हुन सक्छ । चाहे बलपूर्वक मनाइएको होस् चाहे जनताले मनन गरेर होस् त्यो पिँढीका जनताले यो कुरा पत्याइदिए । संघर्षका प्रतिरुप भएका कयौँ वृद्ध नेताहरूको कुरामा यसको उल्लेख आउने गर्दछ । त्यो पिँढीले आफूलाई साथ नदिएको तर सहानुभूति भने दिएको कुरा यस्ता जेलनेल खपेका संघर्षमा तपेका नेताहरू सुनाउने गर्दछन् ।

एक जमात तैयार भयो, जसले आफ्नो जोशिलो कुराले नेपालको उन्नति-प्रगतिको बाधकको आरोप लगाउने ठाउँ पायो । एक कालखण्डलाई कुनै राम्रो काम नभएको भनेर निर्वाध दोष दिन पायो । स्वदेशमा त्यसको खण्डन गर्ने कागजातहरू प्राप्त भएनन् । कुरो पत्याइयो, यी सबै दोष बोकेर राजसंस्था कुना पस्यो । तर बाधा गर्ने भनेर आरोपित शक्तिमा नरहँदा पनि वर्षौं ब्यथा बीसबाट उन्नाइस भएन, बरु एक्काइस भयो, बाइस भयो ।

हिजो राजा महेन्द्रले लगाएको आरोप आज त्यही पिँढीले लगाउँदै छ जसले राजसंस्थालाई गाली गरेको थियो । पञ्चायतलाई कालरात्री भनेको थियो । कुरो लुकाएको कुनै लाभ भएन । त्यही मुखहरू जसले राजतन्त्रलाई गाली गरेका थिए विस्तारै भन्दैछन्, संसारमा इशाई राजा हुन हुने, इस्लामी राजा हुन हुने तर सनातनी राजा किन हुन नहुने ? यो प्रश्न उम्मेद्वार प्रष्ट नदेखिएको अहिलेको बेला गौण होला तर सधैं गौण नै नरहन पनि सक्छ ।