पुरुषले सम्हाल्नै पर्ने मुद्दाहरू

पुरुषले सम्हाल्नै पर्ने मुद्दाहरू


  • बबिता बस्नेत

प्रायः हामी महिलाका मुद्दाका कुरा गर्छौं । महिलाका मुद्दाहरू के-के हुन् भनेर बहस र छलफलमा केन्द्रित हुन्छौँ । अन्तर्राष्ट्रिय नारी दिवसदेखि महिलामाथि हुने हिंसाविरुद्धको दिवससम्ममा हामी महिलाका मुद्दा उठाउँछौँ । गम्भीर भएर सोच्दा हामी जेलाई महिलाका मुद्दा भनेर आवाज उठाइरहेका छौँ वास्तवमा ती पुरुषका मुद्दा हुन्, जसको सूची दिन-प्रतिदिन बढिरहेको छ ।

पछिल्लो समयमा देखिएको वैदेशिक रोजगारीमा रहेकाहरू घर फर्कंदा पैसा र श्रीमती दुवै नरहने समस्यामा कसको हात छ ? पुरुषको कि महिलाको ? झट्ट हेर्दा महिलाले पुरुषले कमाएको पैसा खर्च गरेजस्तो देखिए पनि त्यो पैसा कसको हातमा पुगेको छ ? पुरुषको हातमा ! महिला त यसमा माध्यम मात्र बनिरहेका छन् । एउटा पुरुष विदेशको तातो घाममा पैसा कमाउने अर्को पुरुष महिलालाई माध्यम बनाएर पैसा खाइदिने । एउटा पुरुषले कमायो अर्को पुरुषको हातमा पुग्यो ।

यदि महिलामार्फत पैसा लिने पुरुषको नियत खराब हुँदैनथ्यो भने यस प्रकारको समस्या आउने नै थिएन । यसमा महिलाहरू जिम्मेवार छँदै छैनन् भन्ने होइन, छन् तर अर्काको कमाइ खाइदिने पुरुष थप जिम्मेवार छन् । त्यसैले यो महिलाको मात्र नभएर पुरुषको पनि त्यत्तिकै मुद्दा हो । पुरुषहरू स्वयम् जागरुक भएर अर्को पुरुषलाई सचेत बनाउनु आवश्यक छ । राम्रा एटिच्युडका पुरुषले यस्ता घटनालाई आफ्नो प्रतिष्ठाको विषय बनाउनु पर्छ । महिलालाई प्रयोग गरेर अर्को पुरुषको कमाइ खाइदिने पुरुष कसरी मान्छेमा हुनुपर्ने गुण भएको मान्छे भयो ?

बलात्कार महिलाको होइन पुरुषको इज्जत र आत्मसम्मानसँग जोडिएको विषय हो । पुरुषलाई बलात्कारीको ट्यागबाट टाढै राख्नका लागि पुरुषहरूकै सक्रियता अपरिहार्य छ । बलात्कार पुरुषले उठाउनैपर्ने संवेदनशील मुद्दा हो ।

हामीले ‘दाइजो’लाई महिलाको मुद्दा र समस्या मानिरहेका छौँ । महिला र पुरुषबीच विवाह हुँदा महिलाले पुरुष अर्थात् पतिको घरमा लैजाने सरसामानलाई दाइजो भन्ने गरिएको छ । पर्दा, कार्पेट, खाट, दराज, भाँडाकुँडा लगायतका सामाग्रीहरू यसभित्र पर्छन् । हिजोआज मोटरसाइकल, मोटरलगायतको ‘डिमाण्ड’ पनि कतिपय केटापट्टिबाट हुने गरेको छ । पतिको घरमा दाइजो लैजान नसकेको या उनीहरूले भनेजति दाइजो नपाएको निहुँमा हाम्रा धेरै दिदीबैनीहरू घरेलु हिंसामा छन् । दाइजोकै निहुँमा कतिले आत्महत्या गरे र कतिले चाहिँ स्टोभ पड्किएको निहुँमा ज्यानको आहुति दिए ।

दाइजोको कलङ्क तराईमा मात्रै छ जस्तो गरी प्रचार गरिए पनि यो सबैतिर छ । पहिला–पहिला विवाह मण्डपमै खाट, दराजलगायतका सामानहरू सजाएर राखिन्थ्यो अहिले विवाहअघि नै दुलाहाको घरमा गएर माइती पक्षले पर्दा, कार्पेट, खाट, टेलिभिजन सबै कुराको बन्दोबस्त गरि दिने चलन छ । यस्ता आँखा बिझाउने दृष्य गाउँ, शहर जताततै देखिन्छन् । आफ्नो घरमा आफू सुत्नका लागि पत्नीले माइतीबाट खाट बोकेर ल्याउनुपर्छ भने त्यो पतिको आत्मसम्मान कहाँ रह्यो ? पत्नीका बाबुआमाले ऋण गरेर दिएको मोटरसाइकलमा हावा खाँदै गुड्न पुरुषहरूले आत्मग्लानी महसूस गर्नुपर्छ । दाइजोको मोलमोलाइले समाजमा पुरानो संस्था विवाहलाई बोझिलो बनाएको छ । अनेक दुःख गरेर हुर्काएकी, बढाएकी, पढाएकी छोरी दिनु आफैमा सानो कुरा होइन । अलिकति पनि आत्मसम्मानित जीवन बाँच्न चाहने पुरुषका लागि दाइजो अब आफ्नो मुद्दा बन्नुपर्छ ।

पत्नीका बाबुआमाले ऋण गरेर दिएको मोटरसाइकलमा हावा खाँदै गुड्न पुरुषहरूले आत्मग्लानी महसूस गर्नुपर्छ । दाइजोको मोलमोलाइले समाजमा पुरानो संस्था विवाहलाई बोझिलो बनाएको छ ।

बलात्कारले समाजमा बढ्दो अपराधको रूप लिइरहेको छ । सानी बच्चीदेखि हजुरआमाको उमेरका महिलाहरूसम्म बलात्कारको शिकार भइरहेका छन् । बलात्कारले महिलालाई शारीरिक मात्र नभइ मानसिक रूपमा पनि त्यत्तिकै असर पुऱ्याउँछ, पुऱ्याइरहेको छ । कतिपय बालिका र महिलाको बलात्कारपछि हत्या भएको छ । बलात्कारीको रूपमा पुरुषको संलग्नताले असल पुरुषहरूलाई लज्जित बनाएको छ ।

मान्छेसँग मान्छे डराउने अवस्था आउनु शान्तिसुरक्षामा निकै जोखिमपूर्ण परिस्थिति हो । अहिले सुनसान ठाउँमा एक्लै हिँड्दा या रातको समयमा जंगली जनावरसँग भन्दा पनि पुरुषसँग महिला डराउनुपर्ने अवस्था छ । गाउँ, शहर, बस्ती, एकान्त जुनसुकै ठाउँमा उस्तै अवस्था छ । महिलाहरूले कुनै पनि बेला निर्धक्क हिँड्न सक्ने अवस्था निर्माण गर्नका लागि पुरुषहरू लागिपर्नु पर्छ । बलात्कार महिलाको होइन पुरुषको इज्जत र आत्मसम्मानसँग जोडिएको विषय हो । पुरुषलाई बलात्कारीको ट्यागबाट टाढै राख्नका लागि पुरुषहरूकै सक्रियता अपरिहार्य छ । बलात्कार पुरुषले उठाउनैपर्ने संवेदनशील मुद्दा हो ।

देहब्यापारमा संलग्न महिलालाई हाम्रो समाजले नराम्रो दृष्टिले हेर्छ । यौनकर्ममा संलग्न भएको आरोपमा प्रहरीले महिलालाई धरपकड गर्छ, थुनामा राख्छ । मिडियाले ठुलै माछा भेटेझैँ गरी महिलाको अनुहारमा फोकस गर्दै समाचार बनाउँछन् । पुरुषहरू सहभागी नहुने हो भने महिलाबाट मात्रै यौनकर्म सम्भव छैन । यौनलाई ब्यवसाय बनाउने-नबनाउने महिलाको कुरा हो तर यौन ब्यवसायीकहाँ जाने या नजाने निर्णय पुरुषकै हुन्छ । बिक्री नहुने हो भने मानिसले ब्यापार गर्दैनन्, नचल्ने हो भने पेशा ब्यवसाय अपनाउँदैनन् । यौनको खरिदकर्ता पुरुष हुन् । त्यसैले यौन ब्यवसाय पनि पुरुषकै विषय हो । यौनकर्मीका नाममा महिलालाई धरपकड गर्नेहरूले कसका लागि उनीहरूले ब्यवसाय गरिरहेका छन् भन्ने तहसम्म बुझ्नुपर्छ र सोहीअनुरुपको ब्यवहार गर्नुपर्छ ।

केही घटनाका कारण पुरुषहरूको छवी दानव झैँ गरी चित्रित भइरहेको सन्दर्भमा यी तमाम विषयलाई अब पुरुषहरूले आफ्ना मुद्दा बनाउनुपर्छ । पुरुषहरूले यस्ता घटनाका विरुद्ध आवाज उठाउनुपर्छ, ‘एक्सन’मा उत्रनु पर्छ ।

घरेलु हिंसा, चेलीबेटी बेचबिखन, असुरक्षित वैदेशिक रोजगारी, यौन हिंसा, लगायतका धेरै विषयहरूमा महिलाभन्दा बढी पुरुषको संलग्नता हुने हुनाले यी सबै पुरुषका विषय हुन् । पुरुषको मान, प्रतिष्ठा र इज्जतसँग जोडिएका कुरा हुन् । हाम्रो समाजमा असल पुरुषहरूको कमी छैन । केही घटनाका कारण पुरुषहरूको छवी दानव झैँ गरी चित्रित भइरहेको सन्दर्भमा यी तमाम विषयलाई अब पुरुषहरूले आफ्ना मुद्दा बनाउनुपर्छ । पुरुषहरूले यस्ता घटनाका विरुद्ध आवाज उठाउनुपर्छ, ‘एक्सन’मा उत्रनु पर्छ ।

गत फाल्गुण २२ गते चितवनमा जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमा एक महिला सहभागीले यो पङ्क्तिकारसँग सोधेकी थिइन्- ‘महिलाहरूलाई कसरी विद्रोही बनाउने ?’ जवाफमा भनेकी थिएँ- ‘महिलालाई विद्रोही कसरी बनाउने भनेर सिकाउनु भन्दा पनि पुरुषलाई सहनशील कसरी बनाउने भन्नेतर्फ लाग्नुपर्छ होला ।’ विद्रोहका कुरा गर्दा-गर्दा समाज नकारात्मक हुँदै गएको बेला सकारात्मक पाटोबाट बहस, छलफल र कुराकानीहरू हुन जरुरी छ ।

हाम्रो समाजले वर्षौंदेखि महिलालाई सहनशील हुन सिकायो । अब पुरुषहरूले सहनशीलताको बाटोमा हिँड्न सिके भने घर, परिवार, समाज र अन्ततः मुलुक नै शान्त हुनेछ भन्ने विश्वास गर्न सकिन्छ । जुन शान्ति आँधी आउनुअघिको जस्तो नभइ मन-मष्तिष्कसम्म छाउने प्रकारको हुन सकोस् । अन्यायपूर्ण समाजमा विद्रोह जरुरी छ तर विद्रोहले शान्ति होइन क्रान्ति निम्त्याउँछ । क्रान्तिको परिणाम कस्तो हुन्छ हामीले भोगिरहेकै छौँ । त्यसैले शान्ति आजको आवश्यक्ता हो जसका लागि पुरुष-सक्रियता अपरिहार्य छ ।